द्रुतमार्गको अवधि फेरि चार वर्ष थपियो, यस्ता छन् सरकारका निर्णय
सरकारले काठमाडौं-तराई द्रुतमार्गको निर्माण अवधि फेरि चार वर्ष थपेको छ।
मन्त्रिपरिषद्को वैशाख ५ गते बसेको बैठकले द्रुतमार्गको अवधि चार वर्ष थप्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन्। बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्त्री शर्माले द्रुतमार्गको अवधि आगामी २०८३ चैत मसान्तसम्म थप्ने निर्णय गरिएको बताइन्।
सरकारले चार वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७४ वैशाख २१ मा नेपाली सेनालाई निर्माण व्यवस्थापनको जिम्मा दिएको थियो। तर, साढे ६ वर्ष पुग्न लाग्दा एक चौथाइ पनि काम भएको छैन। यसको लागत पनि दोब्बर थपिएर दुई खर्ब १४ अर्बभन्दा बढी पुगेको छ।
अझै पनि निर्माण कहिले सकिन्छ र अन्तिम लागत कति पुग्छ, निश्चित छैन। तर पनि, सरकारले फेरि चार वर्ष म्याद थप गरेको छ।