नेपालमा वंशजको नागरिकता र राहदानी लिएका दावा चीन भागे
नेपाली नागरिकता र राहदानी लिएर गैरकानूनी गतिविधिमा संलग्न बेल्जियमका नागरिक दावा छिरिङ चीन भागेका छन्।
राजनीतिक ओतमा चिनियाँ आपराधिक गिरोहलाई नेपाल भित्र्याउने तिब्बती मूलका दावाले २०७४ सालमै नेपालबाट वंशजको आधारमा नागरिकता र राहदानी लिएको समाचार वैशाख ४ मा हिमालखबरमा प्रकाशित भएको थियो। समाचार प्रकाशित भएको भोलिपल्ट वैशाख ५ गते दावा चीन भागेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रवक्ता झंकनाथ ढकालले दावा वैशाख ५ गते बिहान १०ः८ बजेको उडानबाट चीन गएको पुष्टि गरे। दावा सिचुआन एअरलाइन्सबाट चीनको छेङदु अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रस्थान गरेको अभिलेखमा देखिएको ढकालले बताए।
उनले चीन जाँदा बेल्जियमको राहदानी प्रयोग गरेका छन्। दावा ग्याम्ब्लिङ, म्याच फिक्सिङ, अश्लील भिडियो देखाएर र ‘लोन एप’ मार्फत अवैध असुली गर्ने चिनियाँ गिराहलाई नेपाल भित्र्याउने ‘अजेन्ट’ हुन्। “हाम्रो अभिलेखमा उनी कालोसूचीमा छैनन्,” प्रवक्ता ढकालले हिमालखबरसँग भने, “त्यसैले रोक्न मिलेन।”
नेकपा (माओवादी केन्द्र)का नेताहरूसँग राजनीतिक सम्बन्ध बनाएर दावाको समूहले नेपालमा ब्ल्याकमेलिङ र अवैध असुली गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको थियो। पछिल्लो समय यो समूह ‘लोन एप’ मार्फत ऋण दिने र व्यक्तिगत सूचनामा पहुँच बनाएर ‘ब्ल्याकमेलिङ’ गर्दै ऋणभन्दा बढी रकम असुल्न सक्रिय यियो। प्रहरीले गत साउनमा काठमाडौं र रुपन्देहीका कल सेन्टरमा छापा मारेपछि यो तथ्य खुलेको थियो।
ऋणीको फोटो टाँसी अश्लील तस्वीर र भिडिओ बनाएर यो समूहले रकम असुल्ने गरेको प्रहरीको भनाइ छ। दावा समूहका चिनियाँ र नेपाली गरी १५ जनालाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाएको थियो। पक्राउ परेकालाई जिल्ला अदालत काठमाडौंले गत असोजमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।
मुद्दा चलाएकामध्ये पाँच जना नेपाली भने फरार छन्। यो वर्ष मात्र प्रहरीले आधा दर्जन ठाउँमा छापा मारेर चिनियाँ र नेपालीलाई पक्राउ गरेको थियो।
यो समूहले २०७६ सालदेखि नै अवैध कार्य गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो। नेपालमा होटल, सफ्टवेयर कम्पनीमा लगानी गर्ने नाममा दावाले चिनियाँलाई भित्र्याएको उद्योग विभागको कागजातबाट खुल्छ। दावाले अमला रोका, मञ्जिल श्रेष्ठलाई नेपाली साझेदार बनाएर चिनियाँलाई नेपाल ल्याएका हुन्।
यो समूहले नेपालबाट चिनियाँ नागरिकलाई अनलाइन मार्फत ‘ब्ल्याकमेलिङ’ गरेपछि चीनले नेपाल प्रहरी गुहारेको थियो। १२२ जना चिनियाँ पक्राउ परे पनि तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगको सम्बन्धका कारण नेपाली साझेदारबारे अनुसन्धान भएको थिएन। त्यसपछि निष्क्रिय बनेको यो गिरोह दुई वर्षपछि फेरि असुलीमा फर्किएको हो।
दावाले रोल्पाकी अमला रोकासँग विवाह गरेर राजनीतिक र प्रशासनिक सम्बन्ध गाँसेका हुन्। अमला माओवादी नेता वर्षमान पुन र ओनसरी घर्तीका गाउँले हुन्। अमला २०७४ सालअघि माओवादीमै सक्रिय थिइन्। यही राजनीतिक लहरो समातेर दावा समूहले प्रहरी र प्रशासनमा समेत पकड बनाएको थियो।
बेल्जियमको राहदानीधारी दावाले काभ्रेपलाञ्चोकबाट नागरिकता लिएपछि नेपाली राहदानी पनि बनाएको कागजातबाट खुल्छ। हिमालखबरलाई प्राप्त कागजात अनुसार दावाले २०७४ पुस २० गते नागरिकता लिएका थिए। नेपाली नागरिकतामा भने उनको नाम निमा तामाङ छ। उनले नमोबुद्ध-११ ठेगाना राखेका छन्।
काभ्रेका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले दावाको वंशजको नागरिकता जारी भएको पुष्टि गरेका थिए। “निमा तामाङको नाममा नागरिकता जारी भएको अभिलेखबाट भिड्छ। वंशजकै नागरिकता जारी भएको छ। ती व्यक्ति दावा छिरिङ हो कि होइन भन्ने हामी हेर्दै छौं,” प्रजिअ पौडेलले भने।
नागरिकता लिएको एक महीनापछि नै दावाले नेपाली राहदानी लिएको देखिन्छ। २०७४ माघ ११ गते दावा तामाङको नाममा राहदानी जारी भएको कागजातबाट खुल्छ। उनले नेपाल र बेल्जियम दुवै मुलुकको राहदानी प्रयोग गर्दै आएका थिए।
नेपाली राहदानी लिएको तीन महीनापछि नै उनी यही राहदानी प्रयोग गरेर विदेश गएको राहदानी विभागको अभिलेखमा छ। २०७५ जेठ २ गते विदेश प्रस्थान गरेका दावा एक सातापछि नेपाली राहदानी प्रयोग गरेर काठमाडौं फर्किएका थिए।
नेपाली राहदानीको म्याद १ मार्च २०२८ सम्म छ। हालै मात्र नवीकरण गरिएको बेल्जियमको राहदानीकोे म्याद ३ जनवरी २०३० सम्म छ। चीन भाग्न उनले यही राहदानी प्रयोग गरेका हुन्।
नेपाली कागजातमा उनको जन्मथलो काभ्रेको नमोबुद्ध लेखिएको छ भने बेल्जियमको राहदानीमा लिथाङ छ। लिथाङ तिब्बतमा पर्छ।
उनले आफूले नेपाली नागरिकता र राहदानी नलिएको दाबी गरेका थिए। तर, समाचार प्रकाशित भएपछि भने भागेका छन्।