चिनियाँ आपराधिक गिरोह भित्र्याउने दावा छिरिङसँग नेपालकाे वंशजकाे नागरिकता र राहदानी
राजनीतिक ओतमा चिनियाँ आपराधिक गिरोहलाई नेपाल भित्र्याउने बेल्जियमका नागरिक दावा छिरिङले नेपाली नागरिकता र राहदानी समेत लिएको खुलेको छ।
दावा अनलाइन ग्याम्ब्लिङ, म्याच फिक्सिङ, अश्लील भिडियो देखाएर र ‘लोन एप’ मार्फत अवैध असुली गर्ने चिनियाँ गिरोहलाई नेपाल भित्र्याउने ‘अजेन्ट’ हुन्। दावा नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्व सभामुख ओनसरी घर्ती र पूर्व मन्त्री वर्षमान पुनसँग निकट सम्बन्ध भएका व्यक्ति हुन्।
राजनीतिक र प्रशासनिक संरक्षण पाएका दावाले काभ्रेपलाञ्चोकबाट नेपाली नागरिकता लिएका हुन्। दावासँग बेल्जियमको राहदानी पनि छ। हिमालखबरले प्राप्त गरेका कागजात अनुसार, दावाले २०७४ पुस २० गते नागरिकता लिएका थिए। नेपाली नागरिकतामा भने उनको नाम निमा तामाङ छ। नमोबुद्ध-११ ठेगाना राखिएको छ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले दावाको वंशजको नागरिकता जारी भएको पुष्टि गरे। “दावा तामाङको नाममा नागरिकता जारी भएको अभिलेखबाट भिड्छ। वंशजकै नागरिकता जारी भएको छ,” उनले हिमालखबरसँग भने।
नागरिकता लिएको एक महीनामै दावाले नेपाली राहदानी लिएको देखिन्छ। २०७४ माघ ११ गते दावा तामाङको नाममा राहदानी जारी भएको कागजातबाट खुल्छ। उनले अहिले नेपाली र बेल्जियम दुवै मुलुकको राहदानी प्रयोग गरिरहेका छन्।
नेपाली राहदानी लिएको तीन महीनापछि नै उनी यही राहदानी प्रयोग गरेर बाहिर गएको राहदानी विभागको अभिलेखबाट खुल्छ। २०७५ जेठ २ गते विदेश प्रस्थान गरेका दावा साता दिनपछि सोही राहदानी प्रयोग गरेर नेपाल फर्किएका थिए।
नेपाली राहदानीको म्याद १ मार्च २०२८ सम्म छ। हालै मात्र नवीकरण गरिएको बेल्जियम राहदानीकोे म्याद ३ जनवरी २०३० सम्म छ। नेपाली नागरिकता र बेल्जियमको राहदानीमा उल्लेख भएको दावाको जन्ममिति भने फरक छ। नेपाली नागरिकतामा २०४१ वैशाख १५ गते जन्ममिति उल्लेख छ भने बेल्जियमको राहदानीमा २०४० चैत ३ गते जन्मिएको राखिएको छ।
यद्यपि दावाले भने आफूले नेपाली नागरिकता र राहदानी नलिएको जिकिर गरे। “म त्यो ठाउँमा गएकै छैन,” हिमालखबरसँगको टेलिफोन संवादमा उनले भने, “नभएको कुरा तपाईंलाई कसले लगायो?” आफू नेपाली भाषा सिकिरहेकाले विद्यार्थी भिसामा नेपालमा बसिरहेको उनको दाबी छ।
कागजात अनुसार उनी विद्यार्थी भिसामै नेपाल आएका हुन्। २६ जनवरी २०२२ मा उक्त भिसा सकिएपछि एक महीना पर्यटक भिसा थपिएको अध्यागमनको कागजातबाट खुल्छ।
दावा तिब्बती मूलका व्यक्ति हुन्। नेपाली कागजातमा उनको जन्मथलो काभ्रेको नमोबुद्ध हो भने बेल्जियम राहदानी अनुसार लिथाङ। लिथाङ तिब्बतमा पर्छ।
तिब्बती मूलका दावा मार्फत नेपाल छिरेको चिनियाँ गिरोहले पछिल्लो समय ‘लोन एप’ मार्फत ऋणको जालोमा फसाएर अवैध असुली गर्दै आएको छ। गत साउनमा मात्र नेपाल प्रहरीले काठमाडौंको सिनामंगल र रुपन्देहीको तिलोत्तमामा छापा मारेर दावा समूहका चिनियाँ र नेपाली गरी १५ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो।
यो समूहका पाँच जना नेपाली भने फरार छन्। पक्राउ परेकालाई जिल्ला अदालत काठमाडौंले गत असोजमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। कल सेन्टरका नाममा कम्पनी दर्ता गरेर यो समूहले अवैध असुली चलाएको अरोप छ। यो वर्ष मात्र प्रहरीले आधा दर्जन ठाउँमा छापा मारेर चिनियाँ र नेपालीलाई पक्राउ गरेको थियो।
दावा समूहको शृङ्खलाबद्ध अपराध
यो गिरोह नेपालमा अवैध धन्दामा लागेको तथ्य २०७६ सालमै खुलेको थियो। त्यतिखेर प्रहरीले काठमाडौंबाट १२२ जना चिनियाँलाई अनलाइन ग्याम्ब्लिङ, म्याच फिक्सिङ र अश्लील भिडिओ देखाएर चीनमा रहेका व्यक्तिबाट रकम असुलेको आरोपमा पक्राउ गरेको थियो। चीनको आग्रहमा गरिएको प्रहरी अपरेशनबाट एक हजारभन्दा बढी चिनियाँ पक्राउ पर्ने अपेक्षा थियो।
द मिनिस्ट्री अफ पब्लिक सेक्युरिटी, चाइनाका निर्देशक वाङ हुवो नेतृत्वको टोली काठमाडौं आएर यो अपरेशनलाई गोप्य रूपमा सघाएको थियो। तर, प्रहरी र राजनीतिक पहुँचका कारण त्यस वेला यो गिरोहका मुख्य सञ्चालक फरार भए भने उनीहरूका नेपाली साझेदारबारे प्रहरीले अनुसन्धान नै गरेन।
दावासँग वैवाहिक सम्बन्ध गाँसेकी रोल्पा थवाङकी अमला रोका चिनियाँको नेपाली साझेदार रहेको तीन वर्षअघि नै खुलेको थियो। २०७६ असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाँच जना चिनियाँले ल्याएको २९३ थान मोबाइल, ल्यापटप प्रहरीले जफत गरिदिएपछि छुटाउन दावाको समूह सक्रिय भएको थियो। इजाजत विनाका यी सामान भन्सारमा रोकिएपछि काठमाडौं बूढानीलकण्ठमा रहेको रोयल स्यान्ड्स होटलले मगाएको भन्दै होटलको दर्ता प्रमाणपत्र र सामान मगाएको पत्र लिएर यो समूह भन्सार पुगेको थियो।
रोयल स्यान्ड्स होटल बूढानीलकण्ठ नगर कार्यालयमा मञ्जिल श्रेष्ठको नाममा दर्ता छ भने कम्पनी रजिस्ट्रार कार्यालयको अभिलेखमा मञ्जिल र अमला संस्थापक शेयरधनी छन्। कम्पनी रजिस्ट्रार कार्यालयमा २०७५ मंसीरमा दर्ता भएको यो होटलको केही कित्ता शेयर चार महीनापछि चैत ७ गते चिनियाँ नागरिकद्वय लिन फेङचेङ र लिन लोङयुआनले पनि खरीद गरेर भित्रिएका थिए।
मञ्जिल, अमला र दावाले होटल-रेस्टुरेन्ट चलाउन चिनियाँसँग मिलेर अन्य कम्पनी पनि खोलेको उतिवेलै प्रहरीले प्रमाण जुटाएको थियो। मञ्जिल, अमला, दावा सहित तीन जना चिनियाँ नागरिक चु जिलियाङ, चेन काइमु र चोङ गुआङपेङको नाममा छङ फङ होटल सञ्चालन गर्ने गरी २०७६ कात्तिकमा कम्पनी दर्ता भएको भेटिएको थियो। तर, प्रहरीले अनुसन्धान नगरी उम्कायो।
ओरियन्टल इन्टरटेनमेन्ट अनलाइन र रोयल स्यान्ड्स टेक इन्टरटेनमेन्ट ग्याम्ब्लिङ नामक कम्पनीको उद्देश्यमै अनलाइन ग्याम्ब्लिङ सञ्चालन गर्ने भनेर कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको खुलेको थियो। रोयल स्यान्ड्स टेक कम्पनी अमला र मञ्जिलको नाममा दर्ता भएको कागजातबाट खुल्छ।
कानूनी कारबाहीबाट छलिएको केही समयपछि नै यो समूह फेरि अवैध दुनियाँमा फर्किएको देखिन्छ। काठमाडौं र रुपेन्देहीमा ‘लोन स्क्याम’ चलाउन यो समूहकै सदस्यको नाममा कम्पनी दर्ता भएको कागजातबाट खुलेको थियो। कम्पनी रजिस्ट्रार कार्यालयको अभिलेख अनुसार, स्काई वर्ल्ड काठमाडौंका विजय श्रेष्ठ, रोल्पाका सुविन्द्र रोका मगर र सिन्धुपाल्चोकका पाल्साङ शेर्पाको नाममा दर्ता छ। ब्लू स्काईमा भने विजय र सुविन्द्र साझेदार हुन्।
अदालतमा दायर भएको अभियोग अनुसार ब्लू स्काई र स्काई वर्ल्ड दुवै कम्पनीका व्यवस्थापक मञ्जिल हुन्। कम्पनीधनी सुविन्द्र अमलाका दिवंगत पति सुजन प्रकाश रोकापट्टिका छोरा हुन्। सुविन्द्र पछिल्लो पटक आमासँगै ‘लोन स्क्याम’ गर्ने कम्पनीमा जोडिएका छन्।
बुटवलको ब्लू स्काई बिजनेस सोलुसनमा अमलाले नै ब्यांंक खातामा कार्यालय सञ्चालनका लागि खर्च पठाइदिने गरेको पक्राउ परेका कमलजंग सेनले प्रहरी बयानमा खुलाएका छन्। सेनले अमला आफ्नी माइजू रहेको समेत बताएका छन्। सेनले नै कल सेन्टर चलाउने घर खोजेका हुन्।
“कार्यालय स्थापना गर्न अमला रोका, सुविन्द्र रोका मगर र मञ्जिल श्रेष्ठ समेतले मेरो ब्यांक खातामा रकम पठाउने गर्दथे,” सेनले बयानमा भनेका छन्, “मेरी माइजू नाताकी अमला रोकाले बुटवलमा ठूलो कम्पनी खोल्दै छौं, काम गर्ने भए ४०/५० हजार जति तलब हुन्छ भनेकाले घरभाडाको सम्झौता गरेको हुँ।” सेन कम्पनीका जनरल म्यानेजर हुन्।
त्यस्तै, काठमाडौंको ठमेलमा रहेको होटल भियना प्रालिमा भने अमलाको पनि संलग्नता खुलेको थियो। गत साउन ११ मा प्रहरीले होटलबाट चार चिनियाँ नागरिकलाई पक्राउ गर्दा २६ वटा ल्यापटप, ४७२ वटा मोबाइल, एक लाख ९० हजार मूल्य बराबरको सिम कार्ड बरामद गरेको थियो।
बरामद सामानमा समेत ऋणीलाई धम्क्याएको, अश्लील फोटोहरू जोडेको भेटिएको थियो। मञ्जिल र अमलाले घरधनी रत्नमान श्रेष्ठसँग होटल चलाउन सम्झौता गरेको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। तर, मञ्जिललाई प्रतिवादी बनाइए पनि अमलालाई भने उन्मुक्ति दिइएको छ।
दोहोरो नागरिकता लिएका दावा अवैध धन्दा चलाउने गिरोहको सक्रिय सदस्य भए पनि कागजातमा कहीं नदेखिने प्रहरीले जनाएको छ। अनुसन्धानमा संलग्न प्रहरीहरूका अनुसार, दावालाई नागरिकता र राहदानी सम्बन्धी कसूरमा भने सजाय हुने देखिएको छ।
के हुन्छ कारबाही?
दावाले नेपाली नागरिकता र राहदानी लिएको विषयमा प्रहरीले खोजबिन समेत गरेको थियो। तर, जिल्ला प्रशासन कार्यालयमा नागरिकता दिने कार्यमा संलग्न कर्मचारीको विवरण हुने कागजात नै गायब पारिएको पाइएको एक प्रहरी अधिकृतले बताए। “कस्ता कागजातका आधारमा नागरिकता दिइएछ भनेर खोज्न जाँदा अभिलेख फाइलको बीचको पन्ना नै गायब पारिएको रहेछ,” ती अधिकारीले भने।
दावाले नेपाली नागरिकता लिंदा शिवप्रसाद सिम्खडा प्रमुख जिल्ला अधिकारी थिए। उनी २०७३ मंसीर ९ देखि २०७५ वैशाख १४ गतेसम्म काभ्रेको प्रमुख जिल्ला अधिकारी रहेको कार्यालयको वेबसाइटमा छ। अहिले उनले अवकाश पाइसकेका छन्।
नागरिकता ऐन, २०६३ मा विदेशीले नेपाली नागरिक भएको झूटो दाबी गरी नागरिकता लिन नपाउने व्यवस्था गरेको छ। यस्तो कसूर गर्नेलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने ऐनको दफा २१ मा उल्लेख छ।
त्यस्तै, विदेशीलाई नागरिकता दिलाउन सनाखत गर्ने, सिफारिश गर्नेलाई ६ महीनादेखि तीन वर्षसम्म कैद वा २५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन्छ।
दावाको हकमा राहदानी कसूर पनि आकर्षित हुन्छ। राहदानी ऐन, २०७५ मा झूटा विवरण दिई राहदानी लिन नपाइने उल्लेख छ। यस्तो कसूर गर्नेलाई दुई लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षदेखि तीन वर्षसम्म कैद वा दुवै सजाय हुने दफा २२ मा उल्लेख छ।
दावाले राहदानी लिंदा आपत् पर्दा सम्पर्क गर्ने व्यक्तिमा अमलाको नाम राखिएको छ। बेल्जियम नागरिक दावालाई नेपाली राहदानी लिन उकास्ने र मतियारका रूपमा समेत अमलालाई कारबाही हुन सक्ने देखिन्छ। ऐनमा झूटा विवरण दिई राहदानी लिन दुरुत्साहन गर्नेलाई कसूरदारलाई भए सरहकै र कसूर गर्न सहयोग गर्नेलाई कसूरदारलाई हुने सजायको आधा हुने उल्लेख छ।