नेपाल अप्ठ्यारोमा छ, जुनसुकै वेला विस्फोट हुन सक्छ
अहिले नेपाल अप्ठ्यारोमा छ। यहाँ जुनसुकै वेला विस्फोट हुन सक्छ। माथि वा तल‚ जहाँबाट पनि विस्फोटको सम्भावना छ। विस्फोट भए मुलुक कता जान्छ भन्न सकिंदैन।
नेपालमा वेलावेला लोकतन्त्र टिक्दैन भन्ने भाष्य स्थापित गर्न खोजिन्छ। नेपालको इतिहासले भने लोकतन्त्र बाहेक अन्य व्यवस्था नटिकेको देखाउँछ। जस्तै‚ राणाशासन टिकेन। पञ्चायत टिकेन। संवैधानिक राजतन्त्र टिकेन। ज्ञानेन्द्र शाहको हुकुमीतन्त्र टिकेन। जनगणतन्त्र ल्याउँछु भनी सशस्त्र द्वन्द्व गरेर आएको नेकपा (माओवादी)को जनवादी सिद्धान्त पनि टिकेन।
लोकतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा विभिन्न व्यक्तिले आवाज उठाएका छन्। स्वतन्त्रताको खातिर आवाज उठाउँदा शासकले दमन र यातना दिने गरेका छन्। राणा विरुद्ध टंकप्रसाद आचार्यले विद्रोहको गर्नुभयो। उनीहरूको विद्रोहका कारण प्रजातन्त्र आयो। राजा महेन्द्रले प्रजातन्त्रलाई मासेर पञ्चायती व्यवस्था लागू गरे। तर‚ स्वतन्त्रताको पक्षपाती जनताले पञ्चायतलाई फालेर बहुदलीय व्यवस्था स्थापित गरे।
बहुदलीय प्रजातन्त्रले दिएको स्वतन्त्रतालाई उपभोग गरेर उग्रधारका समर्थकहरूले १० वर्षसम्म हिंसा मच्चाए। उनीहरूले सञ्चालन गरेको हिंसाबाट निर्दोष जनताले वर्षौं सास्ती खेपे। तर‚ ती समूह पनि लोकतन्त्रकै कित्तामा आउनुपर्यो। ज्ञानेन्द्र शाहले दलीय व्यवस्थाले काम गर्न सकेन भनी सत्ता आफ्नो हातमा लिए। त्यो पनि धेरै समय टिकेन। २०६२/६३ को जनआन्दोलनले ज्ञानेन्द्र शाहलाई पछि हट्न बाध्य बनायो।
विभिन्न कालखण्डमा भएका यी घटनाले पटक पटक लोकतन्त्र हरण गर्न खोजे पनि त्यस बाहेकको व्यवस्था टिकेको देखाउँदैन। लोकतन्त्र हरण गर्ने प्रयासले सफलता प्राप्त गरे जस्तो देखिए पनि त्यो क्षणिक मात्र भएको छ।
छिमेकी मुलुक भारतमा गरीबी लगायत विभिन्न समस्या देखाएर लोकतन्त्र टिक्दैन भनियो। तर‚ ती सब हल्ला सावित भए। केही कमजोरी देखिए पनि भारतमा लामो समयदेखि लोकतान्त्रिक व्यवस्था छ।
विकासशील मुलुकमा मात्र होइन‚ अमेरिका जस्तो विकसित मुलुकमा पनि लोकतन्त्रमाथि प्रहार हुँदै आएको छ। अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले त्यहाँ संसदीय संस्कारमाथि प्रहार गरे। तर, अहिले उनले गरेको गलत काम विरुद्ध मुद्दा चलिरहेको छ।
लोकतन्त्रले नागरिकलाई सशक्त बनाउँछ। संघसंस्थाहरूलाई अधिकारसम्पन्न बनाउँछ। त्यही नागरिक र संघसंस्थाहरूले लोकतान्त्रिक व्यवस्थाको सुरक्षा गर्न्छ। त्यसैले लोकतन्त्र नागरिकको व्यवस्था हो। उनीहरूले नै त्यो व्यवस्था टिकाउँछन्। लोकतन्त्र नटिके मानव अधिकार टिक्दैन। मानव अधिकार टिकेन भने मानवीयता टिक्दैन। आपसी प्रेम र सहिष्णुता टिक्दैन।
राजनीतिक रूपमा नेपालले फड्को मारेको छ। एकात्मक व्यवस्थाबाट संघीयता, संवैधानिक राजतन्त्रबाट गणतान्त्रिक व्यवस्थामा पुगेका छौं। जेजस्ता अप्ठ्यारा भए पनि आवधिक निर्वाचन भइरहेको छ। जसले राजनीतिक निकास निकालेको छ। तर, न्यायपालिका न्यायपालिका जस्तो देखिएको छैन। कार्यपालिका कार्यपालिका जस्तो देखिएको छैन। संसद् संसद् जस्तो देखिएको छैन। बहुदलीय प्रजातन्त्र भन्छौं, तर तिनको सिद्धान्त अनुरूप काम भएको देखिंदैन। यद्यपि सबै तहको आवधिक चुनाव भइरहेका छन्।
हामीकहाँ बहुदलीय व्यवस्थाका लागि आवश्यक संरचना छ। तर, ती राम्ररी चलेनन्। लोकतन्त्रलाई चाहिने संस्थाहरू सङ्कटग्रस्त छन्। राजनीतिक दलहरू सङ्कटमा छन्। दलका काम हेर्दा तिनीहरू ती राजनीतिक दल हुन् कि होइनन् भन्ने संशय उत्पन्न हुन्छ।
नागरिकले अपेक्षा गरेका थिए‚ जनप्रतिनिधिहरूले जनअपेक्षा पूरा गर्नेछन्। तर‚ अपेक्षा अनुसार काम भएको छैन। अर्थात् जनअपेक्षा एउटा छ, दलको काम अर्कोतिर छ। चुनावमा एउटा दलसँग मिलेर जनतासामु गयो‚ जितेपछि अर्कैसँग मिलेर सरकार बनायो। प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएका छन्। विश्वासको मत दिएका दलहरूले नै आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्री नपठाउँदा सात पटक विस्तार हुँदा पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन। के हामीले चाहेको व्यवस्था यस्तै हो?
एउटै मात्र दलको सरकार बन्न नसक्ने अवस्था आउन सक्छ भनेर दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन सक्ने प्रावधान संविधानमा राखिएको छ। संसदीय व्यवस्थालाई बलियो बनाउन‚ संसद्लाई पूर्ण कार्यकाल काम गर्न दिन सजिलै संसद् भङ्ग नहुने प्रावधान राखिएको छ। तर‚ संविधानको धेरै प्रावधानको व्याख्या गर्न सकेका छैनौं। २०४७ को संविधानका कारण अस्थिरता आएको अनुभवका आधारमा त्यसलाई कम गर्न नयाँ संविधानमा केही विशेष प्रावधान राखिए। यद्यपि केही कमजोरी देखिएको छ।
प्रधानमन्त्री बलियो हुनुपर्छ भन्नेमा दुईमत छैन। तर‚ अवस्था अनुसार उनीहरूको अधिकार एकै हुँदैन। राजीनामा गरिसकेको प्रधानमन्त्रीले सम्पूर्ण राजकीय अधिकार पाउनु हुँदैन। चुनाव घोषणा भइसकेपछि प्रधानमन्त्रीले के के अधिकार प्रयोग गर्न पाउँछन् त्यो स्पष्ट हुनुपर्छ। विश्वासको मत लिन बाँकी प्रधानमन्त्रीको केही सीमितता हुनुपर्छ। यी विषय पनि प्रस्ट पार्नुपर्छ।
अहिले नेपाल अप्ठ्यारोमा छ। यहाँ जुनसुकै वेला विस्फोट हुन सक्छ। माथि वा तल‚ जहाँबाट पनि विस्फोटको सम्भावना छ। विस्फोट भए मुलुक कता जान्छ भन्न सकिंदैन। यसमा शक्तिशाली राष्ट्रहरूले आफ्नो स्वार्थ हेरिरहेका छन्। यति हुँदाहुँदै पनि नेपालमा धेरै विषय स्थापित भएको छ। सङ्कटलाई चिरेर अघि बढेको छ। त्यसैले आशा गर्ने ठाउँ छ‚ नयाँ नेतृत्वले देशलाई अघि बढाउनेछ।
(टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको संवाद कार्यक्रममा व्यक्त पूर्व मन्त्री आचार्यको विचार।)