जग्गा कित्ताकाट खोल्ने निर्णय फिर्ता लिन एमाले सांसदको माग
नेकपा (एमाले)की सांसद सरस्वती सुब्बाले जग्गाको कित्ताकाट खोल्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरेकी छन्।
वैशाख ५ गते बसेको मन्त्रिपरिषद् बैठकले कित्ताकाट खोल्ने निर्णय गरेको थियो। कित्ताकाट खोल्दा जग्गाको खण्डीकरण बढ्ने र कृषि भूमि समाप्त हुने भन्दै सुब्बाले यस्तो माग गरेकी हुन्।
“कित्ताकाटले जमीनको खण्डीकरण बढाउँछ। कृषिभूमि समाप्त पार्ने बाटो खोल्छ। प्राकृतिक जोखिम न्यूनीकरण र सीमान्तीकृत समुदायको समस्या समाधानको बाटो बन्द गरिदिन्छ,” सुब्बाले बुधबार प्रतिनिधि सभा बैठकमा भनिन्, “जमीनको दलालीकरण बढाउँछ। त्यसकारण कित्ताकाट खोल्ने निर्णय सच्याउनुपर्छ।”
२०७९ जेठमा स्थानीय भू-उपयोग योजना बनाउन भन्दै सरकारले कित्ताकाट रोक्का गरेको थियो। “धेरै स्थानीय तहले भू-उपयोग योजना बनाउन लागेका वेला पुरानै अवस्थामा कित्ताकाट खोल्नु गलत छ,” सुब्बाले भनिन्।