बसाइँ सराइले रित्तियो राजापानी
आधारभूत सेवाको खोजीमा बसाइँ सर्दा हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीको पुरानोगाउँ, माथिल्लो चप्लेटी र कटहरे–सिरुवानी गाउँ रित्तिएको छ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको माथिल्लो चप्लेटीमा १६ घर थियो। मानिसको चहलपहल बाक्लो हुन्थ्यो। अहिले माथिल्लो चप्लेटी गाउँमा एउटै घर छैन। झाडीले छोपिएको छ।
यस्तै‚ १८ घरको बसोबास रहेको राजापानीकै पुरानो गाउँमा अहिले धर्मबहादुर कार्की, महेश रेग्मी र नवराज रेग्मीको मात्र घर छ। तीमध्ये पनि धर्मबहादुर मात्र सपरिवार छन्। नवराजका परिवार मोरङको विराटनगर छन्। स्थानीय विद्यालयका शिक्षक नवराज जागीरका कारण मात्र गाउँ अडिएका हुन्। महेशका परिवार काठमाडौंमा छन्। कटहरे–सिरुवानीमा केही वर्षअघिसम्म १० घर थियो। अहिले कमलराज रेग्मी मात्र घर छ। कांग्रेसका पूर्व वडा सभापति रेग्मी राजनीतिकै कारण गाउँमा अडिएका हुन्।
४४ घर रहेको पुरानो गाउँ, माथिल्लो चप्लेटी र कटहरे–सिरुवानीमा अहिले चार घर मात्र छ। माथिल्लो चप्लेटी र कटहरे–सिरुवानीमा झाडीभित्र घरको भग्नावशेष देखिन्छ। २०७८ सालमा लागेको डढेलोले अधिकांश रित्ता घर जलेका थिए।
यी गाउँमा प्रायः मानिस गाउँभन्दा तल साप्सुखोला किनारमा रहेको रेग्मीटारमा बसाइँ सरेको कटहरे–सिरुवानीका कमलराज बताउँछन्। यस्तै‚ केही परिवार उदयपुरको गाईघाट, विराटनगर, काठमाडौं लगायतका शहरमा बसाइँ सरेका छन्।
राजापानी सबैजसो टोलमा बसाइँ सर्ने दर अधिक छ। ३०–४० घर रहेको बेराखा बाहुनगाउँ अहिले सुनसान छ। गैरीखोलामा जुद्धबहादुर कार्कीको परिवार मात्र बाँकी छ। कार्कीगाउँमा रमन कार्की सहित दुई परिवार बाँकी छन्। तल्लोबड्का, काहुले र ओखरबोटे तल्लोसान्नेमा तीन-तीन परिवार मात्र बाँकी छन्। थुम्कीमा चार, पाटीहात्तेल र बेलबोटेमा ६-६ घर, रोकाडाँडा र सिमपानीमा सात-सात परिवार, नमुना टोलमा आठ-नौ घर मात्र बाँकी छन्। गाउँमा बस्न उत्प्रेरित गर्ने योजना तथा कार्यक्रम नहुँदा पनि बसाइँ सराइ रोक्न नसकिएको हलेसी तुवाचुङ-११ का वडाध्यक्ष अनिश कार्की बताउँछन्।
बसाइँ सराइका थरिथरि कारण
सुक्खाग्रस्त क्षेत्र राजापानीबाट बसाइँ सर्नुको एउटै मात्र छैन। केही खानेपानीको समस्या, केही थप सुविधाको खोजी, केही जंगली जनावरले दिएको सास्तीका कारण गाउँ छाडेको वडाध्यक्ष कार्की बताउँछन्।
राजापानीका अधिकांशको खेत रेग्मीटारमा छ। खोटाङकै उर्वर क्षेत्र रेग्मीटारमा राजापानीवासी खेतीका लागि मात्र झर्थे। २०७२ सालको भूकम्प पीडित लाभग्राहीमा परेका उनीहरूले रेग्मीटारमा घर निर्माण गरी बसाइँ सरे।
गाईघाट–दिक्तेल-सगरमाथा मार्गले छोएको रेग्मीटारमा अहिले २५ घर छ। सडकको दायाँ–बायाँ घर बन्ने क्रम जारी छ। रेग्मीटारमा पहिला तीन घर मात्र थियो। दिक्तेलबाट गाईघाट ओहोर दोहोर गर्ने सडकले छोएकाले अहिले बजारमा परिणत भएको वडाध्यक्ष कार्की बताउँछन्। रेग्मीटारमा गैरीखोलाका केही स्थानीय पनि बसाइँ आएका छन्।
अस्पताल, राम्रो शैक्षिक संस्था‚ रोजगारीको आदिको खोजीमा बसाइँ सरेका छन्। पछिल्लो समय मान्छे सुविधाभोगी हुँदै गएकाले पनि बसाइँ सर्ने गरेको स्थानीय हरि बुढाथोकी बताउँछन्। “पहिला नुन‚ चामल लिन‚ घिउ बेच्न मान्छे फत्तेपुर पुग्थे। अहिलेका मान्छे सुविधाभोगी भए। दुःख गर्न मान्दैनन्,” बुढाथोकी भन्छन्, “अहिले खरबारी धेरै छ, गाईवस्तु धेरै छ भन्ने जमाना गए। तराईमा घर जग्गा छ‚ घडेरी छ भन्ने दिन आए।”