उपेन्द्र यादवसँग चुनाव लड्न कार्यकर्ताको निकै दबाब आएको छ: राजेन्द्र महतो
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले बारा-२ बाट चुनाव लड्ने तयारी गरेका छन्।
आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा लोसपाले महतोलाई उम्मेदवार बनाउने तयारी गरेको हो। यो क्षेत्रबाट जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले पनि उम्मेदवार बन्ने तयारी गरेका छन्।
उपनिर्वाचनमा बारा-२ बाट उम्मेदवार बन्न नेता तथा कार्यकर्ताको दबाब आइरहेको नेता महतोले बताए। “चुनाव लड्न कार्यकर्ताको निकै दबाब आएको छ,” महतोले हिमालखबरसँग भने, “उम्मेदवारी दर्ता गर्न अझै चार दिन बाँकी छ। हेरौं, कस्तो अवस्था आउँछ। अहिले राय-सल्लाह गर्दै छौं।”
स्थानीय तहबाट कार्यकर्ताले आग्रह गरिरहेकाले लोसपा नेतृत्व पनि दबाबमा परेको उनको भनाइ थियो। “उचित समयमा उचित निर्णय गर्नेछौं,” महतोले भने।
गत मंसीर ४ गतेको निर्वाचनमा महतो गृहजिल्ला सर्लाहीमा चुनाव लडेका थिए। उनी नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवसँग पराजित भएका थिए।
त्यस्तै, जसपा अध्यक्ष यादव सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएका थिए। अहिले उनले बारा-२ बाट चुनाव लड्ने तयारी गरेका छन्।
जनमत पार्टीले पनि नयाँ उम्मेदवार भित्र्याएको छ। गत निर्वाचनमा बारा-२ मा ३५४ मतले पराजित नेकपा (माओवादी केन्द्र)का नेता शिवचन्द्रप्रसाद कुसवाहालाई जनमतले उम्मेदवार बनाउने तयारी गरेको छ। उनी चैत १५ गते मात्रै जनमत पार्टीमा प्रवेश गरेका छन्।
यस्तो वेला लोसपाका वरिष्ठ नेता महतोले चुनाव लड्ने तयारी थालेका हुन्। उपनिर्वाचन घोषणा भएसँगै उनी स्थानीय नेता तथा कार्यकर्तासँग छलफल गरिरहेका छन्।
नागरिक उन्मुक्ति पार्टी र प्रभु साहको समर्थन जुटाउन महतो छलफल गरिरहेका छन्। दुवैले सहयोग गरेमा सजिलै चुनाव जित्ने महतोको आकलन रहेको स्थानीय नेता बताउँछन्।