‘उपेन्द्र यादवसँग चुनाव लड्न माओवादी छोडें’
उपराष्ट्रपति बनेका रामसहायप्रसाद यादवसँग प्रतिनिधि सभा सदस्यमा पराजित नेकपा (माओवादी केन्द्र) का नेता शिवचन्द्रप्रसाद कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका छन्।
काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरी कुशवाहाले सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेको घोषणा गरेका छन्। आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा बारा-२ मा टिकट नपाउने भएपछि उनी माओवादी छोडेर जनमतमा प्रवेश गरेका हुन्।
यो क्षेत्रमा सत्तारूढ गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव चुनाव लड्ने सम्भावना छ। गठबन्धनमा रहेको माओवादीले पनि यादवलाई नै समर्थन गर्ने देखिएपछि आफू जनमतमा लागेको कुशवाहा बताउँछन्।
उनी गत मंसीर ४ गते भएको निर्वाचनमा ३५४ मतले पराजित भएका थिए। उनले १३ हजार ४६८ मत पाएका थिए भने नेकपा (एमाले)को समर्थनमा रामसहायप्रसाद यादव १३ हजार ८२२ मत पाएर निर्वाचित भएका थिए। उनी उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा-२ मा उपनिर्वाचन हुन लागेको छ।
यो क्षेत्रबाट उम्मेदवार बन्न लागेका जसपा अध्यक्ष यादवसँग चुनाव लड्न माओवादी छोडेको कुशवाहा बताउँछन्। नेता कुशवाहासँग वीरेन्द्र रमणले गरेको संक्षिप्त कुराकानीः
तपाईं त सशस्त्र युद्ध लडेर आएको मान्छे हुनुहुन्छ। माओवादीकै नेतृत्वमा सरकार रहेको वेला पार्टी परित्याग गर्नुभयो त?
यो मेरो चाहनाभन्दा पनि जनताको माग रहेको छ। अहिले जसरी गठबन्धनको नाममा पार्टी र व्यक्तिको अस्तित्व जोगाउन मुश्किल छ। यस्तो अवस्थामा माओवादीमा बसेर मैले आफ्नो अस्तित्व जोगाउन सकिंदैन भन्ने ठानें। त्यसैले मधेशको नयाँ वैचारिक शक्तिका रूपमा रहेको जनमत पार्टीमा प्रवेश गरेको हुँ। मेरो राजनीतिक पहिचान र संघर्षलाई जीवन्त बनाउन नयाँ पार्टी रोजेको हुँ।
त्यसो भए बारा-२ बाट चुनाव लड्नुहुन्छ?
मधेशका जनताको अधिकार र पहिचानलाई आत्मसात् नगर्ने पार्टीसँग माओवादीले गठबन्धन गरिरहेको छ। गत मंसीर ४ गतेको निर्वाचनमा उपेन्द्र यादवजीको पार्टी एमालेको गठबन्धनमा थियो। त्यति वेला म ३५४ मतले पराजित भएँ।
सत्ताका लागि अनुकूल हुने अवस्था देखिएपछि जसपा अहिलेको गठबन्धनमा आयो। अर्थात् उपेन्द्रजीलाई सत्ताभन्दा अरू थोक केही चाहिंदैन। जनताले पराजित गरेपछि अनेक तिकडम गरेर संसद् छिरेर सत्तामा जान खोज्दै हुनुहुन्छ।
यस्तो अवस्थामा म माओवादीमा बसेर उपेन्द्रजीलाई सघाउन सक्दिनँ। त्यसैले यो बाटो रोजें। यो मेरा लागि राजनीतिक लडाइँ हो। म निर्वाचनका साथसाथै राजनीतिक लडाइँ लड्दै छु, जनता मेरो साथमा छन्।
मधेश आन्दोलनबाट चर्चामा आएका उपेन्द्र यादव राष्ट्रिय राजनीतिमा पनि स्थापित व्यक्ति हुन्। गठबन्धनमा रहेका सबै दल यादवको पक्षमा छन्। यो सबै देख्दादेख्दै पनि यादव विरुद्ध चुनाव लड्न किन कम्मर कसेर लाग्नुभएको छ?
चार महीनाअघि उपेन्द्र यादवजी सप्तरी-२ बाट हार्नुभयो, जनताले हराए। पैसाको खोला बगाउनुभयो, तर जित्नु सक्नुभएन। यसको कारण के हो भने जनता परिवर्तन चाहन्छन्। सप्तरीमा जसरी उपेन्द्रजीको पैसाको जोडबल चलेन, बारा-२ मा पनि त्यही नै हुनेछ। जनताले पैसा नहेरी आफ्नो भूमिपुत्रलाई निर्वाचित गराउनेछन्।
जनताको अगाडि उपेन्द्रजीको पैसाको केही चल्नेवाला छैन। जनता उहाँको भ्रममा फस्दैनन्। जनताले नै मलाई तपाईं जसरी पनि उम्मेदवार भएर हाम्रो प्रतिनिधि बन्नुस् भनेका छन्। म प्रतिनिधिभन्दा पनि सेवक भएर काम गर्न चाहन्छु।
पार्टी परिवर्तन गर्नुभयो। तपाईंका पुरानो पार्टीका कार्यकर्ताले साथ दिएनन् भने निर्वाचन प्रतिकूल पनि हुन सक्छ भन्ने लाग्दैन?
जनताले हरेक प्रतिकूलतालाई अनूकलतामा बदलेको इतिहास छ। सप्तरी-२ मा उपेन्द्र यादवजीलाई जनताले हराइदिए। बारा-२ मा पनि जनता बाहिरको व्यक्तिभन्दा आफ्नो छोरा, धर्तीपुत्रलाई रोज्नेछन्। बाहिरबाट आएर नाराथरीका कुरा गर्ने, अर्को चुनावमा अर्को क्षेत्र रोज्ने, यो भ्रमको राजनीति धेरै दिन टिक्दैन।
बारामा पनि उपेन्द्रजीको सप्तरीको जस्तै हालत हुन्छ, यसमा ढुक्क हुनुहोस्। बारामा उहाँको पार्टीमा कुनै नेता छैनन्। बाराकै कुनै नेतालाई टिकट दिंदा अवस्था अर्को हुन्थ्यो। जनताले बाराको नेतालाई आफ्नो प्रतिनिधि बनाउन चाहेका छन्। त्यसैले जनताले यस पटक मलाई रोज्नछन्।
बाराबाट उपेन्द्र यादवले उपराष्ट्रपति बनाउनुभयो। बाराबाटै मधेश प्रदेशको मुख्यमन्त्री हुनुहुन्छ। यसले उहाँको पक्षमा सकारात्मक प्रभाव पर्छ भन्ने आकलन गरिंदै छ नि?
उपेन्द्र यादवजीको पार्टीमा बाराका कुनै नेता-कार्यकर्ता छैनन्? उम्मेदवार बनाइदिंदा हुन्थ्यो नि! मोरङका जनतालाई ठग्नुभयो, सप्तरीका जनतालाई ठग्नुभयो, अब बारा आउँदै हुनुहुन्छ। यहाँबाट पराजित भएपछि अन्य कुनै क्षेत्रमा लड्नुहुन्छ।
म निर्वाचनमा पराजित भए पनि यहीं बाराकै जनताबीच रहेर सेवा गरिरहेको छु। भोलिका दिनमा पनि यहीँबाट बसेर जनताको सेवा गर्नेछु। त्यसकारण जनतालाई सबै कुरा थाहा छ। जनता आतुर छन्, उहाँलाई सबक सिकाउन।