विद्यार्थीलाई यौनशोषण गरेको आरोपमा शिक्षक पुर्पक्षका लागि जेल चलान
आफ्ना नाबालिग विद्यार्थीलाई महीनौं यौनशोषण गरेको आरोपमा शिक्षक सन्तोष क्षेत्री पुर्पक्षका लागि कारागार चलान भएका छन्।
चितवनको भरतपुर महानगरपालिका–१२ का क्षेत्रीले नर्सिङ तयारी कक्षाकी विद्यार्थीलाई यौनशोषण गरेको आरोप लागेको थियो। जिल्ला अदालत चितवनका न्यायाधीश वासुदेव न्यौपानेको एकल इजलासले क्षेत्रीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
ती बालिकाले आफू १४ वर्ष हुँदा नै शिक्षक क्षेत्रीले पहिलो पटक यौनशोषण गरेको बताएकी छन्। लगातार यौनशोषणमा परेपछि गत फागुन ५ गते ती बालिका विद्यालयको पोशाकमै एक्लै जिल्ला प्रहरी कार्यालय चितवनमा पुगेर आफूमाथि भएको घटना जानकारी दिएकी थिइन्। त्यसपछि मात्रै उनको परिवारले समेत छोरीमाथि भएको यौनशोषणबारे थाहा पाएको थियो।
फागुन ५ गते नै शिक्षक क्षेत्री विरुद्ध प्रहरी कार्यालयमा जाहेरी दर्ता भयो। जाहेरी दर्ता भएको पाँच दिनपछि फागुन १० गते उनी पक्राउ परेका थिए। क्षेत्री गत माघमा माध्यमिक तह विज्ञान शिक्षकमा स्थायी नियुक्ति पाएर काभ्रे गएका थिए।
बालिकालाई १४ वर्षको उमेरदेखि क्षेत्रीले यौन शोषण गर्दै आएको जाहेरीमा उल्लेख छ। गत मंसीर १४ गतेदेखि १५ वर्ष लागेकी बालिकालाई भरतपुर–१० मा डेरा लिएर बसेका क्षेत्रीले महीनौं यौन शोषण गरेको आरोप छ। शरीरका विभिन्न ठाउँमा चुरोटका ठुटाले पोलेको समेत स्वास्थ्य जाँच प्रतिवेदनमा देखिएको छ। क्षेत्रीले बालिकाको सामाजिक सञ्जाल समेत चलाउने गरेको पीडितले दाबी गरेकी छन्।