जब बालिका स्कूले पोशाकमै प्रहरी कार्यालय पुगिन्
आठ महीनादेखि शिक्षकले यौन यातना दिएको भन्दै एक बालिका स्कूले पोशाकमै प्रहरी कार्यालय पुगेपछि चितवनका एक शिक्षक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय, चितवनको टोल फ्री नम्बर १०० मा माघ २७ गते एक बालिकाको फोन आउँछ। फोनमा उनी सीधै भन्छिन्, ‘महिला सेलको नम्बर पाऊँ न।’
प्रहरी कन्ट्रोल रूममा ड्यूटीमा रहेका प्रहरीले पनि चितवन प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रको मोबाइल नम्बर दिन्छन्।
त्यसको केही मिनेटमै चितवन प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रको मोबाइल नम्बरमा फोन आउँछ। केन्द्रमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) दीपा कार्कीले उठाइन्। फोनमा भेट्ने समय मागेको केही बेरमै १५ वर्षीया बालिका विद्यालय पोशाकमै प्रहरी कार्यालय पुग्छिन्।
बालिकाले एकहोरो कहालीलाग्दो यौन यातना (बलात्कार)बारे सुनाएको सई कार्की बताउँछिन्। गत असार १७ गतेयता शिक्षकले आफूलाई यौन यातना दिइरहेको बालिकाको भनाइ थियो। बालिकाले सई कार्कीसँग भनिन्, “पटक पटक बलात्कार गर्यो। हरेक पटक पिल्स चक्की खान दबाब दियो।”
सबै विवरण सुन्दा केही बेर त सई कार्की पनि रन्थनिइन्। केही बेर सोचविचार गरेर बालिकलाई सम्झाउन थालिन्।
अभिभावक नलिई प्रहरी कार्यालय पुगेर आफूले भोगेको यौन यातनाबारे सुनाएपछि सई कार्कीले सम्झाई-बुझाई गरिन्। १५ वर्षकी मात्रै भएकाले यस्तो घटनाबारे अभिभावकलाई पनि जानकारी दिनुपर्ने विषयमा बुझाइन्। अनि त्यहींबाट बाबुको नम्बरमा फोन गरेर छोरी लिन प्रहरी कार्यालय बोलाइन्।
प्रहरीको परामर्शपछि आफूले आठ महीनादेखि पाइरहेको यौन यातनाबारे परिवारलाई भन्न उनी तयार भइन्। न्याय खोज्दै प्रहरी कार्यालय पुग्ने बालिकाको आँटले नै उनीमाथि भएको जघन्य अपराधबारे परिवारजनले पनि थाहा पाए। छोरीमाथि भएको अत्याचार विरुद्ध उनीहरूले पनि न्यायको बाटो समाए।
त्यसपछि फागुन ५ मा शिक्षक विरुद्ध प्रहरी कार्यालयमा जाहेरी दर्ता भयो। जाहेरी दर्ता भएको पाँच दिनपछि फागुन १० गते शिक्षकलाई पक्राउ गरिएको छ।
भरतपुर महानगरपालिका-१२ का शिक्षक केही समयअघि मात्रै माध्यमिक तह विज्ञान शिक्षकमा स्थायी नियुक्ति पाएर काभ्रे गएका थिए। उनी बिदामा भएकाले पक्राउ गर्न ढिला भएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता विजयराज पण्डितले बताए।
अहिले ३१ वर्षीय शिक्षक प्रहरी हिरासतमा छन्। जिल्ला प्रहरी कार्यालय, चितवनले ‘३५ भरतपुर (५२)’ का नामबाट जाहेरी दर्ता गरेर अनुसन्धान थालेको छ। परिवारको स्वीकृति र जाहेरी लेख्ने वकीलको रोहबरमा बालिकाले सुनाएको घटना विवरणः
म जेठको दोस्रो साता भरतपुरको अल्फा बिटा इन्स्टिच्यूटमा नर्सिङ ब्रिजकोर्स पढ्न गएकी थिएँ। एक जना सर विज्ञान र गणित पढाउँथे। एक दिन हामी नर्सिङ ब्रिजकोर्स पढ्नेहरूको रक्त समूह छुट्याउन रगत निकाल्नुपर्ने थियो। त्यही दिन सरले मेरो रगत निकालेका थिए।
त्यस दिन मेरो हात समाए। त्यो सरले समात्ने जस्तो थिएन, अर्कै थियो। त्यसपछि मसँग नजिक भए।
मलाई घुम्न जाऊँ भन्न थाले। एकदमै जान्ने थिए। राम्रै भन्छन् जस्तो लाग्थ्यो। तर, मलाई अर्कै प्रकारले हेर्दा रहेछन्।
हरेक शनिबार बिहान सधैं टेस्ट हुन्थ्यो। असारको ११ गते पनि टेस्ट थियो। म घरबाट हिंडेर चौबीसकोठीसम्म गएँ। सर त्यहीं आए। टेस्ट लिने ‘मैले नै हो, म सिकाइदिउँला’ भनेर ‘फिल्म हेर्न जाऔं’ भने। इन्द्रदेव क्यूएफएक्समा गयौं। बिहान ८ बजेको शो थियो। त्यसपछि सधैं ‘मसँग हिंड’ भन्थे, म मान्दिनथें।
त्यसको तीन दिनपछि असार १४ गते इन्स्टिच्यूट गएँ। असार १७ गते पनि सदा झैं घरबाट साइकलमा गएँ। कलेज नजिकै मेरो साथीको घर छ। त्यहीं साइकल राखेर हामी दुवै हिंड्दै जान्थ्यौं। त्यो दिन पनि मैले साथीकहाँ साइकल राखें। साथीले ‘मेरो टाउको दुख्यो, सरसँग प्रश्नपत्र मागौं’ भनी।
मैले राम्रै मुखले प्रश्न मागें। म र साथी निस्कियौं। बाटोमा भेटेर सरले प्रश्नपत्र दिए।
म पनि प्रश्न लिएर साथीसँगै फर्किन लागेकी थिएँ, सरले साथीलाई ‘तिमी घर जाऊ, म उसलाई बूक दिएर पठाइदिन्छु’ भने। त्यहीं नजिकै उनको कोठा थियो। मैले जान्नँ भनेकी थिएँ। सरले ‘किताब दिने हो, हिंड’ भने। मैले पनि किताब लिने भएकाले नाइँ भन्न सकिनँ। शायद, त्यही मेरो गल्ती थियो।
बिहानको ७ देखि ९ः३० बजेसम्म क्लास थियो। त्यो दिन पनि बिहानै थियो।
घरको भुइँतलामा भएको एउटा कोठामा लगे। ढोका खोले। म भित्र नगई ढोकामै उभिएँ। ‘किताब दिनुस्, जान्छु’ भनें। तर, उनले ढोकाबाट भित्र धकेले। अनि चुकुल लगाए। म त के भन्ने, के नभन्ने अन्योलमा परें।
म निस्कन खोज्दा उनले जबर्जस्ती गर्न खोजे। भित्तामा टाउको ठोकियो, एकछिन रन्थनिएँ। त्यति वेला सरले मेरो लुगा फुकाल्न थाले। मलाई ओच्छ्यानमा लडाइदिए।
म रोएँ। मैले मानिनँ। मुड्कीले हाने। जबर्जस्ती गरे। त्यसपछि म बेहोस जस्तै भएँ।
त्यसपछि मोटरसाइकलमा ल्याएर साथीको घरतिर छोडिदिए। मलाई गाह्रो भयो। साइकल साथीको घरमै छोडें। बाबालाई लिन बोलाएर घर आएँ।
अर्को साता पनि त्यस्तै गरे। ‘तेरो फोटो, भिडिओ खिचेको छु, तेरो बुबालाई भनिदिन्छु’ भन्दै धम्क्याए। सोसल मिडियामा राखेर बेइज्जत गरिदिन्छु भने। त्यसपछि डर लाग्यो। जहाँ बोलायो, त्यहीं जान्थें। चूप लाग्थें। बिहान क्लास जाँदा पनि बीच बाटोबाटै आफ्नो कोठामा लग्थे।
रक्सी खाएपछि जति वेला जहाँ मन लाग्यो त्यहीं बोलाउँथे। नाइँनास्ती गर्दा भिडिओको धक्की दिन्थे। रक्सी खाएको वेला चुरोटले ‘प्राइभेट पार्ट’मा पोलिदिन्थे।
‘कसैलाई भनिस् भने तेरा आमाबुबालाई केटा लगाएर अपहरण गर्छु’ भन्थे। मेरो कारणले आमाबुबालाई नराम्रो हुन्छ भनेर डराएर बसें।
हरेक पटकको सम्पर्कपछि पिल्स खानुपर्थ्यो। पिल्सको कारणले होला, महीनामा दुई पल्टसम्म महीनावारी भएँ। दोस्रो पटक महीनावारी भएको त आमालाई भन्न पनि सक्दिनथें। ‘नभन्नू’ भनेर धम्काउँथे।
मलाई त्यसबाट कसरी निस्किने भन्ने मात्रै थियो। ‘तैंले मैले भने अनुसार चल्नुपर्छ’ भन्थे। अनि ‘तेरो पछाडि केटाहरू छोडिदिन्छु’ भन्थे। ‘कसैलाई भनिस् वा मैले भनेको मानिनस् भने स्कूलमै गएर बेइज्जत गराइदिन्छु’ पनि भन्थे।
शिक्षकमा नाम निस्केर काभ्रे गएपछि ढुक्क भयो भन्ने लागेको थियो। तर, ‘फेरि आउँछु’ भन्थे। ‘१८ वर्ष भएपछि लग्छु’ भन्थे। भिडिओ कल गरेर आफ्नी श्रीमतीलाई कुट्थे।
त्यसपछि त सहनु हुन्न भन्ने लाग्यो। अति भएपछि त जे होला, सहुँली भनेर प्रहरी कार्यालय गएकी हुँ। मलाई जस्तै अरूलाई पनि ‘मिसयुज’ गरेका छन्।