दीपेन्द्र र भीमलाई दुई लाख पुरस्कार दिने सुदूरपश्चिम सरकारको घोषणा
सुदूरपश्चिम प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यद्वय दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही दुई लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको आईसीसी विश्वकप लिग २ मा चैत २ गते यूएईलाई पराजित गर्दै नेपाल विश्वकप क्वालिफायरमा छनोट भएको थियो। प्रतियोगितामा महत्त्वपूर्ण भूमिका खेलेका सुदूरपश्चिमबाट राष्ट्रिय टोलीमा सहभागी खेलाडी ऐरी र सार्कीलाई पुरस्कृत गर्ने प्रदेश सभारकाले घोषणा गरेको हो।
सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने अन्य खेलाडीलाई समेत प्रोत्साहनस्वरूप नगद पुरस्कार दिन लागिएको मुख्यमन्त्री कमलबहादुर शाहका प्रमुख स्वकीय सचिव धीरेन्द्र शाहीले बताए। त्यस्तै, प्रदेश सरकारले नेपाली टोलीका अर्का सदस्य सन्दीप जोरालाई एक लाख तथा आईसीसी विश्वकप क्रिकेट लिग-२ खेल्ने नेपाली टोलीमा रहेका कमलसिंह ऐरी र अर्जुन सावदलाई जनही ५० हजार पुरस्कार दिने निर्णय भएको शाहीले बताए।
प्रदेश सरकारले पुरस्कार घोषणा गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य भीम सार्कीले खुशी व्यक्त गरे। प्रदेश सरकारले हौसला बढाएको उनको भनाइ छ।
त्यस्तै, नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले आगामी दिनमा पनि थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री शाहलाई धन्यवाद दिएका छन्। “अन्य प्रदेश सरकारबाट पनि खेलाडीलाई प्रोत्साहन मिल्ने हामीले आशा गरेका छौं,” चन्दले भने, “संघ, प्रदेश र स्थानीय सरकारबाट खेलाडीको भविष्य सुनिश्चितताका लागि सक्दो सहयोगको आवश्यकता छ।”
यसअघि सुदूरपश्चिम प्रदेश सरकारले यू-१९ विश्वकपमा छनोट भएकोमा नेपाली क्रिकेट टोलीमा सुदूरपश्चिमबाट सहभागी खेलाडीलाई जनही एक लाख पुरस्कार दिने घोषणा गरेको थियो। नेपाली यू-१९ टोली हालै यूएईमा सम्पन्न एशिया छनोटमा अपराजित रहँदै च्याम्पियन बनेको थियो। नेपाल सन् २०२४ मा हुने आईसीसी यू-१९ विश्वकप क्रिकेटका लागि छनोट भएको थियो।
यू-१९ क्रिकेट टोलीमा सुदूरपश्चिमबाट दीपक बोहरा, दीपक बोहरा ‘बी’, मिलन बोहरा, हेमन्त धामी र आकाश चन्द सहभागी थिए। यस्तै टोलीमा मुख्य प्रशिक्षक जगत टमाटा, सहायक प्रशिक्षक धीरेन्द्र चन्द, व्यवस्थापक विक्रम विष्ट र फिजियो पुरन तिरुवा रहेका थिए।