तब हामीलाई लाग्यो- अब चाहिं परे हुन्थ्यो पानी!
खेल जितेको वेलामा बधाई दिने, एक-दुई लाख रुपैयाँ पुरस्कार घोषणा गर्ने, अनि अरू समय सरकार कानमा तेल हाली सुतेर बस्न हुँदैन।
२०७९ चैत २ गते। यो मिति नेपाली क्रिकेट खेलाडी र नेपाली क्रिकेटप्रेमीले सदा सम्झिरहनेछन्। यही दिन नेपाली क्रिकेट टोलीले आईसीसी पुरुष विश्वकप छनोट खेल्न पाउने आफ्नो लक्ष्य निकै संघर्ष सहित भेट्टाएको छ।
पछिल्लो तीन शृङ्खलामा खेलिएका १२ मध्ये ११ खेलमा विजयी भएपछि नेपालले आफ्नो विश्वकप क्वालिफायर खेल्ने सपनालाई विपनामा परिणत गरेको छ। यो विजयी अभियानकै क्रममा सन् २०१८ मा प्राप्त एकदिवसीय मान्यतालाई पनि नेपालले जोगाएको छ।
क्रिकेट आफैंमा रोमाञ्चकारी र अनिश्चित खेल हो। यसमा कुन वेला जित्ने सम्भावना भएको टोली हार्न पुग्छ र कुन वेला हार्ने स्थितिमा रहेको टोली जित्न पुग्छ भन्न सकिंदैन। चैत २ गते भएको नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीचको खेल क्रिकेटमा हुने रोमाञ्च, अनिश्चितता, आशङ्का र अप्रत्याशित मोडहरूले भरिएको थियो।
टस जितेर ब्याटिङ रोजेका यूएईका ब्याटरले नेपाली बलरलाई ठटाउनुसम्म ठटाए। सन्दीप लामिछानेदेखि ललित राजवंशीसम्म कुनै पनि नेपाली बलर प्रभावकारी देखिएनन्। सन्दीपले एक विकेट मात्र लिन सके। अर्को एक विकेट लिन सकेको भए उनले एउटा रेकर्ड बनाउँथे, त्यो अवसर पनि हात लागेन। नेपाली क्रिकेटप्रेमीको चाहना सन्दीपले रेकर्ड बनाऊन् भन्ने थियो, तर त्यो चाहना पूरा हुन सकेन।
नेपालको क्षेत्र रक्षण (फिल्डिङ)मा पनि थोरै कमजोरी देखियो। लिन सकिने एक-दुईवटा सजिला ‘क्याच’ फुत्काउँदाको परिणाम यूएईको रन बढ्दै गयो। फिल्डिङ सुधार्न नेपालले अझै ध्यान दिनुपर्छ।
नेपाली युवामा क्रिकेटको लोकप्रियता ह्वात्तै बढेको छ। विगत दुई दशकमा क्रिकेटको लोकप्रियतालाई नेपालमा व्यापक बनाउन डिजिटल मिडिया अर्थात् विद्युतीय सञ्चार माध्यमको महत्त्वपूर्ण भूमिका छ। टेलिभिजन च्यानल, इन्टरनेट र मोबाइलको पहुँच गाउँ गाउँसम्म विस्तार भएसँगै क्रिकेट पनि घर घरमा पुगेको छ। नेपालमा सर्वाधिक लोकप्रिय फूटबल खेललाई समेत क्रिकेटले लोकप्रियतामा चुनौती दिन थालिसक्यो।
चैत २ गते कीर्तिपुरको रङ्गशालामा क्रिकेट हेर्न उर्लिएका युवाको भीडले नेपालमा क्रिकेट कति लोकप्रिय हुँदै छ भन्ने कुराको उदाहरण देखाइरहेको थियो।
हामी युवा हुँदा नेपालमा क्रिकेट यति लोकप्रिय थिएन। क्रिकेटमा मेरो रुचि भारतीय दैनिक र साप्ताहिक पत्रिका पढ्ने बानी र मेरो स्कूले साथी अरुण दीक्षितले गर्दा जागेको हो। हामी क्षेत्रपाटीको जुद्धोदय माध्यमिक विद्यालय (जेपी स्कूल)मा पढ्थ्यौं। स्कूल पढ्दापढ्दै ऊ लामो समय बिरामी परेर ओच्छ्यानमै थलियो। म अरुणलाई भेट्न उसको कालधारास्थित घरमा वेलावेला गइरहन्थें।
अघिपछि त हामीबीच मजाले गफ चल्थ्यो, तर जब भारत-पाकिस्तान, भारत-अस्ट्रेलिया वा भारत-वेस्ट इन्डिजबीच क्रिकेट ‘म्याच’ चल्थ्यो, त्यति वेला ऊ खेल चलुन्जेल क्रिकेट कमेन्ट्री सुन्न रेडियो ट्रान्जिस्टर कानमा टाँसेर बस्थ्यो। र, वेलावेलामा चौका, छक्का भन्दै उत्तेजित भएर कराउँथ्यो। त्यो वेला नेपालमा टेलिभिजन आएकै थिएन। म त्यो वेला चौका, छक्काको अर्थ बुझ्दिनथें।
साथीको सङ्गतले बुझ्दै गएँ। भारतीय अखबारहरूमा छापिने क्रिकेट खेलको समीक्षा र क्रिकेट खेलाडीका अन्तर्वार्ता तथा उनीहरूबारे लेखिएका लेख-टिप्पणी पढ्न थालें। यसरी क्रिकेटतर्फ तानिंदै गएँ।
नेपालमा जुन वेला क्रिकेट थोरै मान्छेमा मात्र लोकप्रिय थियो, त्यो वेला पनि सुनील गावस्कर, कपिल देव लगायतका खेलाडीको चर्चा नेपालमा हुने गर्थ्यो। सुनील गावस्कर र सचीन तेन्दुल्कर दुई यस्ता महान् खेलाडी भए जसले भारतीय क्रिकेटलाई नयाँ उचाइमा पुर्याए। ती दुवैले पाएको लोकप्रियता र सम्मान प्रत्येक क्रिकेट खेलाडीको आकांक्षा हुन्छ। शारीरिक उचाइमा कम, तर खेलबाट प्राप्त उचाइमा अत्यन्त अग्ला थिए दुवै खेलाडी।
हाम्रो ठिटौले उमेरमा क्रिकेटको टेस्ट म्याच मात्र हुन्थ्यो। एउटा म्याच सकिन चार-पाँच दिन लाग्थ्यो। सिरिज त हप्तौंसम्म लम्बिन्थ्यो। पछि ५० ओभरको खेल शुरू भयो र त्यसपछि टी-२० अर्थात् २० ओभरको खेल समेत शुरू भयो। यसले क्रिकेटको लोकप्रियता र रोमाञ्चलाई झनै वृद्धि गरेको छ।
क्रिकेटमा लोकप्रियता र ग्ल्यामर त पहिले पनि थियो, अहिले पैसा पनि थपिएको छ। क्रिकेटमा यसले गर्दा भ्रष्टाचार र अनेकौं घपलाबाजी समेत बढाएको छ। भ्रष्टाचार, घपलाबाजी, गुटबन्दी र राजनीतीकरणबाट नेपाली क्रिकेट पनि ग्रस्त छ। यस्तो अवस्थामा पनि नेपाली क्रिकेट खेलाडीले आफ्नो कटिबद्धता, संघर्ष गर्ने र जित्ने क्षमताद्वारा नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याएका छन् र देशको मनोबललाई बलियो बनाउँदै राष्ट्रिय भावनालाई विस्तार गरेका छन्।
चैत २ गते भएको खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल, अन्य केही मन्त्रीहरू, सांसदहरू, विभिन्न दलका नेता पनि कीर्तिपुर पुगेका थिए। म पनि खेल हेर्न रङ्गशाला पुगेको थिएँ। प्रधानमन्त्री र मन्त्रीहरूलाई त दिनभरि बस्न मिलेन होला, तर केही नेता र सांसदहरू त फोटो खिचाउन मात्र त्यहाँ पुगेका जस्ता देखिन्थे। कोही त प्रधानमन्त्री बसेको समय जति पनि बसेनन्। तर, मलाई खेलले मजाले बाँध्यो र म पूरै समय बसें। यद्यपि ५ बजे एउटा कार्यक्रममा पुग्नुपर्ने थियो, तर खेल सकिंदा नै साढे ५ बजिसकेको थियो।
क्रिकेटको रोमाञ्चकता, अनिश्चितता, कौतूहलले भरिएको थियो, चैत २ गतेको नेपाल र यूएईबीचको खेल। दर्शकको मुटु ढुकढुक गरिरहेको थियो। खेल जित्दा नेपालले विश्व क्वालिफायर खेल्न पाउँथ्यो, टेस्ट म्याच खेल्ने राष्ट्रहरूसँग खेलेर अनुभव बटुल्ने र आफूलाई निखारेर अघि बढ्ने मौका पाउँथ्यो। तर, यूएईले दिएको ३११ रन बनाउने लक्ष्य असम्भव नभए पनि मुश्किल जस्तो देखिन्थ्यो। झन् शुरूमै नेपालका तीन जना महत्त्वपूर्ण ब्याटर भटाभट आउट भएपछि त लागेको थियो यो म्याच नेपालले गुमायो।
चार जना ब्याटर कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख र गुलसन झाले बनाएको अर्धशतकले नेपाललाई विजयको रेखासम्म पुर्यायो। मलाई चाहिं गुलसन झाले ठोकेको पछिल्लो छक्का र चौकाको स्वाद गजब लागेको छ। गुलसनले आर्जन गरेको २० रन खेलको महत्त्वपूर्ण अङ्क थिए, जसले नेपाललाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेल्थ्यो। गुलसन जस्ता खेलाडी नेपालको भविष्य हुन्।
नेपाल र यूएईबीचको खेलमा खेलाडीसँगै अरू दुई तत्त्व पनि सामेल थिए। ती हुन्, समय अर्थात् टाइम र अर्को मौसम। पानी परेर खेल रोकिंदा नेपाल हार्ला भन्ने पीरले हाम्रो आँखा वेलावेला आकाशतिर जान्थे। थोरै मसिनो पानी एकछिन छिट्यायो पनि। त्यसै निहुँ बनाएर युएईका खेलाडीले खेल रोक्न माग गरे, तर एम्पाएरले मानेनन्। जब गुलसन झाले चौका ठोक्दै २० रन जोडेर नेपालको रन रेट बढाए तब भीआईपी लाउन्जमा बसेको क्यानका पदाधिकारी रमाइलो मान्दै भन्न थाले, ‘अब चाहिं परे हुन्थ्यो पानी।’
यूएईका खेलाडीले समय घर्काउन गरेको केही ढिलाइ अन्तत: उनीहरूकै लागि प्रत्युत्पादक भयो र अत्यन्त रोमाञ्चक खेल आफ्नो चीर आकांक्षा पूरा गर्दै नेपालले जित्यो। पूरा ओभर खेलेर नेपाली टोलीले ३१० रन कटाउन पाएको भए यो जितको स्वाद मेरा लागि झन् मीठो हुन्थ्यो र नेपालको लागि पनि एउटा नयाँ रेकर्ड बन्थ्यो। समय र मौसमले गर्दा फरक भयो, तर मौसम र समयको साथ पनि नेपालले नै पायो।
खेल हेर्दै क्यानका अध्यक्ष चतुरबहादुर चन्द लगायत वर्तमान र भूतपूर्व पदाधिकारीसँग क्रिकेटका विविध समस्याबारे छलफल पनि चल्दै गयो।
खेल हेर्दै जाँदा मलाई एउटा कुरामा निकै डर लागेको थियो। केही गरी नेपालले खेल हारेको भए उपस्थित युवा दर्शकको विशाल भीडले त्यो हार पचाउन सक्थ्यो कि सक्दैनथ्यो? हारेको झोकमा भीड अनियन्त्रित भएको भए त्यसको सजाय नेपालले पाउँथ्यो।
हामीले हाम्रो युवा पुस्तालाई जितलाई जसरी नै हारलाई पनि सहज रूपले स्विकार्ने संस्कृति सिकाउनु सक्नुपर्छ। खेल भावना भनेको नै यही हो। खेलमा सधैं जितिंदैन, हारिन्छ पनि। हार पनि खेलको एउटा अभिन्न परिणाम हो। त्यसैले कुनै पनि खेलमा पराजित हुँदा दुर्व्यवहार, तोडफोड, नाराबाजी र हुल्लडबाजी गर्ने प्रवृत्ति हामीले त्याग्नै पर्छ र खेल भावना देखाउन सक्नुपर्छ।
खेलाडीले त आफ्नो संघर्षयुक्त खेलद्वारा देशलाई दिनुपर्ने दिए। तर, क्रिकेट खेल र खेलाडीलाई राज्यले जति दिनुपर्ने हो त्यो पटक्कै दिन सकेको छैन। क्रिकेट मात्र किन फूटबल, भलिबल लगायत अन्य खेलका लागि पनि राज्यले इच्छाशक्ति देखाउन सकेको छैन। आवश्यक लगानी पनि गर्न सकेको छैन। खेल र खेलाडीका लागि ध्यान दिएको छैन।
चैत २ गतेको खेल जितेपछि प्रधानमन्त्री, राष्ट्रपति लगायत प्रमुख दलका नेताहरूले खेलाडीलाई बधाई दिएका छन्। तर, यस्तो बधाईको अर्थ त्यस वेला मात्र हुन्छ, जब सरकारले खेल र खेलाडीमाथि लगानी बढाउँछ, खेलका लागि आवश्यक पूर्वाधारको व्यापक रूपमा निर्माण गर्छ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदान साँघुरो मात्र होइन, सुरक्षाको दृष्टिकोणले समेत असुरक्षित र अपूरो देखिन्छ। त्यसलाई तत्काल विस्तार गर्नुपर्नेछ। पैसा तिरेर टिकट काटेका समेत अटाउन नसक्ने रङ्गशाला विस्तार र पुन:निर्माण गर्न थालिहाल्नुपर्छ।
कीर्तिपुरको रङ्गशालाको जग्गा त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा छ। त्यो जग्गा उपभोग गरे बापत क्यानले वार्षिक १२ लाख रुपैयाँ विश्वविद्यालयलाई तिर्छ। त्यो जग्गा कमसेकम ५० वर्षका लागि क्यानलाई लिजमा दिनुपर्छ। बरु भाडा द्विपक्षीय समझदारीमा केही बढाए हुन्छ। यसका लागि तत्काल सरकारले पहल गर्नुपर्छ र रङ्गशाला विस्तार गर्नुपर्छ।
त्यस्तै, मूलपानीको रङ्गशाला निर्माण अझै सकिएको छैन। त्यसको निर्माण छिटो सक्न जोड दिनुपर्छ। क्रिकेटका साथै अन्य खेलका लागि पनि गर्नुपर्ने कामहरू भटाभट गर्नुपर्छ। खेल जितेको वेलामा बधाई दिने, एक-दुई लाख रुपैयाँ पुरस्कार घोषणा गर्ने अनि अरू समय सरकार कानमा तेल हाली सुतेर बस्न हुँदैन।
क्रिकेट खेलाडीले त आफ्नो सक्दो देशलाई दिए, अझ खेलमा खेलाडीले पनि सकेको गरेकै छन्। अब क्रिकेट लगायत अन्य खेल र खेलाडीका लागि गरेर देखाउने पालो र दायित्व सरकारको हो।