सफा मुलुकका तुलनामा नेपालीले श्वास फेर्ने हावा ११ गुणा बढी प्रदूषित
श्वास फेर्ने हावा विषाक्त भएर नागरिकको ज्यान जोखिममा परिरहेको छ। प्रदूषण रोक्न सरकार कति गम्भीर छ?
संसारका सफा मुलुकका तुलनामा नेपालीले श्वास फेर्ने हावा झन्डै ११ गुणा बढी प्रदूषित रहेको देखिएको छ। संसारभरिका सर्वाधिक स्वच्छ हावा भएका १३ मुलुकसँग तुलना गर्दा नेपालको वायु प्रदूषणको स्तर असाध्यै खराब रहेको नयाँ अध्ययन प्रतिवेदनले देखाएको हो।
स्वीट्जरल्यान्डस्थित आईक्यू एअर नामक संस्थाले प्रकाशित गरेको विश्व वायु गुणस्तर प्रतिवेदन, २०२२ का अनुसार, संसारभरिका १३१ मुलुकमध्ये नेपाल सर्वाधिक वायु प्रदूषण भएको मुलुकको १६औं स्थानमा छ। संसारभरिका सात हजारभन्दा बढी शहरमध्ये सर्वाधिक प्रदूषित तीन प्रतिशत शहरमध्ये काठमाडौं पनि पर्ने प्रतिवेदनको निर्क्योल छ। यसले श्वास फेर्ने हावा विषाक्त भएर नेपालीको स्वास्थ्य गम्भीर जोखिममा रहेको देखाउँछ।
प्रतिवेदनका अनुसार, संसारभरिका स्वच्छ हावा भएका १० मुलुकको हावामा आँखाले नदेखिने कण पीएम २.५ को मात्रा औसतमा ३.२ माइक्रोग्राम प्रति घनमिटर मात्रै छ। गुआम, फ्रेन्च पोलिनेसिया, यूएस भर्जिन आइल्यान्ड्स, बर्मुडा जस्ता साना टापु मुलुक सहित आइसल्यान्ड र अस्ट्रेलिया सर्वाधिक स्वच्छ हावा भएका मुलुकको सूचीमा पर्छन्। तर, ती मुलुकका नागरिकले श्वास फेर्ने हावाका तुलनामा नेपालीले श्वास फेर्ने हावा असाध्यै प्रदूषित छ। प्रतिवेदनले सन् २०२२ मा नेपालको पीएम २.५ को मात्रा वार्षिक औसत ४०.१ माइक्रोग्राम प्रति घनमिटर रहेको देखाएको छ।
विश्व स्वास्थ्य संगठनले हावामा आँखाले नदेखिने धूल कण (पीएम २.५०) को मात्रा वार्षिक औसत पाँच माइक्रोग्राम घनमिटरभन्दा बढी हुन नहुने मापदण्ड तय गरेको छ। यस अनुसार, नेपालको वायु विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा आठ गुणा बढी प्रदूषित देखिन्छ। वायु प्रदूषणले श्वास प्रश्वास सम्बन्धी रोगको वृद्धि तथा स्वास्थ्यमा कैयौं जटिलता निम्त्याउने चेतावनी चिकित्सकले दिंदै आएका छन्।
आईक्यू एअरको तथ्याङ्कले दक्षिणएशियामा नेपालभन्दा पाकिस्तान, बाङ्लादेश र भारतको वायु बढी प्रदूषित देखिएको छ। सन् २०२२ मा पाकिस्तानको वार्षिक औसत पीएम २.५ को मात्रा ७०.९ माइक्रोग्राम प्रति घनमिटर थियो। यो बाङ्लादेश र भारतको क्रमशः ६५.८ र ५३.३ माइक्रोग्राम प्रति घनमिटर थियो।
थोरै सुधार
त्यसो त सन् २०२२ मा नेपालको वायु प्रदूषण अघिल्लो वर्षभन्दा सुधार भएको देखिएको छ। सन् २०२१ मा नेपालको वायुमा पीएम २.५ कणको मात्रा वार्षिक औसत ४६ माइक्रोग्राम प्रति घनमिटर थियो। सन् २०२१ मा नेपाल संसारका उच्च प्रदूषित मुलुकको १०औं स्थानमा थियो।
सन् २०२१ (२०७७ साल)को हिउँदमा लामो समय वर्षा नभएको र पश्चिमी वायुले भारतको पञ्जाब, हरियाणा, उत्तर प्रदेशको प्रदूषित वायु बोकेर भित्र्याएपछि मुलुकभरिको वायु प्रदूषण आपत्कालीन स्थितिमा पुगेको थियो। वायु प्रदूषण बढेपछि देशभरिका कैयौं विद्यालय बन्द गरिएका थिए।
सन् २०२१ को जनवरीको शुरूतिर (२०७७ पुस तेस्रो साता) काठमाडौं उपत्यकामा वायुको गुणस्तर सूचकाङ्क (एक्यूआई) ६०० सम्म पुगेको थियो। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार एक्यूआई ३५ भन्दा कम हुुनु स्वस्थकर अवस्था हो। ५१ देखि १०० सम्म एक्यूआई मापन गरिएको वायु सामान्य अवस्थाको हुन्छ, तर २०१ भन्दा माथि पुगेमा धेरै अस्वस्थकर मानिन्छ।
सन् २०२१ को तुलनामा सन् २०२२ मा प्रदूषणको तह सुधार हुनुमा आन्तरिकभन्दा बाह्य कारण रहेको अनुमान छ। सन् २०२१ (२०७७)को शुरूआतका महीनामा देशभरि खडेरीका कारण जङ्गलमा डढेलो अत्यधिक बढेको थियो। तर, गत वर्षको हिउँदमा भने पर्याप्त पानी परेका कारण हिउँदे डढेलोको संख्यामा कमी आएको थियो। डढेलो वायु प्रदूषण निम्त्याउने प्रमुख स्रोतमध्ये एक हो।
त्यसैगरी, लगातार पानी परेका कारण पश्चिमी वायुले बोकेर ल्याउने धूलाका कण पनि समय समयमा पखालिएका कारण वायुमण्डलको धूलो पखालिएको थियो। नेपालमा वायु प्रदूषणको प्रमुख कारण पश्चिमी वायुले भारत र पाकिस्तानबाट बोकेर ल्याउने प्रदूषित धुवाँ मुख्य कारण हो। हिउँदमा भारतको हरियाणा, उत्तर प्रदेश, पञ्जाब जस्ता प्रान्तमा खेतबारीमा पराल, धानको बोट काटेपछिका ठुटा, पातपतिङ्गर जलाइन्छ, जसबाट निस्कने धुवाँलाई पश्चिमी वायुले बोकेर नेपाल भित्र्याउँछ।
नेपालमा वायु प्रदूषण हिउँदका महीनामा धेरै हुन्छ। खासगरी जनवरीदेखि अप्रिलसम्म चार महीनामा प्रदूषण तह बढ्ने तथ्याङ्कले देखाउँछ।
आईक्यू एअरको प्रतिवेदनले काठमाडौं उच्च प्रदूषित शहरमध्ये एक रहेको देखाउँछ। सन् २०२२ मा काठमाडौंको वायुमा पीएम २.५ को मात्रा वार्षिक औसत ४०.७ माइक्रोग्राम प्रति घनमिटर थियो। काठमाडौं संसारभरिका सात हजार ३२३ शहरमध्ये बढी प्रदूषित २३२औं नम्बरको शहर हो। यसले संसारभरिमा तीन प्रतिशत उच्च प्रदूषणमा परेका शहरमध्ये काठमाडौं पनि एक हो भन्ने बुझाउँछ। सन् २०२१ मा काठमाडौं ९१औं बढी प्रदूषित शहरमा थियो।
आईक्यू एअरको लाइभ तथ्याङ्कले अहिले पनि काठमाडौंको प्रदूषण तह उच्च रहेको देखाएको छ। भारतको दिल्लीमा वायु प्रदूषण सूचकाङ्क सर्वाधिक धेरै १८० छ भने तेस्रो स्थानमा रहेको काठमाडौंमा १६१ छ। यो वर्ष पनि हिउँमा कम पानी परेकाले वायु प्रदूषणको तह माथि भएको छ।
सन् २०२२ को तथ्याङ्कमा आधारित प्रतिवेदनका अनुसार, सर्वाधिक प्रदूषित क्षेत्रीय शहरको सूचीको पहिलो नम्बरमा पाकिस्तानको लाहोर पर्छ। दोस्रोमा चीनको पश्चिमी क्षेत्रको होटान र तेस्रोमा भारतको राजस्थानस्थित भिवाडी शहर छ। उच्च प्रदूषित १० मध्ये ६ शहर भारतमा छन् भने दुई पाकिस्तानका छन्। संसारका ५० उच्च प्रदूषित शहरमध्ये ३९ वटा भारतमा छन्।
प्रदूषणबाट सन् २०२२ मा दक्षिणएशिया सर्वाधिक पीडित भएको आईक्यू एअरले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। प्रतिवेदनले भनेको छ, “सर्वाधिक प्रदूषित शहर यही क्षेत्रका छन्। यहाँका ६० प्रतिशत जनसंख्या विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा सात गुणा बढी प्रदूषित हावामा श्वास फेर्छन्।” ग्रामीण क्षेत्रमा खाना पकाउन प्रयोग हुने दाउरा, निर्माण, सवारी साधन र कृषिजन्य कारणले दक्षिणएशियामा प्रदूषण बढेको औंल्याइएको छ।
पहल पुगेन
वायु प्रदूषण नियन्त्रणका लागि सरकारले विभिन्न कार्ययोजना र नीति बनाएको छ। तर, तिनको प्रभावकारी कार्यान्वयन भएको छैन। वायु गुणस्तर सम्बन्धी मापदण्ड, २०६९ ले पीएम २.५ को मात्रा २४ घन्टामा ४० माइक्रोग्राम प्रति घनमिटरभन्दा कम हुनुपर्ने व्यवस्था गरेको छ। हिउँदका महीनामा शहरी क्षेत्रमा यसको कैयौं गुणा बढी प्रदूषण हुन्छ।
वातावरण विभागले जुन २०१७ मा ‘काठमाडौं उपत्यकाको वायुको गुणस्तर व्यवस्थापन’ कार्ययोजना बनाएर सवारी साधनले गर्ने वायु प्रदूषण घटाउने नीति अघि सार्यो। कार्ययोजनामा सवारी साधनको उत्सर्जन घटाउन तत्काल यूरो-५ मापदण्ड लागू गर्ने उल्लेख थियो। तर, त्यसको ६ वर्ष पुग्न लाग्दा समेत यूरो-५ त परै जाओस्, यूरो-४ मापदण्ड समेत लागू भएको छैन। वायु प्रदूषण घटाउन वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २०७६ मन्त्रिपरिषद्बाट पारित भए पनि कार्यान्वयन भएको छैन।
वातावरणविद् र वैज्ञानिकहरूले भारतबाट आउने प्रदूषित हावा रोक्न नसकिए पनि आन्तरिक प्रदूषण कम गर्न पुराना सवारी साधन विस्थापित गरेर विद्युतीय सवारी साधन चलाउनुपर्ने, इँटाभटा र प्रदूषण निम्त्याउने उद्योगलाई बस्तीबाट टाढा सार्नुपर्ने, डढेलो र फोहोर जलाउन नियन्त्रण गर्नुपर्ने, उद्योग र कलकारखानामा प्रदूषण कम गर्ने प्रविधि जडान गर्नुपर्ने, निर्माणका काम गर्दा धूलो उड्न रोक्नुपर्ने लगायत सुझाव दिंदै आएका छन्।
विश्व स्वास्थ्य संगठनले नेपालमा वायु प्रदूषणसँग सम्बन्धित रोगका कारण बर्सेनि ३५ हजारले ज्यान गुमाउने उल्लेख गर्दै आएको छ। वायु प्रदूषणका कारण संसारभरि करीब ७० लाख मानिसको ज्यान जाने गरेको संगठनको अनुमान छ। वायु प्रदूषणले बालबालिका, दीर्घरोगी र वृद्धवृद्धालाई बढी प्रताडित गर्छ।
आईक्यू एअरले संसारभरि वायु प्रदूषण मापन गर्ने यन्त्रहरूले दिएको तथ्याङ्कलाई विश्लेषण गरी शहरहरूको वायु प्रदूषणको स्तरको सूची प्रकाशित गर्दै आएको छ।