ट्राफिक प्रहरीलाई आँखा, मुटु र ढाडको समस्या, कसैलाई छैन परवाह
अत्यन्त प्रदूषित वातावरणमा लामो समयसम्म खटिनुपर्दा ट्राफिक प्रहरी उच्च स्वास्थ्य जोखिममा छन्, तर न उनीहरूका लागि स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध छन् न त नियमित स्वास्थ्य जाँच नै।
बढ्दै गरेको तापमान। काठमाडौंको धूलोधुँवा। होहल्ला। भीडभाड। एक जना ट्राफिक प्रहरी जडीबुटी चोकमा सिठी फुक्दै यातायात व्यवस्थापन गरिरहेछन्। मास्क छ तर चिउँडोमुनि। चर्को घाम छ तैपनि आँखामा चश्मा छैन।
कार्यालय समय भएकाले सडकमा चाप छ। एकातिरका सवारी साधनलाई जाने सङ्केत गर्दा अर्कोतिरका चालक चर्को हर्न बजाउन थाल्छन्। आकाशे पुल हुँदाहुँदै सडकबाटै बाटो काट्ने यात्रुले झनै सास्ती थपेका छन्।
यस्तो धूलोधुँवामा दिनभर उभिएर सिठी फुक्दा बिरामी परिन्न त? याे प्रश्नमा उनी जवाफ दिन हिचकिचाए। पछि दिक्क मान्दै भने, “दैनिकजसो जिउ दुख्ने, आँखा पोल्ने र चिडचिडाहट हुन्छ तर ड्यूटी गर्नैपर्यो।”
जवाफ दिए र फेरि सिठी फुक्न लागिहाले।
यो दैनिकी जडीबुटी चोकका ट्राफिक प्रहरीको मात्रै होइन। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रही नायब महानिरीक्षक मीरा चौधरी अनुसार, उपत्यकामा एक हजार ११३ ट्राफिक प्रहरीको दरबन्दी भए पनि एक हजार ६९७ जना कार्यरत छन्। ती सबैको दिनचर्या झण्डै यस्तै हो।
तर, उनीहरूले कस्ता स्वास्थ्य समस्या भोग्नुपरेको छ भन्नेबारे कुनै अध्ययन नै नभएको बताउँछिन् प्रहरी नायब महानिरीक्षक चौधरी। “व्यक्तिगत स्वास्थ्य समस्या होलान् तर ड्युटीमा रहँदा त्यस्तो कुनै समस्या भएको थाहा छैन,” चौधरी भन्छिन्।
चौधरीको यो जवाफले ट्राफिक प्रहरीको उच्च तहले प्रहरीहरूमा कार्यसमयमा देखिने समस्यालाई मात्रै ‘समस्या’ ठान्ने गरेको दर्शाउँछ। त्यसैले त ट्राफिक व्यवस्थापन महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेन्द्र गुरुङ पनि ट्राफिक प्रहरीको स्वास्थ्यमा कुनै समस्या नभएको दाबी गर्छन्। जबकि विभिन्न अध्ययनले ट्राफिक प्रहरीमा उनीहरूको कामकै कारण अनेकौं स्वास्थ्य समस्या देखिएको पुष्टि गरेका छन्।
नेपाल प्रहरी अस्पतालका निर्देशक प्रहरी अतिरिक्त महानिरिक्षक डा. आशा सिंह प्रहरी अस्पतालमा बिरामी भएर पुग्ने ट्राफिक प्रहरीमा खुट्टाको नशा सुन्निने, श्वासप्रश्वास तथा आँखा, कान र छाला सम्बन्धी समस्या बढी देखिएको बताउँछिन्। यद्यपि अस्पतालले आफूकहाँ आउने बिरामीमध्ये ट्राफिक प्रहरीको हिस्सा कति छ भन्ने तथ्याङ्क भने राखेको छैन।
यकिन तथ्याङ्क नभए पनि तुलनात्मक रूपमा ट्राफिक प्रहरीमा यस्ता समस्या बढी देखिएको डा. सिंहको अनुभव छ। “धेरै धुँवाधूलो र चर्को ध्वनिमा दिनभर उभिएर ड्यूटी गर्नुपर्ने भएकाले ट्राफिक प्रहरीलाई श्वासप्रश्वास, छाला, आँखा तथा कान सम्बन्धी बढी समस्या देखिएको हुन सक्छ,” उनी भन्छिन्।
मुटुदेखि मानसिक स्वास्थ्यसम्ममा असर
ट्राफिक प्रहरीसँग सम्बन्धित निकायले उनीहरूको स्वास्थ्य सम्बन्धी अध्ययन नगरे तापनि डा. मुकुल ढकाल सहित चार जना चिकित्सकहरूले सन् २०१७ मा गरेको अध्ययनले ट्राफिक प्रहरीहरूमा शारीरिक र मानसिक स्वास्थ्य दुवैको समस्या रहेको देखाएको छ। ‘इन्टरन्याशल जर्नल अफ अकुपेशनल सेफ्टी एन्ड हेल्थ’ मा प्रकाशित ‘काठमाडौं उपत्यकामा कार्यरत ट्राफिक प्रहरीको स्वास्थ्य समस्या’ शीर्षकको उक्त अध्ययनमा औसत ३१ वर्ष उमेरका २९६ जना ट्राफिक प्रहरी सहभागी थिए।
तीमध्ये सयमा ७२ जनाले दृष्टिमा समस्या लगायत आँखा पोल्ने, चिलाउने र आँसु आइरहने समस्या आएको बताएका थिए। त्यस्तै १० मध्ये करिब ९ जनालाई (८७.८ प्रतिशत) शरीरको कम्तीमा एक भागमा (घाँटी, काँध, ढाड-कम्मर, घुँडा, खुट्टा, जोर्नी) अत्यधिक दुख्ने समस्या थियो। उक्त अध्ययनमा सहभागीमध्ये ५८.८ प्रतिशत ट्राफिक प्रहरीलाई कुनै न कुनै किसिमको मानसिक समस्या थियो।
सन् २०१९ मा प्रकाशित अर्को अध्ययनले पनि उस्तै निष्कर्ष निकालेको छ। रिसर्च स्क्वायर जर्नलमा प्रकाशित ‘काठमाडौं र ललितपुर जिल्लाका मुख्य शहरमा कार्यरत ट्राफिक प्रहरीमा तनाव र स्वास्थ्य समस्या’ शीर्षकको उक्त अध्ययनमा औसत २७ वर्षका २५२ जना ट्राफिक प्रहरी समेटिएका थिए। अध्ययनमा सहभागी प्रहरीहरूले पाँच वर्षभन्दा बढी समय काम गरिसकेका थिए।
अध्ययनमा सहभागीमध्ये ५५ प्रतिशतलाई श्रवण सम्बन्धी, ३४.५ प्रतिशतलाई आँखा सम्बन्धी, ६४.३ प्रतिशतलाई ढाड सम्बन्धी र ६६.७ प्रतिशतलाई श्वासप्रश्वास सम्बन्धी समस्या थियोे। त्यस्तै, ४३.७ प्रतिशतलाई सामान्य किसिमको चिन्ताजन्य समस्या, ३३ प्रतिशतलाई मध्यमस्तरको चिन्ताजन्य समस्या र २३ प्रतिशतलाई गम्भीर चिन्ताजन्य समस्या थियो।
दैनिक ११ घण्टाभन्दा बढी काम गर्ने उनीहरूले मास्क, चश्मा लगायत सुरक्षा सामग्रीको नियमित प्रयोग नगर्ने बताएका थिए।
करीब २० प्रतिशत ट्राफिक प्रहरी आफ्नो कामबाट सन्तुष्ट थिएनन् भने ४२ प्रतिशत त ड्यूटीकै क्रममा दुर्घटनामा परेका थिए। यस्तो दुरवस्थाका बावजूद नियमित स्वास्थ्य परीक्षण गराउने चाहिं सयमा ३५ जना जति थिए।
सन् २०२२ मा प्रकाशित अर्को एक अध्ययनले पनि काठमाडौं उपत्यकामा कार्यरत ट्राफिक प्रहरीहरूलाई आँखा, कान, छाला श्वासप्रश्वास एवं शरीर दुख्ने समस्या रहेको देखाएको छ। इन्टरन्याशनल जर्नल अफ हेल्थ साइन्स एन्ड रिसर्चमा प्रकाशित ‘काठमाडौं उपत्यकाका ट्राफिक प्रहरीमा पेशागत स्वास्थ्यबारे सचेतना’ अध्ययनमा सहभागी प्रहरीमध्ये सयमा ९६ जना जतिले यस्तो समस्या बताएका थिए।
यस्तो समस्या काठमाडौं उपत्यकामा कार्यरत ट्राफिक प्रहरीमा मात्र सीमित छैन। सन् २०२२ मा प्रकाशित ‘चितवन जिल्लामा कार्यरत ट्राफिक प्रहरीको इकोकार्डियोग्राफिक अध्ययन’ ले चितवनका ट्राफिकमा पनि उच्च रक्तचापदेखि मुटुको भल्भमा समेत समस्या रहेको देखाएको छ। ‘नेशनल हार्ट एन्ड लङ्ग सोसाइटी नेपाल’ मा प्रकाशित उक्त अध्ययनमा औसत ३५ वर्ष उमेरका ५० जना ट्राफिक प्रहरी सहभागी थिए।
प्रदूषण नै मुख्य कारक
ट्राफिक प्रहरीमा देखिने मुटु, फोक्सो र छालाको समस्याको मूल कारण वायु प्रदूषण नै रहेको दाबी गर्छन् श्वासप्रश्वास रोग विशेषज्ञ डा. अर्जुन कार्की। हुन पनि प्रदूषण मापन गर्ने यूरोपेली संस्था ‘वर्ल्ड एअर क्वालिटी इन्डेक्स’ (आईक्यूएयर)ले काठमाडौंलाई विश्वकै प्रदूषित शहरको सूचीमा राखेको छ। चैत ३ गते मध्याह्नको तथ्याङ्क अनुसार काठमाडौंको एक्यूआई सूचकांक १६५ छ। उक्त मितिमा काठमाडौं विश्वकै तेस्रो प्रदूषित शहर हो।
डा. कार्कीका अनुसार, मोटर, इँटाभट्टाको धुँवा, उद्योग-कारखानको प्रदूषण, सडकको धूलो एवं भारतबाट हावाले बहाएर ल्याउने धूलोधुँवाका कणका कारण काठमाडौंको वायु विषाक्त भएको हो। हावामा हुने साढे दुई माइक्रोनभन्दा कम आकारका सूक्ष्म कणहरू (पार्टिक्युलेट म्याटर, पीएम २.५)का ती कणहरू सोझै मानिसको फोक्सोमा प्रवेश गर्ने भएकाले खोकी, दम र हृदयाघातको जोखिम बढेको डा. कार्की बताउँछन्। उनी भन्छन्, “मुटुमा रगत सञ्चार गर्ने नसाहरू प्रदूषित हावाले साँघुरो बनाइदिने भएकाले युवा र स्वस्थ मानिसलाई हृदयाघात भयो भने पनि असामान्य मान्नु हुँदैन।”
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार, वायुको गुणस्तर एक्यूआई ३५ भन्दा कम हुनुपर्छ। ५१ देखि १०० सम्म एक्यूआई मापन गरिएको वायु सामान्य अवस्थाको मानिन्छ भने १५१ भन्दा माथि भए सबैका लागि अस्वस्थकर मानिन्छ।
हेल्थ इफेक्ट्स इन्स्टिच्यूटले गरेको ट्राफिकसँग सम्बन्धित वायु प्रदूषणबारे एक अध्ययनले विश्वभर वायु प्रदूषणका कारण मानिसको आयु २० प्रतिशतले घट्दै गएको र दक्षिणएशियामा त्यसको असर अझै भयावह रहेको जनाएको छ। उक्त अध्ययनले नेपाल, भारत, पाकिस्तान र बाङ्लादेशमा जन्मिएका बच्चाको आयु प्रदूषित हावाका कारण ३० महीनाले घट्न सक्ने उल्लेख छ। अध्ययनका अनुसार, सडकमा हुने प्रदूषणले विशेष गरी फोक्सो र हृदय रोगको जोखिम बढाउँछ।
काठमाडौंको वातावरणमा वायु मात्र होइन, ध्वनि प्रदूषण पनि उत्तिकै छ। सन् २०२२ मा प्रकाशित ट्राफिक प्रहरीको सचेतना सम्बन्धी अध्ययनले काठमाडौं महानगरपालिकामा औसत सवारी साधनको आवाज ६० देखि १०० डेसिबल रहेको जनाएको छ। सामान्य कुराकानी गर्दा ध्वनि ६० डेसिबलको हुन्छ। ७० डेसिबलभन्दा चर्को ध्वनिमा लामो समय बस्दा श्रवणशक्ति गुम्ने खतरा हुन्छ। उक्त अध्ययन अनुसार, उपत्यकाका ट्राफिक प्रहरी लामो समयसम्म चर्को आवाज सुन्न बाध्य भएकाले उनीहरूले सधैंका लागि श्रवणशक्ति गुमाउने खतरा छ।
नियमित स्वास्थ्य जाँच गर्न सुझाव
नेपालका ट्राफिक प्रहरीको स्वास्थ्यबारे गरिएका विभिन्न अध्ययनले ट्राफिक प्रहरीको स्वास्थ्य नियमित जाँच गराउन सरकारलाई सुझाव दिएका छन्। इन्टरन्याशनल जर्नल अफ हेल्थ साइन्स एण्ड रिसर्चमा प्रकाशित अध्ययनले ट्राफिक प्रहरीले निरन्तर सिठी बजाउनुपर्ने, ट्राफिक संकेतमा सडक पार गर्ने मानिसलाई चिच्याउनुपर्ने एवं मास्क र चश्माका फाइदाहरू थाहा नभएका कारण गर्दा मास्क प्रयोग नगर्ने उल्लेख गरेको छ। जसले गर्दा उनीहरूको स्वास्थ्यमा थप जोखिम थपेको भन्दै सरकारले ‘नो हर्न’ नीति ल्याउनुपर्ने, ट्राफिक प्रहरीलाई ‘एन नाइन्टीफाइभ’ मास्क अनिवार्य दिनुपर्ने र सवारी साधनको नियमित प्रदूषण जाँच गर्नुपर्ने सुझाव दिएको छ।
सरकारले भने ट्राफिक प्रहरीको स्वास्थ्यबारे ध्यान नै नदिएको देखिन्छ। उनीहरूका लागि स्वास्थ्य जाँच तथा विशेष बीमाको व्यवस्था गरिएको छैन।
ट्राफिक व्यवस्थापन महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेन्द्र गुरुङ ट्राफिक प्रहरीलाई मास्क उपलब्ध गराउने बाहेक अरू कुनै स्वास्थ्य स्याहार नभएको बताउँछन्।
त्यस्तै उपत्यका ट्राफिक प्रहरी प्रमुख चौधरी ट्राफिक प्रहरीका निम्ति स्वास्थ्य सम्बन्धी बेग्लै व्यवस्था नभएको बताउँछिन्। उनी भन्छिन्, “अहिलेसम्म ट्राफिक प्रहरीको स्वास्थ्यलाई लिएर छुट्टै सेवासुविधा दिइएको छैन।”