नेपालको चामत्कारिक प्रदर्शन, यूएईलाई हराउँदै विश्वकप क्वालिफायरमा छनोट
आईसीसी विश्वकप लिग–२ का अन्तिम तीन शृङ्खलामा चामत्कारिक प्रदर्शन गर्दै नेपाल विश्वकप क्वालिफायरमा छनोट भएको छ।
लिगको अन्तिम खेलमा डीएल मेथडका आधारमा यूएईलाई पराजित गर्दै नेपाल विश्वकप क्वालिफायरमा छनोट भएको हो। ‘ब्याड लाइट’ का कारण खेल रोकिएपछि डीएलएस (डकवर्थ लेविस स्टेन) मेथडका आधारमा नेपाल नौ रनले विजयी भएको हो।
यूएईले दिएको ३११ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाउँदा ‘ब्याड लाइट’ का कारण खेल रोकिएको थियो। खेल रोकिने वेलासम्म बनाएको रनका आधारमा नेपालले जित हासिल गरेको हो।
यो जितसँगै अङ्कतालिकामा नेपालको ४० अङ्क पुगेको छ। चौथो स्थानमा रहेको नेपाल तेस्रो स्थानमा उक्लिँदै विश्वकप क्वालिफायरमा पुगेको हो।
यूएईले दिएको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालका चार ब्याटरले अर्धशतक प्रहार गरे। भीम सार्की, आरिफ शेख, कुशल भुर्तेल र गुल्सन झाले अर्धशतक प्रहार गरेका हुन्।
भीम सार्कीले ७६ बलमा नौ चौका प्रहार गर्दै ६७ रन बनाए। त्यस्तै, आरिफ शेखले ६२ बलमा दुई चौका प्रहार गर्दै ५२ रन बनाए।
यसैगरी, कुशल भुर्तेलले ३५ बलमा तीन चौका र चार छक्का प्रहार गर्दै ५० रन बनाए भने गुल्सन झाले ४८ बलमा चार चौका र दुई छक्का प्रहार गर्दै ५० रन बनाए। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १० र कुशल मल्लले पाँच रन बनाए।
यूएईका लागि जुनईद सिद्दीकीले तीन, अफजल खानले दुई र जहूर खानले एक विकेट लिए।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार टस जितेर ब्याटिङ रोजेको यूएईले ६ विकेटको क्षतिमा ३१० रन बनाएको हो।
यूएईका लागि आसिफ खानले विस्फोटक शतक प्रहार गरे। उनले ४२ बलमा १०१ रन बनाए। उनी प्लेयर अफ द म्याच भए।
त्यस्तै, भृत्य अरविन्दले ९४, मुहम्मद वासीमले ६३ र रोहन मुस्तफाले २० रन बनाए। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई, सोमपाल कामी, ललित राजवंशी र सन्दीप लामिछानेले एक-एक विकेट लिए।
लिग-२ को अन्तिम चरणका तीन वटा त्रिदेशीय शृङ्खलामा नेपालले चामत्कारिक प्रदर्शन गर्यो। दुई वटा शृङ्खला ‘क्लीन स्वीप’ गर्यो भने एउटा शृङ्खलामा चारमध्ये तीन खेल जित्यो।
तीनै शृङ्खलामा नेपालले खेलका १२ मध्ये ११ खेल जितेर अङ्कतालिकाको तेस्रो स्थानमा पुगेको हो।
अङ्कतालिकामा स्कटल्यान्ड ५० अङ्क सहित शीर्षस्थानमा छ। त्यस्तै, दोस्रो स्थानमा रहेको ओमनको ४४ अङ्क छ भने नेपाल ४० अङ्क सहित तेस्रो स्थानमा उक्लिएको छ।
चौथो स्थानमा रहेको नामिबियाको ३९ अङ्क छ भने पाँचौं स्थानमा रहेको अमेरिकाको ३५ अङ्क छ। यो हारसँगै ३३ अङ्कमै रोकिएको यूएई छैटौं स्थानमा छ। सातौं स्थानमा रहेको पपुवा न्यूगिनीको ११ अङ्क छ।
अङ्कतालिकाको शीर्षस्थानमा रहेका पाँच टोलीले एकदिवसीय वरीयता पनि जोगाएका छन्।