२७ दिनमै यसरी फेरियो नेपाली क्रिकेट
दुई महीनाअघि नामिबियाबाट निराश भएर फर्किएको नेपाली क्रिकेट टोलीले पछिल्लो २७ दिनमै प्रदर्शनमा उलटपुलट गरेर सम्भव नदेखिएको एकदिवसीय मान्यता जोगाएको छ।
मंसीर दोस्रो साता हिन्द महासागर पार गरेर हवाई जहाजको नौ हजार २१२ किलोमिटर यात्रापछि दक्षिण अफ्रिकी मुलुक नामिबियाको राजधानी विन्डहक ओर्लिंदा नेपाली क्रिकेट टोली उत्साहित थियो। त्यो वेला एकदिवसीय मान्यता जोगाउने मात्रै होइन, आईसीसी विश्वकप क्वालिफायर हुने लक्ष्य सहज देखिएको थियो।
त्यतिञ्जेल नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गतका ३६ खेलमा २० खेल खेलिसक्दा १७ अंक जोडेको थियो। अन्य टोली पनि त्यही हाराहारीमा थिए।
तर, नामिबिया यात्रा सोचेजस्तो भएन। पहिलो खेलमै खराब प्रदर्शन रह्यो। पहिलो ब्याटिङ गरेर १९७ रन मात्रै बनाएको नेपालको हार लगभग निश्चित जस्तै थियो। वर्षाले खेल रोकिएपछि नामिबियासँग एक-एक अंक बाँड्दा पनि नेपाली टोली खुशी नै थियो।
त्यसपछि मंसीर १८ मा स्कटल्यान्डसँग तीन विकेटले, मंसीर २१ मा नामिबियासँग ८६ रनले र मंसीर २२ मा फेरि स्कटल्यान्डसँग आठ विकेटले नराम्रो हार बेहोर्यो। यो नतिजाले राष्ट्रिय क्रिकेट टोलीसँगै नेपाल क्रिकेट संघ (क्यान) पनि आलोचित भयो। मुख्य प्रशिक्षक मनोज प्रभाकर सुटुक्क राजीनामा दिएर भारत फर्किए। क्यान नै विघटन हुन सक्ने चर्चा हुन थालेको थियो।
त्यही विवादबीच माघ २३ मा क्यानले भारतका पूर्वक्रिकेटर मोन्टी देसाईलाई प्रमुख प्रशिक्षक नियुक्त गर्यो। देसाईले प्रशिक्षण शुरू गरेपछि पनि विवादले छोडेन। बलात्कारको अभियोग लागेका पूर्व कप्तान सन्दीप लामिछानेलाई निलम्बन फुकुवासँगै बन्द प्रशिक्षणमा सहभागी गराएपछि चर्को आलोचना भयो।
त्यही वेला नेपालले लिग-२ अन्तर्गत त्रिदेशीय शृङ्खला आयोजना गर्ने मौका पायो जसमा नेपालले बलियो टोली स्कटल्यान्ड र नामिबियासँग भिड्नु थियो । फागुन २ देखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शृङ्खला शुरू भयो जति वेला नेपालले एकदिवसीय वरीयता जोगाउन सम्भव नदेखिएको विश्लेषण भइरहेको थियो। १२ खेल मात्र बाँकी छँदा टोली २४ खेलमा १८ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा थियो।
त्रिदेशीय शृङ्खला अन्तर्गत फागुन २ मा भएको पहिलो खेलमा नेपालले २८६ रनको लक्ष्य पूरा गर्दै नामिबियालाई दुई विकेटले पराजित गर्यो। यो नेपालले पूरा गरेको सबैभन्दा ठूलो लक्ष्य थियो।
त्यसयता नेपालको प्रदर्शनमै उलटपुलट आयो, घरेलु शृङ्खला ‘क्लिन स्वीप’ गर्यो।
त्यही उत्साह साथ फागुन दोस्रो साता दुबई पुगेको नेपालले यूएई र पपुवा न्युगिनीसँगका चार खेलमा तीन खेल जित्यो र एकदिवसीय मान्यता जोगाउने आशा जीवितै राख्यो।
दुई शृङ्खलामा लगातार राम्रो प्रदर्शन गरेको नेपाली टोलीले लिग-२ को अन्तिम शृङ्खलामा पनि राम्रो शुरुआत गर्यो। कीर्तिपुरमा जारी पपुवा न्युगिनी र यूएईसँगको त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा फागुन २५ मा पपुवा न्युगिनीलाई ५२ रनले हरायो। फागुन २८ मा दोस्रो खेलमा यूएईलाई १७७ रनले हराएको छ।
यससँगै नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत फागुन २ यताका २७ दिनमा १० मध्ये नौ खेल जितेको छ जसबाट १८ अंक थपेर कुल ३६ अंक बनाएको छ। अंक तालिकाको चौथो स्थानमा पुगेको नेपालले एकदिवसीय वरीयता पनि जोगाएको छ।
राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमटा यसलाई राष्ट्रिय टोलीमा आएको परिपक्वताका रूपमा अर्थ्याउँछन्। “बलिङ पहिले पनि राम्रो थियो, ब्याटिङ बलियो हुँदाहुँदै पनि एकरूपता दिन सकिएको थिएन”, उनी भन्छन्, “अहिले खेलाडी राम्रो फर्ममा छन्, परिपक्वता आएको छ।”
यसअघि नेपाली बलिङ बलियो थियो। धेरैजसो खेल बलिङले नै जिताएको थियो। पछिल्लो समय ब्याटिङमा पनि सुधार आएको पूर्वक्रिकेटर शक्ति गौचन बताउँछन्। “बलिङ त हाम्रो जहिल्यै बलियो हो, पछिल्ला खेलमा पनि निरन्तरता पाएको छ”, उनी भन्छन्, “अहिले राम्रो पक्ष भनेको ब्याटिङमा पनि सुधार देखिएको छ।” नेपाली राष्ट्रिय टोलीले अहिले उत्कृष्ट प्रदर्शन गरिरहेको गौचनको भनाइ छ।
पाँच वर्षअघि एकदिवसीय मान्यता पाउँदा पनि ठ्याक्कै यस्तै खेल भएको थियो। अहिले यूएईलाई २२.५ ओभरमा हराएर एकदिवसीय वरीयता जोगाएको नेपालले १५ मार्च २०१८ मा पपुवा न्युगिनीलाई २३ ओभरमा हराएको थियो। त्यति वेला पपुवा न्युगिनीले दिएको ११५ रनको लक्ष्य चार विकेटको क्षतिमा पूरा गरेको थियो।
पाँच वर्षका लागि पाएको एकदिवसीय मान्यता यो लिग-२ सकिएसँगै सकिँदै थियो। पछिल्लो २७ दिनमा फेरिएको प्रदर्शनसँगै नेपालले आगामी चार वर्षका लागि एकदिवसीय मान्यता पनि जोगाएको छ।