अन्तिम खेलमा आज नेपालको यूएईसँग प्रतिस्पर्धा
आईसीसी विश्वकप लिग-२ को अन्तिम खेलमा आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै छ।
अहिलेसम्मको अङ्कतालिकामा स्कटल्यान्ड ५० अङ्क सहित शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको ओमनको ४४ अङ्क छ। त्यस्तै, ३९ अङ्क सहित नामिबिया तेस्रो स्थानमा छ।
यो लिगबाट शीर्ष तीन टोलीले विश्वकप क्वालिफायर खेल्न पाउनेछन्। विश्वकप क्वालिफायर आगामी असारमा जिम्बाबेमा हुनेछ।
चौथो स्थानमा रहेको नेपालको ३८ अङ्क छ। त्यस्तै, पाँचौं स्थानको अमेरिकाको ३५, छैटौं स्थानमा रहेको यूएईको ३३ र अन्तिममा रहेको पपुवा न्यूगिनीको ११ अङ्क छ।
आजको खेल जितेमा नेपालले ४० अङ्क जोड्दै तेस्रो स्थानमा रहेर विश्वकप क्वालिफायर खेल्न पाउनेछ। यूएईका लागि पनि आजको खेल महत्वपूर्ण छ। यूएईले पनि आजको खेल जितेमा अमेरिकासँग बराबरी गर्दै रन रेटका आधारमा पाँचौं स्थानमा उक्लिएर एकदिवसीय वरीयता जोगाउने सम्भावना छ।
नेपाल र यूएईबीचका पछिल्लो पाँच खेलमा नेपाल नै बलियो देखिएको छ। पाँच खेलमा नेपालले चार खेल जितेको छ भने यूएईले एक खेल मात्रै जितेको छ।
त्यस्तै, नेपालले खेलेका पछिल्ला पाँच खेलमा लगातार जित हासिल गरेको छ। यूएईले भने पछिल्ला पाँच खेलमा एउटा खेल मात्रै जितेको छ। त्रिवि क्रिकेट मैदानमै चैत १ गते भएको खेलमा यूएईले पपुवा न्यूगिनीलाई पराजित गरेको हो।
लिग-२ मा सात टोलीबीच १३९ खेल भइसकेका छन्। अन्तिम खेल काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः३० बजे शुरू हुनेछ। यो खेलका सबै टिकट बिक्री भइसकेका छन्।