यूएईले पपुवा न्यूगिनीलाई हरायो, ओडीआई जोगाउन नेपालसँग प्रतिस्पर्धा गर्ने
पपुवा न्यूगिनीलाई फराकिलो अन्तरले पराजित गर्दै यूएईले एकदिवसीय वरीयता कायम गर्ने सम्भावना जीवितै राखेको छ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा यूएईले पपुवा न्यूगिनीलाई ६ विकेटले पराजित गरेको हो। पपुवा न्यूगिनीले दिएको २३५ रनको लक्ष्य यूएईले ३८.४ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो।
यूएईका लागि मोहम्मद वासीमले शतक प्रहार गरे। उनले ७६ बलमा ६ चौका र १२ छक्का प्रहार गर्दै ११९ रन बनाए।
त्यस्तै, भृत्य अरविन्दले ३३, चुन्दङपोइल रिजवानले २९ र अफजल खानले २७ रन बताए। पपुवा न्यूगिनीका लागि रिलेई हकुरले दुई, कबुवा मोरिया र जोन कारिकोले एक-एक विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको पपुवा न्यूगिनीले सात विकेटको क्षतिमा २३४ रन बनाएको थियो। पपुवा न्यूगिनीका लागि असद भालाले ६५, नर्मन बनुआले ४९, रिलेई अकुरले ३३ र किल्पिन डोरिगाले २४ रन बनाएका थिए। यूएईका लागि हज्रत बिलालले चार, रोहन मुस्ताफा र जवार फरिदले एक-एक विकेट लिएका थिए।
यो जितसँगै ३३ अङ्क बनाएको यूएई छैटौं नम्बरमा छ। पाँचौं स्थानमा रहेको अमेरिकाको ३५ अङ्क छ। रनरेटमा यूएई अगाडि छ। यूएईले अर्को खेल जितेमा ३५ अङ्क जोड्दै एकदिवसीय मान्यता जोगाउन सक्नेछ।
आईसीसी विश्वकप लिग-२ को अन्तिम खेल चैत २ गते नेपाल र यूएईबीच हुनेछ। यो खेल दुवै टोलीका लागि निर्णायक रहेको छ। नेपालले जितेमा लिग-२ को तेस्रो स्थानमा रहँदै विश्वकप क्वालिफायरमा पुग्नेछ।
अहिले नेपालको ३८ अङ्क छ। तेस्रो स्थानमा रहेको नामिबियाको ३९ अङ्क छ। नामिबियाले सबै खेल खेलिसकेको छ। नेपालले एकदिवसीय वरीयता भने जोगाइसकेको छ।