बिहे गरेर साउदी उडेका श्रीमान्लाई अस्पतालको शय्यामा भेट्दा
विवाह गरेको दुई महीनामै साउदी अरब गएका श्रीमान्सँग तीन वर्षपछि अस्पतालको शय्यामा भेट्दा आत्तिएकी झापाकी २६ वर्षीया जमुना ढकाल सम्हालिन सकेकी छैनन्।
झापाको बाह्रदशी गाउँपालिका-६ काँक्रामारीकी २६ वर्षीया जमुना ढकालले विवाह भएको दुई महीनामै श्रीमान् जयनारायण ढकाललाई बिदाइ गरेकी थिइन् वैदेशिक रोजगारीका लागि। २०७६ पुसमा साउदी अरब उडेका जयनारायण तीन वर्षपछि गत फागुन १ मा नेपाल फर्किए।
श्रीमान्लाई लिन झापाबाट काठमाडौं पुगेकी जमुना त्रिभुवन विमानस्थल होइन, त्रिवि शिक्षण अस्पताल पुगिन्। उनी भन्छिन्, “विवाह भएको दुई महीनामै छोडेर साउदी जानुभएको थियो। तीन वर्षपछि फर्किंदा हाम्रो भेट अस्पतालको शय्यामा भयो।”
साउदीमा बिरामी परेका उनी नेपाल फर्किएका थिए। शिक्षण अस्पतालमा उपचारका क्रममा उनको स्वास्थ्य जाँच पनि गरियो। “अस्पतालले ब्लड क्यान्सर भएको पुष्टि गरेपछि मन निकै आत्तियो,” जमुना भन्छिन्, “एक महीना भइसक्यो, अझै सम्हालिन गाह्रो भइरहेको छ।”
काँक्रामारीका ३० वर्षीय जयनारायण पहिलो पटक नौ वर्षअघि साउदी गएका थिए। साउदीमा प्लास्टिक कम्पनीमा काम गर्थे। कामकाज राम्रै चलेको थियो, ऋण तिरिसकेका थिए।
तीन वर्षअघि उनी घर आएका थिए। चार महीनाको बिदामा आएका जयनारायणले जमुनासँग बिहे पनि गरे। उनीहरूको दुई वर्षका छोरा छन्।
उनी २०७९ सालको दशैंमा घर फर्किने तयारीमा थिए। तर, गाउँमा जुठो परेपछि आएनन्। “दशैंमा जुठो पर्यो, उहाँ आउनुभएन। अहिले आउने योजना थिएन,” उनकी पत्नी जमुना भन्छिन्, “बिरामी परेपछि कम्पनीले नेपाल फिर्ता पठायो।”
साउदीमा गाउँकै व्यक्तिले जयनारायणको रेखदेख गरेको उनकी दिदी कमला बताउँछिन्। उनैले घर फर्किन सघाएका थिए। भाइलाई लिन विमानस्थल पुगेकी कमला ह्वीलचेयरमै आएको देख्दा साह्रै गाह्रो भएको बताउँछिन्। “विमानबाट ह्वीलचेयरमै निकालेको थियो। सास फेर्न निकै गाह्रो भयो भन्दै थियो,” उनी भन्छिन्, “हामीले सीधै अस्पताल लग्यौं।”
त्रिवि शिक्षण अस्पतालका चिकित्सकले रक्त क्यान्सर अन्तिम स्टेजमा पुगेको बताएका थिए। केही दिन शिक्षण अस्पतालमा उपचार गरिए पनि परिवारजन काठमाडौंमा बस्न सकेनन्। काठमाडौंको महँगो बसाइ र उपचार धान्न नसकिएको कमला बताउँछिन्।
केही दिनमै पाँच लाख सकिएपछि उनको परिवार पनि आत्तियो। जसमा केही पैसा जयनारायणले जोडेको थियो भने केही महीनाको तलब कम्पनीले उनीसँगै पठाएको थियो। “रोगसँगै पैसा खर्च भएपछि आत्तियौं,” जमुना भन्छिन्, “कुटो-कोदालो चलाएर खाने परिवारको एक सातामै पाँच लाख रुपैयाँ सकियो।”
जयनारायणका ७० वर्षीया बुबा चन्द्रलाल इँटाभट्टामा काम गर्थे। उनले महीनौं लगाएर जोगाएको ५० हजार पनि त्यही सात दिनमा सकियो। त्यसपछि चन्द्रलाललाई लाग्यो, यो रोगसँग जुध्न त पैसा चाहिने रहेछ।
पैसाको केही जोहो आफ्नै गाउँमा होला कि भन्ने सोचेर ढकाल परिवारले चिकित्सकसँग सल्लाह गर्यो, जयनारायणलाई गाउँतिरै लग्ने। अनि चिकित्सकले पनि पूर्वाञ्चल क्यान्सर अस्पतालमा रेफर गरिदिए। “घर र अस्पताल एकै जिल्लामा भएर मात्रै के गर्नु?” दिदी कमला भन्छिन्, “दैनिक १५ देखि २० हजार रुपैयाँ बिल उठ्न थाल्यो। कडा खालको किमो चढाएको मात्रै ३५ देखि ४० हजार रुपैयाँ लाग्छ।”
उनीहरूले पूर्वाञ्चल अस्पतालमा पनि धेरै दिन उपचार गराउन सकेनन्। अस्पतालको दैनिक खर्च धान्नै मुश्किल भएको कमला सुनाउँछिन्। “त्यहाँबाट त डाक्टरसँग डिस्चार्ज गरिमाग्यौं। आवश्यक औषधिहरू किन्यौं। पैसा नभएपछि अहिले घरमै राखेका छौं, औषधि खुवाइरहेका छौं।”
अहिले भने जयनारायणको परिवारले हारगुहार गरिरहेको छ। उनकै भरमा चलिरहेको परिवार सङ्कटमा परेको छ। “जयनारायणकै भरमा परिवार चलिरहेको थियो। उनी नै रोगले थलिएपछि घरको आर्थिक अवस्था पनि नाजुक भएको छ,” छिमेकी नम्रता उप्रेती भन्छिन्, “उपचार खर्च धान्न सक्ने परिवारको अवस्था छैन। त्यसैले सहयोग सङ्कलन अभियान शुरू गरेका छौं।”
सामान्य खेती-किसानीको भरमा चलेको परिवारले फागुन १ गतेयता जयनारायणको उपचारका क्रममा १० लाख रुपैयाँ खर्च गरिसकेको छ। आफूसँग भएको पैसा त सकियो नै, ऋण पनि पाउन छोडेको पत्नी जमुना बताउँछिन्। “कमाउने मान्छे बिरामी भएर फर्किनुभयो। बुबाले इँटाभट्टामा काम गर्दा थोरै भए पनि घर खर्च चलाउने पैसा कमाउनुहुन्थ्यो, यही वेला इँटाभट्टा पनि बन्द छ,” उनी भन्छिन्, “अब त हातमुख जोर्नै समस्या भइसक्यो। उपचार कसरी गर्ने?”