विदेश जाँदा मिर्गौला गुमाउँदै युवा
धन कमाउन वैदेशिक रोजगारीमा गएका युवा मिर्गौला गुमाएर घर फर्किंदा शारीरिक र मानसिक क्षति त भइरहेको छ नै, उपचारमा ठूलो रकम खर्च हुँदा परिवार नै समस्यामा परिरहेका छन्।
सप्तरीका २७ वर्षीय शिवकुमार यादव भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको तेस्रो तलामा रहेको ब्लक ‘ए’ को शय्या नं. १ मा लम्पसार छन्। छेउमै बसिरहेकी शिवकी श्रीमती डायलासिस गरिरहेकी नर्सलाई सघाइरहेकी छन्। मलिन अनुहार लाएर शिव डायलासिस सकिने समयको प्रतिक्षामा छन्।
झन्डै पाँच घण्टापछि डायलासिस सकियो। अनुहार उस्तै मलिन थियो। सुस्केरा हाल्दै शिव भन्छन्, “के के सपना देखेर विदेश गएको थिएँ, ज्यान नै धरापमा पारेर फर्कनुपर्यो।”
वैदेशिक रोजगारीको सिलसिलामा पाँच वर्ष मलेशिया बसेका उनी छात्रावासमा काम गर्थे। दैनिक १२ घण्टा ड्यूटी गर्दा पानी कम खाने र पिसाब रोकेर बस्ने गर्थे। मलेशियाको दैनिकीबारे शिव भन्छन्, “पानी यति धेरै तातो र नुनिलो हुन्थ्यो कि खान मन नै लाग्दैनथ्यो।”
एक दिन ड्यूटीमै हुँदा रिंगटा लाग्यो। शरीर सुन्निएर बेहोश हुन लागेपछि अस्पताल लगियो। दुई दिनको उपचारपछि कम्पनीले ‘आफ्नै देशमा उपचार गर्नू’ भनेर नेपाल फर्काइदियो।
स्वदेश फर्किएपछि उनी उपचार गर्न भारतको पटनास्थित इन्दिरा गान्धी अस्पताल पुगे। पटना पुगेपछि थाहा भयो- मिर्गौलामा समस्या भएपछि नेपाल फर्काइएको रहेछ।
पटनामा उपचार गर्दा करीब तीन लाख भारतीय रुपैयाँ सकियो। त्यसपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केही समय डायलासिस गर्दा एक लाख सकियो।
धरानबाट सात महीनाअघि भक्तपुरस्थित प्रत्यारोपण केन्द्र पुगेका उनी सातामा दुई पटक डायलासिस गरिरहेका छन्। डायलासिसकै लागि अस्पताल नजिकै दूधपाटीमा कोठा भाडामा लिएर बसेका उनी औषधि र खाना खर्चमै पाँच लाखभन्दा बढी सकिएको जनाउँछन्। भन्छन्, “पाँच वर्ष दुःख गरेर कमाएको पैसा घरखर्च गर्दै सकियो, उपचार गर्न ऋण खोजिरहेको छु।”
अहिले उनी मिर्गौला प्रत्यारोपणको प्रतीक्षामा छन्। प्रत्यारोपण गर्न मिल्ने-नमिल्ने थाहा पाउन मिर्गौला दिने र लिनेको ‘क्रस म्याच भेरिफिकेशन’ गर्नुपर्छ। आमा छोरालाई मिर्गौला दिन तयार छिन्। अब आमाको मिर्गौला ‘क्रस म्याच भेरिफिकेशन’ नभए सधैं डायलासिसको भरमा बाँच्नुपर्ने चिन्ताले सताइरहेको छ।
प्रत्यारोपण केन्द्रको अर्को कक्षमा ४२ वर्षीया बबिता थापाको डायलासिस चलिरहेको छ। काठमाडौं, कोटेश्वरकी बबितालाई पनि शिवलाई जस्तै बिरामी भएपछि नेपाल फर्काइदियो।
उनले नौ वर्षदेखि दुबईको फास्टफुड रेस्टुरेन्टमा काम गर्दै आएकी थिइन्। कामको सिलसिलामा उच्च रक्तचाप भएकाले औषधि खान्थिन्। औषधिले उच्च रक्तचाप ठीक ठाउँमा आएन। बरु दाहिने आँखा अस्वाभाविक रूपमा रातो हुँदै गयो भने शरीर सुन्निन थाल्यो।
त्यसपछि फेरि अस्पताल पुगेकी उनलाई चिकित्सकले रगतमा क्रियटिनाइनको मात्रा ३.४ पुगेको बताए। नेपाल फर्किर उपचार गर्न पनि सुझाए। बबिताले त्यसको वास्ता गरिनन् र कामलाई नै निरन्तरता दिइन्।
त्यसको केही समयपछि आँखामा झन् समस्या आयो। त्यति वेला अस्पताल पुग्दा चिकित्सकले ‘क्रियटिनाइनको मात्रा ६.४ पुगेको छ, अब उपचार नगरे, जे पनि हुन सक्छ’ भनेर चेतावनी दिए। क्रियटिनाइनको मात्रा बढ्दै जानु भनेको मिर्गौलाको काम गर्ने मात्रा घट्दै जानु हो।
त्यसपछि अत्तालिंदै गत जेठमा नेपाल फर्किएकी बबिता काठमाडौंको ओम अस्पताल पुगिन्। चिकित्सकले तुरुन्त डायलासिस गर्नुपर्ने बताए। ओम अस्पताल हुँदै प्रत्यारोपण केन्द्र पुगेकी उनी अहिले मिर्गौला प्रत्यारोपणको प्रतीक्षामा छिन्।
६२ वर्षीया आमा उनलाई मिर्गौला दिन तयार छिन्। उनको पनि ‘क्रस म्याच भेरिफिकेशन’ गर्न बाँकी छ। “पहिलो पटक दुबईको अस्पताल पुग्दा चिकित्सकले राम्रोसँग जानकारी दिएको भए शायद आफ्नो मिर्गौला बचाउन सक्थें,” खिन्न हुँदै भन्छिन्।
दुबईमा एसीको चिसोमा बसेकाले पानी कम पिउँथिन् भने खानपानमा फास्टफुड नै हुन्थ्यो। “पानी यति थोरै खान्थें कि १२ घण्टे ड्यूटीमा जम्मा दुई पटक मात्रै बाथरूम जान्थें,” उनी भन्छिन्।
पोखराकी ३५ वर्षीया सुष्मा पुनको पनि त्यस्तै समस्या छ। सन् २०१९ मा दुबई गएकी सुष्मालाई उच्च रक्तचापको समस्या देखियो। दुबईमा तीन वर्ष काम गर्दा औषधि खानुपर्यो। कामको चापले नियमित औषधि खान थालेको केही समयपछि हातखुट्टा सुन्निने, रिंगटा लाग्ने र शरीर थाक्ने हुन थाल्यो।
स्वास्थ्य समस्या बढ्दै गएपछि अस्पताल पुगेकी सुष्मालाई चिकित्सकले उच्च रक्तचापको औषधिको ‘ओभरडोज’ भएर मिर्गौलामा खराबी आएको सुनाए। त्यसपछि अत्तालिंदै नेपाल आएकी उनी वनस्थलीस्थित राष्ट्रिय मिर्गौला सेन्टर गइन्। चिकित्सकले डायलासिस गर्नुपर्ने बताए।
त्यहाँबाट ग्रान्डी अस्पताल गएर केही समय डायलासिस गरेपछि धापाखेलस्थित सुमेरु अस्पताल पुगिन्। त्यहाँ प्रत्यारोपणको पालो नपाएपछि किस्ट अस्पताल पुगिन्। किस्ट अस्पतालमा सात महीनाअघि मिर्गौला प्रत्यारोपण गरेकी सुष्मा अहिले निरन्तर ‘फलोअप’ मा छिन्। “कमाउन त त्यस्तै भयो, शुरूदेखि अहिलेसम्म ३५ लाखभन्दा बढी खर्च भयो,” उनी दुखेसो पोख्छिन्, “उपचार गर्दा सरसापट लिएको पैसा तिर्न धौधौ भएको छ।”
भक्तपुरस्थित प्रत्यारोपण केन्द्रमै उपचाररत ३२ वर्षीय राधेश्याम महतो र २८ वर्षीय महेन्द्र रानाभाटको कथा पनि उस्तै छ। आर्थिक समस्या टर्ला कि भनेर विदेश गएका राधेश्याम मिर्गौलामा समस्या आएपछि झन् ऋण थपिएको बताउँछन्। “ऋणको त हिसाब गरिसाध्य छैन, अब त ज्यान बच्छ कि बच्दैन भन्ने मात्र चिन्ता छ,” उनी भन्छन्।
दुबईबाट फर्किएकी बबिता पनि मिर्गौलामा समस्या आइसकेपछि भोग्नुपरेको समस्या शब्दमा व्यक्त गर्न नसकिने बताउँछिन्। “जीवन धान्न धौधौ परिरहेको वेला काम गर्न नसकेर अस्पताल मात्रै धाउँदा हुने मानसिक र आर्थिक समस्या व्यक्त गर्नै सकिंदैन,” उनी भन्छिन्।
वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक गएका धेरै कामदारले यस्तै समस्या भोग्ने गरेका छन्। मिर्गौलाको उपचारमा संग्लग्न चिकित्सकहरूको अनुसार, वैदेशिक रोजगारीको क्रममा मिर्गौलामा खराबी आएर फर्किनेको संख्या पछिल्लो समय बढ्दै गएको छ। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ प्रत्यारोपण शुरूआत गर्दाको समयमा भन्दा अहिले वैदेशिक रोजगारीबाट मिर्गौलामा समस्या भएर फर्केका व्यक्तिको संख्या अत्यधिक बढेको बताउँछन्।
डा. श्रेष्ठका अनुसार‚ एक हजार जनाको प्रत्यारोपण गर्दा करीब २५ प्रतिशत (२५० जना) वैदेशिक रोजगारीमा गएर फर्केिने छन्। “कमाएको भन्दा बढी गुमाएर आउने धेरै बिरामी भेटिएका छन्,” डा.श्रेष्ठ भन्छन्।
सन् २०२१ मा एशियन जर्नल अफ मेडिकल साइन्सेसमा प्रकाशित विदेशबाट फर्किएका आप्रवासी कामदारमा मिर्गौलाको जोखिम सम्बन्धी अध्ययनले ५१ जना मिर्गौला रोग विशेषज्ञसँग उनीहरूले हेरेका बिरामीको आधारमा सर्वेक्षण गरेको थियो। अध्ययनमा खाडी मुलुकबाट फर्केका ४० वर्षमुनिका ३८ जना (३२ पुरुष र ६ महिला)लाई सहभागी गराइएको थियो।
कामकै सिलसिलामा बिरामी भएर स्वदेश फर्किएका उनीहरूमध्ये धेरैजसो (९२.१ प्रतिशत)ले मिर्गौला सम्बन्धी समस्या भएको बताएका थिए। आप्रवासी कामदारमा सामान्य नेपालीको तुलनामा मिर्गौला सम्बन्धी समस्या उच्च (७६.३ प्रतिशत) हुन सक्ने अध्ययनको निष्कर्ष थियो।
सन् २०२० मा किड्नी इन्टरन्याशनल रिपोर्टस् जर्नलमा प्रकाशित नेपाली आप्रवासी कामदारहरूमा दीर्घकालीन मिर्गौला रोग सम्बन्धी अध्ययनमा वैदेशिक रोजगारीबाट फर्केका औसत ३७-३८ वर्षका ४४ जनालाई संलग्न गराइएको थियो। तीमध्ये ९५ प्रतिशत पुरुष थिए। जसमा मलेशियाबाट फर्केका २७.३ प्रतिशत र अन्य खाडी मुलुकबाट फर्केका ७२.७ प्रतिशत सहभागी थिए।
अध्ययनको सात महीनाको अवधिमा ६३.६ प्रतिशतले डायलासिस सेवा शुरू गरेको र ६.८ प्रतिशतले मिर्गौला प्रत्यारोपण गरेका थिए। यस्तै, २५ प्रतिशतमा मिर्गौलाको समस्या शुरू भएको र चाँडै डायलासिसको तयारीमा रहेको, २.३ प्रतिशतको मिर्गौला रोगका कारण मृत्यु भएको र २.३ प्रतिशत फलोअपमा नआएको अध्ययनमा देखिएको थियो।
किन हुन्छ मिर्गौला खराब?
वैदेशिक रोजगारीमा गएका युवामा मिर्गौलाको समस्या बढी हुनुको मुख्य कारण त्यहाँको तापक्रम अनुसार पानी नपिउनु भएको चिकित्सकहरू बताउँछन्। वीर अस्पतालका मिर्गौला सर्जन डा. अनिल श्रेष्ठ विदेशबाट फर्केर मिर्गौलाको उपचार गर्न आएका अधिकांश बिरामीले पानी कम पिउने गरेको पाइएको बताउँछन्।
किड्नी इन्टरन्याशनल रिपोर्टस् जर्नलको अध्ययनमा पनि मिर्गौला समस्या भएका कामदारले औसतमा दैनिक दुई लिटर मात्रै पानी खपत गर्ने गरेको देखिएको छ। जुन धेरै तापक्रम भएको ठाउँमा स्वस्थ शरीरका लागि अपुग हुन्छ। अध्ययनका अनुसार, मिर्गौलामा खराबी आएका १५.९ प्रतिशत कामदारले समयमै शौचालय नजाने गरेको बताएका थिए। त्यस्तै, ७७.३ प्रतिशतमा अज्ञानताका कारण मिर्गौला खराब भएको देखिएको थियो भने १३. ६ प्रतिशतमा मधुमेह र नौ प्रतिशतमा अन्य स्वास्थ्य समस्या रहेको उल्लेख छ।
मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेका अनुसार, नेशनल किड्नी सेन्टरमा डायलासिस गर्न आउने अधिकांश युवा उच्च तापक्रममा दैनिक १३-१४ घन्टा कडा परिश्रम गरेर फर्किएका कामदार छन्। “विदेशमा उच्च तापक्रममा काम गर्दा आराम नगरी लामो समयसम्म खटिनुपर्छ, जसले शरीरमा भएको पानी पसिनाबाट सकिएर जलवियोजन हुन्छ,” डा. काफ्ले भन्छन्।
नेपालको सन्दर्भमा मानिसको मिर्गौला खराब हुने प्रमुख कारण उच्च रक्तचाप, मधुमेह तथा अत्यधिक मोटोपन भएको डा. काफ्ले बताउँछन्। तर, खाडी मुलुकमा काम गर्ने युवाको मिर्गौला खराबी हुनुको प्रमुख कारण जलवियोजन देखिएको उनको भनाइ छ। उनका अनुसार, खाडी मुलुकमा काम गर्ने युवाले प्रशस्त सादा पानी मात्र पिएमा पनि मिर्गौला रोग लाग्नबाट जोगिन सक्छन् ।
अर्कातिर, दुखाइ कम गर्ने औषधि अत्यधिक खाँदा पनि मिर्गौलामा समस्या आउने गरेको चिकित्सकहरू बताउँछन्। मलेशियाबाट फर्किएका शिव पनि निरन्तर काम गर्दा जिउ दुख्ने भएकाले दुखाइ कम गर्ने औषधि खाने गरेको बताउँछन्। बिदा नमिल्ने भएकाले शरीर दुख्दा ‘पेन किलर’ खाएर काममा जाने गरेको सुनाउँदै उनी भन्छन्, “पेन किलर अत्यधिक खाँदा मिर्गौलालाई खराबी गर्दो रहेछ भन्ने अस्पताल आएपछि थाहा भयो।”
एशियन जर्नल अफ मेडिकल साइन्सेजमा प्रकाशित अध्ययनले पनि जलवियोजन, उच्च तापक्रममा कठिन शारीरिक काम गर्दा र अत्यधिक ‘पेन किलर’ को प्रयोगले नेपाली कामदारमा मिर्गौला सम्बन्धी समस्या बढेको औंल्याएको छ। अध्ययनमा संलग्नमध्ये ७० प्रतिशत कामदारले सातामा ६० घण्टाभन्दा बढी, १३.६ प्रतिशतले सातामा ५० घण्टाभन्दा बढी र २० प्रतिशतले औसतमा ५०-६० घण्टा काम गर्ने गरेका थिए। विदेश जानुअघि कामदारलाई गरिने अभिमुखीकरणमा मिर्गौला सम्बन्धी सचेतना सामग्री राख्न समेत अध्ययनले सुझाएको छ।
प्रत्यारोपण केन्द्रका निर्देशक डा. श्रेष्ठ खाडी मुलुकमा अधिकांश मजदूरीका लागि युवालाई लैजानु, उनीहरूलाई उच्च तापक्रममा लामो समयसम्म काम गराउनु र स्वास्थ्य सम्बन्धी सामान्य जानकारी समेत नहुनु मिर्गौला बिग्रने प्रमुख कारण हुन सक्ने बताउँछन्। यो विषयमा धेरै अध्ययन नभएकाले ठोस कारण बताउन नसकिने भए पनि उपचार गर्न आएका बिरामीसँगको कुराकानीका आधारमा यस्तो निष्कर्षमा पुगेको उनको भनाइ छ।
बढ्दो सामाजिक असर
एक जनाको मिर्गौला बिग्रिंदा पूरै परिवारलाई आर्थिक रूपमा असर पर्ने गरेको छ। यससँगै मानसिक असर पनि पर्ने चिकित्सकहरू बताउँछन्। किनकि, प्रत्यारोपण गर्नुअघि सातामा कम्तीमा दुई पटक डायलासिस गर्नुपर्छ। एक पटक डायलासिस गर्दा पाँच घण्टा लाग्छ भने कम्तीमा दुई हजार ५०० रुपैयाँ तिर्नुपर्छ। साथै, एक जना सँगै हुनुपर्छ भने नियमित औषधि र जाँच पनि गरिराख्नुपर्छ।
मिर्गौला खराब भएका सबै बिरामीको प्रत्यारोपण सम्भव हुँदैन। प्रत्यारोपणपछि पनि सधैं औषधि खानुपर्छ। “एउटा व्यक्ति मिर्गौलाको बिरामी भयो भने उसले त कमाउन सक्दैन, अर्को एक व्यक्ति पनि आफ्नो कामधन्दा छाडेर साथमै रहनुपर्छ,” मिर्गौला रोग विशेषज्ञ डा. काफ्ले भन्छन्।
सरकारले विपन्न नागरिक उपचार कोष अन्तर्गत मिर्गौला डायलासिस र प्रत्यारोपणमा सहुलियत दिंदै आएको छ। तर, डायलासिस केन्द्रमा मशिन र जनशक्ति अभावले गर्दा थोरै बिरामीले मात्र यो सेवा पाउँछन्। प्रत्यारोपणका लागि पनि विपन्न नागरिक कोष अन्तर्गत सेवा लिन प्रशासनिक झन्झट उस्तै छ।
त्यस्तै, राज्यले दिएको सहुलियतले बिरामीको सम्पूर्ण उपचार, खानपान र बसाइ खर्च पुग्दैन। जसले गर्दा ऋण निकाल्नुपर्ने बाध्यता छ। धन कमाउन परदेश गएका युवा मिर्गौला जस्तो जटिल किसिमको समस्या बोकेर फर्किंदा गरीबीको दुश्चक्रमा फस्ने गरेको समाजशास्त्री दीपेश घिमिरे बताउँछन्।
कमाउने मुख्य व्यक्ति नै बिमारीले थलिंदा परिवारको दैनिकीसँगै शिक्षा लगायत आधारभूत आवश्यकतामा लगानी गर्न नसक्ने गरेको घिमिरे सुनाउँछन्। “मिर्गौला जस्ता रोगले आर्थिक र सामाजिक रूपमा गरेको क्षति आकलन गरेभन्दा दर्दनाक छ,” समाजशास्त्री घिमिरे भन्छन्।
वैदेशिक रोजगार सम्बन्धी जानकार गणेश गुरुङ सरकारले कामदार पठाउने नीति नबनाउँदा वैदेशिक रोजगारीमा जाने युवाले त्यसको मूल्य चुकाइरहेकोे बताउँछन्। वैदेशिक रोजगार कम्पनीले कठोर परिश्रम गर्नुपर्ने काममा पठाउने र रोजगारदाताले कामदारसँग सम्झौता गर्दा स्वास्थ्य बीमा नगर्ने भएकाले समस्या आएको गुरुङको भनाइ छ।
कामदारलाई स्वास्थ्य समस्या हुँदा फिर्ता पठाउने प्रवृत्ति रोक्न नीतिमै सुधार गर्नुपर्ने उनी बताउँछन्। “श्रमिकलाई कामको सिलसिलामा स्वास्थ्य समस्या आएमा रोजगारदाताले सम्पूर्ण उपचार खर्च बेहोर्नुपर्ने सम्झौता गर्ने हो भने कुनै समस्या नै आउँदैन,” गुरुङ भन्छन्, “रोजगारदाताले श्रमिक बिरामी भए सम्पूर्ण खर्च बेहोर्ने भएपछि नियमित स्वास्थ्य जाँच गराउन बाध्य हुन्छ र अहिले देखिएको भयावह समस्या धेरै हदसम्म समाधान हुन्छ।”
श्रमिकको अधिकार र श्रम सम्बन्धी कानून कार्यान्वयन गराउन र नयाँ नीति बनाउन राजदूतले समन्वय गर्नुपर्छ। तर, स्वार्थ बाझिएका व्यक्ति राजदूत भएर जाने प्रवृत्तिले श्रमिकको अधिकारका लागि बनेका नीति पनि कार्यान्वयन नभएको गुरुङ बताउँछन्। उनी भन्छन्, “राज्यले मान्छे विदेश पठाएर रेमिटेन्स भित्र्याउने बाहेक पर सोच्न नसक्दा धेरै युवाको भविष्य बर्बाद भइरहेको छ।”