पपुवा न्यूगिनीलाई हराउँदै नेपाल विश्वकप क्वालिफायर नजिक
पपुवा न्यूगिनीलाई फराकिलो अन्तरले हराउँदै नेपाल आईसीसी विश्वकप क्वालिफायर नजिक पुगेको छ।
आईसीसी विश्वकप लिग-२ अन्तर्गत सोमबार भएको खेलमा नेपालले पपुवा न्यूगिनीलाई नौ विकेटले पराजित गरेको हो। पपुवा न्यूगिनीले दिएको ९६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ७.४ ओभरमै जित हासिल गरेको छ।
यो जितसँगै नेपालले दुई अङ्क थपेको छ। लिग-२ अङ्कतालिकामा नेपालको ३८ अङ्क पुगेको छ। अब नेपालले लिग चरणको अन्तिम खेल जितेमा लिगको तेस्रो स्थानमा रहँदै विश्वकप क्वालिफायरमा छनोट हुनेछ।
अहिले शीर्षस्थानमा रहेका स्कटल्यान्ड ५० अङ्क सहित पहिलो र ओमन ४४ अङ्क सहित दोस्रो स्थानमा रहेर विश्वकप क्वालिफायरमा पुगिसकेका छन्। लिग चरणका सबै खेल खेलिसकेको नामिबियाको ३९ अङ्क छ। नेपालले चैत २ गते हुने यूएईसँगको खेल जितेमा ४० अङ्क सहित विश्वकप क्वालिफायरमा छनोट हुनेछ।
विश्वकप क्वालिफायर प्रतियोगिता आगामी असार ३ देखि २४ गतेसम्म जिम्बावेमा हुनेछ। विश्वकप क्वालिफायर प्रतियोगितामा १० टोलीले प्रतिस्पर्धा गर्नेछन्। जसमा नेदरल्यान्ड्स, जिम्बावे, स्कटल्यान्ड र ओमन छनोट भइसकेका छन्।
आजको खेलमा नेपालका लागि आशिफ शेखले ५३, कुशल भुर्तेलले ३३ र कुलश मल्लले १२ रन बनाए। शेखले २१ बलमा आठ चौका र तीन छक्का प्रहार गरे।
त्यस्तै, भुर्तेलले १४ बलमा चार चौका र दुई छक्का प्रहार गरे भने मल्लले १३ बलमा एक चौका र एक छक्का प्रहार गरे। पपुवा न्यूगिनीका लागि चाड सोपरले एक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले राम्रो शुरूआत गर्न सकेन। एक रनमै किल्पिन डोरिगालाई गुमाएको पपुवा न्यूगिनीले ३२ ओभरमा सबै विकेट गुमाएर ९५ रन बनायो।
पपुवा न्यूगिनीका लागि असल भालाले २०, सेसे बउले १८ र चार्ल्स अमिनीले १६ र हिरी हिरीले १४ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।
नेपालका सन्दीप लामिछानेले पाँच, ललित राजवंशी र कुशल मल्लले दुई-दुई तथा सोमपाल कामीले एक विकेट लिए।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय शृङ्खलाको अर्को खेल चैत १ गते यूएई र पपुवा न्यूगिनीबीच हुनेछ। लिग-२ को अन्तिम खेलमा चैत २ गते नेपाल र यूएईले प्रतिस्पर्धा गर्नेछन्।