नेपाली बलर चम्किएपछि ९५ रनमै समेटियो पपुवा न्यूगिनी
नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि पपुवा न्यूगिनी ९५ रनमै समेटिएको छ।
आईसीसी विश्वकप लिग-२ अन्तर्गत सोमबार टस हारेर ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले राम्रो शुरूआत गर्न सकेन। एक रनमै किल्पिन डोरिगालाई गुमाएको पपुवा न्यूगिनीले ३२ ओभरमा सबै विकेट गुमाएर ९५ रन बनाएको छ।
पपुवा न्यूगिनीका लागि असल भालाले २०, सेसे बउले १८ र चार्ल्स अमिनीले १६ र हिरी हिरीले १४ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।
नेपालका सन्दीप लामिछानेले पाँच, ललित राजवंशी र कुशल मल्लले दुई-दुई तथा सोमपाल कामीले एक विकेट लिए।
फागुन २८ गते यूएईलाई पराजित गर्दै नेपालले एकदिवसीय मान्यता जोगाइसकेको छ। नेपालले सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएको थियो।
आईसीसी विश्वकप क्वालिफायरको सम्भावनालाई जीवित राख्न आजको खेल जित्नै पर्नेछ। केही बेरमा नेपालले ब्याटिङ गर्नेछ।