रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने नागरिक उन्मुक्तिको निर्णय
नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।
सिंहदरबारमा शुक्रबार बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो। गत मंसीर ४ गते भएको निर्वाचनमा उनी कैलाली–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी थिइन्।
संसदीय दलको बैठकपछि नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक गंगाराम चौधरीले भने, “संसदीय दलको बैठकले अध्यक्षज्यूलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।”
संवैधानिक व्यवस्थाअनुसार, राष्ट्रपति र उपराष्ट्रपति फरक समुदाय वा लिंगको हुनुपर्ने व्यवस्था भएकाले नागरिक उन्मुक्तिले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको उनको भनाइ छ।
यस विषयमा गठबन्धनको बैठकमा पनि छलफल हुने चौधरीले बताए। “अहिले हामीले निर्णय गरेका छौं, अब गठबन्धनमा छलफल गर्छौं।”
गठबन्धनमै रहेको जनता समाजवादी पार्टी (जसपा) ले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। उनी गत मंसीर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा बारा–२ बाट निर्वाचित भएका थिए।
उपराष्ट्रपतिका लागि फागुन २७ गते उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुनेछ।