यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउने जसपाको निर्णय
जनता समाजवादी पार्टी (जसपा) ले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।
बिहीबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको जसपा अध्यक्ष उपेन्द्र यादवले बताए। “कार्यकारिणी समितिको बैठकले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ” अध्यक्ष यादवले भने।
नौ दलीय गठबन्धनले राष्ट्रपतिमा नेपाली कांग्रेस र उपराष्ट्रपतिमा जसपालाई समर्थन गर्ने निर्णय गरेको थियो। कांग्रेस उम्मेदवार रामचन्द्र पौडेल बिहीबार नै राष्ट्रपति निर्वाचित भइसकेका छन्।
गठबन्धनको सहमतिकै आधारमा जसपाले उपराष्ट्रपतिको उम्मेदवार चयन गरेको अध्यक्ष यादवको भनाइ छ।
उनी गत मंसीर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा बारा–२ बाट निर्वाचित भएका थिए।