मथुरा श्रेष्ठले कृष्णप्रसाद भट्टराई र मदन भण्डारीलाई घरमा बोलाएर राखेको त्यो प्रस्ताव
खाना खाइसकेपछि डा.मथुराबाटै कुरा शुरू भयो। उहाँले भूमिका नबाँधी कृष्णप्रसाद भट्टराईजीलाई भन्नुभयो, “अब प्रजातन्त्रलाई स्थापित बनाउन जनआन्दोलनका मुख्य शक्तिबीच सहयोग र सहकार्य गर्नुहोस्। जनआन्दोलनको समझदारी जस्तै निर्वाचनमा पनि गरे राम्रो। नभए दरबारियाको षड्यन्त्रमा पर्ला देश।”
फागुन ८ गते बिहानै दु:खद खबर आयो, डाक्टर मथुराप्रसाद श्रेष्ठको निधनको। स्तब्ध पार्यो। खबर सुनेपछि हानिएर मथुरा सरको घरतिर लागें। बाटोमा थाहा भयो, उहाँको पार्थिव शरीर शिक्षण अस्पतालको शवगृहभित्र राखिसकिएछ, विदेशमा भएका उहाँका छोराको आगमनलाई पर्खेर। आजकाल धेरै आमाबाबुको मृत्युपश्चात्को नियति यस्तै भएको छ, शवगृहमा केही रात बिताउनै पर्ने।
मथुरा सरको देहावसानकै दिन नीलाम्बर आचार्यले डाक्टर मथुराले भर्खर स्थापित बहुदलीय व्यवस्थाको स्थायित्वका लागि र प्रजातन्त्रलाई जनपक्षीय रूपमा अगाडि बढाउन कांग्रेस-कम्युनिष्ट सहकार्यका लागि कृष्णप्रसाद भट्टराई र मदन भण्डारीबीच समझदारी गराउने प्रयत्न गर्नुभएको उल्लेख गर्नुभएको छ। यसको प्रत्यक्ष प्रमाण म पनि भएकाले भट्टराई-भण्डारी भेट र भएका कुराकानी जनसमक्ष ल्याउनु सान्दर्भिक ठानेको छु।
मथुरा सरसितको चिनारी २०४२ सालतिर मात्र भएको हो। २०४० सालमा तत्कालीन नेकपा (माले) सित आबद्ध हामी केही विशेषगरी बद्रीप्रसाद खतिवडा, प्रकाश काफ्ले लगायतको प्रयासमा वीरगञ्जमा नेपालको पहिलो मानव अधिकार संस्था ‘मानव अधिकार संरक्षण मञ्च’ को गठन भयो, बद्रीप्रसाद खतिवडाको अध्यक्षतामा। महासचिव प्रकाश काफ्ले।
२०४१ सालमा विविध विचार र समूहमा रहेका विशेषगरी बुद्धिजीवी पेशामा रहेका व्यक्तिहरूको संयुक्त मञ्च ‘प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्च’ बनाउने निर्णय नेकपा (माले)ले गर्यो। यो मञ्चको अध्यक्ष पनि बद्रीप्रसाद खतिवडा र म महासचिव। प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्चको अध्यक्ष बद्रीप्रसाद खतिवडा भएपछि मानव अधिकार संरक्षण मञ्चको अध्यक्ष वामपन्थी किसान नेता जनकपुरका पाण्डवराज घिमिरे हुनुभयो।
मानव अधिकार संरक्षण मञ्चमा बुद्धिजीवी र स्थापित व्यक्तित्वहरूको संलग्नताका लागि त्यस्ता व्यक्तिको खोजी हुन थाल्यो। यसै क्रममा हामी वामपन्थी डाक्टर भनी परिचय बनाउनुभएका शिक्षण अस्पतालका प्राध्यापक मथुराप्रसाद श्रेष्ठकहाँ पुग्यौं। हाम्रो पहिलो भेट उहाँकै कार्यकक्ष शिक्षण अस्पतालमा भयो।
विशेषगरी चिकित्सक र स्वास्थ्यकर्मीबीच सम्मानित व्यक्ति भएकाले पनि उहाँलाई मानव अधिकार संरक्षण मञ्चको नेतृत्वमा ल्याउनुपर्ने हाम्रो धारणा बन्यो। मालेसित आबद्ध स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न साथीहरूको माध्यमबाट मथुरा सरसित हाम्रो हिमचिम बढ्दै गयो।
उहाँको सरलता, फरासिलोपन र दृढताले गर्दा उहाँलाई मानव अधिकार संरक्षण मञ्चको नेतृत्व सुम्पनुपर्छ भन्ने धारणा बन्यो। विचारमा वामपन्थी र व्यवहारमा जनपक्षीय डा. मथुरा श्रेष्ठ मानव अधिकार संरक्षण मञ्चको अध्यक्ष हुनुभयो।
२०४६ सालको जनआन्दोलनमा शिक्षण अस्पताल महाराजगञ्जको महत्त्वपूर्ण भूमिका रह्यो। घाइतेहरूको उपचार मात्र हैन, हामी केहीको त आश्रयस्थल नै बनेको थियो त्यो अस्पताल, आन्दोलनको उत्कर्षमा। प्रोफेसर मथुरा अग्रणी हुनुहुन्थ्यो।
२०४६ साल फागुन ७ गते औपचारिक रूपमा आन्दोलन शुरू भयो, नेपाली कांग्रेस र संयुक्त वाममोर्चाको नेतृत्वमा। ५० दिनको जनआन्दोलनले पञ्चायतलाई फ्याल्यो र बहुदलीय व्यवस्था स्थापना भयो। बहुदलीय संविधान बनाएर चुनाव सम्पन्न गर्न व्यवस्थापिका समेतको दायित्व पाएको अन्तरिम सरकारको स्थापना भयो।
नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रित्वमा नेपाली कांग्रेस र वाममोर्चाका सम्बद्ध व्यक्तिहरू सरकारमा समावेश गराइएको थियो। त्यस वेला ‘नागरिक समाज’ पदावली त्यति प्रचलित थिएन। ‘प्रोफेशनल ग्रूप’ भनिन्थ्यो।
प्रकाश र मैले तत्कालीन नेकपा (माले)का महासचिव मदन भण्डारी र नेता माधव नेपालसित जनआन्दोलनमा सक्रिय रहेको मानव अधिकार संरक्षण मञ्चको अध्यक्ष डा. मथुराप्रसाद श्रेष्ठलाई पनि ‘प्रोफेशनल’ का तर्फबाट सरकारमा सामेल गराउनुपर्छ भन्ने सल्लाह दियौं। यो प्रस्ताव नेपाली कांग्रेसमा पुगेपछि ऋषिकेश शाहको अध्यक्षतामा रहेको ‘मानव अधिकार संगठन’ बाट पनि सरकारमा सहभागी गराउने चर्चा भएछ।
तर, जनआन्दोलनको अवधिभर ऋषिकेश शाह भारतमै रहनुभयो। त्यस वेला देवेन्द्रराज पाण्डे मानव अधिकार संगठनको उपाध्यक्ष हुनुहुन्थ्यो। मथुरा श्रेष्ठ र देवेन्द्रराज पाण्डेलाई सरकारमा समावेश गर्ने निर्णय भएछ। मथुरा श्रेष्ठ स्वास्थ्य मन्त्री र देवेन्द्रराज पाण्डे अर्थमन्त्री हुनुभयो।
२०४७ सालमा घोषणा भएको नेपालको बहुदलीय संविधान अनुरूप आम चुनावको सँघारमा देश पुग्दै थियो। पञ्चायतलाई फ्याल्न सफल संयुक्त जनआन्दोलनको नेतृत्व र सहयात्री कांग्रेस तथा कम्युनिष्टबीच प्रजातन्त्रको स्थायित्वका लागि लामो समयको सहकार्य आवश्यक छ भन्ने हाम्रो विश्वास थियो। त्यसका लागि पद्मरत्न तुलाधरको नेतृत्वमा हामी सक्रिय थियौं।
हामी सहकार्य कसरी होला भन्ने विषयमा विभिन्न व्यक्तिसित छलफलमा लाग्यौं। यसै सिलसिलामा पद्मरत्न तुलाधर, प्रकाश काफ्ले र म मदन भण्डारीसित भेट्न नेकपा (एमाले)को बागबजार अफिस गयौं। उहाँसितको भेटमा जीवराज आश्रित र प्रदीप नेपाल पनि हुनुहुन्थ्यो।
मदन भण्डारीले हाम्रो कांग्रेससित अलि लामो समयसम्म सहकार्यको आवश्यकताको प्रस्ताव सुनेपछि भन्नुभयो, “हेर्नुहोस् हामी दुई दलको प्रयत्नमा बहुदलीय व्यवस्था आयो। अब बहुदलीय व्यवस्था अनुरूपको हाम्रो व्यवहार र चरित्र हुनुपर्छ। हामी प्रतिस्पर्धी र सहकर्मी दुवै हौं। चुनाव सन्निकट छ। चुनावमा आआफ्नो विचार र योजना सहित प्रतिस्पर्धामा जानैपर्छ। तर, चुनावमा जाँदा पनि हामीले बहुदलीय चरित्र देखाउन सक्नुपर्छ। आउँदो संसद्मा कस्तो व्यक्तिको उपस्थिति हुनेबारे सोच्नु आवश्यक छ। हामीले आफ्नै दल बाहिरका पनि कतिपय व्यक्तिको संसद्मा प्रवेश गराउने प्रयत्न गर्नुपर्छ।”
उहाँले उदाहरण दिएरै भन्नुभयो, “२०१५ सालको पहिलो संसद्मा टंकप्रसाद जस्तो व्यक्तिले प्रवेश नपाउनु हाम्रो इतिहासको दुःखद पक्ष हो। जसको त्याग, आँट र प्रेरणाले नेपालमा अरू दल विशेषगरी राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेस बने त्यही व्यक्तिलाई चुनावमा हराइयो। २०१५ सालभन्दा अहिले हामी परिपक्व हौं भने कृष्णप्रसाद भट्टराईलाई अबको संसद्मा ल्याउनुपर्छ।”
उहाँको कुरा छक्क पार्ने खालको थियो। मदन भण्डारी र कृष्णप्रसाद भट्टराई दुवै काठमाडौंको क्षेत्र नं १ बाट प्रतिस्पर्धी हुनुहुन्थ्यो। हामीले केही भन्नु अगाडि नै उहाँले भन्नुभयो, “तपाईंहरू असमञ्जसमा पर्नुभयो होला मेरो कुराले। म आफैं भट्टराईजीसित क्षेत्र नं १ बाट प्रतिस्पर्धा गर्दै छु। हामीले एक-अर्को दलप्रति सम्मान देखाएमा यो सम्भव छ।”
हामी कुनै सन्दर्भ पारेर नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराई र एमालेका महासचिव मदन भण्डारीबीच कुराकानी गराउने अवसरको खोजीमा लाग्यौं। मदन भण्डारीसित कुराकानीपछि प्रकाश काफ्ले र मैले मथुरा सरसित भेटी चुनावमा कांग्रेस-कम्युनिष्टबीचको प्रतिस्पर्धालाई एकआपसको सद्भावमा टिकाइराख्न प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई संसद्मा ल्याउन प्रयास गर्नुपर्छ भनेर सुनायौं।
हाम्रो कुरा सकिनासाथ उहाँ अलि झर्किंदै गिरिजाप्रसादको उग्र-कम्युनिष्ट विरोधतर्फ इङ्गित गर्दै भन्नुभयो, “नेपाली कांग्रेसमा गिरिजाको प्रभाव बढी भएकाले उनले यो सम्भव हुन दिँदैनन्। प्रधानमन्त्री भट्टराई सहकार्य चाहनुहुन्छ, तर गिरिजाको अगाडि भने उहाँ बोल्नुहुन्न।”
संयुक्त जनआन्दोलन शुरू भएको दिन २०४६ फागुन ७ देखि चैत २७ सम्मको ५० दिनको जनआन्दोलनका क्रममा भएका जुलूस, सभा र प्रहरी दमनको सचित्र पुस्तक प्रजातन्त्रको उदय मानव अधिकार संरक्षण मञ्चले प्रकाशन गरेको थियो। हामीले सो पुस्तक जनआन्दोलनको उत्कर्षको दिन चैत २७ को सम्झनामा सार्वजनिक गर्ने निर्णय गर्यौं। मथुरा सरकै निवास बाँसबारीमा सार्वजनिक गर्ने हाम्रो विचारमा मथुरा सर राजी हुनुभयो।
त्यसै छलफलमै हामीले बेलुकी कृष्णप्रसाद भट्टराई र मदन भण्डारीलाई पनि खानाका लागि मथुरा सरले आमन्त्रण गर्ने र केही कुरा गर्ने प्रस्ताव गर्यौं। मथुरा सरले हाँस्दै व्यङ्ग्य गर्नुभयो, “आउलान् र मदन भण्डारी, ज्यादै व्यस्त छन्। भट्टराईजीलाई भनौंला, तर गिरिजालाई सोध्नुपर्छ भन्लान्।”
यस विषयमा मदन भण्डारीसित पहिले नै कुरा गरिसकेका थियौं। ३० वर्षसम्म एकछत्र शासन गरेको र पञ्चायती संरचना औपचारिक रूपमा विस्थापित भए पनि कुनै न कुनै रूपमा जीवित रहेका छन्। दलहरूको संगठन सुदृढ नभइसकेको अवस्थामा आउँदो केही वर्ष कांग्रेस र वामपन्थीबीच समझदारी र सहकार्य हुनुपर्छ भन्ने सोच मदनको पनि थियो।
यसबारे हामीले पहिले वासु रिसाल र जगन्नाथ आचार्यसित कुरा गरिसकेका थियौं। गणेशमानजी ठाडै भन्नुहुन्थ्यो, “दरबारियालाई निमिट्यान्न नपारी बहुदलीय प्रजातन्त्र टिक्दैन, तर गिरिजा मान्दैनन्, भट्टराईको आँट छैन।”
मेरो सम्झना भएसम्म प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, मदन भण्डारी, प्रकाश काफ्ले र म खानाका लागि डा. मथुरा श्रेष्ठको घरमा भेला भयौं। त्यस ताका अहिलेको जस्तो प्रधानमन्त्री र मन्त्रीले सुरक्षाकर्मीको ताँती लगाएर हिंड्ने प्रचलन थिएन। त्यसैले त्यहाँ कुनै तामझाम थिएन। खाना खाँदा मथुरा सरले आफ्नी पत्नी डा. इन्दिराजीलाई चिनाउँदै कसरी उहाँहरूको बिहेबारी भयो भनेर ठट्यौली पारामा बेलिबिस्तार लगाउनुभयो।
खाना खाइसकेपछि डा.मथुराबाटै कुरा शुरू भयो। उहाँले भूमिका नबाँधी भट्टराईजीलाई भन्नुभयो, “अब प्रजातन्त्रलाई स्थापित बनाउन जनआन्दोलनका मुख्य शक्तिबीच सहयोग र सहकार्य गर्नुहोस्। जनआन्दोलनको समझदारी जस्तै निर्वाचनमा पनि गरे राम्रो। नभए दरबारियाको षड्यन्त्रमा पर्ला देश ।”
यसपछि मदन भण्डारीले भन्नुभयो,
“अरू कुरा त हामी गर्दै गरौंला, चुनाव आइसक्यो। सकिन्छ भने चुनावबाटै हामी प्रजातन्त्रलाई अगाढि बढाउन एकआपसमा सहयोग गर्दै छौं भन्ने सन्देश दिऔं। त्यसका लागि हाम्रा अध्यक्ष र भट्टराईजीको नजिकका साथी मनमोहन अधिकारी सुनसरी १ बाट उठ्दै हुनुहुन्छ र त्यहाँ नेपाली कांग्रेसको पनि एक जना हुनुहुन्छ। हाम्रो अध्यक्षले त्यहाँ निश्चित जित्नुहुन्छ। त्यस्तै, म काठमाडौं १ र ५ बाट उठ्दै छु र म दुवै ठाउँबाट जित्छु। तर, म गम्भीरतासाथ डा. मथुरा, पद्म दाइ र मानव अधिकारका साथीहरूले राख्नुभएको प्रस्तावलाई स्विकार्दै जनआन्दोलनका दुई घटकबीचको मित्रतालाई सम्मान गरी भट्टराईजीले उठ्ने १ नम्बर छाड्न तयार छु। तर, हाम्रो सहकार्य सम्मान-समानताका आधारमा हुनुपर्छ। नेकपा एमालेको महासचिवको हैसियतमा म छँदै छु। हाम्रो पार्टीले नेपाली कांग्रेस तयार हुन्छ भने आधिकारिक वक्तव्य सहित एक नम्बर छोड्छ, तर कांग्रेसले पनि सुनसरी १ मा एमालेका अध्यक्ष मनमोहन अधिकारीलाई आधिकारिक वक्तव्य सहित छोड्नुपर्छ। नेपाली कांग्रेस र एमाले दुवैले आधिकारिक रूपमा दुवैका अध्यक्ष विरुद्ध दुवै पार्टीले प्रतिस्पर्धा नगर्ने भनी वक्तव्य निकाल्नुपर्छ। यसले दलहरूबीचको सम्बन्ध राम्रो हुन्छ र नेतृत्वलाई सम्मान गर्ने परिपाटी बस्छ। भट्टराईजी जस्ता नेता जसले बहुदलीय संविधान समयमै घोषणा गराउनुभएको छ। यो पहिलो संसद्मा तपाईंको उपस्थिति हुनैपर्छ। इतिहासमा हामीले ज्यादती गरिसक्यौं। १९९३ सालमा राणाशासनको अन्त्यका लागि पहिलो पार्टी खोल्दा जन्मकैद पाएको र चार जना शहीद बनेको पार्टीको अध्यक्ष टंकप्रसादजीलाई २०१५ सालको संसद्मा स्थान दिइएन। यो एकदमै गैरराजनीतिक काम थियो। त्याग र बलिदानको खिल्ली उडाइयो। भट्टराईजीलाई त्यही नियति भोग्नु दिनु हुँदैन।”
मदन भण्डारीको यो प्रस्ताव गम्भीर भएर सुन्नुहुने भट्टराईजीलाई मथुरा सरले सोध्नुभयो, “प्रधानमन्त्रीज्यू, तपाईंको के विचार? तपाईं त पार्टीको सभापति हो।”
भट्टराईजीले ठट्यौली पारामा भन्नुभयो, “मदन बाबुको प्रस्ताव राम्रो तर हाम्रो पार्टी त प्रजातान्त्रिक हो । तपाईंहरूको जस्तो नेताले जे भन्यो त्यही हुँदैन, विचार-विमर्श हुन्छ । म मदन बाबुको प्रस्ताव पार्टीमा राख्छु । गिरिजाबाबुहरूसित पनि सल्लाह गर्छु । भोलि हाम्रो निर्णय डाक्टरसाबलाई म नै भनुँला। ल अब जाऔं पनि।” यसो भन्दै मेचबाट उठिहाल्नुभयो। हामी जिल्ल पर्यौं।
उहाँलाई बिदा गरेर आएपछि डाक्टर मथुराले मदन भण्डारीसित सोध्नुभयो, “के होला त अब?” मदनले हाँस्दै भन्नुभयो, “केही हुँदैन। भट्टराईजीबाट पार्टीमा यो प्रस्ताव नै आउँदैन किनभने उहाँलाई थाहा छ गिरिजाबाबु मान्दैनन्। गिरिजाको दुवै हातमा लड्डु छ। भट्टराईले जिते एमालेको महासचिवलाई हराइयो भन्न पाइने। भट्टराइले हारे आफू बहुदलको पहिलो निर्वाचित प्रधानमन्त्री हुने। त्यसैले यो अगाडि बढ्दैन। तपाईंहरूले गरेको प्रयत्न राम्रो छ, अझै पनि गर्नुहोस्।”
मदन भण्डारी पनि फर्कनुभयो। हामी पनि राति आआफ्नो गन्तव्यतिर लाग्यौं, निराश भएर। हामीले अझै प्रयत्न गर्नुपर्छ भन्ने इच्छा थियो पद्म दाइको। त्यसैले अन्तरिम मन्त्रिमण्डलमा गृहमन्त्री रहनुभएका नेपाली कांग्रेसका नेता योगप्रसाद उपाध्यायको घर कुपण्डोल गयौं।
उहाँसित कांग्रेस-कम्युनिष्टबीचमा सहकार्य कसरी जारी राख्ने भनेर कुरा थालेका मात्र थियौं । उहाँले भन्नुभयो, “हेर्नुस्, २०१५ सालको चुनावमा कम्युनिष्टले चार सीट ल्याएका थिए। तर, यस पाला कांग्रेसको लिडरशिपमा कम्युनिष्ट पनि आन्दोलनमा आएकाले २५ सीट जति पाउनुहुन्छ, अब कति चाहियो? किन मिल्नुपर्यो?”
योगप्रसादजीको यो कुराले हामी निराश र आक्रोशित हुँदै फर्कियौं। फर्कंदा हामीलाई लाग्यो- कांग्रेसमा कति छिटो अहङ्कार आयो। अब प्रयत्न नगर्ने हाम्रो निष्कर्ष रह्यो।
भट्टराईजीले मथुरा सरलाई पछि केही भन्नुभएन। चुनाव भयो। भट्टराईजी हार्नुभयो। मदन भण्डारी काठमाडौंका दुवै ठाउँबाट जित्नुभयो। मनमोहन पनि सुनसरीबाट जित्नुभयो। पञ्चायतको समाप्तिपछि अन्तरिम प्रधानमन्त्री २०४७ सालको संविधान निर्माताले संसद् छिर्न पाएनन्।
यो विषयले प्रोफेसर मथुरा पछिसम्म नेपाली कांग्रेससित क्रुद्ध हुनुहुन्थ्यो। उहाँले बारम्बार भन्ने गर्नुहुन्थ्यो, “टंकप्रसाद आचार्यलाई पनि संसद् आउन दिइएन। भट्टराईलाई पनि यही प्रवृत्तिले रोक्यो। आफ्नै अध्यक्षप्रति घात गर्नेहरू छन् त्यस पार्टीमा।”
मथुरा सर चित्त नबुझ्दा ज्यादै रूखो ढङ्गले बोल्ने व्यक्ति हो। तर, प्रजातन्त्रप्रति कटिबद्ध। श्रद्धाञ्जली!