एक बेजोड नागरिकको सम्झना
पेशागत निष्ठामा कुनै कमी आउन नदिईकन समग्र समाज सुधारका लागि स्वतन्त्र तरीकाले सधैंभरि लाग्नुभयो। आजको विभाजित समाजमा मथुराप्रसाद श्रेष्ठको त्याग र समर्पणको स्मरण झनै आवश्यक छ।
मेरा पुरानो साथी प्रा.डा. मथुराप्रसाद श्रेष्ठ अब भौतिक रूपमा हामीसँग रहनुभएन। तर, उहाँसँगको स्मृति र उहाँको योगदान भने ताजै छ, सधैं रहिरहनेछ।
खासमा श्रेष्ठ मेरो आन्दोलनका साथी हुनुहुन्थ्यो। पहिलो भेट पनि आन्दोलनकै सेरोफेरोमा भएको थियो। त्यसअघि नै उहाँ अनुभवी, सुप्रशिक्षित चिकित्सकका रूपमा प्रख्यात हुनुहुन्थ्यो। खासगरी नेपालको जनस्वास्थ्यको क्षेत्रमा ‘पायोनियर’ नै हुनुहुन्थ्यो। टिचिङ अस्पतालमा पनि त्यस्तै भूमिका खेल्नुभएको थियो। त्यसैले प्रत्यक्ष भेट नभए पनि उहाँको कर्म र व्यक्तित्वबारे म पहिलेदेखि नै परिचित थिएँ।
२०४६ सालको आन्दोलन ताका पहिलो भेट भयो। आन्दोलन शुरू भएपछि विभिन्न पेशामा आबद्ध नागरिकको समूह त्यसको समर्थनमा सक्रिय हुन थाल्यो। त्यसमा सक्रिय भूमिका खेल्नेमध्ये मथुराजी पनि हुनुहुन्थ्यो। आन्दोलनको वेला निर्भीक भएर प्रस्तुत हुनुहुन्थ्यो। कुनै डर-त्रास विना आन्दोलनको अघिल्लोे मोर्चामा उभिनुहुन्थ्यो। त्यसैले उहाँप्रति श्रद्धा लाग्थ्यो।
२०४६ चैत २६ गते राति तत्कालीन राजा वीरेन्द्रले बहुदलको घोषणा गरे लगत्तै उहाँ र मैले राजनीतिक दलका नेताहरूलाई आन्दोलनको मर्म विपरीत नजाऊन् भनेर खबरदारी पत्र दिएका थियौं। बहुदल घोषणा भए लगत्तै २०४७ वैशाख ७ गते अन्तरिम सरकार बन्यो। मन्त्रिपरिषद्मा स्वतन्त्र नागरिक अगुवाका तर्फबाट म र उहाँ सहभागी गराइयौं। म अर्थमन्त्री भएँ, उहाँ स्वास्थ्य मन्त्री।
मन्त्रिपरिषद्मा पनि उहाँ मभन्दा बढी सक्रिय हुनुहुन्थ्यो। स्वास्थ्य मन्त्रीका रूपमा गर्ने काम त गर्नुहुन्थ्यो नै। त्यति वेलाको सबैभन्दा पेचिलो विषय संविधान निर्माण थियो। संविधान निर्माणका क्रममा उहाँको भूमिका प्रभावकारी थियो। संविधानलाई बढीभन्दा बढी परिवर्तनको अपेक्षा समेट्ने खालको बनाउन भूमिका खेलिरहनुभयो।
मन्त्रिपरिषद्मा रहँदाको अर्को पेचिलो विषय थियो, मल्लिक आयोग गठन। आन्दोलनका क्रममा भएको दमनको अनुसन्धानका लागि आयोग गठन गर्न राजदरबार तयार थिएन। शुरूमा राजाले आफूखुशी आयोग गठन गरेपछि हामीले मन्त्रिपरिषद्मै विरोध जनायौं। तत्कालीन कानून मन्त्री नीलाम्बर आचार्य, मथुराजी र मेरो अथक प्रयासपछि मल्लिक आयोग गठन भयो।
मल्लिक आयोगले राम्रोसँग काम गर्न भने पाएन। तथापि आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गरिएन। कार्यान्वयन पनि भएन।
अन्तरिम सरकारमा रहँदा उहाँसँगको सहकार्यमा भएको अर्को अविस्मरणीय र दीर्घकालीन प्रभाव पार्ने काम हो, मानव अधिकार सम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि तथा अनुबन्धनहरूको अनुमोदन। दलहरूले त्यस विषयमा खासै ध्यान दिइरहेका थिएनन्। मथुराजी र मेरै सक्रियतामा अनुमोदन भएको थियो।
२०४७ सालको संविधान घोषणा भएपछि हामी फेरि आआफ्नै पेशागत क्षेत्रमा फर्कियौं। उहाँसँगको सम्पर्क पनि पातलियो।
एकै पटक २०६२-६३ सालको आन्दोलनमा फेरि भेट भयो। त्यसअघि पनि हाम्रो आक्कलझुक्कल भेट त हुन्थ्यो, तर सहकार्यकै तहमा तत्कालीन राजा ज्ञानेन्द्रले शासन हातमा लिएपछि भयो।
२०६१ माघ १९ मा राजाले शासन हातमा लिए लगत्तै उहाँ भूमिगत हुनुभयो। हामीले नागरिक आन्दोलन अघि बढायौं। २०६२ सालमा उहाँ पुन: आन्दोलनमा सक्रिय सहभागिता जनाउन आइपुग्नुभयो।
२०६२ साउन १० गते नागरिक आह्वान पत्र निकालेका थियौं। त्यसमा उहाँ, म र कृष्ण पहाडीले हस्ताक्षर गरेका थियौं। नागरिक आन्दोलन राजनीतिक आन्दोलनको उत्प्रेरक बन्न पुग्यो। तर, पछि नागरिक आन्दोलनमा अलि पार्टीगत कुरा आउन थाले। वामपन्थी साथीहरू बेग्लै आन्दोलन गर्न थालेका थिए। नागरिक आन्दोलनमा सक्रिय हुँदाहुँदै पनि मथुराजी वाम आन्दोलनमा पनि सक्रिय हुनुभयो। यद्यपि उहाँको सक्रियतामा कुनै कमी आएन।
२०६२-६३ सालको आन्दोलनमा सँगै जेल पर्यौं। त्यसअघि २०४६ सालको आन्दोलनमा पनि उहाँ र म सँगसँगै जेल परेका थियौं।
२०६२-६३ को आन्दोलनपछि फेरि हाम्रो सम्पर्क पातलिएको थियो। एकअर्काप्रति सद्भाव त थियो, तर भेट भएको थिएन। उहाँ सामाजिक सञ्जालमा भने निकै सक्रिय हुनुहुन्थ्यो। आईसीयूमा हुँदा पनि लेखिरहनुहुन्थ्यो। त्यस्तो सक्रियता समर्पणले मात्र आउँछ। उहाँको त्यो सक्रियता देखेर म फेरि भेट्न गएको थिएँ। त्यस्तै एक घण्टा कुराकानी गरेका थियौं।
मेरो दृष्टिकोणमा उहाँ वाम विचार बोकेको शुद्ध मार्क्सवादी हुनुहुन्थ्यो। त्यसैले सधैं परिवर्तनको पक्षमा उभिनुहुन्थ्यो। सारमा, उहाँ बेजोड नागरिक हुनुहुन्थ्यो। आफ्नो पेशामा निकै समर्पित हुनुहुन्थ्यो। आफ्नो पेशागत निष्ठामा कुनै कमी आउन नदिईकन समग्र समाज सुधारका लागि स्वतन्त्र तरीकाले सधैंभरि लागिपर्नुभयो। पद र लाभको कुनै पनि लोभ नगरीकन आफ्नो स्थानबाट सक्रियतापूर्वक समाजको उन्नयनका लागि योगदान दिइरहनुभयो।
आज हामीबाट बिदा हुनुभएको छ, तर उहाँबाट हामीले सिक्नुपर्ने पाठ प्रशस्त छन्। अहिले हामी सबै नागरिक विभाजित छौं। यो दल र त्यो दल, यो नेता र त्यो नेतामा बाँडिएका छौं। राजनीतिक र सामाजिक सुधारप्रति पनि आशा हराए जस्तो देखिन्छ। यस्तो अवस्थामा उहाँको योगदानको स्मरण झनै आवश्यक छ।
(पाण्डेसँगको कुराकानीमा आधारित।)