सुन फल्ने मध्य पहाडबारे के भन्छन् विज्ञ?
बाह्रै मास बस्न सकिने शीतल मौसम तथा सम्भावनाले भरिपूर्ण मध्य पहाडका विशेषता के हुन् र कसरी यो क्षेत्रलाई सिंगारेर देशलाई समृद्ध बनाउन सकिन्छ?
भौगोलिक आधारमा नेपाललाई उच्च हिमाल, उच्च पहाड, मध्य पहाड, चुरे पहाड र तराई गरी पाँच क्षेत्रमा बाँडिएको छ। समुद्री सतहबाट दुईदेखि चार हजार मिटरको उचाइमा पूर्वदेखि पश्चिमसम्मै फैलिएको मध्य पहाडले देशको २९ प्रतिशत क्षेत्रफल ओगटेको छ।
त्यसपछि उच्च हिमालले २४ प्रतिशत, उच्च पहाडले १९ प्रतिशत, चुरे शृङ्खलाले १२ प्रतिशत र तराईले १६ प्रतिशत ओगटेको छ।
इलाम, पाँचथर, भोजपुर, तेह्रथुम, ओखलढुंगा, काभ्रेपलाञ्चोक, मकवानपुर, ललितपुर, धादिङ, गोरखा, तनहुँ, कास्की, लमजुङ, पाल्पा, उदयपुर, सुर्खेत, प्यूठान, पाल्पा, अर्घाखाँची, गुल्मी, म्याग्दी, सल्यान, रोल्पा, बैतडी, डडेल्धुरा, दैलेख, अछाम लगायत मध्य पहाडी जिल्लामा पर्छन्।
यी बाहेक उच्च पहाडी र हिमाली जिल्लासँग जोडिएका धेरै जिल्लामा पनि मध्य पहाडी क्षेत्र रहेका छन्। यसमा सिन्धुपाल्चोक, मुगु, ओखलढुंगा, रामेछाप, दोलखा, सोलुखुम्बु, संखुवासभा, धादिङ, नुवाकोट, डोल्पा, मुगु, कालिकोट, बझाङ, दार्चुला, डोटी, कालिकोट, जाजरकोट, सल्यान, रोल्पा, ताप्लेजुङ लगायतका जिल्ला पर्छन्।
सामान्यतः तीन हजार मिटर उचाइसम्म मानव बस्ती छ। त्योभन्दा माथि हिउँ पर्ने भएकाले हिउँदमा बस्न गाह्रो हुन्छ। मध्य पहाड भने बाह्रै मास बस्न सकिने शीतल मौसम तथा सम्भावनाले भरिपूर्ण भूगोल हो।
के हुन् मध्य पहाडका विशेषता? कसरी समृद्ध बनाउन सकिन्छ मध्य पहाड? मध्य पहाड सम्बन्धी जानकारी विभिन्न क्षेत्रका व्यक्तिसँग सुशीला बुढाथोकीले गरेको कुराकानीको सारसंक्षेप:
दुर्लभ वन्यजन्तु र औषधिजन्य वनस्पति मध्य पहाडको विशेषता
कमल मादेन‚ वनस्पतिविद्
मध्य पहाडी क्षेत्रमा नेपालको धेरै भूभाग पर्छ। यस क्षेत्रमा विभिन्न प्रजातिका वनस्पति‚ जडीबुटी छन्। हिमाली क्षेत्रमा जडीबुटी भए पनि हिउँले ढाकिरहने भएकाले त्यहाँसम्म पुग्न गाह्रो हुन्छ। त्यसैले पहाडमा भएका जडीबुटीबाट आम्दानी बढाउने कार्यक्रम सरकारले ल्याउनुपर्छ। तर‚ सरकारले व्यवस्थित कार्यक्रम ल्याउन सकेको छैन। वन फँडानी, बाटोघाटोले अहिले त्यस क्षेत्रमा वन्यजन्तु, जैविक विविधता निकै दबाबमा छन्। पहिले त्यो दबाब तराईमा थियो, अहिले पहाडमा छ।
पहाडी क्षेत्रमा सालक, रेडपान्डा लगायत दुर्लभ वन्यजन्तु छन्। तिनीहरूलाई जोगाउने प्रयास भए पनि उल्लेख्य उपलब्धि भएको छैन। चितुवाको संख्या बढिरहेको छ। यसको कारण खोजी गर्नु जरुरी छ। मध्य र पश्चिमी पहाडी क्षेत्रमा संरक्षणका क्षेत्र छन्।
औषधिजन्य वनस्पति मध्य पहाडी क्षेत्रको विशेषता हो। मध्य पहाडी क्षेत्रमा हुने लौठसल्लाको पात र मुन्टाबाट क्यान्सर रोगको औषधि बनाइन्छ। यस तीन प्रजातिमध्ये नेपालमा दुई प्रजाति पाइन्छ। मकवानपुर, धादिङ, काठमाडौंमा लौठसल्ला पाइन्छ। यसको पात र मुन्टा प्रतिकिलो ३०० रुपैयाँसम्म बिक्री हुन्छ। नवलपरासीमा यसको पात र मुन्टा प्रशोधन गर्ने कारखाना खोलिएको छ।
यस बाहेक कुरिलो, पाखनबेद, जटामसी, सतुवा, कुट्की, सेतकचिनी, खयर, गुज्जरगानो लगायत सयौं प्रजातिका वनस्पति पाइन्छन्। यी जडीबुटीहरू कानूनले तोकेको दस्तुर तिरेर सङ्कलन गर्न पाइन्छ।
विविधताको धनी मध्य पहाड:
प्राध्यापक ध्यानेन्द्र राई‚ प्राध्यापक, त्रिभुवन विश्वविद्यालय
पहाडी क्षेत्रले नेपालको धेरै भूभाग ओगटेको छ। करीब चार हजार ५०० देखि पाँच हजार मिटरसम्म पहाड पूर्वदेखि पश्चिमसम्मै फैलिएका छन्। हिउँदमा हिउँ पर्ने पहाडहरू छन्। ६८ प्रतिशत क्षेत्र ओगटेको पहाडी क्षेत्रको विकास नभई नेपाल विकास हुन सक्दैन।
पहाडमा भौगोलिक विविधता छ। त्यसले हरेक कुरामा विविधता सिर्जना गरेको छ। पहाडमा ठूलो क्षेत्र, जातजाति, भाषा, रहनसहन‚ संस्कृति, चालचलन, व्यापार, व्यवसाय लगायतमा विविधता छ। यहाँको माटो‚ खेतीपातीमा विविधता पाइन्छ। तराईमा भने एकरूपता पाइन्छ। त्यहाँ सबै ठाउँ उस्तै हुन्छन्। वेशभूषा, रहनसहन, भाषा पनि खासै फरक हुँदैन। हिमालमा पनि त्यति धेरै विविधता छैन।
भूगोलकै कारण पहाडमा जीवन कठिन छ। शिक्षा, स्वास्थ्य‚ यातायात जस्ता आधारभूत सुविधा पुग्न सकेको छैन। त्यसैले यस क्षेत्रका मानिसहरू शहर, सदरमुकाम‚ बजार‚ तराई‚ समथर जस्ता सुविधा भएको ठाउँमा बसाइँ सर्ने चलन बढेको छ। पहाडमै बसे पनि स्थानीय तहको केन्द्र नजिकै बस्न थालिएको छ। जसका कारण दूरदराजका गाउँहरू रित्तिंदै गएका छन्। त्यसैले दूरदराजमा मानिसलाई रोकिराख्न पूर्वाधार निर्माण गर्नुपर्छ। शिक्षा, स्वास्थ्य‚ यातायात लगायत आधारभूत सुविधा उपलब्ध गराउनुपर्छ।
पहाड खेतीपातीका लागि महत्त्वपूर्ण ठाउँ हो। खेतीपाती निर्वाहमुखी थियो। खेतीपाती र बस्तुभाउ सँगसँगै आउँछन्। पछिल्लो समय खेतीपाती गर्न छाडियो, पशुपालन पनि छाडियो। अहिले खेतीपाती गर्नैपर्ने बाध्यता छैन। आम्दानी हुने अन्य पेशामा लागेका छन्। अब पारम्परिक खेती गरेर हुँदैन। सरकारले व्यावसायिक खेतीलाई प्रोत्साहन गर्नुपर्छ।
आधारभूत सुविधा सहज तरीकाले पुर्याउन एकै ठाउँमा बस्ने गरी गाउँ बनाउनुपर्छ। छरिएर बस्दा सरकारले भने जसरी सडक‚ खानेपानी‚ बिजुली‚ स्वास्थ्य‚ शिक्षा लगायतको सुविधा पुर्याउन सक्दैन। त्यसैले बस्ती एकीकृत गर्नुपर्छ।
सरकारले अवसर, सुविधा सिर्जना गर्नुपर्छ। रोजगारी सिर्जना हुने गरी आधुनिक ढङ्गले खाद्य तथा तरकारी, फलफूल, जडीबुटी खेती, पशुपालन गर्न प्रोत्साहित गर्नुपर्छ। जलविद्युत्मा लगानी गर्न प्रोत्साहित गर्नुपर्छ।
तराईमा मात्र मान्छे थुपारेर हुँदैन। विदेश पठाएर मात्र हुँदैन। विकास गर्नुपर्छ। जसका लागि पहाड उपयुक्त ठाउँ हो। यसका लागि सरकारले नीति बनाएर कार्यान्वयन गर्नुपर्छ। हाम्रा पहाडका आआफ्नै विशेषता छन्। जुन पर्यटनका लागि उपयोगी छन्। पहाडमा जङ्गलै बनाए पनि राम्रो हुन्छ। अहिले पहिरोका फेदमा बस्ती छ। काठमाडौं उपत्यका जस्तो राम्रो खेती हुने ठाउँमा बस्ती छ। त्यसैले राम्रो भू-उपयोग नीति बनाएर कार्यान्वयन गर्नुपर्छ।
पहाडः अध्ययन अनुसन्धानको थलो
तारानिधि भट्टराई, त्रिचन्द्र कलेज,
प्राध्यापक, भूगर्भशास्त्र
उत्तरतिर किन अग्लो भयो, दक्षिणको पहाड किन होचो? यसको कारण के होला? यसबारे अध्ययन नेपालमा गर्न सकिन्छ। यहाँ पहाड बन्ने प्रक्रिया शुरू हुँदा बनेका संरचनाहरू देख्न सक्छौं।
अर्कातर्फ दक्षिणको तराईबाट उत्तरको हिमालतर्फ हिंडेर जाने हो भने जमीनको, उचाइको प्रक्रिया इलेभेशन (समुद्री सतहबाट कति उचाइमा छ भन्ने) बुझ्न सकिन्छ। दक्षिणबाट उत्तरतिर जाँदा मानिसहरूको बोलीचाली, रहनसहन, लवाइखवाइ‚ दिनचर्या फरक फरक देख्न पाइन्छ। बेग्लाबेग्लै वनस्पतिहरू पाइन्छन्। महाभारत पर्वतदेखि उत्तरतिर पाइने बिरुवा फरक हुन्छन्। यति छोटो दूरीमा रूखबिरुवाहरूमा कस्तो परिवर्तन आएको छ भनेर अवलोकन तथा अध्ययन गर्न सकिन्छ।
कुनै पहाड मानिस हिंडेर जान सक्ने खालका छन् त कुनैमा बाँदर पनि जान नसक्ने भीर छन्। ती पहाडमा माउन्टेनीयरिङ‚ रक क्लाइम्बिङको अभ्यास गर्न सकिन्छ। वनस्पति, चरा अवलोकन, अध्ययन गर्न पनि यो क्षेत्र उपयुक्त छ।
हामीकहाँ विपत् पनि तीनै क्षेत्रमा फरक खालका छन्। तराईमा बाढी, पहाडमा पहिरो, भूकम्प, ताल फुट्ने साथै हिमालमा हिमताल फुट्ने, हिमपहिरोको डर हुन्छ। विपत् कसरी ठाउँ अनुसार बदलिंदै जान्छ? विपत् रोकथामका लागि नेपालले केकस्ता काम गरेको छ? यसको पनि अध्ययन गर्न सकिन्छ।
पहाडहरू बन्ने क्रममा कतिपय ठाउँमा सुन्दर उपत्यका, खोंच, समथर भाग बनेका हुन्छन्। जस्तो- काठमाडौं उपत्यका, पूर्वमा उदयपुर। दाङ, देउखुरी सबै त्यसरी बनेको हो। कतै ठूलठूला पोखरी छन्। ती कसरी बने, अबको हजार/१० हजार वर्षपछि ती ठाउँमा पोखरी रहन्छ कि रहँदैन अध्ययन महत्त्वपूर्ण छ।
मध्य पहाडः बसोबासका हिसाबले उपयुक्त
मोतीलाल घिमिरे, सहप्राध्यापक‚ भूगोल, त्रिभुवन विश्वविद्यालय
उचाइको हिसाबमा चार हजार मिटरसम्म बसोबास छ। त्योभन्दा माथि पनि होटल, रेस्टुरेन्ट खोलिएको हुन सक्छ तर त्यहाँ मानिसको धेरै बसोबास छैन। चुरे पहाडको उचाइ १२ सयदेखि १९ सय मिटरसम्म छ। नयाँ पहाड हो। त्यहाँ चट्टानहरू अस्थिर छन्। अत्यन्त भिरालो भएकाले बसोबासका लागि उपयुक्त छैन।
मध्य पहाड दुई हजार मिटरदेखि चार हजार मिटरको उचाइमा छ। खोला, बेंसी, होचा पहाड, समतल भूभाग पनि छन्। बाटोघाटो राम्रो छ। बसोबासका लागि उपयुक्त भएकाले यो क्षेत्र पहिलादेखि नै जनसंख्याको केन्द्र हो। खेती पनि राम्रो हुन्छ। हावापानी, धरातल राम्रो भएकाले शहर/बजारको विस्तार भइरहेको छ। पहाड पर्यटन, खेलकुदका लागि उपयुक्त छ। पार्क, वन्यजन्तु संरक्षणका हिसाबले पनि उपयुक्त मानिन्छ। नेपालमा उच्च हिमाल २४, उच्च पहाड १९, मध्य पहाड २९, चुरे १२ र तराई १६ प्रतिशत छन्।
उच्च पहाडमा उचाइका कारण चिसो हुने, हिउँ पर्ने‚ बाली पाक्न धेरै समय लाग्ने तथा माटो उर्वर हुँदैन। मध्य पहाड भने बसोबास र खेतीपातीका लागि उपयुक्त छ। पहाड जति अग्लो छ, भूकम्पको जोखिम उति धैरै हुन्छ। त्यसैले बसोबासका लागि मध्य पहाड उपयुक्त छ। यो क्षेत्रमा ठूला उपत्यका पनि छन्।
भूपरिवेष्टित मुलुक भएकाले हामीलाई बेफाइदा छ भनिन्थ्यो तर त्यसो होइन। अहिले प्रविधिले गर्दा राम्रा सडक, सुरुङमार्ग, रेल, हवाईजहाज धेरै तरीकाबाट पहाडमा यातायात विस्तार गर्न सकिन्छ। योजनाबद्ध तरीकाले काम गर्दा धेरै सम्भावना छ। त्यसका लागि राजनीतिक प्रतिबद्धता र दृढता आवश्यक छ।
मिश्रित खेतीमा जोड
कृष्ण पौडेल‚ कृषि अभियन्ता
इलामको मध्य पहाड र डडेल्धुराको मध्य पहाड एउटै छैन। त्यसैले सबै पहाडलाई सामान्यीकरण गर्नु हुँदैन। त्यहाँको हावापानी, वातावरण, पर्यावरण आदिले त्यस क्षेत्रको निर्धारण गर्छ। मध्य पहाडमा बेंसी, मध्य भाग र लेक हुन्छ। बेंसीमा पानी प्रशस्त हुने भएकाले वर्षैभरि खेतीपाती गर्न सकिन्छ।
मध्य भागमा खोरिया‚ बारी छन्। त्यहाँ पानीको स्रोत धेरै हुँदैन। मध्य भागको ५० प्रतिशत सुक्खा क्षेत्र छ। त्यस्तो ठाउँमा वर्षामा मकै, कोदो, गेडागुडी, तिल, तोरी लगायत तेलहन बालीको खेती हुन्छ। लेक तथा हिमाली भेगमा खर्क, घाँसे मैदान छन्। त्यहाँ पशुपालन गर्न सकिन्छ।
हिमालमा चिसो पानी र हावापानी हुने भएकाले कम उत्पादन हुन्छ। तराईमा उत्पादन बढी हुन्छ। तर विविधता हुँदैन। काठमाडौंमा मेरो घरमा आँप, केरा छ। तर‚ यही उचाइमा रहेको अरू ठाउँमा आँप र केरा फल्छ भन्ने छैन। त्यसैले पहाडको उचाइ मात्र नापेर हुँदैन। पर्यावरणको प्रकृति अनुसार कुनै पहाड कुनै चार हजार मिटर हुँदा पनि घाम लाग्ने, जमीनको ढलान, पानीको स्रोत पनि हुन्छ। यी विभिन्न क्षेत्रमा अन्नपात, फलफूल, जडीबुटी अन्य नगदेबालीको खेती गर्न सकिन्छ। अन्नपातमा पनि कुन, कहाँ, के भन्ने फरक हुन्छ। पानी हुने ठाउँमा अर्कै हुन्छ। जस्तो- चिनो, कागुनो भन्ने सुक्खा ठाउँमा हुन्छन्।
संसारमा २० प्रतिशतभन्दा बढी पहाड छैन। मानिसहरू ८० प्रतिशत समथर भूभागमा गुजारा गर्न बाध्य छन्। मानिसको वंशानुगत तथा गुण, प्रकृति र प्रवृत्तिका हिसाबले पहाडी भूभागमा हुर्किने प्रजाति हो।
एकीकृत खेती नगरी अबको खेती जोगाउन सकिंदैन। पकेट क्षेत्र बनाउँदा भविष्यमा के असर पर्छ भन्ने हेर्नुपर्छ। पकेट क्षेत्र भनेर एकल खेती गर्दा प्रकृति, माटो, उर्वराशक्ति र किसानको मेहनत खेर जान्छ। एकल खेती गरे माटो सन्तुलन हुँदैन। खाद्य तत्त्वहरू एउटै बालीले मात्र लिन्छ। एक-दुई रोपनी सुन्तला लगाउँदा ठीकै छ तर धेरै ठूलो ठाउँमा लगाउँदा भविष्यमा के हुन्छ भन्ने विचार गर्नुपर्छ। सुन्तलामा रोग लागे के हुन्छ?
अहिले ‘निर्वाहमुखी खेती’ भन्ने शब्दावली आएको छ। केही उपाय नलागेकाले खेती गरेर खान्छन् भन्ने भाष्य निर्माण गर्न निर्वाहमुखीलाई ल्याइएको छ। जुन शतप्रतिशत गलत हो। खेतीबाट निर्वाह हुन्छ भने के फरक पर्छ! खेतीपातीबाटै किसानले राम्रो आम्दानी गरेको छ, खान लाउन पुर्याएको छ भने राम्रो हो। खेतीबाट निर्वाह चल्दा के नराम्रो हुन्छ? पहिले साटेर निर्वाह हुन्थ्यो, अहिले बेचेर हुन्छ।
मिश्रित खेती निरीह होइन, यो प्रकृतिसम्मत खेती हो। एकल खेती निरीह हो। मिश्रित खेतीले के बेफाइदा गर्छ भन्ने किटेर भन्नुपर्यो। होइन भने मिश्रित खेतीलाई जोड दिनुपर्छ। जस्तो- भटमास र मकै सँगै लगाउँदा खडेरी पर्यो भने भटमासले मकैलाई सहयोग गर्छ। भटमासले मकैलाई चाहिने नाइट्रोजन दिन्छ। मकैले भटमासलाई सेपिलो ठाउँ दिन्छ। प्रकृति अन्तरसम्बन्धले चल्छ, हाम्रा जस्ता आग्रहले एकल खेती चल्दैन।
अहिले हाम्रो विवेकले काम गरेको छैन। सिङ्गो नेतृत्व, कृषिविज्ञ, कृषिबारे लेख्ने‚ आलोचना गर्नेलाई आफ्नै विवेकमाथि विश्वास छैन। हाम्रा पुर्खाहरूले खेती प्रणाली कसरी जोगाइराखे भन्ने बुझ्नुपर्यो। खेती गाह्रो भयो, महिलालाई बोझिलो भन्ने त हाम्रो सामाजिक व्यवस्थाले हो।
हामी निरीह सोचबाट बाहिर निस्किनुपर्छ। गएको १५-२० वर्षदेखि म यही भनिरहेको छु। अहिले तराईको स्थिति भयावह छ। त्यहाँको करीब १० प्रतिशत माटो मरिसक्यो। चार-पाँच प्रतिशत प्राङ्गारिक हुनुपर्नेमा कहीं एक प्रतिशत पनि छैन। एकल खेती गरेकाले माटो अम्लीय भएको छ। २० वर्ष पहिले एक किलो युरिया हाल्ने किसानले अहिले ३०-३५ किलो हाल्दा पनि भएको छैन।