देउरालीमा उभिएको एक्लो घरको कथा
समुद्री सतहबाट दुई हजार ६०० मिटरको उचाइमा नेदरल्यान्ड्सका आर्किटेक्टको डिजाइनमा बनेको हाब्रे भवन कञ्चनजंघा संरक्षण क्षेत्रमा नयाँ आकर्षण बनेको छ।
नेदरल्यान्ड्सका संरक्षणविद् एवं आर्किटेक्चरका प्रोफेसर एन फिनिस्ट्राले विश्व वन्यजन्तु कोषको एक कार्यक्रममा दिगो निर्माण सम्बन्धी एउटा प्रस्तुति राखे। त्यो सुनिरहेका आङ फुरी शेर्पा निकै प्रभावित भए।
विश्व वन्यजन्तु कोष छोडेर शेर्पा कञ्चनजंघा संरक्षण क्षेत्रतिर लागे, रेड पान्डा नेटवर्क मार्फत। उनीसँगै रेड पान्डा (हाब्रे) संरक्षणमा सक्रिय थिए, सोनाम टासी लामा। लामा तिनै संरक्षणकर्मी हुन्, जसले रेड पान्डा संरक्षणमा गरेको कामका लागि बेलायतको ‘ह्वीट्ली फन्ड अफ नेचर’ ले दिने ‘ह्वीट्ली अवार्ड’ पाएका छन्।
नेटवर्कले पान्डा संरक्षणको कामलाई प्रभावकारी बनाउन एउटा स्रोत केन्द्र निर्माणको योजना बनायो। समुद्री सतहबाट दुई हजार ६०० मिटरको उचाइमा स्रोत केन्द्र निर्माण योजनाका लागि प्राविधिक सोधीखोजी हुँदै गर्दा शेर्पाको सम्झनामा आए, प्रोफेसर एन फिनिस्ट्रा। जसले धेरै वर्षअघि दिएको दिगो निर्माण सम्बन्धी प्रस्तुतिले शेर्पालाई प्रभावित बनाएको थियो।
तिनै प्रोफेसर एन फिनिस्ट्राले आर्किटेक्ट सपना शाक्यसँग मिलेर बनाएको खाका अनुसार तयार भएको छ, हिमालयन हाब्रे केन्द्र। “आंशिक उपयोगमा आइसकेको छ, छिटै पूर्ण क्षमतामा सञ्चालन गर्छौं,” शेर्पा भन्छन्।
प्राध्यापक फिनिस्ट्राले अफगानिस्तानमा हिउँ चितुवाको वासस्थान भएको राष्ट्रिय निकुञ्जमा वातावरणमैत्री भवन बनाइसकेका छन्। त्यस्तै, भारतको सिक्किमस्थित संरक्षण क्षेत्रमा पनि काम गरिसकेका छन्। त्योभन्दा पनि बढी उनले दिगो विकासको खाकामा विश्वका विभिन्न देशमा ५० भन्दा बढी भवन बनाइसकेका छन्। उनले यस्तो काम गरेको ३० वर्षभन्दा बढी भइसकेको छ।
कसरी बन्यो भवन?
रेड पान्डा नेटवर्क सम्हालेपछि आङ फुरी शेर्पाले याक गोठालालाई सुहाउने आवासको व्यवस्था गर्नुपर्ने देखे। उनले यसका लागि योजना बनाउन प्रोफेसर एन फिनिस्ट्रालाई आग्रह गरे।
उनले चौंरी गोठालालाई सुहाउँदो पालको घरको खाका बनाए। त्यो पालघरलाई स्थानान्तरण गर्न सकिन्थ्यो। आखिर गोठाला एकै ठाउँमा बस्ने पनि होइनन्। चौंरीलाई चराउँदै यताउता बस्नुपर्छ। “भवनको तुलनामा टेन्ट किन पनि प्रभावकारी हुन्छ भने गोठालाहरूले एक ठाउँबाट अर्को ठाउँमा बोकेर पनि लान सक्छन्। किनभने, चौंरी कहिले कहाँ कहिले कहाँ पुग्छ,” फिनिस्ट्रा भन्छन्।
चौंरी चराउने क्रममा गोठालाहरू हिउँदमा बेसी झर्छन् भने गर्मीमा लेक चढ्छन्। एकै वर्षमा उनीहरू तीन-चार ठाउँमा बस्नुपर्ने हुन्छ। जहाँ बसोबास गर्छन्, त्यहाँ बाँस र लालीगुराँसका रूखलाई दाउराका रूपमा उपयोग गर्छन्। अनि त्यही ठाउँ रेड पान्डाको बसोबास क्षेत्र पनि हो।
त्यसैले हिमालयन हाब्रे भवनको योजना बनेको थियो। भवनबारे बताउँदै प्रोफेसर फिनिस्ट्रा भन्छन्, “म आर्किटेक्टको विद्यार्थी भएको नाताले सधैं जलवायुमैत्री निर्माण खाका बनाउनुपर्छ भन्छु। वातावरण र मौसमलाई सम्बोधन गर्नुभएन भने भवन राम्रो बन्दैन।”
उनका अनुसार, हिउँ पर्ने ठाउँमा दह्रो छाना बनाउनुपर्छ भने गर्मी ठाउँमा त्यसो गर्नु भनेको अनावश्यक खर्च गर्नु हो। तीन मिटरको सिलिङ चिसो ठाउँमा अग्लो मानिन्छ भने गर्मी ठाउँमा होचो। “दिगो निर्माणका लागि रैथाने सीप र सामग्रीको उपयोग गर्ने क्रममा स्थानीयले कस्तो सीप र सामग्री प्रयोग गर्छन् भन्नेमा ध्यान दिनुपर्छ। आखिर उपलब्ध सामग्री र सीपको सम्मिश्रणले भवन राम्रो बन्छ,” उनी भन्छन्।
ताप्लेजुङमा कस्तो भवन बनाउने भन्ने खाका बनाउँदा स्थानीय सामग्री उपयोग गर्न सकिने भए पनि त्यही नियम खुम्बुमा लागू नहुने उनी बताउँछन्। “मौसमको मुद्दालाई गम्भीरतापूर्वक नलिने हो भने भवनका लागि भवन मात्रै हुन्छ। कुनै पनि ठाउँमा कति घाम लाग्छ, कति पानी पर्छ भन्ने हेक्का राख्नुपर्छ, भवनलाई दिगो बनाउन बुझ्नुपर्ने कुरा नै त्यही हो,” उनी भन्छन्।
त्यसैले, आङ फुरी शेर्पाले प्रोफेसर फिनिस्ट्रालाई ताप्लेजुङमा बन्ने भवनको खाका बनाउने जिम्मा दिए। र, फिनिस्ट्राको योजनामा हिमालयन हाब्रे केन्द्रको भवन तयार भयो, ताप्लेजुङको फुङलिङको सुकेटारभन्दा पूर्वी-उत्तर क्षेत्र देउरालीमा। दुई करोडमा निर्माण भएको दुईतले भवनका प्रत्येक तला बैठक कोठाको खाकामा बनेका छन्। भुइँतलामा बेडरुमको खाकामा चार वटा ठूला कोठा छन्। त्यस्तै, भुइँतलामा भवनसँगै एउटा हल पनि जोडिएको छ। जहाँ छलफल र अन्तर्क्रिया गर्न सकिन्छ। भवनमा २० जनाले आरामदायी बासको सुविधा पाउनेछन्।
कस्तो छ भवन?
यो भवन बनाउन फिनिस्ट्राले रैथाने सीप र प्रविधिको अध्ययन गरे। भवन निर्माणमा रैथाने खाकाको विकास स्थानीयले वर्षौंको अभ्यास र अनुभवका आधारमा गरेका हुन्छन्। तर, अहिले रैथाने सीप र ज्ञान हराउँदै छ र त्यसको ठाउँमा बजारु सिद्धान्तले दबदबा बनाइरहेको छ। २०० वर्षअघिको बजार अर्कै थियो, अहिले सिमेन्ट बेच्ने संयन्त्र हावी छ।
“यो सिमेन्टको संयन्त्र कति बलियो छ भने यसले राजनीतिक नेतृत्व र नीति निर्मातालाई पनि प्रभाव पार्ने क्षमता राख्छ। अहिले जहाँ जहाँ बाटो पुगेको छ, त्यहाँ कोक र सिमेन्ट पुगेको छ,” उनी भन्छन्, “सरकारले पनि केबाट कर आउँछ त्यसैलाई प्रवर्द्धन गर्छ।”
त्यही कुरा हाब्रे भवनमा अपनाउने प्रयास गरिएको उनी बताउँछन्। पहाडको टुप्पोमा रहेको २६ सय मिटरमा रहेको हाब्रे भवनमा चिसोबाट जोगाउनुपर्ने आवश्यकता थियो। पुस-माघमा अत्यन्तै जाडो हुन्छ, हिउँ पर्छ। अनि त भवन कसरी न्यानो हुन सक्छ भन्नेमा ध्यान पर्याइएको उनी बताउँछन्।
यो भवन भूकम्प प्रतिरोधी छ। मानिसमा आरसीसी भवन बनाउँदा मात्र भूकम्प प्रतिरोधी बन्छ भन्ने बुझाइ छ। तर, भूकम्प प्रतिरोधी बनाउने अन्य विकल्प पनि छन्। आफ्नै गाउँठाउँमा भएको काठ, ढुङ्गाको प्रयोग गरेर यस्तो भवन बनाउन सकिन्छ भन्ने देखाउने प्रयास पनि यो भवनमा गरिएको छ।
घरको भुइँतला गह्रौं बनाइएको छ। त्यसका लागि ढुङ्गाको प्रयोग गरिएको छ। दोस्रो तला काठैकाठले बनेको छ, जुन गाउँठाउँमा उत्पादन गर्न सकिने स्रोत हो। छानामा अलकत्रा आउने ड्रम लगाइएको छ। झिंगटीको उपयोग गरिएको छैन।
“भवन माउन्टेन लजको अवधारणामा बनेको छ,” फिनिस्ट्रा भन्छन्, “छानामा अलकत्राको टिन हालिएको छ। किन त भन्दा त्यसको मोटाइ १.२ मिलिमिटर छ। जस्तापाताको त जम्मा ०.२ मिलिमिटर हुन्छ। यो काममा अप-साइकलको प्रयासलाई उपयोग गरिएको छ।”
रेड पान्डा नेपालका निर्देशक आङ फुरी शेर्पाले भवन रिसोर्स सेन्टरको खाकामा तयार गरिएको बताए। भवन मार्फत आउने-जाने आगन्तुक र पाथीभरामा दर्शन गर्न आउने व्यक्तिलाई प्रविधि हस्तान्तरणको लक्ष्य राखिएको उनको भनाइ छ।
गाउँघरमा जुन कलात्मक निर्माण हुन्थे, ती हराउँदै गएका छन्। धमाधम निर्माण भइरहेका कंक्रिटका भवनले वातावरणलाई पनि असर गरिरहेका छन्। सिमेन्ट र छडको प्रयोगले पैसा विदेशिएको र वातावरणमैत्री पनि हुन नसकेको उनी बताउँछन्। आधुनिक निर्माणको ‘कार्बन फुटप्रिन्ट’ पनि उच्च छ। “त्यो घटाउन र स्थानीय सामग्री प्रयोग गरेर घर कसरी बनाउन सकिन्छ भन्ने प्रविधि हस्तान्तरण गर्ने लक्ष्य पनि पान्डा भवनको छ,” शेर्पा भन्छन्।
यो भवन रेड पान्डा पाइने क्षेत्रमा छ। यसको मुख्य उद्देश्य नै रेड पान्डा सम्बन्धी जानकारी दिने रहेको उनी बताउँछन्। त्यसैले अनुसन्धाता, विद्यार्थीलाई बस्ने-खाने व्यवस्था पनि यही भवनमा छ। यससँगै रेड पान्डाबारे अडियो-भिडिओ सहितको जानकारी दिने सूचना केन्द्र पनि राखिनेछ।
यस ठाउँमा पानीको दुःख छ। त्यसका लागि वर्षातको पानीलाई कसरी उपयोग गर्ने भन्ने प्रविधि पनि उपयोग गरिनेछ। “आकाशेपानी कसरी सङ्कलन गर्ने, कसरी फिल्टर गर्ने, कसरी उपयोग गर्ने भन्ने पनि हामीले देखाउने र सिकाउनेछौं,” शेर्पा भन्छन्। घरायसी कामबाट निस्कने फोहोर पानीलाई एउटा ठाउँमा जम्मा गरेर कसरी पुनःप्रयोग गर्न सकिन्छ भन्ने प्रविधि पनि स्थानीयलाई सिकाउने यसको ध्येय हो।
त्यस बाहेक दाउरा जोगाउन उपयोग गरिने साधनको अभ्यास पनि भवनमा देखाइनेछ। घामको तापबाट घरलाई कसरी तातो राख्न सकिन्छ भन्ने प्रविधि पनि भवनमा उपयोग गरिएको छ। “त्यहाँ आउने तालीमकर्ता, अनुसन्धाता, आगन्तुक सबैलाई प्रविधि देखाउने हाम्रो लक्ष्य छ,” शेर्पा भन्छन्।
साथै, गाउँठाउँमा होमस्टे सञ्चालन गर्न व्यावहारिक ज्ञान दिने थलो पनि केन्द्र बन्ने उनी बताउँछन्। भवनमा खाने-बस्ने व्यवस्था छ। होमस्टे कसरी सञ्चालन हुन्छ भन्ने कुरा गाउँठाउँका मान्छेलाई देखाउन ‘लर्निङ सेन्टर’ का रूपमा पनि केन्द्रको विकास गरिएको छ।
संसारकै तेस्रो अग्लो हिमाल कञ्चनजंघाका नामले २५ वर्षअघि स्थापना भएको कञ्चनजंघा संरक्षण क्षेत्र प्राकृतिक सम्भावनाले भरिपूर्ण छ। जैविक विविधता र प्राणी तथा वनस्पतिको सम्पन्नताका आधारमा कञ्चनजंघा संरक्षण क्षेत्रलाई ‘पृथ्वीको उपहार’ पनि भन्ने गरिन्छ। यही क्षेत्रमा निर्माण गरिएको हाब्रे भवन पर्यटकका लागि थप आकर्षण बन्ने विश्वास गरिएको छ।