ब्रिटिस वनस्पतिवद्ले १७५ वर्षअघि भ्रमण गरेको याङमा उपत्यका पुग्दा
ब्रिटिस वनस्पतिविद् डाल्टन हुकरले १७५ वर्षअघि नै भ्रमण गरेर चर्चामा ल्याएको याङमा उपत्यकामा सरकारको उपस्थिति नहुँदा स्थानीय बासिन्दा कष्टकर जीवन बिताइरहेका छन्।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ मा याङमा उपत्यका छ। चीनसँगको सीमावर्ती याङमा उपत्यका हिमालको काखमा रहेको सुन्दर ठाउँ हो। ‘याङमा’ नाम कसरी रह्यो भन्ने किंवदन्ती छ। उहिले तिब्बतमा रहेको गोठबाट चौरी हराएपछि एक जना गोठालो खोज्दै जाने क्रममा त्यस क्षेत्रमा पुगेछन्।
चौरी नभेटेपछि ती गोठालो तिब्बततिरै फर्किएछन्। तर‚ उनले ल्याएका उवा त्यस ठाउँमा छाडेछन्। पछि पुनः आउँदा त्यहाँ उवा उम्रेको देखेछन्। उवा उम्रिएको देखेपछि ती गोठालोलाई त्यो ठाउँ बस्ती बस्न योग्य भन्ने लागेर त्यहीँ बस्न थालेछन्।
तिब्बतभन्दा केही गर्मी भएकाले उनले त्यो ठाउँलाई ‘याङ’ भनेछन्। त्यही ‘याङ’बाट याङमा भएको भन्ने विश्वास छ। किनकि‚ तिब्बती भाषामा ‘याङ’को अर्थ औल वा केही गर्मी हुने स्थान ठाउँ भन्ने हुन्छ।
याङमा नाम लिम्बू भाषाबाट रहेको भन्ने पनि छ। लिम्बू भाषामा याङ वा याङ याङ भनेको पछि वा पछाडि भन्ने अर्थ लाग्छ। अन्य ठाउँभन्दा पछि या अन्तिम गाउँ भएकाले यस ठाउँलाई याङमा भनिएको हुनुपर्ने अनुमान छ।
अति दुर्गम याङमामा १० घरको बस्ती छ। यहाँका बासिन्दा सरकारबाट पाउने न्यूनतम सेवा सुविधाबाट समेत बञ्चित छन्। एउटा आधारभूत विद्यालय छ‚ तर दुर्गम भएकाले शिक्षक आउन मान्दैनन्। वडा कार्यालयको पहलमा बालविकास केन्द्र स्थापना गरिएको छ। त्यहाँ पनि पेमा याङ्की शेर्पाले गर्मी याममा पढाउने रहेछिन्। त्यसैले यहाँका बालबालिका करीब डेढ दिनको दूरीमा रहेको गोला र घुङसास्थित आधारभूत विद्यालयको भर पर्नुपर्ने बाध्यता रहेको याङलावासी बताउँछन्।
ताप्लेजुङको सदरमुकाम फुङलिङबाट करीब चार घण्टाको मोटर यात्रापछि फक्तालुङ गाउँपालिकाको इलाडाँडा पुगिन्छ। त्यहाँबाट करीब तीन दिनको पैदल यात्रापछि याङमा उपत्यका पुगिन्छ। भीर, जङ्गल र याङमा खोलाको तीरैतीर अप्ठ्यारो बाटोमा यात्रा गर्नुपर्छ।
हिमाली जनजीवन, पदमार्गबारे जानकारी लिंदै त्यसको महत्त्वबारे जान्ने उत्सुकता हामीमा थियो। धेरै उचाइमा रहेका फाँट‚ सुन्दर पोखरीहरूको दृश्यावलोकन गर्नु थियो। त्यस क्षेत्रको चीनसँगको सम्बन्ध‚ व्यापारको विगत‚ वर्तमान र भविष्यबारे अध्ययन गर्नु पनि थियो।
त्यही उद्देश्यका साथ गत असोज पहिलो साता झापाको बिर्तामोडबाट त्यतातिर लाग्यौं। झापाबाट इलाम‚ पाँचथरको फिदिम पुग्यौं। त्यसपछि फलैचाहुँदै नेपाल-भारत सीमा चिवाभञ्ज्याङ‚ तिम्बुपोखरी र कञ्चनजंघाको दक्षिणी आधारशिविर हुँदै घुङ्सा निस्क्यौं। त्यसपछि लोनाक हुँदै उत्तरी आधारशिविर पाङपेङमा पुग्यौं।
घुङ्साबाट हिउँले ढाकिएको बाटो हुँदै नाङगो-ला (४९२९ मिटर), प्रसङ-ला (५१७५ मिटर) हुँदै याङमा उपत्यका पुग्यौं। हिमाली अर्थतन्त्रको ‘कनेक्शन’ जान्ने उत्सुकताले हामीलाई नेपाल-चीन सीमा नजिकैको घाङ-ला (६४२० मिटर) सम्म पुर्यायो।
अप्ठ्यारो बाटो‚ प्रतिकूल हावापानी भए पनि यात्राका क्रममा देखिएका हिमाली फाँट, चरन‚ पोखरी, चराचुरुङ्गी, वनभेडा‚ हिमशृङ्खला‚ हिमपहिरो आदिको दृश्यले कष्ट बिर्साउँथ्यो। यात्राले यहाँको अर्थतन्त्र सबल बनाउन यो नाकालाई चलायमान बनाउन आवश्यक रहेछ भन्ने भान भयो।
६ महीनाभन्दा बढी हिउँले ढाकिएर रहने याङमा उपत्यकाको जनजीवन कष्टकर छ। आलु बाहेक अन्य कृषिजन्य वस्तु उत्पादन नहुने भएकाले गर्मी याममा नै खाद्यान्न जोहो गर्नुपर्छ। चौरीका लागि आवश्यक नुन तथा औषधि सञ्चित गरिसक्नुपर्छ। ती सामान चौरी, खच्चड वा मान्छेले बोकेर ढुवानी गर्नुपर्ने बाध्यता छ।
यहाँका बासिन्दाको मुख्य पेशा पशुपालन हो। उनीहरूले चौरीको घिउ, छुर्पी र जडीबुटी बिक्रीबाट भएको आम्दानीले जीविकोपार्जन गर्दै आएका छन्। याङमाबासीको मुख्य बजार सीमावर्ती तिब्बती बजार हो। नेपाली बजारभन्दा नजिक र मूल्य पनि बढी पाइने भएकाले उनीहरूले आफ्ना उत्पादन त्यतैतिर बिक्री गर्दा रहेछन्।
तर‚ कोरोना महामारीका वेला बन्द भएको सीमा अहिलेसम्म खुला भएको छैन। नेपाली बजार टाढा रहेको आफूहरू मर्कामा परेको याङमावासी बताउँछन्। नाका बन्द हुनअघि चीनले याङमावासीलाई खाद्यान्न सहयोग गर्दै आएको थियो।
तिम्बुपोखरी, काबेली चुम्बकेंन क्षेत्रमा भेंडापालन गर्दै आएका नरबहादुर बुढाथोकी, याङमाका लोप्साङ शेर्पा र नाम्ज्याङ शेर्पाले लगायत स्थानीय बासिन्दाले आफ्ना उत्पादन बिक्री नहुँदा जीविकोपार्जन गर्न नै गाह्रो भएकाले पेशा बदल्नुपर्ने अवस्था सिर्जना भएको बताए। तर‚ पेशा बदल्न त्यति सजिलो छैन। त्यसका लागि बसाइँ सर्नुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ।
धुङसाका लाक्पा शेर्पाका कथा पनि नरबहादुर‚ लोप्साङ र नाम्ज्याङको भन्दा भिन्न छैन। उनको पेशा चौरी र फम्चुबाट उच्च पहाडी र हिमाली क्षेत्रका गाउँमा खाद्यान्न लाने र त्यहाँ उत्पादित वस्तु सीमा क्षेत्रको तिब्बती बजारसम्म पुर्याउने हो। तर‚ लामो समयदेखि सीमा नाका बन्द रहँदा आफ्नो पेशा धरापमा परेको लाक्पाले बताएका थिए। दुई छोराछोरी काठमाडौं पढाउँदै आएका उनले तत्काल नाका नखोलिए छोराछोरीको पढाइ बन्द गर्नुपर्ने बाध्यता रहेको दुखेसो गरे।
१७५ वर्षअघि याङमा उपत्यका पुगेका प्रसिद्ध वनस्पतिविद् डाल्टन हुकरले यस क्षेत्रमा पाइने वनस्पति, खनिज पदार्थ, हिमताल, हिमालका चुचुराका साथै याङमा उपत्यकाको सुन्दर वर्णन गरेका छन्। उक्त वर्णन केही महीना अघि प्रकाशित ‘कञ्चनजङ्घा जुहार’ नामक पुस्तकमा पढ्न पाइन्छ।
हुकरपछि पुगेका पर्यटकले पनि यहाँको सुन्दरताका बखान गरेका छन्। तर, यहाँको अन्तरवस्तुलाई भने कमैले मात्र बुझ्ने कोसिस गरेका छन्। जसले गर्दा याङमा उपत्यका र याङमाबासी अन्यायमा परेाका छन्।
याङमा उपत्यकासम्म पुग्दा धेरैवटा तालको अवलोकन गर्न पाइन्छ। चार हजार ९५६ मिटर उचाइमा रहेको नागमा ताल यही क्षेत्रमा छ। सुन्दर याङमा उपत्यका‚ फाँट र पोखरीको प्रचारप्रसार गर्न सके आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सकिन्छ।
याङमाका बासिन्दाको तिब्बतसँग व्यापारिक सम्बन्ध मात्र नभई भाषिक तथा सांस्कृतिक समानता रहेकाले वैवाहिक सम्बन्ध पनि छ। याङमाका यी विशेषतालाई सरकारले चीन-नेपाल सम्बन्धनमा उपयोग गर्न सके फाइदा हुनेछ।
श्रीभक्त खनालले ‘अप्ठयारो बाटो’ नामक पुस्तकमा लेखेका छन्‚ ‘विश्व उचाइमा (चार हजार दुई सय मिटर)मा पर्ने मानव बस्ती याङमा बस्तीको महत्त्व, सान्दर्भिकता सम्बन्धमा मानवशास्त्र तथा समाजशास्त्र अध्यनका लागि एक आश्चर्य सहित सहयोगी हुनेछ।’
त्यसैले याङमाको अस्तित्व बचाउनुपर्छ। यहाँका समस्या समाधान गर्न सरकार लाग्नुपर्छ। सरकारले याङमावासीको समस्या समाधान गर्नुपर्छ। चिनियाँ सीमा नजिकको गाउँ रहेकाले यहाँ सरकारको उपस्थिति आवश्यक छ। लोनाकका होटल व्यवसायी सेराप शेर्पाका अनुसार‚ यस क्षेत्रमा आउने विदेशी पर्यटक निकै दिनसम्म सीमा क्षेत्रमा घुमफिर गर्ने गरेका छन्।
(नेम्बाङ त्रिवि राजनीतिशास्त्र एमफिल-पीएचडीका विद्यार्थी हुन्।)