स्पट फिक्सिङ अभियोगमा १२ जना विरुद्ध मुद्दा दर्ता
नेपाल टी-२० लिगमा ‘स्पट फिक्सिङ’ गरेको अभियोगमा १२ जना विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।
जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौैंले शुक्रबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो। जिल्ला सरकारी वकीलको कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेका अनुसार, पाँच जनालाई पक्राउ गरेर प्रतिवादी बनाइएको छ भने सात जनालाई फरार प्रतिवादी बनाइएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले फिक्सिङको आरोपमा पाँच जनालाई पक्राउ गरेको थियो।
नेपाल क्रिकेट संघ (क्यान)को रणनीतिक एवं व्यापारिक साझेदार बनेर आयोजकका रूपमा नेपाल भित्रिएको भारतीय निजी कम्पनी सेभेन थ्री स्पोर्टस्को योजनामा फिक्सिङ भएको आरोप छ। तर, कम्पनीका सञ्चालक भने लिग पूरा नहुँदै भारत फर्किएका थिए।