मैले बुझेको महीनावारी
विद्यालयमै महीनावारी खिसीटिउरी र छुवाछूतको विषय नभई जैविक प्रक्रिया हो भन्ने पढाए उनीहरूले यही कुरा परिवारलाई बुझाउन सक्ने रहेछन्।
चार वर्षअघि आमाको शरीरमा रगत लतपतिएको देखेपछि मैले पहिलो पटक थाहा पाएँँ- छोरीमान्छेलाई मासिक रूपमा रक्तस्राव हुँदो रहेछ र यसलाई महीनावारी भन्दा रहेछन्।
त्यसअघि पनि हजुरआमा मलाई वेलावेला आमाको छेउ पर्न दिनुहुन्नथ्यो। भन्नुहुन्थ्यो, “महीनावारी भएकी आइमाईलाई लोग्नेमान्छेले छुँदा पाप लाग्छ।” आमा पनि मलाई अरू वेला जस्तो ‘बाबु’ भनेर टाउको मुसार्नुहुन्नथ्यो। जब म सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका-८ स्थित लागार्चे माविमा कक्षा ६ उत्तीर्ण भएर ७ मा पुगें, एउटा अवसर जुर्यो। त्यो थियो, हाम्रो पालो संस्थाद्वारा आयोजित किशोरावस्थाको परिवर्तन, किशोरीहरूमा हुने महीनावारी, दुर्व्यवहार, मानव बेचबिखन, बालविवाह लगायत विषयको २४ दिने ‘हिज चान्सः शिक्षा तथा सशक्तीकरण कार्यक्रम’।
धेरैजसो महिलाहरू महीनावारीमा आफूलाई दोषी ठान्दै अर्को जन्ममा केटा हुन पाइयोस् भनेर कामना गर्दा रहेछन्। यस्तो विक्षिप्त भावना खासमा पुरुषहरूले महीनावारीका वेला महिलालाई नसघाउनुको परिणाम हो।
कार्यक्रममा सहभागितापछि महीनावारी श्राप नभएर प्राकृतिक र जैविक कुरा रहेछ भन्ने थाहा पाएँ। त्यति वेला उनीहरूको शरीरका विभिन्न भागसँगै तल्लो पेट बेस्सरी दुख्दो रहेछ। तर, महीनावारीमा हुने भेदभावले उनीहरूलाई मानसिक रूपमा पनि कमजोर बनाउँदो रहेछ। कार्यक्रम सकिएपछि मैले आमालाई बल्ल बुझे भन्ने लाग्यो। तब मैले हजुरआमाले भने जस्तो महीनावारीमा आमालाई छुन हुँदैन भन्ने अन्धविश्वास पालना गरिनँ।
बरु आमाको चिन्ता लाग्न थाल्यो। महीनावारीका वेला गाह्रोसाह्रो सोधेर उहाँलाई तातोपानी तताएर दिन थालें। हजुरआमालाई पनि बुझाएँ। शायद हजुरआमाले केही बुझ्नुभयो। त्यसपछि भने आमा महीनावारी भएको वेला पनि मलाई सँगै बसेर खान रोक्नुभएन।
मैले कार्यक्रममा घरेलु प्याड बनाउन पनि सिकेको थिएँ। म आमालाई आफैं प्याड बनाएर दिन थालें। मेरा लागि यो अविस्मरणीय खुशी हो। त्यसपछि आफन्त दिदीहरू पनि मलाई प्याड ल्याइदिन भन्न थाल्नुभयो।
धेरैजसो महिलाहरू महीनावारीमा आफूलाई दोषी ठान्दै अर्को जन्ममा केटा हुन पाइयोस् भनेर कामना गर्दा रहेछन्। यस्तो विक्षिप्त भावना खासमा पुरुषहरूले महीनावारीका वेला महिलालाई नसघाउनुको परिणाम हो। हाम्रै कारणले हाम्रा आमाहरूले आफूलाई दोस्रो दर्जाको नागरिक मान्ने हेय भावना पालिरहेका छन्। कार्यक्रमले मलाई बालविवाह, दुर्व्यवहार, घरेलु हिंसा, बेचबिखनबारे पनि बुझ्यो। यसबाट सबैभन्दा बढी पीडित को छन् र यसलाई सुधार्न किशोरहरूको कस्तो भूमिका हुन्छ भन्ने पनि बुझे।
छात्रछात्रालाई किशोरावस्था र समाजमा हुने हिंसा र दुर्व्यवहारबारे वेलैमा बुझाउन पर्छ। आमा, दिदीबहिनीलाई सम्मान गर्नुपर्छ।
अहिले कक्षा १० मा आइपुग्दा मैले बाल क्लबको अध्यक्ष भएर किशोरकिशोरीका माग विद्यालय प्रशासनसम्म पुर्याउन सकेको छु। जस्तो- पहिला विद्यालयको शौचालय व्यवस्थित नहुँदा किशोरीहरूलाई प्याड परिवर्तन गर्न असहज थियो। अहिले केही व्यवस्थित भएको छ। हामी वेलावेलामा बालविवाह र दुर्व्यवहार विरुद्ध सडक नाटक पनि गर्छौं। बालिकालाई हुने विभेद र असमानता हटाउन प्रत्येक घर र समाज नै शिक्षित हुनपर्ने रहेछ। यो कुरा नबुझ्दा अझै विद्यालयहरूमा छात्रहरूले छात्रालाई महीनावारी हुँदा जिस्क्याउने, अपशब्द बोल्ने प्रवृत्ति छ।
मलाई लाग्छ, हाम्रो पालोले कार्यक्रममा सिकाए जस्ता कुरा विद्यालय आफैंले विद्यार्थीलाई सिकाउन जरुरी छ। छात्रछात्रालाई किशोरावस्था र समाजमा हुने हिंसा र दुर्व्यवहारबारे वेलैमा बुझाउन पर्छ। आमा, दिदीबहिनीलाई सम्मान गर्नुपर्छ।
वर्षाैंदेखि विभेद झेल्न बाध्य उनीहरूलाई सहयोगी बनेर साथ दिनुपर्छ। छोरीलाई मात्र नभएर यस्ता कार्यक्रममा छोरालाई पनि सहभागी गराइनुपर्छ। अभिभावकलाई त झन छुटाउनै हुँदैन। किनकि, परिवारका ज्येष्ठ सदस्यहरूले नै अन्धविश्वासका रूपमा यस्ता कुप्रथालाई हुर्काइरहेका हुन्छन्।
अर्कातिर, हामीले थाहा पाएका कुरा परिवारले अवलम्बन नगरिदिए समस्या जहाँको त्यहीं रहन्छ। उदाहरण मेरै साथी छिन्। उमेर नपुगी गरिने विवाह विरुद्ध सडक नाटक गर्दै आएकी उनको केही समयअघि मात्र जबर्जस्ती विवाह भयो। उनले अस्वीकार गर्दा पनि परिवारले विवाह गर्न बाध्य बनायो।
(महत सिन्धुपाल्चोक, पाँचपोखरीस्थित लागार्चे माविमा कक्षा १० का छात्र हुन्। हिमालको २०७९ माघ अंकबाट।)