महिनावारीबारे स्कूलमै पढ्नुपर्ने रहेछ
किशोरीहरूले भोग्ने समस्या र समाधानका उपायबारे सिकेका कुराले मलाई गाउँबस्तीमा उमेर नपुगी गरिने विवाह रोक्नेदेखि अन्य सामाजिक सोच बदल्न ऊर्जा दिइरहेका छन्।
गत वर्षको कुरा, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकास्थित सर्केमा एक किशोरीको विवाह गर्न परिवारले निधो गरेछ। १९ वर्षीया ती किशोरी म पढ्ने सेतीदेवी मावि चौताराकै पूर्व छात्रा रहिछन्। विवाहको तय मितिभन्दा केही दिनअघि उनको घरमै गएँ।
बुबाआमालाई भेटेर २० वर्षअघि शारीरिक र मानसिक परिपक्वता नहुने र उमेर नपुग्दै विवाह गराए कानूनले दण्डित पनि गर्ने भन्दै बुझाउने प्रयास गरें। दिनभरि बसेर सम्झाएपछि उनको परिवारले २० वर्ष कटेपछि मात्रै विवाह गरिदिने भन्दै मिति एक वर्ष सार्यो। हुन लागेको एउटा गैरकानूनी विवाह रोकियो।
यस्तै, गत पुस १ मा चौतारा साँगाचोकगढीकै स्याउलेमा १७ वर्षीया किशोरीको विवाह भयो। विवाहकै दिन जानकारी पाएकाले रोक्न सम्भव भएन। तर, विवाहपछि केटा पक्षले किशोरीलाई एसईईपछि पनि पढाउनुपर्ने शर्त राखें। जस अनुसार उनी अहिले कक्षा ११ मा पढ्दै छिन्।
आफू सँगैका र आफूभन्दा कम उमेरका बालिकाको विवाह भइरहँदा मलाई उनीहरूको आवाज बन्न हाम्रो पालो संस्थाको ‘हर टर्नः शिक्षा तथा सशक्तीकरण कार्यक्रम’ ले प्रेरित गरेको हो। कक्षा ८ मा पढ्दै गर्दा किशोरीहरूले भोग्ने समस्या र यसलाई समाधान गर्ने उपायबारे २४ दिने कार्यक्रमबाट धेरै कुरा सिक्न पाएँ। त्यसले मलाई गलत कुरामा आवाज उठाउनुपर्छ भन्ने सिकायो, र बालिका÷किशोरीमाथि हुने सामाजिक हिंसा विरुद्ध बोल्न थालें।
यसका साथै, उक्त कार्यक्रमबाट किशोरावस्थामा आउने शारीरिक र मानसिक उतारचढावलाई पनि सरलीकृत गर्न सिकें। पहिले म महीनावारी हुनुलाई आफ्नै दोष ठानेर हीनताबोध गर्थें। महीनावारी भएको कुरा बुबाबाट सधैं लुकाउँथें। बाटोमा हिंड्दा कसैले थाहा पायो भने के भन्ला भन्ने पीर लाग्थ्यो। यसले गर्दा मेरो अध्ययन र व्यवहारमा असर पारेको थियो। तर, अहिले महीनावारी हुनुलाई प्राकृतिक प्रक्रिया मान्छु। महीनावारी हुँदा बुबालाई निर्धक्क भन्छु र प्याड किन्न पनि पठाउँछु।
त्यही कार्यक्रमबाट यौनहिंसाबारे पनि बुझ्न पाएँ। कसैले गलत तरीकाले हेरेको, छोएको थाहा पाउँछु। सामाजिक सञ्जालमा यौन दुर्व्यवहार कसरी हुन्छ भन्ने पनि बुझेकी छु। मैले आफ्ना कुरा घर, समाजका साथै विद्यालयमा प्रष्टसँग राख्न सकेकै कारण विद्यालयमा कोही किशोरीलाई समस्या परे ढुक्कसाथ सुनाउँछन्।
अहिले म आदिवासी जनजाति महिला उत्थान केन्द्र अन्तर्गतको सक्रिय किशोरकिशोरी समूहका जनचेतना कार्यक्रमहरूमा स्वयंसेवकका रूपमा क्रियाशील छु। बालविवाहबारे सडक नाटक बनाएर मञ्चन गर्ने, बालबालिकालाई घरेलु हिंसा तथा सही र गलत छुवाइबारे बुझाउने, आफ्नो सरसफाइ र उमेरगत परिवर्तनबारे जनचेतना फैलाउने जस्ता काम गर्छौं।
यस क्रममा मैले आफ्नो बारे निर्णय लिन सकेकी छु। आफ्नो भविष्य बनाउन पहिला अध्ययन गर्नुपर्छ भन्ने बुझेकी छु। अरूको देखासिकीभन्दा आफ्नो रुचिको काम गर्नुपर्छ भनेर मैले भविष्यमा समाजसेवी बन्न मानविकी संकाय लिएर पढिरहेकी छु।
मेरो घरमा पनि विवाहको कुरा चल्छ, तर आफ्नो अध्ययन र सपना पूरा गरेर मात्र विवाह गर्ने कुरा परिवारलाई बुझाएकी छु। खासमा हामीले हाम्रो कुरा परिवारमा स्पष्टसँग राख्न सक्नुपर्ने रहेछ। आफूले बुझाउन सकिएन भने हाम्रो कुरा सुनिदिने र बुझिदिने अरू कसैको सहयोग लिनुपर्छ।
पहिला मलाई बुबा, आमा र दाइले कार्यक्रमहरूमा जान दिनुहुँदैनथ्यो। तर, मैले सामाजिक कार्यक्रमहरूमा जाँदा कहिल्यै बाटो बिराइनँ। समयमा जाने, आउने र त्यहाँ सिकेका कुरा घरमा आएर सुनाउने गर्थें। अहिले त घरबाटै त्यस्ता कार्यक्रममा जान हौस्याउनुहुन्छ। तर, समाजमा अझै पनि धेरै अभिभावकले छोरी, तिनका मर्म र आकांक्षा बुझ्न नसकेको देख्दा दुःख लाग्छ।
सिन्धुपाल्चोकका बाङ्वा, सुर्के, महभिर, सेलाङ जस्ता ठाउँहरूका बालिका विद्यालय जाँदैनन्। उनीहरूको १२ वर्ष हाराहारीमै विवाह हुन्छ, सानैमा आमा बन्छन् र जीवनभर परनिर्भर बनेर दुःख पाउँछन्। अर्कातिर, विद्यालय आउने किशोरीहरूलाई आफ्नै कक्षाका केटा साथीहरूले दुर्व्यवहार गर्ने, महीनावारीको वेला जिस्काउने गर्दा कति साथीहरू त विद्यालय नै छाड्छन्।
त्यसैले पहिला त बालिका वा किशोरीलाई आत्मविश्वासी र सामाजिक हिंसासँग लड्न सक्ने बनाउनुपर्छ। त्यसपछि उनीहरूलाई सबल र सक्षम बनाउन समाजको दायित्व कहाँ कहाँ छ भन्ने हेरेर त्यसबारे हरेक व्यक्तिलाई गहिरो गरी बुझाउनुपर्छ। यसले नै व्यापक परिवर्तन ल्याउनेछ।
(श्रेष्ठ सिन्धुपाल्चोकको चौतारास्थित सेतीदेवी माविमा कक्षा ११ मा पढ्छिन्। हिमालको २०७९ माघ अंकबाट।)