काठमाडौंमा समातिएका निर्दोष कश्मीरी युवक, जसका २३ वर्ष जेलमा बिते (भाग-२)
अनाहकमा जेल परेका कश्मीरी युवाका निम्ति सिङ्गो मुद्दा एउटा प्रक्रिया मात्र नभई २३ वर्षसम्म भोगेको जीवन थियो। यी दुई दशकमा बाहिरी दुनियाँमा धेरथोक फेरिएको थियो जसबाट उनी धेरै पर थिए, मोबाइल र भिडिओ कलको जमाना आएको थाहै नपाउने गरी। मृत्युदण्डको सजाय समेत सुनाइएका अलीले न्यायका लागि गरेको संघर्षको यो कथाले संसारकै ठूलो लोकतन्त्रको असफलता बयान गर्छ।
अध्याय ६ः इशारा
लाजपत बम विस्फोटको तेस्रो आरोपित ए३ बारे दिल्ली प्रहरीलाई एक गोप्य सूचनादाताले जानकारी दिएका थिए।
अदालती कागजातमा यस्तै लेखिएको छ। दिल्लीको तुर्कमान गेटमा बस्ने एक सन्दिग्ध मोहम्मद नौसदको पहिचान गर्न वजिद कजाईले सघाएका थिए। कजाई अभियोजकले प्रस्तुत गरेका प्रत्यक्षदर्शी थिए जो पछि होस्टाइल भएको बताइयो। प्रहरीले केही दिनदेखि नौसदको घरमा निगरानी राखिरहेको थियो। त्यसपछि उनीहरू नौसदलाई खोज्न जामा मस्जिद पुगेका थिए त्यही वेला एक ‘गोप्य सूचनादाता’ बाट नौसद ‘न्यूदिल्ली रेलवे स्टेशन’ मा भएको जानकारी पाए। नौसदलाई प्रहरीले तुरुन्त पक्राउ गर्यो जो तेस्रो आरोपित ए३ बनाइए। उनीसँगै रहेका अर्का यात्रु मिर्जा इफ्तिकारलाई चौथो आरोपित ए४ बनाइयो। प्रहरीले दाबी गरे अनुसार दुवै वाराणसी एक्सप्रेश मार्फत गोरखपुर जाँदै थिए।
सार्वजनिक गरिएका बयानहरूबाट थाहा हुन्छ, प्रहरीले मोहम्मद अली भट (ए६) र लातिफ अहमल वजा (ए७)लाई नेपालबाट नभई गोरखपुरको होटल बुद्धबाट १६ जुनमा र मिर्जा निस्सार (ए५) लाई त्यसको अर्को दिन भारतको उत्तराखण्डको शहर मसौरीको एक होटलबाट गिरफ्तार गरेको दाबी गरेको थियो (वास्तवमा तीनै जना नेपालबाट एकै दिन ९ जुन १९९६ मा पक्राउ परेका थिए - अनुवादक)। प्रहरीको दाबी अनुसार दिल्ली ल्याइएकै दिन मिर्जा निस्सारले मकबुल शाह (ए८) को घर देखाइदिएका थिए जहाँबाट प्रहरीले विस्फोटमा प्रयोग गरिएको कारको अतिरिक्त टायर बरामद गरेको दाबी गर्यो। बम विस्फोट भएको एक महीना भइसकेको थियो।
प्रहरीले आरोपितहरूबाट बरामद गरेको दाबी गरेका सबै सामग्री उनीहरूलाई आरोपको एउटै डोरीमा बाँध्न प्रयोग गरेको थियो। ठ्याक्कै त्यस्तै डोरी जुन नेपालबाट ल्याइएका बन्दीहरूलाई बाँध्न प्रयोग गरिएको थियो। काठमाडौंंबाट गिरफ्तार गरिएका अली, लातिफ र निस्सार तीनै जनालाई कैयौं दिनसम्म गैरकानूनी रूपमा बन्दी बनाएर कुटपिट गरिएको थियो। पछि उनीहरू गोरखपुर र मसौरीमा भिन्दाभिन्दै मितिमा भिन्दाभिन्दै प्रहरीबाट पक्राउ परेको भनियो।
निस्सारका भाइ एवं चौथा आरोपित मिर्जा इफ्तिकार (ए४)ले बयानमा आफूलाई २७ र २८ मेको रातिपख दिल्लीको भोगलस्थित आफ्नै कोठाबाट प्रहरीले गिरफ्तार गरेको बताएका छन्। उनले आफूलाई लोधी कोलोनीस्थित स्पेशल सेलमा गैरकानूनी रूपमा थुनामा राखिएको उल्लेख गरेका छन्।
जसको कार हरायो र विस्फोटमा प्रयोग भयो उनै अतुल नाथले समेत अली र निस्सारले कार चोरेका थिए भन्ने बयान दिन अस्वीकार गरे। नाथलाई होस्टाइल भएको घोषणा गरियो। यद्यपि अभियोजनकर्ताको मुद्दा ‘पूर्णत: परिस्थितिजन्य प्रमाणमा आधारित’ भएको निष्कर्षमा न्यायाधीश पुग्न पर्याप्त थियो। यही वर्ष (सन् २०२२) मुद्दासँग सम्बन्धित कागजात अध्ययन गर्ने क्रममा मैले थाहा पाएँ, ती परिस्थितिजन्य प्रमाणमध्ये केही चाहिं ‘इशारा’ रहेछन्। प्रहरीको विवरणमा उल्लेख भए अनुसार आरोपितसँग सम्बन्धित स्थान, उनीहरूले अपराध कर्मका लागि किनेका सामग्री इङ्गित गरिएको छ।
अभियोजनकर्ताको दाबी थियो, अली र नौसदले नक्कली नम्बर प्लेट बनाउने ठाउँ देखाएका थिए जुन बम विस्फोट गर्ने कारका लागि प्रयोग भएको थियो। अनुसन्धान अधिकृत पारस नाथले अदालतमै त्यही बयान दिए। त्यस्तो नक्कली काम गर्ने अस्गर अलीले अनुसन्धानका क्रममा प्रहरीको पुस्तिकामा हस्ताक्षर गरेका थिए। प्रहरीले अस्गर अलीलाई अदालतमा भने प्रस्तुत गरेन न त त्यस्तो काम भएकै थियो भनेर पुष्टि गर्ने अरू कोही स्वतन्त्र प्रत्यक्षदर्शी नै उपस्थित गराइयो।
अर्को ठाउँमा प्रहरीले दाबी गरेको छ, अली, निस्सार र नौसदले लाल महल नजिकैको ‘खण्डर’ र ‘लोधी फ्लाई ओभरतलको ठाउँ’ देखाए जहाँबाट अतुल नाथको हराइरहेको सेतो कारको वास्तविक नम्बर प्लेटहरू फेला पारियो। प्रहरीको दाबी अनुसार, त्यही दिन नै ती तीन जनाले ‘बस स्ट्यान्ड पछाडि रहेको निजामुद्दीन आईटीआई, अरब की सराई’ भन्ने ठाउँ देखाए जहाँबाट प्रहरीले मारुती कार चोर्न प्रयोग गरिएको नक्कली साँचो बरामद गर्यो। मोहम्मद रिजवानले उक्त नक्कली साँचो बनाएको मानिएको छ। इजलासमा पुगेपछि उनी होस्टाइल भएको प्रहरीको आरोप छ। यी प्रसङ्गमा पनि कुनै स्वतन्त्र प्रत्यक्षदर्शी उपस्थित थिएनन्।
प्रहरीले प्रस्तुत गरेका यी तथ्यलाई न्यायाधीशले अली, निस्सार र नौसदको अपराध पुष्टि हुने पर्याप्त आधारका रूपमा लिएनन्।
तैपनि, लाजपत नगरस्थित दुलहन दुपट्टा स्टोरका मालिक सुमितकुमारले आरोपितहरूले कार पार्किङ गरेको देखेको दाबी प्रहरीले गरिरह्यो। कुमारले शुरूमा बयान दिंदा भने १८ जुनमा प्रहरी उनको पसलमा पुग्दा त्यहाँ नभएको बताएका थिए। उनको त्यो बयानपछि अभियोजनकर्ताले उनी होस्टाइल भएको घोषणा गरेका थिए, तर पछि भएका पुनः परीक्षणमा कुमारले अभियोजनकर्ताले जे जे भने त्यही हो भनेर स्वीकार गरे।
कुमारले नौसदलाई किटानका साथ पहिचान गरे, निस्सारलाई ‘यही हो जस्तो लाग्छ’ भनेर चिने, तर तेस्रो आरोपित अलीलाई भने ‘चिन्न नसकेको’ बताए। अस्वाभाविक रूपमा, यो बयानलाई पनि अलीको विरुद्धमै लिइयो। अलीले शुरूमा दिएको ‘प्रहरी आउँदा पसलमा थिइनँ’ भन्ने बयानलाई भने ‘अलमल’ का रूपमा दर्ज गरियो। उनले अलीको पहिचान गर्न नसकेको प्रसङ्गलाई भने निष्पक्ष बयानका रूपमा यसरी लिइयोः “प्रत्यक्षदर्शीले आरोपित व्यक्तिहरूप्रति कुनै द्वेष राखेर बयान दिएको भए तेस्रो आरोपितको पनि पहिचान गर्ने थिए।”
प्रहरीको दाबी थियो, उसले अर्को सङ्केत १९ जुनमा पायो जब नौ भोल्टको ब्याट्री खरीद गरिएको पसल देखाइयो। उक्त पसलेले आफूले ‘ब्याट्रीका दुई ध्रुवमा तार जोडिदिएको र त्यस बापत पाँच रुपैयाँ पाएको’ बयान दिएका थिए। अदालतमा उनले आफ्नो पसलमा आएका दुई जनामध्ये एकजना निस्सार (ए५) भएको जनाएका थिए। “प्रत्यक्षदर्शीले ए६ तर्फ इशारा गर्दै उनी पसलमा आउने दोस्रो व्यक्ति भएको जस्तो लागेको, तर ढुक्क नभएको बयान दिए,” शुरू अदालतको फैसलामा उल्लेख छ।
प्रहरीले अली र निस्सार चाँदनी चोकस्थित इम्पेरियल ग्रामोफोनमा ‘जायको अलार्म पीस’ खरीद गर्न गएको समेत दाबी गर्यो। अली र निस्सारको पहिचान गर्न नसकेपछि उक्त पसलको मालिकलाई होस्टाइल भएको घोषणा गरियो। साथै, प्रहरीले उक्त सामग्री बेच्ने खास मानिसका रूपमा एक जना सेल्सम्यानलाई प्रस्तुत गर्यो। ती सेल्सम्यानले भने लातिफलाई उपभोक्ताका रूपमा पहिचान गरे। “यद्यपि मेमोमा उल्लेख भएको विवरण हेर्दा त्यहाँ लेखिएका यी दुई अभियुक्तले नै उक्त पसलसम्म पुर्याएका थिए,” फैसलामा लेखिएको छ। अर्को भाषामा भन्दा, अदालतले प्रत्यक्षदर्शीको बयान सन्देहास्पद हुँदाहुँदै पनि प्रहरीको मेमोले गरेको सङ्केतलाई बढी विश्वास गर्यो।
अलीले भने आफूले प्रहरीलाई कुनै इशारा नदिएको मसँग बताए। कम्तीमा उनी त्यस्ता कुनै पनि प्रक्रियामा सहभागी थिएनन्। “यो सब बनावटी थियो,” उनले भने।
पहिलो भाग‚ यहाँ पढ्नुहोस्
जे होस्, त्यति वेला आरोपितहरूको प्रतिरक्षा केही समयका लागि धकेलियो। न्यायाधीश र थुप्रै वकीलहरूले मलाई आरोपितका वकीलहरूले कमजोर पैरवी गरेको बताए। अलीको मुद्दा लडेका तुफयलसँगै काम गर्ने अनवर खानले मसँग आफूहरूले पुनः परीक्षणका क्रममा अझ राम्रो पैरवी गर्न सक्ने ठाउँ रहेको स्वीकार गरे। “तर यी सबै सधैंभरि भने जस्तो सजिलो हुँदैन,” उनले थपे। उनका अनुसार, कहिलेकाहीं निश्चित घटनाबारे फरक दृष्टिकोण राख्न न्यायाधीशले नै रोकिदिन्छन् र त्यसैलाई फैसलामा आफ्नो मागको विपक्षमा प्रस्तुत गरिदिन्छन्।
यो मुद्दामा ठ्याक्कै के भएको थियो भन्ने नबताउने मामिलामा अनवर सचेत थिए। तथ्यहरूले के देखाउँछन् भने आरोपितका वकीलहरूले जम्मा दुई जना प्रत्यक्षदर्शीलाई उपस्थित गराए जसले सुनुवाइमा खासै प्रभाव पारेन। किन यस्तो भयो भनेर मैले अनवरलाई सोधेको थिएँ। आरोपितसँग जतिसुकै निकट भए पनि न्यायिक प्रक्रियामा मुछिने डरले जोकसैलाई विचलित बनाउने उनले सुझाए। अर्कातर्फ, “जतिसुकै प्रत्यक्षदर्शीलाई बयान दिन लगाए पनि तथ्यगत प्रमाण छैन भने आफ्नो तर्क स्थापित गर्न गाह्रै हुन्छ। हामीले त्यस्तो आधार फेला पारेनौं, नभए त अरू मानिसलाई पनि बोलाउने थियौं,” अनवरले भने।
सिङ्गो मुद्दा पछि गएर नवौं र दशौं आरोपित बनाइएका व्यक्तिहरूको सोधपुछमा आधारित थियो। २ जुन १९९६ मा अहमेदाबाद एन्टि-टेरोरिज्म स्क्वायडले जावेद खान र अब्दुल गनीलाई गिरफ्तार गर्यो। उनीहरू लाजपत नगर विस्फोटमा संलग्न भएको खबर दिल्ली प्रहरीलाई दियो।
प्रहरीले लाजपत नगर विस्फोटबारे तयार पारेको सिङ्गो सिद्धान्त जसलाई पुष्टि गर्न पछि परिस्थितिजन्य प्रमाण जुटाइयो त्यो सबै १ जुनमा गुजरात एटीएससामु र १९ जुलाईमा जयपुर न्यायाधीशसामु जावेद खानले गरेको खुलासामा आधारित थियो। प्रहरीले तयार पारेको घटनाको समयरेखा र पात्रहरूको सूची सबै त्यही बयानमा अडिएको थियो। जावेद खानलाई दिल्ली प्रहरीले औपचारिक रूपमा २५ जुलाईमा पक्राउ गरेको थियो।
यो सामग्री तयार पार्दासम्म, जावेदले धेरै पहिला बयानमा गरेको दाबी सबै गलत सावित भइसकेका छन्। जावेद आफैं र नौसद लगायत सबैजसो जावेदको कायलनामाको भरमा गिरफ्तार गरिएका थिए। ती सबै प्रमाणका आधारमा निर्दोष सावित भएका छन्।
सन् २०१३ मा जावेदले सर्वोच्च अदालतमा दर्ज गरेको याचनामा उनले गरेको कायलनामा कति हदसम्म स्वैच्छिक हो भन्ने प्रश्न उठाइएको छ। ‘जावेदले बयान दिएपछि उनलाई पक्राउ गर्न किन नौ हप्ता ढिलो गरियो भन्नेबारे अभियोजकले कुनै व्याख्या नगरेको’ विषयबारे याचिकामा प्रश्न उठाइएको छ।
अध्याय सातः प्लेबूक
लाजपत नगर बम विस्फोटअघि र पछिका वर्षहरूमा आतङ्कवादी घटनामा देखाएको भूमिकालाई लिएर दिल्ली प्रहरीको स्पेशल सेल आलोचित छ। सन् २०१२ मा ‘जामिया टिचर्स सोलिडारिटी एशोसिएशन’ ले प्रकाशन गरेको ‘फ्रेम्ड, ड्याम्ड एन्ड एक्विटेडः डजियर अफ अ भेरी स्पेशल सेल’ शीर्षकको प्रतिवेदनमा स्पेशल सेलले आतङ्कवादको आरोप लगाएर पक्राउ परेका र पछि निर्दोष सावित १६ जना मुसलमानहरूको सूची दिएको थियो। उनीहरूले अनाहकमा जेलमा वर्षौं र कतिपयले दशकौं बिताएका थिए।
‘सबै मुद्दालाई सँगसँगै राखेर हेर्दा सबैमा एउटै व्यहोरा उल्लेख भएको पाइन्छ। हरेक पटक दाबी गरिएको आतङ्कवादी क्रियाकलापको शैली एउटै छ। सबै घटनाका आरोपितलाई उसैगरी समातिएको छ। कतिसम्म भने हरेक घटनाको अनुसन्धानका क्रममा भएका प्रक्रियागत त्रुटिहरू पनि उस्तै छन्,’ प्रतिवेदनको भूमिकामा लेखिएको छ।
उक्त प्रतिवेदनमा लाजपत नगर मुद्दा दोस्रो नम्बरमा छ। पहिलो नम्बरमा भएको मुद्दा पनि चकित पार्ने गरी उस्तै छ। उक्त मुद्दामा पनि आतङ्कवादी घटना गराउने उद्देश्यले कश्मीरबाट सशस्त्र विद्रोहीहरू राजधानी दिल्ली प्रवेश गरेको उल्लेख गरिएको छ। तर, उक्त मुद्दामा कुनै विस्फोट भएको छैन। आरोपितहरूले आफूलाई अदालतमा भनिएको मितिमा भन्दा पहिले नै गैरकानूनी तवरले गिरफ्तार गरिएको प्रमाण प्रस्तुत गरेका छन्।
सन् १९९२ को एउटा घटनामा प्रहरीको दाबी छ– आरोपितमध्ये एक जनाले ‘प्रहरीलाई एउटा रूखमुनिको खाल्डोमा गाडिएको पेस्तोल देखाइदिएका थिए।’ सन् १९९६ को लाजपत नगर बम विस्फोटको घटनामा पनि प्रहरीले फारिदा दरको घरनेरको अनारको रूखमुनि गाडिएको अवस्थामा ‘आरडीएक्स र फाइभ टाइमर्स’ फेला पारेको थियो। बम विस्फोटको षड्यन्त्रमा निर्दोष सावित भए पनि उनको घरनेरबाट आरडीएक्स फेला परेको आरोपमा उनी गिरफ्तार भइन् र सजाय भोगिन्।
अरू मुद्दामा भन्दा आतङ्कवादी गतिविधि सम्बन्धी मुद्दामा शुरू अदालतका न्यायाधीशले दिने फैसला पनि उस्तै खालका छन्। आरोपितमध्ये केही भए पनि दोषी सावित हुन्छन् जसले सार्वजनिक वृत्तमा उक्त अपराध र त्यसमा संलग्न आरोपितको परिचय दिन्छ। “केही सन्देहहरू बाँकी रहे पनि अनिश्चितकालका लागि फैसलामा ढिलाइ गर्न सकिँदैन,” नाम नखुलाउने शर्तमा उत्तर प्रदेशको सिभिल कोर्टका एक न्यायाधीशले भने, “एउटा हिम्मतका साथ तपाईंले फैसला गर्नुहुन्छ र राति आरामले निदाउनुहुन्छ। गलत फैसला रहेछ भने उल्टाउन त माथिल्लो अदालत छँदै छ।”
उनी विरुद्धको मुद्दा अदालतमा पुर्याउनुअघि नै अलीकी आमाको कश्मीरमा निधन भयो जति वेला उनी जयपुर केन्द्रीय जेलमा थिए। अलीले बताए अनुसार, जयपुर जेलमा पत्र पाउन कठीन थियो, सीआईडीले जाँचेपछि मात्रै कैदीको हातमा पुग्थ्यो। कहिलेकाहीं त आफूलाई आएको चिठी हात पार्न महीनौं लाग्थ्यो। तर, अलीलाई आएको यो पत्र भने रातो मसीले लेखिएको थियो त्यसैले जेलका अधिकारीहरूले महत्त्वपूर्ण भएको अन्दाज गरे। उक्त चिठी घरबाट नभई एक महिलाले पठाएकी थिइन्, जो अलीको जीवनका सुन्दर क्षणहरूमा साथी थिइन्। परिवारजनले उक्त खबर चिठी मार्फत नबताउने निर्णय गरेका थिए।
आमा बितेको खबर पाएपछि उनी खूब रोए। एउटै मुद्दामा परेका र वार्डका अरू बन्दीहरूले उनलाई सम्झाईबुझाई गरे। अन्तिम प्रार्थना गर्न सघाए। त्यसको केही दिनपछि भएको सुनुवाइमा दौसा अदालतले उनको सशर्त रिहाइ (पेरोल) अस्वीकार गर्यो। उक्त सुनुवाइमा लातिफका परिवारजन आएका थिए। त्यो दुखद खबर नसुनाउने बोझले थिचिएका उनीहरूले अस्वाभाविक तवरले मुख सिए। यद्यपि, त्यो बोझबाट अली स्वंयले मुक्त गराइदिए। “उनीहरूले मलाई केही भनेनन्, तर मैले उनीहरूलाई आफूले थाहा पाइसकेको बताएँ,” अलीले सुनाए।
सन् २००५ मा अलीका काकाको निधन भयो। यो खबर भने बुबाले चिठी लेखेर बताए। त्यसको अर्को दिन अलीले हातैले लेखेर पेरोलका लागि निवेदन लिएर गए। वार्डमा रहेका अरू साथीहरू भने उनले त्यो निवेदन लेखेको देखेर मजाले हाँसे। उनीहरूमध्ये पढेलेखेका फारुख खानले निवेदन राम्रोसँग लेखिएको स्विकार्दा स्विकार्दै पनि उनको याचना स्वीकार गरिनेमा शङ्का गरे, “यस्ता कुरा हावामा उडाइन्छ भन्ने थाहा पाएपछि दया पनि नलाग्दो रहेछ।” तर, अलीले मौका गुमाउन चाहेनन्। आखिर न्यायाधीशले उनको याचना स्वीकार गरे। सरकारी वकीलको विरोधलाई इन्कार गर्दै न्यायाधीशले उनलाई पेरोल दिए। झण्डै एक दशकपछि अली कश्मीरको आफ्नो घर पुगे।
त्यो यात्रा दुई दिनको थियो। अलीलाई हब्बाकदलस्थित काकाको घरसम्म प्रहरी सहित पुर्याइनुअघि तीन वटा प्रहरी चौकीमा लगिएको थियो।
“प्रहरी बाहेक सेनाको एउटा बटालियन पनि सँगै थियो,” उनी सम्झन्छन्, “एउटा आतङ्कवादी घुम्न आयो भनिएको थियो।” उनलाई जेलनेल सहित घरभित्र जान दिइयो। प्रहरीको घेराबन्दी त छँदै थियो। अलीले बुबा, दिदीबहिनी, भान्जाभान्जी, भतिज र हसानाबादबाट आएका छिमेकी सबैलाई भेटे।
“त्यति वेलाको अनुभूति बताउनै सक्दिनँ,” उनले टिप्पणी गरे, “बुबाले मलाई दिदीबहिनीका लागि भए पनि नरुनु भन्नुभएको थियो, म रोइनँ, तर उनीहरू रोइरहे। म मुस्काउँदै निस्किएँ।”
उनी आफ्नी आमाको चिहानमा जान चाहन्थे, तर उनको अनुरोध अस्वीकार गरियो। साँझ ढल्दै गर्दा उनलाई शेरघरी प्रहरी चौकीमा लगियो। अर्को बिहान, प्रहरीको टोलीले उनलाई जम्मु फर्कायो जहाँबाट साँझको रेलमा उनलाई दिल्ली लगियो। खाना खाने वेलामा केही प्रहरीलाई उनले आफ्ना दिदीबहिनीले बनाएको कुखुराको मासु खान अनुरोध गरे। उनीहरूले खाए। त्यसपछि उनलाई फेरि तिहाडको जेल नम्बर दुईको त्यही वार्डमा लगियो।
“त्यसको ५-६ महीनासम्म म निकै निराश भएँ,” उनी सम्झिन्छन्, “म घर पुगेको थिएँ र फेरि तिहाड ल्याइएँ, मलाई त्यसरी गएकैमा पछुतो हुन थाल्यो।” तर, त्यो उदासी उनले आफैंसँग राखे। बिस्तारै समयसँगै त्यो हराउँदै पनि गयो। उनले त्यसपछि पनि पेरोलका लागि अनुरोध गरे जुन दुई पटक स्वीकृत भयो। सन् २००६ मा अर्का मृत काकाको निम्ति हसानाबादको इमामबाडामा प्रार्थना गर्न र सन् २००७ मा सिकिस्त बुबालाई भेट्न उनलाई पेरोल दिइयो। सन् २००६ मा जाँदा उनले आमाको चिहानमा प्रार्थना गर्ने स्वीकृति पनि पाए। सन् २००७ मा बुबाले भेट्दा भने उनको शिर निहुरियो। उनले बुबाको आँखामा आँखा जुधाउन सकेनन्। “मैले उनलाई माफ गरिदिनुस् भनें,” अलीले बताए, “मलाई लाग्यो, उहाँसँग अझै समय छ।”
सन् २००६ देखि २००८ को बीचमा मुद्दा अघि बढाउने धेरै प्रयत्न भए। उच्च अदालतले ६ महीनाभित्र मुद्दा टुङ्ग्याउन आदेश दियो। त्यसपछि सुनुवाई शीघ्र सकाएर एक महीनामै टुङ्ग्याउनेबारे छलफल पनि भयो। त्यही समयमा अलीका वकीलले उक्त मुद्दा न्यायाधीश एस.पी. गर्गकहाँ फिर्ता लैजाने प्रयास गरे। न्यायाधीश गर्गले उक्त मुद्दाको बहस विस्तारमा सुनिसकेका थिए। न्यायाधीश एस.के. सरवरियाकहाँ यो मुद्दा पुगेको थियो। उनले हस्ताक्षर गरेको यो मुद्दाको फैसलामा गर्गले आंशिक रूपमा सघाउन सक्ने उल्लेख थियो।
गर्गकहाँ मुद्दा फिर्ता लैजाने आरोपितहरूको याचना सरकारी वकीलले शुरूमा स्वीकार गरेका थिए, तर पछि विरोध गरे। यस्तो घटना दुई पटक दोहोरियो। अन्ततोगत्वा उक्त मुद्दाबारे अन्तिम धारणा बनाउने क्रममा तीन जना भिन्दाभिन्दै न्यायाधीशले मुद्दा हेरे।
यो मुद्दाको दैनिक सुनुवाइ गर्ने आदेश भने कहिल्यै लागू भएन। यो किन भएन भन्ने जानकारी दिने व्यक्तिलाई धन्यवाद। उनले बताए अनुसार, वकीलहरूको आन्दोलन भएर, सरकारी वकील बिदामा बसेकाले, न्यायाधीश अन्यत्रै व्यस्त भएकाले, सार्वजनिक बिदा र शुक्रबारे प्रार्थना परेकाले जस्ता कारण देखाइएको थियो।
अध्याय आठः फैसला
सन् २००९ को फेब्रुअरीमा अलीका वकीलले आफ्ना तर्फबाट अन्तिम तर्क प्रस्तुत गर्दा बेन्चमा रहेका न्यायाधीश थिए, एम.के. नागपाल। प्रतिवादीले अप्रिलसम्ममा मुद्दाको बहस सकिसकेका थिए, तर उनीहरूलाई चिन्तित गराउने गरी अभियोजनकर्ताले केही प्रत्यक्षदर्शीलाई पुनः बयानका लागि बोलाउन निवेदन दिए। त्यसरी बोलाइएकामध्ये एक थिए, एसीपी प्रीत पाल सिंह जो नेपालबाट पक्राउ परेका कश्मीरीहरूलाई सिमानामा कुरेर बसेका थिए। अर्का थिए, अनुसन्धान अधिकृत पारसनाथ। त्यति वेलासम्म प्रीत पाल अदालतमा देखापरेका थिएनन् न त कुनै पनि मेमो वा रेकर्डमा उनको हस्ताक्षर नै थियो। थप चार जना प्रत्यक्षदर्शी मुद्दाबाट हटाइँदासम्म नागपालको ठाउँमा अर्कै न्यायाधीश आइसकेका थिए।
सेप्टेम्बर २००९। मुद्दा फेरि न्यायाधीश एस.पी. गर्गको इजलासमा फर्कियो। उनी तिनै न्यायाधीश थिए जसको एकल इजलासमा सिङ्गो मुद्दा टुङ्गियोस् भनेर अलीका वकीलहरूले माग गरिरहेका थिए। गर्ग त्यसअघि नै २२ वटा सुनुवाइमा सहभागी भइसकेका थिए। मध्य–डिसेम्बरसम्ममा उनको इजलासमा अन्तिम तर्क–प्रमाणहरू प्रस्तुत भइसकेका थिए जसमध्ये उनले केही चाहिं वर्षदिन पहिला सुनिसकेका थिए।
“त्यो पूर्णतः मानसिक यातना थियो,” अलीले भने। सुनुवाइको प्रतीक्षा र दोहोर्याउने क्रम भोग्दाभोग्दैको हैरानी वर्षौंपछि पनि उनको मुहारमा ताजै थियो। “उनीहरू समय घर्काउने काम मात्र गरिरहेका थिए,” उनले सुनाए।
८ अप्रिल २०१० मा न्यायाधीश गर्गले यो मुद्दाबारे आफ्नो फैसला सुनाए। उनले चार जना निर्दोष भएको फैसला गर्दै उनीहरूको नाम लिएः मिर्जा इफ्तिकार, लातिफ वजा, सायद मकबुल शाह र अब्दल गनी। ती बाहेक अरू सबैलाई दोषी ठानियो। उनीहरूको सजाय भने २२ अप्रिलमा सुनाउने तोकियो।
सजाय सुनाउने दिन फारुक खान र फारिदा दरको नाम शुरूमा लिइयो। उनीहरूलाई षड्यन्त्र गरेको आरोपबाट सफाइ दिइएको थियो, तर हातहतियार राखेकोमा दोषी ठानियो। दिल्ली प्रहरीले गरेको बरामद र बयानका आधारमा उक्त निष्कर्षमा पुगिएको थियो। तर, उनीहरूले पुर्पक्षका क्रममा आफ्नो सजाय अवधि पूरा गरिसकेका थिए। त्यसपछि जावेद खानको नाम लिइयो। उनको जीवन बँच्यो। अली एकदमै बेचैनीका साथ आफ्नो नाम आउने प्रतीक्षा गरिरहेका थिए, तर उनी, निस्सार र नौसदको नाम लिइएन। उनका वकील बेन्च नजिक पुगेको र न्यायाधीशले उनलाई केही भनेको उनले परबाट देखे। उनले आफूहरूलाई मृत्युदण्ड दिइएको अनुमान गरे।
“न्यायाधीशले ‘मुद्दाको सुनुवाइका क्रममा यिनीहरूले राम्रो व्यवहार देखाएका थिए, त्यसैले यी तीन जनालाई मृत्युदण्ड सुनाउनुपर्दा दु:खी छु’ भनेका थिए,” अनवर खान सम्झिन्छन्। आफ्नो मृत्युदण्डको सजाय सुनेर रमाइरहेका केही र दु:खी भएका केही वकीलको हुललाई चिर्दै अली बेन्चसम्म पुगे। “तिमीलाई धेरै वटा अपराधमा दोषी पाइएको छ,” गर्गले उनलाई भने। अलीले शान्त रहने प्रयास गर्दै ‘घरमा सम्पर्क गर्न पाउँछु कि’ भने, तर उनको अनुरोध अस्वीकार गरियो। अर्को दिन पत्रिकाको हेडलाइन बन्यो– ‘राम्रो व्यवहार देखाएका दोषीहरूलाई फाँसी।’
समाचार प्रसारण भएसँगै कश्मीरमा प्रदर्शन भयो। कश्मीरको ठूलो पृथक्तावादी संगठन हुर्रियातका दुवै खेमाले भारतीय अदालतले ‘पक्षपात गरेको’ आरोप लगाउँदै आन्दोलनको आह्वान गरे। ‘जम्मु–कश्मीर लिबरेसन फ्रन्ट’ का नेता यासिन मलिकले पनि अन्दोलनको आह्वान गरे। श्रीनगरमा युवाहरूले अली र निस्सारको समर्थनमा प्रदर्शन गरे। उनीहरूको नाम त्यसपछि बारम्बार चर्चामा आइरह्यो। सन् २००४ मा संघीय सरकारसँग वार्ताको क्रममा त्यति वेला शिया क्लर्क मोलवी अब्बास अन्सारीको नेतृत्वमा रहेको हुर्रियातले आफूहरूले रिहाइको माग गरेका कश्मीरी बन्दीहरूको नाम सूची प्रस्तुत गरेको थियो। त्यसअघि त्यस्तै सूची दिल्लीले स्वीकार गरेको थियो, तर यस पटक अस्वीकार गरियो। इन्डियन एक्सप्रेसमा त्यति वेला प्रकाशित समाचार अनुसार, इन्टिलिजेन्स ब्यूरो र दिल्ली प्रहरीले कडा आपत्ति जनाएकाले संघीय सरकारले त्यो माग पूरा गर्न अस्वीकार गरेको थियो।
आफ्नो मुद्दालाई लिएर भएको राजनीतिबारे भने अलीको मिश्रित अनुभूति थियो। “मेरो परिवार उनीकहाँ सहयोग माग्न जाँदा मोलवी अब्बास अन्सारीले घरबाटै निकालिदिएका थिए,” उनको गुनासो छ। अर्का प्रभावशाली हुर्रियात नेता अब्दुल गनी भटले त उनका पितालाई “आखिर किन उनीहरूले बम बोक्नुपरेको थियो” भनेको अलीको आरोप छ।
“उसको पिताका रूपमा न्याय नपाउँदासम्म लड्नु मेरो नैतिक दायित्व हो,” मृत्युदण्डको सजाय सुनाइएपछि उनका पिताले समाचारमाध्यमलाई भनेका थिए, “हामीले उक्त फैसला विरुद्ध उच्च अदालतमा निवेदन दिनेछौं।”
अध्याय नौः पुनरावेदन
तिहाड जेलमा उनको धेरै मानिसहरूसँग परिचय भयो। पेशेवर अपराधी, सशस्त्र विद्रोही र दिल्लीका वृद्ध जमीनदार सबैसँग। तीमध्ये एकजना कश्मीरीसँग उनको मित्रता कायम भयो। उनी थिए सैयद अब्दुल रहमान गेलानी। सन् २००१ मा भारतीय संसद् भवनमा भएको आक्रमणको योजनाकार रहेको आरोपमा पक्राउ परेका प्राध्यापक थिए उनी जसले पछि सबै आरोपबाट सफाइ पाए। सन् २०१९ मा उनको निधन भयो। “उनी निकै असल मानिस थिए,” गेलानीबारे अली भन्छन्।
आफूलाई लगाइएको आरोपबाट सफाइ पाएर जेलमुक्त भएपछि गेलानी झूटो आरोपमा बन्दी बनाइएका मानिसहरूको पक्षमा जीवनभर संघर्षरत रहे। त्यस्ता बन्दीहरूलाई कानूनी सहायता दिन बनेका थुप्रै संस्थासँग आबद्ध पनि भए। उनैले लाजपत नगर बम विस्फोटको मुद्दामा बहस गर्न चर्चित वकील कामिनी जयसवाललाई सामेल गराए। आरोपितहरूले उनलाई शुल्क पनि तिर्न नपर्ने बन्दोबस्त मिलाए। आरोपितहरूको तर्फबाट मुद्दा लडेका वकीलहरूले शुरू अदालतमा प्रस्तुत गर्न चुकेका तथ्य र तर्क राख्दै उनी उच्च अदालतमा बलियो गरी प्रस्तुत भइन्।
उच्च अदालतको सुनुवाइका क्रममा भने न्यायाधीशले अभियोजनकर्ताको दाबीमा भएका असङ्गतिहरूमा ध्यान दिए। प्रहरीले गरेको अनुसन्धानको पनि उनले आलोचना गरे। “अभियोजनकर्ताले अम्लेटबाट अण्डा बन्यो भनेर दाबी गरेका छन्,” न्यायाधीश रवीन्द्र भटले अदालतमा भनेको वाक्य अलीको स्मृतिमा ताजै छ।
अन्तिम सुनुवाइका लागि भएको ढिलाइ ‘पूर्णतः अस्वीकार्य’ छ, उनले फैसलामा उल्लेख गरे। “ए६ को हकमा उनी अपराधसँग जोडिएको कुनै प्रमाण फेला परेन,” न्यायाधीशले उल्लेख गरेका थिए। नौसदको मृत्युदण्ड आजीवन कारावासमा फेरियो। निस्सार र अलीले भने सफाइ पाए। सन् २०१२ नोभेम्बरमा यो फैसला हुँदासम्म अलीले जेलजीवन बिताएको १६ वर्षभन्दा बढी भइसकेको थियो।
दिल्लीको घटनामा उन्मुक्ति पाएपछि उनले सोचेका थिए, निस्सार र आफूमाथि लगाइएको समलेती बम विस्फोटको आरोपबाट पनि छिटै मुक्ति पाइनेछ। लाजपत नगर बम विस्फोटमा उनीसँगै पक्राउ परेर सात वर्षको सजाय सुनाइएका फारुख खानले पनि सफाइ पाएका थिए। उनी पनि समलेती बम विस्फोटमा मुछिएका थिए। त्यस्तै, लातिफ र असादुल्लाह नाम भएका अर्का मानिस पनि मुछिएका थिए। ती दुवैलै लाजपत बम विस्फोटको आरोपमा सन् २०१० मा शुरू अदालतबाटै सफाइ पाएका थिए।
“तर उनीहरू हामीप्रति एकदमै निर्दयी थिए,” सरकार पक्षलाई इङ्गित गर्दै अलीले भने, “त्यत्रा वर्ष बित्थैमा जेलमा काटेपछि पनि उनीहरूले थप सात वर्ष थुने।”
समलेती मुद्दा त्यति वेला पनि राजस्थानको तल्लो अदालतमा अल्झिरहेको थियो। यहाँ पनि तुफयलले नै आरोपितहरूका तर्फबाट मुद्दा लडेका थिए। दिल्लीबाट आफू आउन नसक्ने दिन स्थानीय वकीललाई नै पेशी बुझ्न लगाउँथे। लाजपत नगर बम विस्फोटको केही दिनमै भएको र त्यत्ति नै संख्यामा हताहती भएको भए पनि समलेती बम विस्फोटको घटनाले राष्ट्रिय मिडियामा कम महत्त्व पाइरहेको थियो। सञ्चार माध्यमको ध्यान भड्किएको थियो र यी पक्राउ परेका मानिसहरू अर्को लामो दौडका लागि विवश थिए।
दिल्ली उच्च अदालतले सफाइ दिएको केही दिनपछि उनीहरूलाई राजस्थान लगियो। मृत्युदण्डको त्रास हटेको थियो, तर केही समयका लागि मात्रै। उनीहरू अहिले पनि राज्यका बन्दी थिए। सन् २००१ को संसद् आक्रमण घटनामा आरोपित अफजल गुरुलाई फाँसी दिएको समयमै फेब्रुअरी २०१३ मा उनीहरू जयपुर केन्द्रीय कारागारमा बन्दी बन्न पुगेका थिए।
मे २०१४ मा भारतीय जनता पार्टीले आम निर्वाचनमा बहुमत ल्याएर नरेन्द्र मोदी प्रधानमन्त्री हुँदासम्म उनीहरू त्यहीं थिए। भाजपाको उदयसँगै शुरू भएको साम्प्रदायिक तनाव जेलका पर्खाल छेडेर भित्र छिरेको थियो। “हामीलाई गरिने व्यवहारमा आएको परिवर्तन एकदमै स्पष्टसँग महसूस हुन्थ्यो,” अली सम्झिन्छन्, “सँगै थुनिएका बन्दी, प्रहरी, जेलर सबैले गर्ने व्यवहारमा एकदमै परिवर्तन आएको थियो।”
गाई खाएको र बाच्छाबाच्छीको तस्करी गरेको आरोपमा भारतभर नै मुस्लिमहरूलाई भीडले मारेको समाचार पत्रपत्रिकामा छापिन थालेको थियो। जेलमा वर्षौं बिताउँदा अलीले सिकेका थिए, आफ्नो धार्मिक पहिचानमा सङ्कुचित नभएसम्म मानिसहरू अर्कोसँग मानवीय व्यवहार नै गर्छन्। अनुभवले सिकाएको थियो, मानिसलाई उसको चरित्रका आधारमा मात्रै मूल्याङ्कन गर्नुपर्छ। तर, अहिले उनले थप सावधान हुनुपर्ने महसूस गर्न थाले।
जुन २००६। रमजान चलिरहेको समय थियो। एकरात उनलाई एउटै सेलमा थुनिएका अरू बन्दीले जगाए। एक जना बन्दीले लुकाएर राखेको मोबाइलमा कश्मीरबाट फोन आएको थियो। अलीका पिता हाजी शेर अली भटको निधन भयो।
“आमा मर्दा भन्दा बढी दुःख मलाई त्यति वेला लाग्यो,” अली सम्झिन्छन्, “यस पटक भने सहनै सकिनँ। यो मेरा लागि निकै ठूलो विषाद थियो।” आफ्नो छोरालाई मुक्त गराउने सिलसिलामा सबथोक गुमाइसकेका उनका पिता लामो समयदेखि थला परेका थिए। केही वर्षदेखि उनीहरू अलीका साथीले लुकाइराखेको मोबाइल मार्फत लुकिछिपी कुराकानी गरिरहेका थिए। सन् २०१२ मा अलीले पहिलो पटक उनका साथीले थ्री जी फोन राखेका छन् र त्यसबाट भिडिओ कल हुन्छ भन्ने सुनेका थिए। “मैले वकील र प्रहरीहरूको हातमा ठूलो नयाँ फोन त देखेको थिएँ, तर त्यो के हो र कसरी काम गर्छ भन्ने बुझेको थिइनँ। मलाई भिडिओ कल, एसएमस केहीबारे पनि थाहा थिएन,” उनले सम्झिए। हुन पनि बाहिरी दुनियाँबारेको उनको स्मृति त संग्रहालय समान भइसकेको थियो जो विगतका प्रसङ्ग उप्काउँदा मात्रै प्रयोगमा आउँथ्यो।
अलीले आफ्ना भाइलाई यस्तै एउटा नयाँ फोन उपलब्ध गराइदिन भनेका थिए। त्यही समयमा अलीसँगै थुनिएका उत्तर प्रदेशका ग्यांगस्टारका दाहिने हात भनिने एक जनाले अलीलाई आफ्नो फोन चलाउन दिए। “मैले उनलाई नम्बर डायल गर्न भनें, किनभने मलाई कसरी गर्ने भन्ने थाहा थिएन,” अली सम्झिन्छन्, “म लुँगी र गन्जी लगाएर भुँइमा बसेको थिएँ।” यसरी उनले पहिलो पटक जेलबाट आफ्ना पितासँग कुरा गरे। सम्भवतः यो नै उनीसँग जोडिएको अन्तिम सुखद स्मृति हो।
“सानैदेखि अरू भाइबहिनीभन्दा म उहाँसँग नजिक थिएँ,” अली भन्छन्, “उमेरसँगै त्यो सम्बन्ध झनै बलियो भयो। जुत्ता पालिस गर्नुपर्यो भने उहाँले मलाई मात्र बोलाउनुहुन्थ्यो। कतै जानुपर्यो भने मलाई लिएर जानुहुन्थ्यो। अरू दाइभाइले पनि उहाँसँग केही भन्न परे मलाई भन्थे।”
सेप्टेम्बर २०१४ मा दौसाको शुरू अदालतले समलेती बम विस्फोटमा सम्बद्ध भएको ठहर गर्दै अली सहित निस्सार, लातिफ र असदुल्लाहलाई आजीवन कारावासको सजाय तोक्यो। फारुकले भने सफाइ पाए। जबकि, लाजपत नगर बम विस्फोटमा मुछिनु बाहेक उक्त बम विस्फोटसँग उनीहरूको केही पनि सम्बन्ध थिएन।
उनीहरूले राजस्थान उच्च अदालतमा पुनरावेदनका लागि अपिल गरे। उनीहरू आशावादी हुनु स्वाभाविक थियो, किनभने अर्को उच्च अदालतले अघिल्लो पटक उनीहरूलाई सफाइ दिएको थियो। त्यसपछिका वर्षहरू भने झनै कठिन हुनपुगे। राजस्थानको न्यायपालिकामा मुद्दा एकदमै धिमा गतिमा बढिरहेको थियो। सिङ्गो राज्य प्रणालीमै बढिरहेको शत्रुताका कारण प्रक्रिया ढिलो भएको उनले महसूस गरे। हुन पनि त्यति वेला उनले पत्रिकामा मुसलमानहरूको अपमान, उनीहरूमाथि हुलहुज्जत र हत्याका समाचार पढिरहेका थिए।
उनी पहिलेभन्दा बढी आफ्नो आस्थामा अडिग हुन थाले। “बुबाले मलाई चिठी पठाउँदा कुरानका श्लोक र तिनको अर्थ लेख्नुहुन्थ्यो,” उनी सम्झिन्छन्। सम्भवतः आफ्ना पिता र अल्लाहसँग निकट हुन अलीले हातैले कुरान लेख्न थाले। उनका साथी अंकुर पाण्डेले जेलमै कागज, कलम पुर्याइदिए। अंकुरले जस्तोतस्तो कागज लैजाँदैनथे। अलीले मलाई भने अनुसार, ती निकै गजबका कागज थिए, कुरानका श्लोकहरू लेख्ने जस्तै। चार वर्षको अवधिमा उनले दुई पटक कुरान सारे।
अली र निस्सार दुवै शिया थिए। त्यसैले दुवैले मुहर्रम मनाउँथे। “बाहिर स्वतन्त्र भएको वेला तपाईंलाई कर्बलाका शहीदको बलिदानको अर्थ खासै थाहा हुँदैन,” अलीले मलाई व्याख्या गरे। मुहर्रमको पहिलो १० दिनसम्म शिया मुसलमानहरूले रुँदै, छाती पिट्दै मर्सिया पढ्ने गर्छन्। निर्दयी यजिदले हत्या गरेका पैगम्बर मोहम्मदका नाति हुसैन र उनका साथीहरूको स्मृतिमा पढिने काव्य हो मर्सिया। त्यति मात्र होइन, यो चाड पुनर्मिलनको अवसर पनि हो। आफ्ना प्रियजनसँग स्वादिष्ट खाना खाँदै र पटक पटक चिया पिउँदै यो चाड मनाउने गरिन्छ। “जेलमा मात्रै त्यो बलिदानसँग जोडिएको वियोग कति पीडादायी थियो भन्ने महसूस हुन्छ। त्यसको तुलनामा आफ्नो वियोग त केही जस्तो लाग्दैन,” अली भन्छन्।
जेलमा अली र निस्सारले हरेक मुहर्रममा मर्सिया वाचन गरे। उनी सम्झिन्छन्, बिस्तारै सुन्नीहरू र हिन्दूहरू पनि आफ्नो छाती पिट्दै त्यसमा सहभागी हुन्थे। अनि सिङ्गो सेल नै दुखीहरूको शोकसभा जस्तो हुन्थ्यो। “उनीहरू पनि किन सामेल हुन्थे र के सोच्थे भन्ने मलाई थाहा छैन,” अली सम्झिन्छन्, “तर हामी सबैले शोक व्यक्त गर्थ्यौं।”
अध्याय १०ः स्वतन्त्र मान्छे
फेब्रुअरी २०१९ मा सशस्त्र विद्रोहीहरूले कश्मीरको पुलवमामा सैन्य जत्थामाथि हमला गरे। त्यसको केही दिनपछि केही बन्दीहरूले शकीरुल नामका पाकिस्तानी बन्दीलाई हातपात गरे। “उनीहरूले एउटा राम्रो फिल्म आइरहेछ भनेर टेलिभिजन राखेको कोठामा लगी ब्ल्यांकेटमा लुकाइराखेको ढुङ्गाले टाउकोमा हाने,” अलीले सुनाए, “ऊ तुरुन्तै मरेको हुनुपर्छ।” (जेलका हाकिमहरूले टेलिभिजनको आवाजले त्यो घटनाको आवाज नसुनिएको बताएका छन्।)
त्यो घटनापछि अलीलाई कसैले केही गरिहाल्छ कि भन्ने डर लाग्न थाल्यो। अलि कठोर खालका बन्दीहरूप्रति उनी शङ्कालु हुन थाले। शकीरुलको हत्याको केही दिनअघि कन्हैया नामका बन्दीले उनको घाँटी अठ्याएका थिए। त्यो सम्झेरै उनको शरीर शीताङ्ग हुन थाल्यो। त्यसो त कन्हैया ख्यालख्याल गरेको भन्दै हाँसेका थिए।
जुलाई २०१९ मा भएको अर्को नियमित सुनुवाइमा न्यायाधीश सबिनाले स्पष्टसँग अली र निस्सारको मुद्दामा अभियोजनकर्ताको दाबी नपुग्ने टिप्पणी गरिन्। वर्षौंदेखि न्यायाधीशहरू फेरिइरहेका थिए। अभियोजनकर्ता र प्रतिवादीहरू दुवैले तर्क–वितर्कमा घण्टौं खर्च गरिसकेका थिए। मुद्दामा हुनुपर्ने बाँकी केही थिएन। बेचैनी बढाउने बाहेक अर्को केही काम बाँकी नरहेको देखेपछि न्यायाधीशले फैसला सुनाउने समय आएको तय गरिन्। त्यो दिनको बहस सुनेपछि उनले एक महीनाभित्र फैसला सुनाउने बताइन्।
अलीहरूका तर्फबाट पुनरावेदन मुद्दा लडिरहेकी कामिनी जयसवाल त्यो दिनको सुनुवाइमा उपस्थित थिइनन्। अलीले आश गुमाइसकेका थिए। उनले कपाल खौरिएका थिए। कसरत गर्न छोडेका थिए र केही मोटाएका पनि थिए। तर, हप्तादिनपछि सोमबारको साँझपख निस्सार उनलाई भेट्न आए। अली नमाज पढिवरी आफ्नो सेल नजिकै चराहरूलाई दाना खुवाइरहेका थिए। “मैले अलीले अजीबको अनुहार बनाएको देखें, तर ऊतिर केही ध्यान दिइनँ,” अली सम्झन्छन्, “चरालाई दाना खुवाइरहें।” निस्सार आएर अलीलाई अँगालो हाले। “हामीले सफाइ पायौं,” उनले भने। अनि दुवै जना चिच्याए र रोए। निस्सार, लातिफ, असदुल्लाह र अली सबै मुक्त भए।
फैसलामा न्यायाधीशद्वय सबिना र गोवर्द्धन बर्द्धररले उनीहरूलाई बम विस्फोटसँग जोड्ने एउटै मात्र कडी जावेद खानको बयान रहेको उल्लेख गरेका छन्। ‘जावेदले उक्त बम विस्फोटमा यी अभियुक्तहरूको सहभागिता रहेको उल्लेख गरेका छैनन्,’ फैसलामा स्पष्टसँग उल्लेख छ। कानूनी उल्झन, जटिल तर्क, आक्षेप र परिस्थितिको लेखाजोखा, केही पनि छैनन्।
त्यो खबर कश्मीरमा उनको परिवारसँग पुग्यो। उनका एक जना भाइले जावेदका भाइ इफ्तिकारलाई त्यही दिन राजस्थान जाने गरी टिकट काटिदिए। उनी रातको ११ बजे जयपुर केन्द्रीय जेल पुगे। जेल प्रशासनले अदालतको आदेश आइनसकेकोले भोलिपल्ट बेलुका पाँच बजे आउन भन्दै उनलाई फर्काइदियो। मंगलबार अदालतको आदेश आशा गरेभन्दा छिटै आइपुग्यो। अली र उनका साथीहरूले आफ्ना कपडा बाँधे, पैसा निकाले र अरू बन्दीहरूसँग बिदा मागे। उनीहरू जेल बाहिर निस्कँदा बेलुकाको पाँच बजेर केही मिनेट मात्रै बितेको थियो। बाहिर पत्रकारहरूको एउटा समूहले उनीहरूलाई पर्खिरहेको थियो। तर, उनीहरू केवल इफ्तिकारलाई मात्र देख्न चाहन्थे। इफ्तिकार भने यात्राको थकानले चूर भएर होटलमा मस्त निदाइरहेका थिए।
“हामी डरायौं, हाम्रो मनमा नराम्रो कुरा मात्रै खेल्न थाल्यो,” अलीले सुनाए, “मेरो दिमागमा त हुलहुज्जतभन्दा अरू केही थिएन।” एउटा जीपमा ५-६ जना बलिष्ठ मान्छेहरू आएको देखेपछि त उनको डर र तनाव झनै बढ्यो। उनीहरूले पत्रकारहरूको फोनबाट इफ्तिकारले नउठाउँदासम्म फोन गरिरहे। ती बलिष्ठ मानिसहरू उनीहरूको छेवैबाट गए। खासमा उनीहरू अरू कसैलाई भेट्न आएका थिए।
आखिरीमा इफ्तिकार एउटा अटोमा आइपुगे। उनले तिनीहरूलाई जम्मत–ए–इस्लामीको स्थानीय कार्यालयमा लगे। यो त्यही संस्था थियो जसले अली र उनका साथीहरूलाई जेलमा रहँदा आड, भरोसा र साथ दिइरहेको थियो। त्यो संस्थाका मानिसहरूले वर्षौं पहिले जेलका वार्डहरूमा सिलिङ फ्यान जोड्न सघाएका थिए। उनीहरू ईदमा भेट्न पनि आउँथे। उनीहरूले दिल्लीसम्म पुग्ने गरी एउटा ट्याक्सी भाडामा लिइदिए। दिल्लीबाट उनीहरू कश्मीरसम्म हवाईजहाजमा जाने भए। “दिल्ली नपुग्दासम्म मैले जुत्ताको तुना कसेर राखें,” अली भन्छन्, “मलाई हुलहुज्जत हुन्छ कि भन्ने डर लागिरहेको थियो। र, मैले सोचेको थिएँ, केही भइहाले भाग्न त सक्छु।”
रातको दुई बजे दिल्लीको जाकिर नगर पुग्दा, एस.ए.आर. गेलानी जागै थिए। उनले तिनीहरूलाई स्वागत गरे। उता कश्मीरमा पनि अलीको परिवार जागै थियो। गेलानीले फोनमा कुरा गराए। “दाह्री खौरेर आउनु,” फोनमा दाजुले आदेश दिए।
त्यो रात अली निदाउनै सकेनन्। गेलानीले उनलाई दाह्री फाल्न चाहिने जति सबै सामग्री थिए। उनलाई बाथरुम पनि देखाए जहाँ अलीले सिग्रेट पनि पिए। “त्यो घरमा हामीले खूब चुरोट खायौं,” अलीले मलाई सुनाएका थिए, “गेलानी साहेबको घरमा एस्ट्रे थिएन। मैले उहाँलाई उहाँकी श्रीमती घरमा हुनुहुन्छ कि भनेर सोधें। उहाँ हुनुहुँदो रहेनछ। मैले उहाँलाई तपाईंको उहाँसँग झगडा पर्ने भयो भनें।”
बिहानपख गेलानीले उनीहरूलाई कोर्मा र नान खुवाए। अलीले कसम खाँदै सुनाएका थिए, त्यत्तिको मीठो नान त उनले जिन्दगीमै खाएका थिएनन्।
श्रीनगरका लागि उनीहरूको हवाइजहाज बिहान ११ बजे उड्नेवाला थियो। विमानस्थल जानुभन्दा पहिला अरू साथीहरू नजिकैको बजारमा गएका थिए। अली भने डरैले गएनन्। उनी आफ्नो भाग्यलाई फेरि खतरामा पार्न चाहँदैनथे।
हवाईजहाजमा घर जाँदै गर्दा उनको मनमा भने पापै मात्र खेलिरहेको थियो। “विमान दुर्घटना भयो भने? मैले यस्तै मात्र सोचिरहेको थिएँ। मैले अल्लाहसँग प्रार्थना गरें- यी सबैपछि मैले मर्नु नै छ भने पनि अल्लाह कम्तीमा मलाई मेरो परिवारजनसँग त भेट्न देऊ।”
श्रीनगर विमानस्थलमा परिवारका केटाकेटीहरू जम्मा भएका थिए। उनीहरूले घरका मानिससँग भिडिओमा कुरा गराए। उनको दाइले नयाँ कुर्ता–पाइजामा लगाएर आउन भने। हसानाबादको इमामबाडामा उनीहरूसँग अलीको भेट भयो। वर्षौंपछि अलीले आफ्ना परिवारलाई देखे। उनी त्यसपछि नजिकैको चिहानस्थलमा पुगे। त्यहाँ पिताको चिहानमा खुरी खेल्दै रोए। त्यो क्षणको भिडिओ ट्वीटरमा पोस्ट भएपछि थुप्रै अनलाइनले पुनः प्रसारण गरे। त्यसका केही दिनसम्म त उनको काम नै पत्रकारहरूलाई आफूले जेलमा बिताएका दिनहरू बयान गर्ने मात्र भयो। घर पुगेको १० दिनसम्म उनी निदाउनै सकेनन्। उनलाई घर आइपुगेको विश्वास नै भइरहेको थिएन।
“अहिले पनि कहिलेकाहीं मलाई जेलमुक्त भएको र घर आएको अविश्वसनीय लाग्छ,” उनले मलाई सुनाए।
(द क्याराभान, द वायर र परी लगायतका चर्चित सञ्चार माध्यममा लेख्ने स्वतन्त्र पत्रकार अदिल रसिदको यो रिपोर्ट फिफ्टी टु डट इनमा ‘किल्ले’ शीर्षकमा दुई भागमा प्रकाशित भएको छ। त्यसका दुवै खण्डको लक्ष्मण श्रेष्ठले भावानुवाद गरेका हुन्।)