काठमाडौंमा समातिएका निर्दोष कश्मीरी युवक, जसका २३ वर्ष जेलमा बिते (भाग-१)
भारतमा भएका दुई वटा बम विस्फोटमा संलग्न रहेको आरोपमा २०५३ सालमा एक कश्मीरी गलैंचा व्यापारी काठमाडौंबाट पक्राउ परे। कयौं प्रत्यक्षदर्शीका बयान, चार वटा भिन्नाभिन्नै अदालतमा सुनुवाइ र २३ वर्षको अनाहकको जेलजीवन काटेपछि बल्ल उनी मुक्त भए।
त्यो दिन मोहम्मद अली भट के पो खाने हो भनेर दिक्क मानिरहेका थिए। हुन त उनले सिमी पकाएका थिए, तर डढ्यो। अरू केही मेसो नमिलेपछि उनले खुर्सानीको धूलोसँग भात खाने निधो गरे।
सन् १९९६ को जुलाईको प्रसङ्ग हो यो। अदालती कागजातका अनुसार उनी त्यति वेला २७ वर्ष पुगेका थिए। काठमाडौंमा भाडामा लिएको एउटा फ्ल्याटबाट आफ्नो जन्मभूमि कश्मीरमा हातैले बुनिएका कार्पेट बेच्थे।
खाना खाँदै थिए, उनका गाउँले मिर्जा निस्सार देखापरे। उनीसँगै टोपी लगाएका केही अग्ला मानिसहरू पनि थिए। ग्राहक होलान्, अलीले सोचे। तर, उनीहरूका पछाडि थुप्रै नेपाली प्रहरी हातमा बन्दूक लिएर आइरहेका थिए। आत्तिएका अलीले दुवै हात उठाए। मुखबाट खुर्सानीको राग नहट्दै उनको बन्दी जीवन शुरू भइसकेको थियो। फेरि मुक्त जीवनमा फर्किन उनलाई २३ वर्ष लाग्यो।
त्यसको केही दिन पहिला २१ मेमा दक्षिणी दिल्लीको लाजपत नगरको सेन्ट्रल मार्केटमा पार्किङ गरिएको सेतो मारुती कारमा बम विस्फोट भएको थियो। विस्फोटमा परेर १२ जनाको ज्यान गएको थियो भने ४० जना घाइते भएका थिए। अली सम्झिन्छन्, त्यही घटनालाई लिएर उनी पक्राउ पर्ने दिन, ९ जुन १९९६ (२०५३ जेठ २७) मा काठमाडौंमा भएका सबैजसो कश्मीरीहरूलाई सोधपुछ गरिएको थियो।
मिडियाहरूका अनुसार, त्यति साह्रो नाम नसुनिएको सशस्त्र समूह ‘जम्मु एन्ड कश्मीर इस्लामिक फ्रन्ट’ (जेएकेइएफ)ले लाजपत नगर बम विस्फोटनको जिम्मेवारी लिएको थियो। त्यो सशस्त्र समूहका मुख्य प्रवक्ताले केही समाचार संस्थाका दिल्लीस्थित कार्यालयमा फोन गरेर त्यस्तो दाबी गरेको सञ्चारमाध्यमले समाचार प्रसारण गरिरहेका थिए।
त्यस दिन काठमाडौंमा थुप्रै कश्मीरी मुसलमान गिरफ्तार भएका थिए। त्यसमध्ये अली, उनका भाइ जफर अहमद र उनीहरूका एक कामदार पनि थिए। जावेद करिवर नाम भएका मानिससँग भारतको सिमाना पार गरी आएका व्यक्तिहरूप्रति प्रहरीले बढी चासो राखिरहेको थियो। पाकिस्तानमा रहेका कुनै बिलाल बेगको आदेशमा काठमाडौंमा बस्ने करिवरले लाजपत नगरको विस्फोटको योजना बनाएको आरोप लगाइएको थियो।
यी सबै घटना हुँदाका बखत अलीले करिवरसँग कार्पेटका लागि ऋण लिएका थिए। गिरफ्तार गरेपछि प्रहरीहरूले अलीलाई दिल्ली लगिने र त्यहाँ पुगेपछि छोडिदिने बतायो। उनीहरूले मिर्जा नासिर र जावेद करिवरका भतिजा लातिफ अहमदलाई पनि त्यही भनेका थिए।
उनीहरूलाई भैरहवा हुँदै भारत लगियो। नेपाल-भारत सीमानाका सुनौलीमा दिल्ली प्रहरीका एसिस्टेन्ट कमिश्नर (एसीपी) प्रीत पाल सिंह सहित प्रशस्तै प्रहरीहरू कुरिरहेका थिए। उनीहरू यताबाट लगिएका कश्मीरीहरूलाई लिएर हिँडे। काठमाडौंबाट गिरफ्तार भएका सबै कश्मीरीलाई एउटै डोरीले लहरै बाँधिएको थियो। एकअर्कासँग बाँधिएरै पिसाब गर्न विवश थिए उनीहरू। बाटोमा एकपटक खाजा खान उनीहरूलाई एउटा आर्मी क्याम्पमा रोकिएको थियो। त्यति वेला गरिएको सबै अमानवीय व्यवहार अलीलाई एक-एक सम्झना छ।
भारतीय भूमिमा प्रवेश गर्नासाथै उनीहरूमाथि कुटपिट शुरू भयो। गोरखपुरमा बन्दीलाई खुवाउन रोकिँदा अलीलाई त लागेको थियो, यो नै उनको अन्तिम खाना हो। एसीपीले उनीहरूलाई ‘स्थिति खासै राम्रो देखिँदैन’ भनेका थिए। अलीले प्रहरीले अर्को एउटा गैरन्यायिक हत्याको मञ्चन गर्ने अनुमान गरिरहेका थिए। एउटा झूटो ‘इन्काउन्टर’ गरेर उनीहरूबाट प्रहरीले मुक्ति पाउनेछ, उनले यस्तै सोचेका थिए। त्यसैले अन्तिम खानामा दही दिन उनले प्रहरीसँग अनुरोध पनि गरे। उनको अनुरोध सुनेर एसीपी प्रीत पाल सिंह खूब हाँसे।
“हामी तिमीहरूलाई मार्दैनौं,” उनले भने।
जुलाई २०१९ मा सबै आरोपबाट सफाइ पाएर जेलमुक्त भएको केही दिनपछि अलीलाई मैले श्रीनगरको हसानबादस्थित उनकै घरमा भेटें। उनी ‘दशकौंपछि जेलमुक्त भएका निर्दोष कश्मीरीहरू’मध्ये मैले भेटेको पहिलो व्यक्ति थिए। त्यसो त मेरो भन्दा पनि कम समयको करिअर भएका कश्मीरका अन्य पत्रकारहरू भने त्यस्ता दर्जनौं निर्दोष व्यक्ति भेटेको दाबी गर्छन्। उनलाई मैले भेट्न जाँदा कोठामा अन्य मानिसहरू पनि थिए। नातेदार, छरछिमेकी र अपरिचितहरू उनलाई भेट्न, खुशी बाँड्न र इतिहासको एक हिस्सा हुन आएका थिए। यी सबैको माझ मैले उनीसँग एक घण्टाभन्दा बढी कुराकानी गरें।
त्यो दिनको एउटा प्रसङ्ग भने बिर्सन सकिँदैन। अलीका आँखाले आश्चर्यमिश्रित भाव देखाइरहेका थिए। त्यो विस्मय अविश्वासमा रुमल्लिएको खुशीले पैदा गरेको थियो। बाहिरी दुनियाँले मात्र उनलाई जेलमुक्त भएकोमा विश्वस्त बनाएको पाएको थिएँ मैले। रोएको र अनिदो भएकाले होला शायद उनका आँखा राता थिए। उनी भर्खरै जादू देखेको बच्चा जस्तै देखिन्थे। सबै थोक साँच्चिकै भइरहेको होस् भनेर कामना गरिरहेका थिए।
यो सामग्री तयार पार्ने सिलसिलामा यही वर्ष फेरि हाम्रो भेट भयो। शुरूमा त मैले उनलाई चिन्नै सकिनँ। उनले विवाह गरेका थिए। अलि मोटाएका पनि थिए। पछिल्लो पटक भेट भएयता उनले दुई-चार पैसा कमाउन अनेकौं उपाय खोजिरहेका थिए। जुलाईको चर्को गर्मीमा हाम्रो भेट श्रीनगरको पुरानो बस्तीमा भएको थियो। म अलीसँगै उनको कारमा बसेको थिएँ।
प्रहरी र सशस्त्र प्रहरीका केही जीप हामीनेरैबाट हुइँकिएर गए। “उनीहरू पक्कै पनि लालबजारतिर गइरहेको हुनुपर्छ,” अलीले भने, “त्यहाँ एक जना प्रहरी मारिएका छन्।”
उनी हरबखत बित्थैमा समस्या र तनाव भोग्नुपर्ला भनेर तर्सिरहन्थे। अली जसरी विना अपराध आधा जिन्दगी बन्दी भएका जोकोही पनि त्यसरी नै तर्सिरहन्छ।
यो सामग्री तयार पारिरहँदासम्म लाजपत नगरको बम विस्फोटनको घटनामा शुरूमा पक्राउ परेका १० जनामध्ये दुई जना अहिले पनि जेलमै छन्। त्यो घटनामा १७ जना आरोपित थिए। ६ जना कहिल्यै पक्राउ परेनन्। अहिले पनि थुनामा रहिरहेका चाहिं मुहम्मद नौसद र जावेद खान हुन्। सन् २०१३ देखि उनीहरूको याचना सर्वोच्च अदालतमा मुल्तबीमा छ। गत अक्टोबरमा तीन सदस्यीय इजलाशमा उनीहरूको मुद्दाको सुनुवाइ हुने गरी पेशी तोकिएको थियो, तर त्यसअघि जस्तै यो सुनुवाइ पनि भएन।
उनीहरू पनि मुक्त भए भने त्यो घटना अरू थुप्रै नसुल्झिएका आतंकवादी अपराधको सूचीमा थपिनेछ जसमा असंख्य निर्दोषहरू विना अपराध दशकौंसम्म थुनिएका छन्। ती निर्दोषहरू मुसलमान हुन्। खासगरी कश्मीरी मुसलमान।
अध्याय एकः गिरफ्तारी
बम विस्फोटन हुनुभन्दा तीन दिनअघि दिल्लीका अतुल नाथले प्रहरीमा आफ्नो कार हराएको उजुरी (एफआईआर) दिएका थिए। उनको सेतो मारुती हराइरहेको थियो। २१ मेमा बम विस्फोट भयो। विस्फोटमा परेर लाजपत नगरको सेन्ट्रल मार्केटमा पसल गर्ने सुवास चन्द कतारले भाइ र आफ्नो बायाँ कानको श्रवणशक्ति गुमाए। उनले बयानका क्रममा सेतो मारुती कारबाट विस्फोट भएको सुनेको बताए। त्यो बयान नै प्रहरीका लागि एफआईआरको आधार बन्न पुग्यो।
त्यसको दुई हप्ता नपुग्दै दिल्ली प्रहरी नेपालबाट कश्मीरी मानिसहरूको यो सानो समूहलाई लिएर विस्फोटबारे आफैंले तयार पारेको मान्यताको संसारमा लगिरहेको थियो। यो नै परिस्थितिजन्य प्रमाण र पूर्वानुमानको भुलभुलैयाको थालनी थियो। त्यो भुलभुलैयालाई साथ दिने अर्को तङ्खव थियो, जावेद खानको कायलनामा। त्यही वर्षको गणतन्त्र दिवसका दिन ‘सवाई मान सिंह स्टेडियम’ मा भएको विस्फोटको घटनामा आरोपित जावेद त्यति वेला जयपुरमा थिए।
गिरफ्तार कश्मीरीहरूलाई लिएर हिंडेका जीपहरू लोधी कोलोनीस्थित दिल्ली प्रहरीको स्पेशल सेलतिर लागे। “यो दिल्ली हो,” अनुहार ढाकिएका मानिसहरूलाई उनीहरूले भने, “अब थाहा पाउनेछौ।” सेलमा पुग्न नपाउँदै एक जना प्रहरी आएर बाँधिएका मध्ये एक जनालाई मुख छाड्दै झापड हाने। सोधपुछ त शुरू भएकै थिएन।
अलीलाई झापड हानिएन। अलीले बताए अनुसार उनलाई गरिएको सिंगो सोधपुछ एउटै प्रश्नमा रुमल्लिएको थियोः तँ जावेद करिवरलाई कसरी चिन्छस्? यो प्रश्न अलीका लागि भने अलि अनौठो थियो। सन् १९९० को दशकमा सशस्त्र विद्रोही समूहका सदस्यहरूलाई चिन्नु आम कश्मीरीका लागि एकदमै सामान्य थियो।
“मैले उनीहरूलाई भनें, म सलाउद्दीनलाई चिन्छु, मुस्ताक लतरामलाई चिन्छु, यासिन मालिकलाई चिन्छु,” उनले त्यति वेला सुपरिचित विद्रोही नेताहरूको नाम सम्झिए, “यो त कश्मीरका हिंसात्मक संघर्षको विशेषता नै थियो। यी मानिसहरू हाम्रो छिमेकमा हरेक दिनजसो घुमिरहन्थे। उनीहरूले कश्मीरी पण्डितका परित्यक्त घरहरूलाई आफ्नो कार्यालय बनाएका थिए।” (जावेद करिवर र जावेद खान दुई फरक मानिस थिए। प्रहरीका अनुसार, लाजपत नगरको घटनामा करिवर कहिल्यै पनि पक्राउ परेनन्।)
लोेधी कोलोनीस्थित प्रहरी चौकीको हिरासतमा उनीहरूलाई १० दिनसम्म राखियो। प्रहरीले एउटा सादा कागजमा गिरफ्तार मानिसहरूको हस्ताक्षर लिएर उनीहरूलाई बाँच्न पुग्ने राशनका रूपमा रोटी र भारतीय प्रहरीको विशेषता बनेको पानी जस्तो दाल दिने गरेको थियो। कहिलेकाहीं ‘राम्रो अफिसर’ आउँदा त्यो दिनचर्यामा थोरै फेरबदल हुन्थ्यो- बन्दीहरूले चिया खान पाउँथे।
एक बिहान उनीहरूलाई दाह्री खौरेर अदालत लैजान तयार पारियो। प्रहरीले भने, “हामीले भने अनुसार तिमीहरूले गर्यौ र राम्रो व्यवहार देखायो भने छुट्नेछौ।”
अदालतमा जस्तोसुकै प्रश्न गरिए पनि मौन रहन र केही पनि नभन्न निर्देशन दिइएको अली बताउँछन्। तर, अलीका साथी निस्सारले आफ्ना साथीहरूलाई न्यायाधीशसामु आफूहरू निर्दोष भएको बताउन सिकाए।
हिन्दी फिल्म हेरेको भएर होला उनीहरूले अदालत दयालु हुन्छ भन्ने आश गरेका थिए। तर, उनीहरूले कामना गरे जस्तो यथार्थ थिएन। उनीहरूलाई जुन न्यायाधीशसामु प्रस्तुत गराइयो, उनले तिनीहरूलाई प्रहरी हिरासतमा राख्ने आदेश दिने बाहेक एक शब्द पनि बोलेनन्। गिरफ्तार मानिसहरूले यसको अर्थ के हो वा यो किन भइरहेछ भन्नेबारे एक शब्द पनि थाहा पाएनन्।
त्यति वेला उनीहरूका वकील पनि थिएनन्। बरु उनीहरूलाई बस टर्मिनलमा लगेर भारतीय मिडियाको अघिल्तिर लाजपत नगर बम विस्फोटका अभियुक्तका रूपमा प्रस्तुत गरियो। उनीहरूलाई पत्रकारसँग बोल्ने छूट पनि दिइएन।
एक हप्ताभन्दा बढी समय उनीहरूलाई पुनः हिरासतमा राखियो र उही पुरानै व्यवहार गरियो। एउटा सानो घटनाले मात्रै त्यो दिनको दिनचर्यामा थोरै परिवर्तन ल्यायो। उनीहरूलाई राखिएको तीन फुट चौडाइ र आठ फुट लम्बाइ भएको सेल बाहिर रहेका एक प्रहरीले प्लास्टिकको झोलामा तातो दाल राखेर कतै गए। त्यही वेला अर्का एक प्रहरी आएर हेर्दै नहेरी त्यो झोलामाथि बस्न पुगे। प्लास्टिकको थैली फुट्यो। तातो दालले पोलेर ती प्रहरी निकै जोडले चिच्याए। त्यो देखिरहेका बन्दी कश्मीरीहरूको हाँसोको फोहरा फुट्यो।
अदालतमा हाजिर हुने अर्को दिन उनीहरूलाई न्यायिक हिरासतमा पठाइयो। त्यो निर्णय केवल औपचारिकता थियो, जसले उनीहरूमाथि लगाइएको आरोपलाई पेचिलो बनाउने बाहेक अरू केही गरेन। प्रहरीले जुटाएका प्रमाणहरूका आधारमा लाजपत नगर बम विस्फोटका अभियुक्तलाई जेलमै राख्नुपर्छ भनेर अदालतलाई सहमत गराउन सरकारी वकीललाई निमेषभर पनि समय लागेन।
त्यो रात सबै बन्दीले तिहाड जेलको एउटा वार्डमा बिताए। अर्को दिन बिहानै उनीहरूलाई भिन्नाभिन्नै वार्डमा लगियो। अलीलाई एक जना युवासँगै उच्च सुरक्षा व्यवस्था भएको वार्डमा पठाइयो। ती युवा आफूलाई दिल्लीको उच्चपदस्थसँग सम्बन्धित आरोपमा फसाइएको दाबी गर्थे। नयाँ बन्दीमाथि आफ्नो प्रभुत्व देखाउन एक जनाले अलीलाई शरीर मालिस गर्न लगाए। अली बाध्य थिए।
वार्डमा एकदमै गर्मी थियो। जे होस्, वार्डमा सँगै परेका मुम्बईका युवाले उनलाई नोटबूक, चप्पल, कचौरा, थाल ल्याइदिए। २५ वर्षपछि पनि अलीलाई ती युवाको नाम याद छ। उसको त्यो व्यवहारले उनलाई गहिरो मित्रताको अनुभूति दिलाएको थियो।
अध्याय दुईः पूर्वाग्रह
खोज पत्रकार एवं लेखक जोसी जोसेफ भन्छन्, “निर्दोष कश्मीरी जनतामाथि गैरकानूनी र गलत क्रियाकलाप गर्ने सुरक्षा अधिकारीहरूको जवाफदेहीमा बढ्दो गिरावट छ।”
सन् १९८७ मा विवादित प्रान्तीय निर्वाचनले कश्मीरमा हुलदंगा मच्चायो। जसमा दिल्लीस्थित संघीय सरकारले प्रत्यक्ष भूमिका खेलेको थियो। कश्मीरमा सिर्जना भएको असन्तोष चुलिएर पृथक्तावादी सशस्त्र विद्रोह शुरू भयो।
जोसीका अनुसार, कश्मीरी मुसलमानमाथि सुरक्षा निकायले गर्ने आशंकाको पछाडि ३० वर्षपछि पनि त्यही इतिहासले भूमिका खेलेको छ। कश्मीरका सैन्य समूहलाई हातहतियार दिएर सघाउने पाकिस्तानसँगको निरन्तर बढ्दो तनावले यो आशंका झनै गहिरो बनाएको छ। सन् १९९० को दशकमा भएको हिन्दू दक्षिणपन्थको उदयले मुसलमान समुदायप्रतिको घृणालाई भारतीय राजनीतिको मूलधारमा ल्याइदिएको जोसेफको विश्लेषण छ।
सन् २०१९ मा ‘कमन कज’ र ‘सेन्टर फर द स्टडी अफ डिभलपिङ सोसाइटिज्’ ले भारतभर नै प्रहरीमा रहेको मुसलमान समुदायप्रतिको घृणाबारे एक सर्वेक्षण गरेको थियो। उक्त सर्वेक्षणको निष्कर्ष थियो, आधाजति प्रहरीहरू मुसलमानहरू ‘प्राकृतिक रूपमै’ हिंसाकेन्द्रित छन् भन्ने ठान्थे। “जब हामीले विभिन्न समुदायप्रति प्रहरीहरू कस्तो धारणा राख्छन् भनेर हेर्यौं, ठूलो हिस्सा मुसलमानप्रति पूर्वाग्रही भएको पायौं,” सर्वेक्षणमा लेखिएको छ।
“प्रहरीमा मुसलमानप्रति पूर्वाग्रह हुनु एकदमै स्वाभाविक हो,” लेखक एवं प्रहरी अधिकारी विभूति नारायण रायले मलाई भनेका थिए, “यो पूर्वाग्रह शून्यबाट सिर्जित होइन, बरु राज्य विरुद्ध मुसलमानहरूको हिंसात्मक क्रियाकलापले बढाएको हो।” कुनै अल्पसंख्यक समुदायका कोही कसैले गरेको अपराधलाई राज्यले आफ्नो अस्तित्वमाथिकै हमलाका रूपमा लिने गरेको छ। यो मानसिकतालाई राय यसरी व्यक्त गर्छन्ः ‘राज्यले सधैंभरि हिन्दूलाई साथ दिने गरेको छ भने उनीहरूले बम किन पड्काउनुपर्छ? त्यसले त मुसलमान समुदायलाई नै अप्ठ्यारोमा पार्छ।’
राय सन् १९८७ को हसिमपुरा नरसंहारका प्रमुख अनुसन्धानकर्ता हुन्। उनी आफैं उक्त घटनालाई भारतीय राज्यसत्ताले मुसलमान विरुद्ध गरेको पूर्वाग्रहको सबैभन्दा ठूलो अपराध भन्छन्। उक्त घटनामा हतियारले सुसज्जित प्रहरी जत्थाले ४२ जना मुसलमानहरूको हत्या गरेको थियो। ३१ वर्षपछि सन् २०१८ मा दिल्ली उच्च अदालतले घटनाबारे शुरूआति अदालतले गरेको फैसला उल्ट्याउँदै घटनामा संलग्न भएको पुष्टि गर्दै १६ जना पूर्व प्रहरीहरूलाई जीवनकैदको सजाय सुनाएको थियो।
फैसलाको क्रममा दिल्ली उच्च अदालतले उक्त घटनालाई ‘कानून परिपालना गर्ने निकायमा रहेको संस्थागत पूर्वाग्रह झल्किने गरी भएको नियोजित हत्या’ को संज्ञा दिएको थियो। (सन् २०१८ मा प्रकाशित ‘कमन कज-सीएसडीएस स्ट्याटस अफ् पोलिसिङ रिपोर्ट’ मा पनि उक्त फैसला यसरी उद्धृत गरिएको थियोः ‘प्रहरीको काम कारबाहीमा संस्थागत विभेद एउटा हिस्सा बनेको छ भन्ने तथ्यलाई अस्वीकार गर्न सकिँदैन।’)
राज्यको कामकारबाहीमा रहेको यो पूर्वाग्रह भारतका मुस्लिमको जीवनमा महामारी नै बनेको छ। कश्मीरको हकमा त यो पूर्वाग्रह झनै बढी छ। त्यसैले त अली जस्ता युवाले श्रीनगरको कुनै घरलाई देखाएर भन्न सक्छन्- त्यहाँ सन् १९९० का दशकमा मलाई सात दिनसम्म यातना दिइएको थियो।
यही पूर्वाग्रहका कारण शंकाको घेरामै नपरेका मुसलमानको नाम अदालतको अभिलेखमा पर्छ र निचोड जे भए पनि जीवनभर एउटा धब्बाका रूपमा रहन्छ। उनीहरूलाई विना कारण यत्तिकै उठाइन्छ। केही प्रश्नहरू सोधिन्छ, जसको जवाफ पक्राउ गर्नेले पहिले नै तयार पारेका हुन्छन्। उनीहरूलाई थुनिन्छ र आकलन गरिएका प्रमाण र सम्बन्धहरूको जञ्जालमा पारिन्छ।
गिरफ्तार व्यक्तिले आफ्ना लागि वकील फेला पार्दासम्म प्रतिरक्षामा अनेकौं आरोपहरूको पर्खाल नै खडा गरिसकिएको हुन्छ। ती आरोपहरूले सिर्जना गरेको स्थानमा ओरोपितको जिन्दगी सकिन्छ। वास्तवमा स्वतन्त्रताको स्वादै नै फेरिएको छ र यो केवल मुद्दा बन्न पुगेको छ। मोहम्मद अली भटको मुद्दा।
तालको किनारमा भेट्दा अलीले मलाई सन् १९९० को दशकको शुरूआत ताकाको कथा सुनाए, जति वेला उनी २०-२१ वर्षका जवान थिए। जब सम्भावित विद्रोही वा विद्रोहीसँग आबद्धको पहिचान गर्न भन्दै अलीहरूलाई पंक्तिबद्ध गराइयो, त्यति वेला प्रहरीका सूचनादाताले टाउको हल्लाएका थिए। ती सूचनादाता जीपमा बसेका थिए र उनको अनुहार ढाकिएको थियो। तर, अली उनलाई आफूले चिनेको र किन उसले टाउको हल्लाएको थियो भन्ने पनि थाहा भएको दाबी गर्छन्।
“केही समयअघि मलाई जस्तै उसलाई विद्रोहीहरूले समातेका थिए,” उनले व्याख्या गरे, “त्यति वेला मैले उनलाई बचाओस् भन्ने उनी चाहन्थे, किनभने विद्रोहीहरूमध्ये एक जना त्यो सबथोक हुनुभन्दा पहिला मसँगै खेल्ने गर्थे। उनले त्यही द्वेष राखेका रहेछन् र मलाई गलत तरीकाले चिनाए।”
कुराकानीका क्रममा अलीले यताउता टाउको घुमाउँदै र पार्कमा बडो सहजताका साथ घुमफिर गरिरहेका जोडीलाई हेरेर आश्चर्यचकित हुँदै निकै चुरोट पिए। शुरूमा त मलाई उनी निकै विचलित अवस्थामा होलान् भन्ने लागेको थियो, तर उनले आफूलाई पुनर्जागृत गराइसकेका थिए। उनको बोलीमा आत्मविश्वास थियो। नजर तिखा र सीधा थिए। उनको हाँस्यचेत पनि बडो गजबको थियो। जब मैले उनलाई बच्चाबच्ची जन्मे कि छैनन् भनेर सोधें, उनले जवाफ दिए, “अहिलेलाई त म आफैं बच्चा हुँ।”
उनी वयस्क हुनुअघि नै व्यवसायी भइसकेका थिए। कलेज जानुको साटो गलैंचा व्यापारमा लागेका थिए। उनका अनुसार, उनका पिता हाजी शेर अली भट कश्मीरभरमा दुई सयभन्दा बढी तानका मालिक थिए। सन् १९९० को दशकमा जति वेला हिंसा दैनिक जीवनको अंग बनिसकेको थियो, त्यति वेला पनि अलीले हरेक दिन एक हजार पाँच सयदेखि दुई हजार भारतीय रुपैयाँसम्म कमाउँथे। “र, कहिलेकाहीं राम्रो व्यापार भएको दिन त १० हजारसम्म कमाइ हुन्थ्यो,” अलीले भने। उनले छिमेकमै केही कालिगडलाई जागीर दिएर आफ्नै तान पनि शुरू गरिसकेका थिए।
तर, द्वन्द्वका कारण व्यवसायहरू धराशायी भए। व्यापार-व्यवसायका लागि त यात्रा गर्नुपर्छ। हरेक यात्रामा भोग्नुपर्ने सैन्य जाँचले भने दिक्दार बनाउँथ्यो। टाढा टाढा रहेका शेर अलीका तानहरूसम्म पुग्नै गाह्रो हुन थाल्यो। जीवन जोखिममा नराखी यात्रा गर्ने अर्को विकल्प नै थिएन।
“एक पटक हामी कुलगाम जाँदै थियौं, हामीलाई सैनिक पोस्टनेर रोकियो,” अलीले सुनाए, “मेरो बुबाको खानतलासी लिइसकिएको थियो, त्यसपछि मेरो पालो थियो। मेरो खल्तीमा सिग्रेटको प्याकेट थियो। जब सैनिकले मेरो खानतलासी गर्न थाले, मैले उनलाई बुबाका अगाडि त्यो प्याकेट ननिकाल्न संकेत गरें। धन्न उनले कुरा बुझे।”
त्यस्तो समयमा कसैले पनि व्यवसाय सुचारु राख्ने कल्पना गर्न सक्दैनथ्यो। त्यसैले कालिगडहरू काम खोज्न घरैसम्म आउँदा पनि शेख अलीले काम अगाडि बढाउन नसक्ने बताए। हजारौं कश्मीरी अभिभावकले जस्तै उनले पनि छोरालाई कश्मीर छोडेर जान बारम्बार कर गर्न थाले।
बुबाकै करले अली हरेक वर्षजसो दिल्ली जान थाले। “दिल्लीमा मैले फेरि जीवन देखें,” पुराना दिन सम्झिँदै अलीले भने, “जहाँ दिनभरि काम गरेपछि तपाईं साँझपख घुम्न जान सक्नुहुन्थ्यो। केही कुराको पनि डर, चिन्ता मान्नुपर्दैनथ्यो।”
व्यवसायकै सिलसिलामा उनी अर्को देश नेपाल पुगे। सामान छोड्न र पैसा उठाउन आउने क्रममा उनको मनमा काठमाडौंमै एउटा गलैंचा गोदाम खोल्ने योजना पलायो। उनीसँगै उनका भाइ जफर पनि आए। जफरले कश्मीरबाट प्रशस्त हाते उत्पादनहरू लिएर आएका थिए। उनीहरू काठमाडौं आए। पसल खोले। सबथोक ठीकठाक चल्दै थियो जबसम्म टोपी लगाएका अग्ला मानिसहरू ढोकामा आइपुगेका थिएनन्।
अध्याय तीनः जयपुरको जेलमा
लाजपत नगरमा बम विस्फोट भएको अर्को दिन राजस्थानको दौसा जिल्लाको समलेती गाउँ नजिकै एउटा सरकारी बसमा विस्फोट भएको थियो। उक्त विस्फोटमा १४ जना मानिसको ज्यान गएको थियो भने ३७ जना घाइते भएका थिए। लाजपत नगर बम विस्फोटकै जिम्मा लिएको संगठन ‘जेकेआईएफ’ ले सञ्चार संस्थाहरूलाई फोन गरेर यसको जिम्मा लिएको थियो। अलीलाई उक्त घटनामा पनि मुछियो। तिहाड जेलमा ल्याएको केही दिनमै अलीलाई जयपुर लगियो र त्यहाँ एक रात राखियो।
बिहानपख उनलाई दौसा जिल्लाका न्यायाधीश सामु उपस्थित गराइयो। अली सम्झिन्छन् उनलाई न्यायाधीशले त्यति वेलै भनेका थिए, “हेर बाबु, मलाई तिमी निर्दोष हौ भन्ने थाहा छ, तर म तिमीलाई केही सहयोग गर्न सक्दिनँ।” राजस्थान प्रहरीले उनलाई दुई हप्तासम्म हिरासतमा राख्ने अनुमति मागेको थियो। तर, ती न्यायाधीशले त्यो माग अस्वीकार गर्दै केही दिनका लागि मात्र हिरासतमा राख्ने छूट दिए। अलीका अनुसार, ती न्यायाधीशले त्यति वेला प्रहरीहरूलाई ‘के तिमीहरूले उसलाई अहिले नै मारिहाल्नुपर्छ?’ भनेका थिए।
अदालत परिसरमा लैजाँदै गर्दा उनले प्रहरीको ट्रकबाट दुई जना मानिस निकालिँदै गरेको देखे। उनीहरू समलेती र लाजपत नगर घटनाका आरोपितमध्येकै फारुख खान र अब्दुल गनी थिए। नेपालबाट पक्राउ परेकामध्ये निस्सारलाई अलीलाई ल्याइएको केही दिनमै राजस्थान ल्याइएको थियो, तर लातिफलाई भने अर्को मुद्दामा जाँचबुझका लागि गुजरात लगिएको थियो।
अली र निस्सारले जेलको एउटै सेलमा अर्को पाँच महीना गुजारे। त्यो नै उनीहरूको खाने, बस्ने, नुहाउने, सुत्ने ठाउँ थियो। अलीका अनुसार, उनीहरूलाई त्यो सेलबाट एक पटक पनि बाहिर निस्कन दिइएको थिएन। “त्यहाँ त मेरो कपाल नै खस्न थालेको थियो”, अली सम्झिन्छन्।
अलीलाई लाग्छ, उनीहरूलाई प्रहरीले, भारतीय सेनाले र नाम थाहा नभएका अरू संस्थाका मानिसहरूले केरकार गरेका थिए। “मलाई केही पनि थाहा थिएन, त्यसैले मैले उनीहरूलाई केही पनि भन्न सकिनँ,” उनी भन्छन्।
तिहाड जेलमा जस्तो राजस्थान जेलमा अरू बन्दीले उनीहरूसँग भेट्न वा कुराकानी गर्न पाउँदैनथे। तैपनि, त्यहाँ शुभचिन्तकको कुनै कमी थिएन। परवेज नाम भएका एक जना पाकिस्तानी बन्दीले अलीलाई एक दिन क्यान्टिनबाट ‘लाइफबोय’ साबुन ल्याइदिएका थिए। अलीले केही महीनादेखि नै नुहाउन पाएका थिएनन्, त्यसैले उनले यो खुशी थाम्नै सकेनन्। उल्लासित भएर उनले उही सेलका अर्का एकजना सिख बन्दीलाई भने, “राजु, मैले साबुन पाएँ।”
राजुले विश्वास नगरेपछि उनले साबुन देखाए। साबुन देखेपछि राजुले पनि नुहाउने चाहना व्यक्त गरे। उनको पगडीभित्र गुम्सिएको कपाल नुहाउँदा साबुन नै सकिने देखेपछि अलीले पहिला आफूले नुहाएर बल्ल साबुन दिने निधो गरे। महीनौंपछि उनले आफ्नो जिउको एक सेन्टिमिटर पनि बाँकी नरहने गरी साबुन लगाएर मिचिमिची नुहाए। त्यसपछि उनले फिर्ता आउने आशै नगरी साबुन राजुलाई दिए।
६ महीनापछि जेलका सुपरिटेन्डेन्टले उनीहरूलाई दिनको ३० मिनेट सेल बाहिर निस्कन पाउने अनुमति दिए। वार्डमा टहल्दै गर्दा अलीले सोचे- उनका भाइ जफरको हालत के भयो होला? त्यतिन्जेल उनी न परिवारको सम्पर्कमा थिए न त कुनै खबर नै पठाउन पाएका थिए। यो अवस्था त्यति वेलासम्म परिवर्तन भएन, जबसम्म अदालतमा नियमित हाजिरीको क्रममा एक जना कश्मीरी महिला देखा परिनन्। उनी फारुख खानकी श्रीमती थिइन्, जो आफ्नो पतिलाई भेट्न दुई जना साना छोरीहरू सहित राजस्थानसम्म आइपुगेकी थिइन्।
फारुखलाई दिल्ली पठाइसकिएकाले उनले भेट्न त पाइनन्, तर अलीको परिवारसम्म खबर पुर्याइदिन तयार भइन्। त्यति मात्रै होइन, त्यहाँबाट जानुअघि उनले केही खाना र अरू सामान समेत ल्याइदिइन्। त्यति वेला आफूमाथि देखाइएका दयामध्ये त्यो एक भएको उनी सम्झिन्छन्।
जेलबाट छुटेपछि मात्रै उनले आफ्नो गिरफ्तारीपछि परिवारले केकति सास्ती भोग्यो भन्ने थाहा पाए। अली र अरूहरू मारिएको अफवाह फैलिएको थियो। अलीका पिता शेर अली आफ्ना छोरा खोज्दै नेपालसम्म पुगेका थिए। त्यहाँ पुगेपछि उनले जफरलाई भेटे, जो ४० दिनपछि प्रहरी हिरासतबाट छुटेका थिए। त्यसपछि शेर अली आफ्ना अर्का छोराको खोजीमा लागेका थिए। फारुख खानकी श्रीमतीले जयपुरमा थुनिएको खबर नपुर्याउँदासम्म त्यो परिणामविहीन खोज बन्न पुगेको थियो।
हाजी शेर अली भट स्वाभिमानी मानिस थिए। जब एउटा चेकपोस्टमा उनलाई एक जना प्रहरी अधिकारीले सोधेका थिए, “अब क्या करना है? (अब के गर्ने हो?)” उनले जवाफ दिएका थिए, “मार दो, और क्या (मारिदेऊ, अरू के?)”
अलीले सुनाए- जीवनभर नै उनी आफ्नो छोराको रिहाइका लागि संघर्षरत रहे। व्यवसाय गुमाए, तर हिम्मत हारेनन्। कम्ता हैरानी खेप्नुपरेन उनले। अदालतमा हाजिर गराउने दिन पनि अलीसँग उनलाई भेट्न दिइँदैनथ्यो।
अली र निस्सारलाई नौ महीनासम्म राजस्थानकै जेलमा थुनियो। त्यसपछि उनीहरूलाई दिल्ली ल्याइयो, जहाँ न्यायिक हिरासतमा राखियो र तिहाड पठाइयो। सन् १९९९ को कार्गिल युद्ध ताका उनीहरूलाई फेरि राजस्थान पुर्याइयो। यता र उता गर्ने क्रम सन् २००० को गर्मी ताका रोकिन पुग्यो, जब उनीहरूलाई दिल्ली ल्याइयो र लाजपत नगरको बम विस्फोटमा संलग्न भएकोमा सजाय सुनाइयो। त्यसपछिका १२ वर्ष अलीले तिहाड जेलमै बिताए।
अध्याय चारः तिहाड
तिहाड जेलको जिन्दगीको एउटा नियम थियो। बिहान ६ बजे नै उठेर हाजिरी जनाऊ। खाजाको रूपमा चिया र दुई टुक्रा ब्रेड खाऊ। दिन काट्न लुँडो वा क्यारमबोर्ड खेल। दिउँसोको खानामा पानी जस्तो दाल र पाँच वटा रोटी खाऊ। त्यसपछि फेरि एक पटक चिया अनि रातिको खानाका रूपमा रोटी र दाल।
कश्मीरीहरू त भात खान रुचाउँछन्। अलीले यो दिनचर्या सुनाएपछि मैले उनलाई कसरी हरेक दिन रोटी खान सक्यौ भनेर सोधें। अलीले मलाई बताए- उनीहरूले एउटा निवेदन लेखेर रोटीको साटो भात मागेका थिए। त्यसैले एउटै सेलमा भएका चार जनामध्ये दुईजनाले भात र दुई जनाले रोटी एकअर्कासँग बाँडचुँड गरेर खान्थे।
चाडपर्वका दिनहरूमा साथीहरूले अलीलाई सोयाबिन वा पनीर राखिएको बिरयानी किन्न उक्साउँथे। जेलमा अलीले कसरत गर्न र पढ्न थालेका थिए। उनले हिन्दी अक्षरहरू चिनेर हिन्दी भाषा सिक्न थालेका थिए। त्यसका लागि उनी पत्रिका पढ्ने गर्थे। एक जना पञ्जाबी साथीले गुरमुखी अक्षरहरू सिकाएको पनि उनले बताए, तर त्यो भाषा उनले खासै सिक्न सकेनन्।
पढ्नेजसो काम प्रायः रातिमा हुन्थ्यो। उनलाई रात काट्नै मुश्किल हुन्थ्यो। उनलाई ‘इन्सोम्निया’ भएको थियो, तर डाक्टरले लेखिदिएको एन्जाइटीको औषधी किन्न सक्दैनथे। खाना नरुच्ने जस्ता समस्या त पटक पटक भइरह्यो। धन्न साथीहरूले कर गरी गरी खुवाउँथे र भोक जाग्थ्यो।
दिल्ली अदालतमा अलीसँगै खडा गराइएका अरू मानिस अन्तर्राष्ट्रिय ग्यांगस्टरद्वय टाइगर मेमन र दाउद इब्राहिम थिए। उनीहरू दुवै कश्मीरी थिएनन्। अली ‘आरोपित संख्या ६’ अर्थात् ‘ए६’ बनाइएका थिए। लाजपत नगर एफआईआरमा उनलाई भारतीय फौजदारी संहिता, विस्फोटक सामग्री ऐन, हातहतियार ऐन अन्तर्गत हत्या (३०२) र हत्या प्रयत्न (३०७) को आरोप लगाइएको थियो।
निजामुद्दीन एफआईआरमा उनी र अरू दुई जना आरोपितलाई हराइरहेको कार चोरीको आरोप पनि लगाइयो। अरू दुई दशकमा हजारौं अदालती कागजात तयार भइसकेका थिए, जसलाई नाम दिइएको थियो, ‘किल्ले’। यो कर्मचारीतन्त्रले बनाएको संक्षिप्त रूप थियो। उनको उपनामको उच्चारण बिगारेर कर्मचारीहरूले ‘किल्ले’ बनाइदिएका थिए।
कश्मीरमा आफ्नो छरछिमेकीमाझ उनी ‘अली क्ले’ नामले चिनिन्थे। चर्चित बक्सिङ खेलाडी मुहम्मद अली र उनको जन्मस्थान क्यासियस क्लेबाट उनले आफूसँग मिल्दो नाम जुराएका थिए।
अली र अरू आरोपितहरूका तर्फबाट दिल्लीका चर्चित वकील राजा मुहम्मद तुफयलले मुद्दा लडेका थिए। तर, उनको तरीकाबाट भने अली सन्तुष्ट थिएनन्। “उनी कस्ता थिए भने, ‘हो, हामीलाई सजाय देऊ हामी कश्मीरी र मुसलमान हौं’ भने जसरी प्रस्तुत हुन्थे,” अली भन्छन्, “म सोच्थें- किन उनले मुद्दा खारेज हुने गरी तर्क गर्दैनन्?”
पक्कै पनि तुफयल अलि नौटंकीबाज थिए, तर उनको मुद्दा पूरै रुचिका साथ लडेका थिए। एक पटक त तुफयलले दिल्ली प्रहरीका एक जना इन्स्पेक्टरलाई अदालतमै झापड हानेका थिए, तर त्यो अर्को घटना सम्बन्धी मुद्दा थियो। उनको नाटकीय प्रस्तुतिको प्रभाव जेजस्तो भए पनि अलीलाई त्यसले बेचैन बनाएको थियो। कति पटक त अली ती वकीलको उद्देश्य नै उनीहरूको पैरवी गर्ने होइन कि भनेर समेत सशङ्कित हुन्थे।
यही क्रममा मैले तुफयलका कनिष्ठ अनवर अहमद खानसँग पनि कुराकानी गरें। अलीले खानलाई बढी मन पराउँथे। मैले भेटेपछि खानले उदास बनाउने समाचार सुनाए। पछिल्लो वर्ष रक्तश्रावबाट पीडित तुफयललाई पक्षघात भएको थियो। उनी मुश्किलले मात्रै कुराकानी गर्न सक्थे।
अलीहरूको मुद्दामा प्रतिरक्षा गर्ने क्रममा केही कमी भएको अनवरले स्वीकारे, तर उनले तुफयलको अरू कुनै उद्देश्य हुन सक्ने सम्भावना भने अस्वीकार गरे। “त्यस्ता मुद्दा हेर्दा उनले पैसा पाउँदैनथे,” अनवरले तर्क गरे, “मलाई थाहा भएसम्म उनी कसैबाट पनि एक पैसा लिँदैनथे। राजस्थान जाँदा पनि उनी आफ्नै कारमा जान्थे। त्यस्तै घटनामा परेकाको मुद्दा लिएर आइपुगेकाहरूलाई पनि अरू वकीलहरूले तुफयलकहाँ पठाउँथे, किनभने उनीहरूलाई उनी सित्तैमा मुद्दा लडिदिन्छन् भन्ने थाहा थियो।”
अलीले आफूलाई लगाइएको आरोप गलत भएको याचना गरेका थिए। त्यसपछिका १० वर्षसमम उनी नियमित जसो अदालत ल्याउने-लैजाने चक्करमा परे। एकैनासको सुनुवाइको क्रममा उनको उपस्थिति दर्ज हुन्थ्यो। एउटा वा दुई वटा प्रत्यक्षदर्शीको बयान सुनिन्थ्यो। एउटा विरोध कहिलेकाहीं दर्ता हुन्थ्यो। फेरि एक पटक पुनः जाँचका लागि आदेश हुन्थ्यो। र, अर्को तारीखसम्मका लागि कामकारबाही रोकिन्थ्यो।
यो सुनुवाइ सन् २०१० मा सकियो। अदालतमा मुद्दा दर्ता भएकै १३ वर्ष भइसकेको थियो। यतिन्जेल अभियोजनकर्ताले १०७ जना प्रत्यक्षदर्शी उपस्थित गराएका थिए। तर, उनीहरूको बयानले सधैंजसो प्रहरीले तयार पारेको सिद्धान्तलाई साथ दिँदैनथ्यो। जस्तै- १५औं प्रत्यक्षदर्शी थिए, गजेन्द्रकुमार। बम विस्फोट हुँदा उनी लाजपत नगरको पार्किङ परिचारक थिए। उनी आफैं विस्फोटमा परेर घाइते थिए। अदालतमा कुन गाडीमा विस्फोट भएको थियो भन्ने सम्झना नभएको बताएपछि उनलाई होस्टाइल घोषणा गरिएको थियो।
न्यायाधीशसामु उनले दिएको बयान यस्तो थियो, “मैले त्यो दिन करीब साढे ५ बजेतिर दुई जना कश्मीरी युवाले सेतो कार पार्किङमा पार्क गरेको देखेको भन्ने गलत हो। उनीहरूले हतार हतार त्यो कार त्यहीं छोडेर मेन रोडतिर गएको भन्ने पनि गलत हो। करीब साढे ६ बजेतिर त्यही कारमा विस्फोट भएको भन्ने पनि गलत हो। मैले प्रहरीलाई ती युवाको अन्दाजी उमेर र अरू पहिचानबारे जानकारी दिएको भन्ने पनि गलत हो। आरोपितहरू मोहम्मद किल्ली र मिर्जा निसार अहमद र त्यो दिन कार पार्किङ गर्ने युवाहरू उही हुन् भन्ने पनि गलत हो।”
प्रहरीले आफूसामु उनले दिएको भनेको बकपत्र गजेन्द्रले अस्वीकार गरे। सरकारी वकीलले पुनः बयान लिए पनि उनले न्यायाधीशसामु दिएकै बयान दोहोर्याए। उक्त मुद्दामा खडा गरिएका अर्का प्रत्यक्षदर्शी इक्रम चाहिं कबाड व्यापारी एवं आरोपितमध्ये एकका छिमेकी थिए। उनले पनि आफूले घटना हुने दिन कश्मीरी युवालाई आरोपित छिमेकीको घरमा देखेको भनेर प्रहरीलाई बयान दिएको अस्वीकार गरे। प्रहरीसामु ती कश्मीरीको पहिचान गरेको पनि अस्वीकार गरे।
बिहारबाट आएका हिन्दू गजेन्द्र र मुसलमान इक्रम दुवै गरिखाने वर्गका निम्न आय भएका व्यक्ति हुन्। (फैसलामा उनीहरूको बयानलाई स्पष्टसँग उल्लेख गरिएको छैन।) प्रहरीसामु आफूहरूले झूट बोलेका थिए भनेर अदालतमा भन्न उनीहरूले आफ्नो तर्फबाट ठूलो हिम्मत गरेका हुन्। उनीहरूभन्दा राम्रो अवस्थामा भएका अरू थुप्रैले भने सुनुवाइका क्रममा पछि त्यस्तो हिम्मत जुटाउन सकेनन्।
अध्याय पाँचः सुनुवाइ
शुरूमा जिल्ला अदालतमा मुद्दाको नाम थियो, ‘राज्य विरुद्ध फारुख अहमद खान’। यो नाम तिनै महिलाको पतिको नामबाट राखिएको थियो, जसले अली जेलमा रहेको खबर उनका पितालाई पुर्याएकी थिइन्। सुनुवाइका क्रममा ‘ए१’ नाम दिइएका फारुख जम्मु-कश्मीरमा सरकारी इन्जिनीयर थिए। ‘ए१’ र ‘ए६’ बीचको सम्बन्ध यत्तिकै तयार पारिएको नामहरूको शृंखलामा समेटिनु बाहेक अरू केही थिएन। हरेक व्यक्तिको गिरफ्तारीलाई त्यसअघि पक्राउ परेकाको गिरफ्तारीलाई पुष्टि गर्न प्रयोग गरिन्थ्यो भने हरेक गिरफ्तारलाई त्यसपछि पक्राउ पर्नेको औचित्य सावित गर्न।
फारुखले बम विस्फोट भएको साँझपख विभिन्न सञ्चारमाध्यमलाई फोन गरेका थिए भन्ने दाबी सरकारपक्षको थियो। सरकार पक्षका अनुसार, आफ्नो नाम नबताईकन उनले ‘जम्मु एन्ड कश्मीर इस्लामिक फ्रन्ट’को ‘प्रमुख प्रवक्ता’ का रूपमा चिनाउँदै विस्फोटको जिम्मा लिएका थिए।
त्यतिवेला ‘जी टिभी’ मा कार्यरत पत्रकार विनोद काप्रीले आफूलाई त्यस्तै प्रकृतिको फोन आएको बयान दिएका थिए। “ऊ कश्मीरको बासिन्दा जस्तो सुनिन्थ्यो,” काप्रीले अदालतमा भनेका थिए, “किनभने उसले प्रशस्त उर्दू शब्द प्रयोग गरिरहेथ्यो।” यद्यपि, उनले आफूलाई कुन नम्बरबाट फोन आएको थियो भन्ने बताउन सकेका थिएनन्। दुःखलाग्दो त, मुद्दाका अनुसन्धाताले ती कुराकानीको रेकर्डिङ पनि फेला पार्न सकेका थिएनन्।
‘प्रेस ट्रस्ट अफ इन्डिया’ का पत्रकार अमिताभ राय चौधरीले पनि त्यो रात आफूले अफिसको नम्बरमा एउटा फोन उठाएको बताएका छन्। “त्यो आवाज एउटा युवाको थियो र ऊ कश्मीरीहरू जसरी बोल्छन्, त्यसरी नै हिन्दी बोलिरहेको थियो,” उनले बयान दिएका छन्। रायले फोन गर्ने व्यक्तिले ‘जेकेआईएफ’ ले लाजपत नगरमा बम विस्फोट गराएको बताएका छन्। रायसँग पनि आफूलाई फोन गर्ने व्यक्तिको नम्बर थिएन। एनडीटीभीकी पत्रकार सुपर्णा सिंहले भने अभियोजनकर्ताले भनेको स्वीकार गरिनन् र पछि उनलाई होस्टाइल भएको घोषणा गरियो।
ती बयानबारे पछि फैसलामा यस्तो लेखियो- ‘सञ्चारमाध्यमले दिएको बयानहरूबाट लाजपत नगरमा बम विस्फोटमा आफू जिम्मेवार भएको दाबी गर्दै फोन गर्ने व्यक्ति ए१ नै हुन् भन्ने स्पष्ट भएन।’
फारिदा दार नाम भएकी महिला दोस्रो नम्बरी आरोपित थिइन्। उनको र फारुख खानको नम्बरमा पटक पटक कुराकानी भएको आरोपमा उनलाई प्रहरीले षड्यन्त्रको सहयोगी रहेको आरोप लगाएको थियो। फारुखले बकपत्रमा आफूले फारिदाकी छोरीलाई नितान्त व्यक्तिगत कारणले फोन गर्ने गरेको बताएका थिए।
अदालत समक्ष फारुखले दिएको बयानले स्पष्टसँग प्रहरीले तयार पारेका मान्यताहरूको खण्डन गरेको थियो। उनले आफू पत्रकारहरूलाई फोन गएको भनिएको ठाउँ अनान्ताङमा नभई श्रीनगरमा बस्ने बताए। उनका अनुसार, घरको फोन बुबाको नाममा थियो र एसटीडी फोन लाग्दैनथ्यो अर्थात् दिल्लीमा फोन गर्न असम्भव थियो। त्यति मात्र होइन, उनले प्रहरीले आफूलाई यातना दिएको, २४ घण्टाभित्र न्यायालयमा उपस्थित गराउनुपर्ने न्यायिक अधिकार प्रदान गर्न अस्वीकार गरेको लगायतका आरोप पनि लगाएका थिए।
प्रहरीले फारुख र फारिदाको घरबाट हातहतियार बरामद गरेको दाबी पनि गरेको थियो। यसरी बरामद गरिएका सामग्रीको प्रत्यक्षदर्शीका रूपमा सीमा सुरक्षा बल (बीएसएफ)का सदस्यहरूलाई खडा गरिएको थियो, जबकि बीएसएफ आफैं एक प्रहरी संगठन नै हो। वास्तवमा, अभियोजनकर्ताले स्वतन्त्र प्रत्यक्षदर्शीका रूपमा प्रस्तुत गरेका बीएसएफका इन्स्पेक्टर प्रेम बल्लभ धयानीले उक्त जाँच बीएसएफका संयुक्त निर्देशक (जोइन्ट डाइरेक्टर) एम.एस. शर्माको रेखदेखमा भएको बयान अदालतसामु दिएका थिए।
फारुख र फारिदाले भने सबै प्रमाण नियोजित रूपमा तयार पारिएको दाबी गरिरहे। अभियोजनकर्ताले पनि उनीहरूको घरमा फेला परेका सामग्रीको लाजपत नगर बम विस्फोटसँग सम्बन्ध नरहेको स्वीकार गरे।
होस्टाइल प्रत्यक्षदर्शी, प्रक्रियागत त्रुटिहरू, स्वतन्त्र भनिएका बयानकर्ताहरूको बाझिने स्वार्थ सबैले अभियोजनकर्ताले तयार पारेको अनुमानलाई साथ दिइरहेका थिएनन्। तैपनि, मुद्दा सरकारतिरै ढल्कियो र अलीले अनुमान गरेभन्दा बढी पेचिलो भयो। उनको सिंगो दुनियाँ जेलको बार र अदालतको कठघरामै खुम्चियो। तथापि, अलीले सबथोक जेनतेन थेगिरहे।
(द क्याराभान, द वायर र परी लगायतका चर्चित सञ्चार माध्यममा लेख्ने स्वतन्त्र पत्रकार अदिल रसिदको यो रिपोर्ट फिफ्टी टु डट इनमा ‘किल्ले’ शीर्षकमा दुई भागमा प्रकाशित भएको छ। त्यसको पहिलो खण्डको लक्ष्मण श्रेष्ठले भावानुवाद गरेका हुन्। दोस्रो खण्ड अर्को साता प्रकाशित गरिनेछ।)