अनागरिक हुनुको अर्थ
अमेरिकी नागरिकता त्यागिसकेको र नेपाली नागरिकता प्राप्त गरी नसकेको अवस्थामा रवि लामिछानेले के के गर्न पाउँछन् र के गर्न पाउँदैनन् भन्ने विषयमा सर्वोच्च अदालतको फैसला मौन देखिन्छ।
दुई दशक पहिले बनेको अमेरिकी चलचित्र द टर्मिनलमा एउटा काल्पनिक देशको नाम छ- क्रकोजिया। त्यही देशका नागरिक भिक्टर एक दिन न्यूयोर्कस्थित जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्छन्।
भिक्टर अमेरिका त पुग्छन्, तर विमानस्थलबाट बाहिर निस्कनुअघि नै क्रकोजियामा सैनिक ‘कू’ हुन्छ। र, ‘कू’ पछि बनेको नयाँ सरकारलाई अमेरिकाले मान्यता दिंदैन। जसले गर्दा भिक्टरको राहदानी अमान्य हुन पुग्छ। राहदानी अवैध भएपछि उनी आफ्नो देश क्रकोजिया फर्किन मात्रै होइन, विमानस्थलबाट बाहिर निस्कन समेत पाउँदैनन्।
व्यावसायिक रूपमा सफल द टर्मिनल मार्फत निर्देशक स्टेभन स्पिलवर्गले राहदानी खारेजीमा परेका व्यक्तिले विमानस्थलमा अड्किंदा कस्ता कस्ता सास्तीको सामना गर्नुपर्छ भन्ने कुरालाई मिहिन ढङ्गले प्रस्तुत गरेका छन्।
माघ १३ गतेको सर्वोच्च अदालतको फैसलापछि एक महीना पहिले उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका रवि लामिछानेको अवस्था पनि झण्डै क्रकोजियाका भिक्टरसँग मिल्दोजुल्दो लाग्छ। सर्वोच्चको फैसलापछि सञ्चारकर्मीसँगको संक्षिप्त प्रतिक्रियामा लामिछानेले भनेका छन्, “म कहाँको नागरिक हुँ र? यतिखेर म अनागरिक हुँ, एउटा अनागरिकले के गर्छ मैले बुझेकै छैन।... म कहींको पनि होइन, अहिले।”
सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा सम्मिलित संवैधानिक इजलासले अमेरिकी नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै उनको सांसद पद खारेज भएको फैसला गरेको हो। ‘अतः प्रत्यर्थी रवि लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत् रूपमा नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया पूरा गरेको नदेखिएको हुँदा निजले प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार हुन वा पदमा निर्वाचित भई कायम रहन मिल्ने देखिएन,’ फैसलामा भनिएको छ।
इजलासको फैसलामा अगाडि भनिएको छ, ‘रवि लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता त्याग गरेको कुराको विधिवत् जानकारी सम्बन्धित अधिकारी (प्रमुख जिल्ला अधिकारी)लाई दिएको तथा नेपाल नागरिकता ऐन, २०६३ को दफा १० र ११ लगायत नेपाल नागरिकता नियमावली, २०६३ को नियम ११ बमोजिम तोकिएको प्रक्रिया बमोजिम नागरिकता जारी गर्ने कार्यालयमा गई निवेदन दिई प्रक्रिया पूरा गरेको भन्ने देखिंदैन।’
उम्मेदवार बन्नै अयोग्य भएपछि गत मंसीर ४ गते चितवन-२ बाट ४९ हजार ३०० मत पाएर प्रतिनिधि सभा सदस्य बनेका लामिछानेले निर्वाचित भएपछि पाउने सबै सुविधा गुमाउनेछन्। त्यति मात्रै होइन, २०७९ असार १७ मा दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको हैसियत समेत उनले गुमाएका छन्। यो कुरा लामिछाने स्वयम्ले पनि स्विकारिसकेका छन्।
अमेरिकी नागरिकता त्यागिसकेको र नेपाली नागरिकता प्राप्त गरी नसकेको अवस्था भनेको ‘अनागरिक’ हुनु नै हो। तर, यस्तो वेला पूर्व सञ्चारकर्मी समेत रहेका लामिछानेले के के गर्न पाउँछन् र के गर्न पाउँदैनन् भन्ने विषयमा चाहिं सर्वोच्चको यो फैसला मौन देखिन्छ।
“स्टेटलेसको अवस्था भनेको कुनै पनि राज्यले संरक्षण गर्न सक्ने अवस्था नरहनु हो,” संविधानविद् डा. विपिन अधिकारी भन्छन्, “अनागरिक भनिसकेपछि उनको हैसियत के रहने भन्ने विषयमा फैसला बोलेको छैन।”
फैसलाको पूर्ण पाठमा यो कुरा कति विस्तृतमा आउँछ अहिले नै ठोकुवा गर्न सकिंदैन। तर, कुनै पनि देशको नागरिक नरहेको भनिसकेपछि त्यस्तो अवस्थामा के गर्ने भन्ने समाधान चाहिं सर्वोच्चले दिन सकेको देखिंदैन।
कानून व्यवसायीहरूका अनुसार, लामिछानेमाथि झूटो विवरण बुझाएर सार्वजनिक पदमा पुगेको अभियोगमा कारबाही पनि हुन सक्छ। एकथरी कानून व्यवसायीहरू नेपाली नागरिकता प्राप्तिका लागि उनले सहजै प्रक्रिया अगाडि बढाउन सक्ने बताउँछन्। अमेरिकी नागरिकता त्यागिसकेको र नेपाली नागरिकता प्राप्त गरी नसकेको अवस्थामा लामिछानेको हैसियत के हुन्छ भन्ने प्रश्नको जवाफ भने कसैले दिएका छैनन्।
हास्यप्रधान कथानक चलचित्र द टर्मिनल इरानका शरणार्थी मेहरान करिमी नसिरी फ्रान्सको पेरिसस्थित एउटा विमानस्थलमा १८ वर्ष (सन् १९८८-२००६) बस्नुपरेको घटनाबाट प्रभावित रहेको बताइन्छ। यो चलचित्रको काल्पनिक देश क्रकोजियामा नौ महीनापछि लडाइँ समाप्त हुन्छ र भिक्टरको राहदानीले पुनः मान्यता पाउँछ।
तर, उनकै शब्दमा समेत अनागरिक बन्न पुगेका लामिछानेको नागरिकता विवाद कहिले सकिन्छ अहिले नै भन्न सकिंदैन।