प्राथमिक तहको हुर्कंदो उमेरमा विद्यार्थीहरूलाई सिर्जनात्मक रूपमा गणित सिकाउन सकियो भने उनीहरूले प्रभावकारी रुपमा ग्रहण गर्न सक्छन्।
सयमा करीब ७० जना विद्यार्थीले गणित अप्ठ्यारो माने भन्ने प्रतिवेदन सार्वजनिक हुँदा यो विषय साँच्चै सिक्नै नसक्ने गरी अप्ठ्यारो रहेछ भन्ने मनोविज्ञान समाजमा हावी हुँदै गएको छ। विद्यार्थीलाई मात्र होइन अभिभावकहरूलाई पनि गणितले शुरुमै मनोवैज्ञानिक त्रास दिइरहेको छ।
यो मनोवैज्ञानिक सन्त्रास कमजोर सिकाइका कारण सिर्जना भएको हो। गणित सिकाइ किन कमजोर भयो भन्ने बुझ्न हामीले हाम्रो पठनपाठनसँग जोडिएका केही पक्षमा ध्यान दिनुपर्छ।
सबैभन्दा पहिला, हाम्रो पाठ्यक्रममै समस्या छ। विद्यार्थीको आवश्यकता के हो? देशको आवश्यकता के हो? सम्बन्धित अन्य विषयहरूका लागि गणित कसरी उपयोगी छ? यी सबै बुझेर पाठ्यक्रम बन्नुपर्ने हो तर त्यसो हुन सकेको छैन।
पाठ्यक्रम अन्तर्राष्ट्रिय स्तरको भएन भन्ने गुनासो गरिन्छ तर हाम्रो मुख्य समस्या त्यो होइन। हामीले बनाएका पाठ्यक्रम कस्ता विद्यार्थीले पढ्छन् भन्ने बुझ्न जरुरी छ। हामीले आफ्नो देशको अवस्था अनुसारको पाठ्यक्रम बनाउने हो। यसो गर्दा विद्यार्थीको क्षमता र देशको आवश्यकता अनुरुप कुन क्षेत्रको विद्यार्थीले के जान्न आवश्यक छ सोही अनुसार पाठ्यक्रम बनाउनु पर्छ। जस्तै विज्ञानका विद्यार्थीलाई त्यही हिसाबले प्रतिस्पर्धी बनाउनुपर्छ।
व्यवस्थापनको विद्यार्थीलाई सोही खालको गणित चाहिन्छ। मानविकी र समाज विज्ञानका विद्यार्थीलाई त्यही अनुसारको गणित चाहिन्छ। सम्बन्धित विषयमा उपयोगी हुने गरी गणितको पाठ्यक्रम परिमार्जन गर्नुपर्ने आवश्यकता छ। यसका लागि माध्यमिक तहदेखि नै विशिष्टीकरण गर्दै लैजानुपर्ने खाँचो छ।
हाम्रो पाठ्यक्रम हेर्दा दुरुह बनाउन खोजिएको आभास हुन्छ जबकि सरलीकृत गर्दै लानुपर्ने हो। परीक्षाको प्रश्न पनि गाह्रो बनाएपछि अलिकति राम्रो काम गरियो कि भन्ने भान हाम्रा विज्ञहरूलाई परेको जस्तो छ। सामान्य प्रश्न सोध्नुपर्छ भनिएको होइन। प्रश्न सिर्जनात्मक बनाउने र त्यसको हल गराउने परिपाटीको विकास हुन सकेको छैन।
गणित सिकाइमा रहेको अर्को समस्या यसको शिक्षण पद्दति हो। हाम्रो शिक्षण पद्दति अहिले पनि परम्परागत नै छ। घोक्ने, कण्ठ गर्ने र प्रश्न हल गर्नेमै सिमित छ हाम्रो गणित शिक्षण। त्यसैले शिक्षकहरूलाई तालिम दिनुपर्ने अवस्था छ। गणितलाई घोक्ने, कण्ठ गर्नेमा सीमित नराखी देख्ने, सुन्ने र जीवनोपयोगी बनाउनुपर्छ।
गणितलाई जीवनसँग जोड्न शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने खालका कार्यक्रम सञ्चालन गर्नुपर्छ। गणित शिक्षकहरूलाई तालिम नै नभएको होइन। विभिन्न संस्थाहरूले आफ्नो क्षमता अनुसार यस्ता खालका तालिम सञ्चालन गर्ने गरेका छन्। नेपाल गणित समाज त्यसको एक उदाहरण हो। यद्यपि यस्ता प्रयत्न पर्याप्त छैनन्। तालिममा सिकिएका राम्रा र प्रभावकारी ज्ञान तथा सीप कक्षा कोठासम्म पुग्यो कि पुगेन भन्ने सवाल अहम् छ ।
यी कमजोरी सुधार्न सकियो भने गणित शिक्षणमा केही सुधार आउनसक्छ। बिजगणितका सुत्र र ज्यामितीका साध्यको जिन्दगीमा के नै काम छ र? जस्ता प्रश्न सुनिन्छन्। त्यसैले गणितको उपादेयता देखिन जरुरी छ। त्यसका लागि अभियान नै चलाउनुपर्ने देखिन्छ।
गणित अध्ययनमा आकर्षण कम हुनु नेपालको मात्रै नभई विश्वव्यापी समस्या हो। विश्वभर नै गणित विषयले विद्यार्थी गुमाइरहेछ। गणितलाई कसरी सरल, सहज र जीवनोपयोगी बनाउने भन्ने चुनौती नै छ।
प्राथमिक तहको हुर्कंदो उमेरमा विद्यार्थीहरूलाई सिर्जनात्मक रूपमा गणित सिकाउन सकियो भने उनीहरूले प्रभावकारी रुपमा ग्रहण गर्न सक्छन्। त्यस्तो सिकाइ दीर्घकालीन पनि हुन्छ। साना बालबालिका धेरै सिर्जनशील हुन्छन्। माथिल्लो तहमा जाँदै गर्दा उनीहरूले अरू सीप पनि सिक्दै जान्छन्।
सूचना प्रविधिको विकाससँगै त्यसमा गणितको ठूलो भूमिका रहेको बिर्सनुहुँदैन। डेटा साइन्स, प्रोग्रामिङ, कम्प्युटेसन, सिमुलेसनमा पनि गणितको अंश छ। यी सबै क्षेत्रमा दखल राख्न सक्नेगरी गणित सिकाइलाई बलियो बनाउनुपर्ने छ। सारमा गणित सिकाइ सुधारका लागि पाठ्यक्रममा सुधार, शिक्षकलाई तालिम र प्रोत्साहनको आवश्यकता छ।
(त्रिभुवन विश्वविद्यालय गणित केन्द्रीय विभागका उपप्राध्यापक काफ्ले ‘नेपाल गणित समाज’का सदस्य पनि हुन्।)