पछिल्लो तीन वर्षमा विद्यालय तहको सिकाइस्तर झनै खस्किएको छ। सयमा ६८ जनाले औसत सिकाइ पनि हासिल गरेका छैनन् भने गणित र विज्ञान अप्ठ्यारा विषय बनेका छन्।
यसै त कमजोर रहेको नेपालका अधिकांश विद्यार्थीको सिक्ने क्षमता पछिल्लो तीन वर्षमा झनै खस्किएको हालै प्रकाशित एक अध्ययनले देखाएको छ। शिक्षा मन्त्रालय अन्तर्गतको शैक्षिक गुणस्तर केन्द्रले २०७९ पुस १५ गते प्रकाशन गरेको ‘नेशनल एसेसमेन्ट अफ स्टुडेन्ट एचिभमेन्ट (नासा)’ अध्ययन प्रतिवेदनले विद्यालय तहका विद्यार्थीको समग्र सिकाइ कमजोर हुँदै गएको देखाएको छ।
गुणस्तर केन्द्रले सातै प्रदेशका निजी र सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत ४३ हजार ८८६ विद्यार्थीको परीक्षा लिइएको थियो, जसमध्ये गणितमा २१ हजार ८१४, विज्ञानमा २१ हजार १४६, नेपालीमा २१ हजार ५७८ र अंग्रेजीमा २१ हजार ६८३ सहभागी थिए। अध्ययनअनुसार, सय जना विद्यार्थीमध्ये गणितमा ३२ जना, विज्ञानमा ३८ जना, नेपालीमा ५९ जना र अंग्रेजीमा ५२ जनामा मात्रै न्यूनतम सिकाइ क्षमता छ।
विद्यार्थी क्षमता परीक्षणको नतिजालाई ६ तहमा विभाजन गरिएको थियो। जसलाई आधारभूतभन्दा मूनि, आधारभूत, प्रवीणता तह १, प्रवीणता तह २, प्रवीणता तह ३ र दक्ष वर्गमा वर्गीकरण गरिएको थियो। केन्द्रले न्यूनतम सिकाइ भनेर प्रविणता तह १ लाई तोकेको छ। “प्रविणता तह १ स्थान हासिल गर्ने विद्यार्थीले कक्षा कोठमा बसेको रहेछ र उसले पाठको सामान्य जानकारी पाएको रहेछ भन्ने बुझिन्छ,” अनुसन्धानमा संलग्न केन्द्रका विज्ञ श्यामप्रसाद आचार्य भन्छन्।
प्रवीणता तह १ भन्दा मूनिको विद्यार्थीले उसलाई चाहिने कुरा पनि जानेको रहेनछ भन्ने बुझिन्छ। दक्ष तहको विद्यार्थीले भने आफ्नो तहभन्दा पनि उपल्लो ज्ञान हासिल गरेको बुझिने आचार्य बताउँछन्।
यस अध्ययन प्रतिवेदनको समग्र नतिजा तीन वर्ष र पाँच वर्षअघि गरिएका अध्ययनमा पाइएको भन्दा कम हो। यस्तै प्रकारको अध्ययन सन् २०१७ र २०१९ मा पनि भएको थियो। यसपटकको परीक्षणमा अंकभार समेत घटाइएको थियो। सन् २०१७ मा औसत अंक ५०० तोकिएकोमा यसपटक ४७६ तोकिएको थियो। अंकभार घटाउँदा पनि ६७.९ प्रतिशत विद्यार्थीले न्यूनतम अंक पनि ल्याउन सकेनन्।
सबैभन्दा अप्ठ्यारो गणित र विज्ञान
अध्ययन प्रतिवेदन अनुसार विद्यार्थीका निम्ति सबैभन्दा अप्ठ्यारो गणित र त्यसपछि विज्ञान भएको पाइएको छ। गणित र विज्ञान विषयमा एक तिहाइ विद्यार्थीले मात्र राष्ट्रिय औसत सिकाइ उपलब्धि हासिल गरेका छन्। नेपाली र अंग्रेजी विषयमा ५० प्रतिशतको हाराहारीमा औसत उपलब्धि रहेको छ। अर्थात आधाजति विद्यार्थीले जान्नुपर्ने जति नेपाली र अंग्रेजी जान्दा रहेनछन्।
विभिन्न विषयको परीक्षणमा सहभागी भएका विद्यार्थीको सहभागिता फरक थियो। गणितमा सहभागी २१ हजार ८१४ विद्यार्थीमध्ये न्यूनतम क्षमता हुने विद्यार्थी प्रतिशत ३२.१ मात्रै छ। विज्ञान विषयमा सहभागी २१ हजार १४६ मा न्यूनतम क्षमता हुने विद्यार्थीको प्रतिशत ३७.७ छ। अंग्रेजीमा सहभागी २१ हजार ६८३ विद्यार्थीमध्ये न्यूनतम क्षमता हुने विद्यार्थी प्रतिशत ५१.५ छन्। नेपाली विषयको परीक्षणमा सहभागी २१ हजार ५७८ विद्यार्थीमा न्यूनतम क्षमता हुने विद्यार्थी प्रतिशत ५८.८ छ।
मधेश, कर्णाली र सुदूरपश्चिम कमजोर
प्रदेशगत सिकाइस्तर हेर्दा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विद्यार्थी अगाडि देखिन्छन्। यी प्रदेशका विद्यार्थीले परीक्षण गरिएको चारै विषयमा तोकिएको औसत संख्या ४८६ भन्दा बढी अंक ल्याएका थिए। मधेश, कर्णाली र सुदूरपश्चिमका विद्यार्थीको सिकाइ उपलब्धि राष्ट्रिय औसतभन्दा कम पाइएको छ।
गणित विषयको सिकाइस्तर मूल्याङ्कनमा बागमतीका विद्यार्थीको सिकाइ उपलब्धि ५०९ रहेको छ भने सबैभन्दा कमजोर सिकाइस्तर रहेको कर्णालीको उपलब्धि ४६० छ ।
विज्ञान विषयको सिकाइमा पनि बागमती नै अगाडि देखिन्छ, जसको सिकाइ स्तर ४९२ छ भने सबैभन्दा कमजोर सिकाइस्तर रहेको मधेशको उपलब्धि ४४४ छ।
छात्रको सिकाइ राम्रो
यस अध्ययनले छात्राको भन्दा छात्रको सिकाइस्तर औसत राष्ट्रिय सिकाइस्तरभन्दा बढी रहेको देखाएको छ। गणित विषयमा औसत राष्ट्रिय सिकाइस्तर ४८३ भएकोमा छात्रको ४९० छ भने छात्राको ४७८ छ। त्यस्तै विज्ञान विषयमा औसत राष्ट्रिय सिकाइस्तर ४७० भएकोमा छात्रको ४७३ र छात्राको ४६८ छ।
अंग्रेजी सिक्ने मामिलामा पनि छात्रको औसत राष्ट्रिय सिकाइस्तर ५०० भन्दा माथि छ। छात्रको सिकाइस्तर ५०६ छ भने छात्राको ४९६ छ। नेपाली विषय सिकाइमा भने खासै ठूलो अन्तर पाइँदैन, यद्यपि छात्रा औसत राष्ट्रिय सिकाइ ५०० भन्दा दुई अंकले अघि छन्। छात्रको सिकाइस्तर ४९९ छ।
प्रविधिमा पहुँच हुने अगाडि
यी तथ्यांकसँगै अध्ययनले अरु पनि महत्त्वपूर्ण निष्कर्ष निकालेको छ। अधिकांश विद्यार्थीले पढाएकोमध्ये आधा पनि नबुझेको पाइएको छ। त्यस्तै मोबाइल, इन्टरनेट, टेलिभिजन, लगायतका प्रविधिमा पहुँच भएका विद्यार्थीले पहुँच नहुनेले भन्दा बढी सिकेको अध्ययनको निष्कर्ष छ।
आफैसँग मोबाइल हुने विद्यार्थीले अंग्रेजी राम्रोसँग सिकेको पाइएको छ। औसत राष्ट्रिय सिकाइस्तर ५०० रहेकोमा मोबाइल हुनेको सिकाइस्तर ५०४ छ भने नहुनेको ५०१ छ। त्यस्तै सामाजिक सञ्जालमा पहुँच हुनेको सिकाइस्तर पनि नहुनेको भन्दा बढी छ। औसत राष्ट्रिय सिकाइस्तर ५०० रहेकोमा सामाजिक सञ्जालमा पहुँच हुनेको ५२३ र नहुनेको ४९६ छ।
त्यस्तै, सबैभन्दा अप्ठ्यारो मानिएको विषय गणितमा पनि सामाजिक सञ्जालमा पहुँच हुनेको सिकाइस्तर औसत राष्ट्रिय सिकाइस्तरभन्दा बढी रहेको अध्ययनले देखाएको छ। औसत राष्ट्रिय सिकाइस्तर ४८३ रहेकोमा सामाजिक सञ्जालमा पहुँच हुनेको ५०१ र नहुनेको ४८० छ। मोबाइलमा मात्रै पहुँच हुनेको सिकाइस्तर भने कम पाइएको छ। आफ्नै मोबाइल हुनेको सिकाइस्तर ४८२ र नहुनेको ४८५ छ।
युट्युब लगायतका सामाजिक सञ्जालको प्रयोगले सिकाइस्तर बढाएको तर, त्यस्तो माध्यम प्रयोग नगरी मोबाइल मात्रै उपयोग गर्दा सिकाइस्तर खस्केको देखिन्छ। साथै पाठ्यपुस्तकबाहेक अन्य पाठ्य सामग्री जस्तै, प्रश्नावलीको संकलन, सन्दर्भ सामग्री र अन्य सहयोगी सामग्रीले सिक्ने क्षमता बढाउने अध्ययनले निचोड निकालेको छ।
विद्यार्थीको सिकाइस्तरमा शिक्षकको महत्त्वपूर्ण भूमिका रहेको अध्ययनको कार्यकारी सारांशमा उल्लेख छ। समयमै र नियमित कक्षामा आउने शिक्षकले पढाएका विद्यार्थीको सिकाइस्तरमा सुधार आएको छ। ढिलो, अनियमित र आउँदै नआउने शिक्षकका विद्यार्थीको सिकाइस्तर दयनीय भएको पनि प्रतिवेदनले औंल्याएको छ। अध्ययनले पठनपाठन रणनीति र अभ्यास तथा प्रधानाध्यापकको भूमिकामा समस्या रहेको देखाएको छ।
गणित किन गाह्रो?
गणितमा धेरै विद्यार्थी कमजोर हुनुमा विद्यार्थी नभई हाम्रो पाठ्यक्रम र शिक्षण पद्दति जिम्मेवार रहेको तर्क छ, त्रिभुवन विश्वविद्यालय केन्द्रीय गणित विभागका उपप्राध्यापक जीवन काफ्लेको। “नेपालको गणित शिक्षामा पाठ्यक्रमको क्लिस्टता र शिक्षकलाई तालिमको अभाव नै मुख्य समस्या देखिन्छ,” उनी भन्छन्।
गणित अप्ठ्यारो हुन्छ भन्ने सामाजिक मनोविज्ञानले पनि सिकाइस्तरमा प्रभाव पारेको काफ्लेको अनुभव छ। उनका अनुसार आधारभूत तहका हुर्कंदो उमेरका विद्यार्थीलाई सिर्जनात्मक तरिकाले सिकाउन नसक्दा माथिल्लो कक्षामा गणित सिक्न झनै गाह्रो भएको छ।
“सानो उमेरका विद्यार्थी अधिक सिर्जनशील हुन्छन्। माथिल्लो तहमा गएपछि अरु सीप सिक्दै जान्छन्। ‘क्रियटिभ एज’मा गणितलाई महत्त्व दिनुपर्नेमा हामीकहाँ त्यसो हुन सकेको छैन,” काफ्ले भन्छन्, “हाम्रो गणित सिकाइ समस्या दिने र त्यसको समाधान गराउनेमा सीमित छ। सिर्जनात्मक सिकाइ हुन सकेन।”
सिर्जनात्मक सिकाइका लागि शिक्षकलाई तालिमको खाँचो रहेको उनी बताउँछन्। काफ्ले भन्छन्, “शिक्षकलाई तालिम दिनुपर्ने व्यापक खाँचो छ। गणितलाई जीवनसँग जोड्ने क्षमता अभिवृद्धिको कार्यक्रम गरिनुपर्छ भने शिक्षकलाई प्रोत्साहन, ‘रिवार्ड’ र ‘रिकग्निशन’ पनि हुनुपर्छ।”
किन गरिन्छ परीक्षण?
विद्यार्थीको सिकाइस्तरलाई प्रभाव पार्ने तथ्याङ्क पत्ता लगाउने उद्देश्यले सिकाइस्तर परीक्षण गरिँदै आएको छ। लिंग, भूगोल, प्रदेश, विद्यालयको प्रकार, घरमा बोलिने भाषा र जातजातिको आधारमा सिकाइस्तरमा देखिएको फरकलाई ध्यानमा राखेर परीक्षण गरिन्छ।
साथै शिक्षाको समग्र नीति र कार्यक्रमले विद्यार्थीको सिकाइस्तर बढाउन भूमिका खेले, नखेलेको जाँच गर्ने पनि अध्ययनको उद्देश्य रहेको शैक्षिक गुणस्तर परीक्षण केन्द्रका महानिर्देशक चन्द्रकान्त भुसाल बताउँछन्। “हाम्रा शैक्षिक प्रयासको अवस्था के छ भन्ने पत्ता लगाउनु यो अध्ययनको उद्देश्य हो,” भुसाल भन्छन्, “अध्ययनका निष्कर्ष र सुझावले आगामी दिनमा शिक्षा सुधारका लागि के गर्न सकिन्छ भन्ने मार्गनिर्देश गर्नेछ।”
केन्द्रले सन् १९९५ देखि विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण गर्न थालेको हो। सन् १९९५ देखि २०१० सम्म सञ्चालन गरिएका यस्ता अनुसन्धान शास्त्रीय सिद्धान्तमा आधारित थिए, जसमा विभिन्न वर्षमा फरक प्रश्नको उपयोग गरी परीक्षणबाट प्राप्त नतीजाको तुलना गरिने हुँदा केही कठिनाई थियो। तर, शैक्षिक गुणस्तर परीक्षण केन्द्रको स्थापना पश्चात् सन् २०११ देखि गरिएका परीक्षणमा पृच्छा प्रतिक्रिया सिद्धान्त (आइटम रेस्पोन्स थ्वैरी) मा आधारित हुँदा तुलनामा सजिलो हुने केन्द्रको प्रतिवेदनमा जनाइएको छ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट पहिलो चरणमा विद्यालय क्षेत्र सुधार योजना (एसएसडीपी) अन्तर्गत कक्षा ३, ५ र ८ मा दुई-दुई पटक यस प्रकारको परीक्षण सञ्चालन गरिएको थियो। विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत नै २०७३ सालमा कक्षा ८ को विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण गरिएको थियो भने २०७४ मा कक्षा ५ र २०७५ मा कक्षा १० का विद्यार्थीमा राष्ट्रिय परीक्षण गरिएको थियो। त्यस्तै २०७६ सालमा कक्षा ८ का विद्यार्थीमा दोस्रो चक्र परीक्षण भएको थियो। २०६८ देखि २०७७ असारसम्ममा कक्षा ३, ५, ८ र १० मागरी १० वटा परीक्षण भइसकेका छन्।
नीतिमै समस्या
दश वर्षदेखि विद्यार्थीको सिकाइस्तर खस्किरहेको यथार्थ यो प्रतिवेदनले पुष्टि गरेको शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाको विश्लेषण छ। “यस नतिजालाई सन्तोषजनक मान्न सकिन्न किनभने यसले शिक्षामा गरिएको लगानी प्रभावकारी भएको छैन भन्ने पुनः पुष्टि भएको छ,” शिक्षाविद् प्रा.डा. कोइराला भन्छन्।
शिक्षक जिम्मेवार नहुँदा नै यस्तो अवस्था आएको उनको भनाइ छ। “हाम्रो कमजोरी के रह्यो भने शिक्षक किताबसँग जोडियो, तर विद्यार्थी संसारसँग जोडियो। यी दुई बीचमा ठूलो खाडल बनेको अवस्था छ,” कोइराला भन्छन्, “मुख्य कुरा हाम्रा शिक्षक जिम्मेवार भएनन्। जहाँ जिम्मेवार शिक्षक छन्, त्यहाँ राम्रै भएको छ। त्यसैले अब शिक्षकलाई जिम्मेवार हुने प्रणाली बनाउनुपर्यो।”
शिक्षाविद् कोइरालाका अनुसार शिक्षकलाई नियमन गर्ने सम्पूर्ण अधिकार स्थानीय तहलाई नदिँदा पनि यस्तो अवस्था आएको हो। नेपालको संविधानको अनुसूची ८ अनुसार शिक्षक नियमनको अधिकार स्थानीय तहसँग छ। “तर संघीय सरकारले अनुसूची ९ लाई समातेर पालिकालाई बलियो बन्न नदिने बेइमानी गर्यो,” कोइराला भन्छन्, “पालिकाको एकल अधिकार नभएपछि उसलाई किन गरिनस् भन्ने ठाउँ रहेन।”
शिक्षा नीति बनाउँदा नै ध्यान नदिइएको कोइरालाको भनाइ छ। उनी भन्छन्, “संघले शिक्षा नीति बनाउँदा अनुसूची ८ लाई समात्ने हिम्मत गरेन। परिणामतः पालिकाले नियमन गर्नसक्ने अधिकार नै छैन भने जस्तो भयो।” संविधानको अनुसूची ९ मा शिक्षालाई तीन वटै तहको ‘साझा अधिकार’ तोकिएको छ भने अनुसूची ८ मा शिक्षालाई स्थानीय सरकारको ‘एकल अधिकार’ भनिएको छ।
शिक्षक महासंघ, प्याब्सन र एनप्याब्सन जस्ता निकायले स्थानीय तहसँग सहकार्य गर्ने कार्यक्रम नबनाउँदा पनि शिक्षा प्रभावकारी हुन नसकेको उनी बताउँछन्। शिक्षक तालिमको अवस्था पनि दयनीय बन्दै गएको दुःखेसो कोइरालाको छ।
विगतमा प्राविधिक हिसाबले सघाउनको लागि शिक्षक तालिम केन्द्र थिए। “हाल तालिम प्रदेश सरकार, स्थानीय सरकार, वा संघीय सरकारको जिम्मामा छैन,” उनी भन्छन्, “संघमा त्यसको जिम्मेवारी छैन। प्रदेशले त्यसको संरचना नै बनाएन। स्थानीय सरकारले जे जति गर्यो आफ्नो क्षमताअनुसार मात्रै गर्यो। शिक्षकहरू पनि पालिकाअन्तर्गत बस्न नचाहेको प्रष्टै छ। त्यसैले सबैतिरको भद्रगोल यो नतिजामा देखिएको हो।”
शिक्षकलाई वर्गीकरण गरेर उनीहरूलाई जिम्मेवार र प्रभावकारी बनाउने कार्यक्रम बनाउनुपर्ने उनी बताउँछन्। “अब शिक्षकलाई वर्गीकरण गर्नुपर्यो। अब्बल, दोयम, सिम, चार भनेर शिक्षकलाई बाड्नुपर्यो,” कोइरालाको सुझाव छ, “त्यो बाँड्ने हिम्मत आफूले नै गरोस् शिक्षकले। अब्बलले अरुलाई सिकाउन सक्ला, दोयमलाई कसैसँग जोडा बाँध्नुपर्ला, सिमलाई कसैको मेन्टरिङ चाहियो। चार हो भने उसले म शिक्षण पेशाबाट अवकास लिन्छु मलाई ससम्मान बिदा गरियोस् भन्न सक्नुपर्छ।”