पोखरा विमान दुर्घटना: सेती खोचको वायुको चाप पनि अध्ययन गर्ने कि!
पोखरा विमान दुर्घटनाको भिडिओ क्लिप हेर्दा सेती खोचमाथिको वायुको चाप र ‘एअर पकेट’ बारे अनुसन्धान हुनुपर्ने देखिन्छ।
काठमाडौंबाट माघ १ गते बिहान १०ः३२ बजे पोखराका लागि उडेको यती एअरलाइन्सको ‘९एन-एएनसी’ विमान एकाएक दुर्घटना भयो। त्यति वेलाका भिडिओ क्लिपहरू हेर्दा विमान जुन हवाइमार्गबाट मोडिएको थियो, त्यहाँ सन्तुलन बिग्रिएर ढल्किन गएको जस्तो देखिन्छ।
त्यो विमान मोडिएको हवाइमार्गको लगभग तल सेतीको खोच छ। सेती भनेको हिउँ पग्लिएर चिसो पानी आउने नदी हो। त्यसको तल खोचबाट पनि चिसो हावाको कारणले वायुको चाप फरक पर्न गएको हुन सक्छ। विमानको सन्तुलन बिग्रनुमा त्यो खोचमा भएको फरक फरक चापको कारण वा ‘लो प्रेसर’ को पनि हुन सक्छ।
सेती नदीमाथि चिसो पानी हुनासाथ त्यसले ‘लो प्रेसर’ को पकेटहरू बनाएको हुन सक्छ। किनभने सामान्य अवस्थामा गइरहेको जहाज एकैपटक सन्तुलन बिग्रिएर मोडिएको भिडिओ देख्दा यही शङ्का जन्मन्छ। त्यसैले यदि यस्तो समस्याले दुर्घटना निम्त्याएको हो भने त्यो रूटबाट फेरि अरू हवाईजहाज जान दिनु भएन। हामीले यही घटनामा अनुसन्धान गरेर सधैंलाई शिक्षाका रूपमा लिन सक्छौं।
एक त सेती नदीमा चिसो पानी हुन्छ। त्यसले ‘लो प्रेसर’ को ‘पकेट’ बनाएको हुन सक्छ। अर्को, जहाँ विमान दुर्घटना भयो, त्यहाँ गहिरो खोच छ। अझ जाडो मौसममा झनै पानीको तापक्रम कम हुन्छ। त्यसैले त्यहाँको भौगोलिक अवस्थाले फरक चाप सिर्जना हुन सक्ने र ‘एअर पकेट’ बन्ने सम्भावना हुन सक्छ।
एक पटक म अन्तर्राष्ट्रिय उडानमा जाँदा ‘एअर पकेट’ भएको स्थानमा पर्दा विमान एक्कासि तल झर्यो। विमान झण्डै दुई हजार फिट तल झरेको चालक दलले सुनाएको थियो।
राति सुतिरहेकै अवस्थामा विमान तल झरेपछि सबै तर्सियौं। तर, चालक दलले ‘एअर पकेट’ मा परेकाले जहाज एक्कासि तल झरेको जानकारी दियो। त्यस वेला जहाज धेरै माथि उचाइमा भएकाले दुई हजार फिट तल खस्दा पनि केही भएन। केही तल झरेपछि जहाज सन्तुलनमा आएको थियो।
त्यसैले अहिले यतीको जहाज दुर्घटनाको सन्दर्भमा यसरी तल्लो तहमा ‘एअर पकेट’ हुन सक्ने सम्भावना छ। यस दुर्घटनामा एक्कासि सन्तुलन बिग्रिएकाले त्यहाँको हावाको चापको फरकपनको कारणले पनि हुन सक्ने देखिन्छ।
भौगर्भिक विषय विज्ञका नाताले भविष्यको दुर्घटना रोक्न पनि यस विषयमा अनुसन्धान हुन जरुरी देख्छु। सेती खोचमाथिको हावाको चाप वा ‘एअर पकेट’ बनेका छन् कि छैनन् भन्ने अनुसन्धान गर्नु पनि भौगर्भिक जोखिमबारेको अनुसन्धान हो।
अहिले गठन गरिएको जाँचबुझ आयोगले यो पक्षबाट पनि हेर्नुहुन्छ। यो आयोगले हेर्न नसके पनि यो अनुसन्धान हुनुपर्ने जटिल विषय हो। त्यसैले, कम्तीमा चिसो सेती खोलामाथिबाट आएको वायुको चापको भिन्नता थाहा पाउन फरक अनुसन्धान हुनैपर्छ।
काठमाडौंपछि सबैभन्दा बढी उडान हुने पोखरा हो। त्यसमाथि नयाँ अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ। पोखरा पर्यटकीय गन्तव्य पनि भएकाले सुरक्षित यात्रा हुने गरेको महसूस गराउनुपर्छ।
मैले भौगर्भिक जोखिमबारे काम गरिरहेकाले पनि यो विषयमा अध्ययन अनुसन्धान हुनपर्छ भन्ने लागेको छ। सेती खोचमाथिको वायुको चाप तथा ‘एअर पकेट’ का विषमाय अनुसन्धान हुनुपर्छ। किनकि, त्यो हवाईमार्ग भोलि पनि फेरि प्रयोग हुने ठाउँ हो। आज एउटा दुर्घटना त भयो, भोलिका लागि पनि यसबाट पाठ सिक्न सकिन्छ।