कसरी सुरक्षित बनाउने नेपाली आकाश?
नेपालको हवाई यात्राको ६० वर्षे इतिहास केलाउने हो भने जहाज दुर्घटनाका कारणहरूको एउटा प्रवृत्ति देखिन्छ। यो प्रवृत्तिमा गत माघ १ गते पोखरामा दुर्घटना भएको यती एअरलाइन्सको एटीआर-७२ लाई समावेश गर्न मिल्दैन।
सन् १९६२ देखि भएका हवाई दुर्घटनाहरूलाई सीएफआईटी (कन्ट्रोल फ्लाइट इन्टु टेरेन)मा वर्गीकरण गर्न सकिन्छ जसको अर्थ हवाईजहाजहरू बादलभित्र छिरेका वेला पहाडमा ठोक्किएका छन्। तर‚ यती एअरलाइन्सको वाईटी६९१ विमान त राम्रो मौसम भएको बिहान अवतरण गर्ने तरखरमा थियो। त्यो पनि हालै मात्र सञ्चालनमा आएको न्याभिगेशनका नयाँ प्रविधियुक्त मशिनरीहरू जडान गरिएको विमानस्थलमा।
सन् २०२२ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको ट्वीनअटर जहाज दुर्घटना भएपछि नेपाली टाइम्सले विभिन्न स्रोतबाट सङ्कलित डेटा केलाएर नेपालको हवाई यात्रा किन यति धेरै असुरक्षित भएको होला भन्ने समीक्षा गरको थियो। सन् १९६२ देखि २०२२ सम्म भएका ७१ हवाई दुर्घटनामा ८६३ जनाले ज्यान गुमाएका थिए।
दुर्घटना हुनुमा माथि उल्लेख गरिएको सीएफआईटी मुख्य कारक देखिन्छ। हवाईजहाजहरू बादलभित्र छिरेका वेला पहाडमा ठोक्किएर दुर्घटना भए। प्रायजसो दुर्घटना पहाडी रूटमा भएको छ। त्यसमध्ये पनि अधिकांश त वर्षातको मौसममा।
६० वर्षे इतिहासमा थारै दुर्घटना मात्र मशिनरीको कारणले भएको छ। जस्तै- विमान नियन्त्रणमा हुन नसक्दा वा विमानमा चरा ठोक्किँदा। अर्को कुरा तराईको कुनै पनि विमानस्थलमा दुर्घटना भएको छैन।
पोखरा वा पर्यटकीय क्षेत्र जोमसोमबीच सीएफआईटीका कारण केही दुर्घटना भए पनि काठमाडौं आउँदै गरेको एउटा मात्र विमान यस कारणले दुर्घटनामा परेको थियो। सन् १९९९ मा नेकोन एअरको विमान नागढुंगाको माथि रहेको इन्द्रथानको डाँडोको सञ्चार टावरमा ठोक्किँदा १५ जनाले ज्यान गुमाएका थिए।
विज्ञहरू नेपाललाई हवाई उडानका लागि खतरनाक देशका रूपमा लिन्छन्। उनीहरूले यसो भन्नुको कारण यहाँको मौसम र झुक्याउने खालको भूबनोट हो। त्यसमा पनि स्थानीय मौसमको अवस्था पूर्वानुमान गर्ने परिपाटीको अभाव, छोटा रनवे र न्याभिगेशनका लागि पर्याप्त प्रविधि नहुँदा पनि दुर्घटना हुने गरेको हो।
तर, कमजोर नियमन, व्यापारिक दबाब, चालक दलका सदस्यहरूले निर्धारण गरिएको नियमको पालना नगर्दा दुर्घटना दोहोरिने गरेको प्रतिवेदनले औंल्याएका छन्। सबै अध्ययन प्रतिवेदनमा हुने सुझावको व्यहोरा पनि पुनरावृत्ति भएको देखिन्छ। दिइएको सुझावप्रति गम्भीर नहुँदा दुर्घटना भइरहेको देखिन्छ।
हरेक दुर्घटनापछि भएका सबैजसो अध्ययन प्रतिवेदनले हिमाली क्षेत्रमा हुने उडानमा भीएफआर (भिजुअल फ्लाइङ नियम)को प्रावधान नै दुर्घटनाको मुख्य कारण भएको औंल्याएको छ। चालक दलका सदस्यहरूले कुनै गन्तव्यमा जाँदा वा आउँदा मौसमको संवेदनशीलतालाई कम आँक्दा वा आवश्यकताभन्दा बढी आत्मविश्वासी भएर उडानका मापदण्डलाई पालना नगर्दा दुर्घटना भएको देखिन्छ। तालीमको अभाव पनि अर्को कारणका रूपमा प्रायः उल्लेख गरिएको पाइन्छ।
नेपालको आन्तरिक हवाई उडानको दुर्घटनामा सबैभन्दा धेरै यात्रुले एकैपटक ज्यान गुमाएको माघ १ गतेको यती एअरको दर्दनाक दुर्घटनाको कारण हिमाली क्षेत्र र खराब मौसम होइन। यो दुर्घटना दुई साताअघि मात्र प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको छ।
सोही विमानका क्याप्टेन र को-पाइलटले सोही विमानको वाईटी६७२ को उडान काठमाडौं-पोखरा बिहान ८:३० बजे गरेका थिए। बिहानको उडानमा पूर्वबाट सीधा रनवे ३० को भूमिमा अवतरण गरेका थिए। उनीहरूले यात्रु ओरालेर प्लेनलाई काठमाडौं फर्काए। फर्कंदा अर्को उडानसँग उनीहरूको यात्रुलाई मिसाइयो जुन उडानमा यात्रु कम थिए। काठमाडौं आएको विमान १०:३२ बजे पोखराका लागि उड्यो।
पोखरा पुग्ने वेला एअर ट्राफिकले क्याप्टेनलाई रनवे ३० मा विमान अवतरणका लागि अनुमति दिइसकेको थियो। तर‚ क्याप्टेनले रनवे १२ मा पश्चिमतर्फबाट अवतरणका लागि अनुमति मागे। उडानको चाप नभएको हुँदा एअर ट्राफिकले क्याप्टेनको अनुरोधलाई स्वीकार गर्यो। तर‚ किन पूर्वतर्फबाट अवतरण नगरी पश्चिमतर्फबाट अवतरण गर्न लागेको हो भन्ने कारण चाहिं सोधेन।
अवतरणका लागि पुरानो विमानस्थलमाथि पुगेर अन्तिम मोड लिंदा जहाज कोल्टियो र सेतीको खोंचमा ठोक्कियो। जहाज दुर्घटना भएको थोरै मात्रै दूरीमा झुरुप्प बस्ती थियो।
प्रत्यक्षदर्शीले खिचेको भिडिओमा जहाज नाक ठोक्किने हिसाबले झरेको देखिन्छ। उडानको गति पनि धिमा र निकै तलबाट उडेको देखिन्छ। र, पखेंटाको ‘फ्ल्याप्स’ पनि झारिएको प्रष्ट देखिंदैन। विमानमा भएका एक भारतीय पर्यटकले गरेको फेसबूक लाइभ स्ट्रिम हेर्दा केही सेकेन्डको अन्तरालमै विमान पल्टिएको देखिन्छ।
विमानमा भएका ७२ यात्रु र चालक दलका चार सदस्य कोही पनि बाँच्ने आश भएन। भीडभाड गराउने र सेल्फी खिच्नेहरूले उद्धारमा कठिनाइ उत्पन्न गराए पनि केही साहसी युवाहरूले बल्दाबल्दै गरेको विमानबाट केही यात्रुलाई बाहिर ल्याउने सके।
दुर्घटनाको वास्तविक कारण के हो भन्ने फ्लाइट डेटा रेकर्डर (ब्लाक बक्स) र ककपिट भ्वाइस रेकर्डरको अध्ययनपछि अनुसन्धान टोलीले सार्वजनिक गर्छ नै। तर‚ प्राप्त भिडिओहरूले के कुरा स्पष्ट देखाएका छन् भने अन्तिम मोड लिने वेला जहाज कोल्टिएको छ। किन त्यसो भयो भन्ने नै मुख्य प्रश्न हो।
जहाजको इन्जिनमा समस्या आउँदा‚ जहाजलाई धान्ने शक्ति ह्रास हुँदा पखेटा कोल्टिन सक्छ। त्यस्तै‚ विमानलाई धैरै ढल्काउँदा वा हवाई गति नमिल्दा पनि विमान कोल्टिन सक्छ। यस्तो अवस्थालाई उड्डयन शब्दावलीमा ‘स्टल’ भनिन्छ। सो जहाजका क्याप्टेन कमल केसी एक अनुभवी पाइलट थिए। उनले २२ हजार घण्टा उडान भरिसकेका थिए। उनले अधिकांश उडान बीए जेटस्ट्रिम र एटीआर ७२ मै गरेका थिए।
को–पाइलट अन्जु खतिवडाले पनि ६५ सय घण्टा उडान गरिसकेकी थिइन्। उनी उक्त जहाजको देब्रेपट्टि थिइन्, क्याप्टेन बन्ने अन्तिम उडान गरिरहेकी थिइन्। उक्त जहाज अवतरण गरेपछि उनी क्याप्टेन बन्नेवाला थिइन्।
खतिवडाका श्रीमान् पनि पाइलट नै थिए र उनले उडाएको यती एअरलायन्सको ट्वीनअटर जुम्लामा अन्तिम मोड लिने वेलामा यसै गरी दुर्घटना हुँदा बितेका थिए। यो सन् २००६ को घटना थियो।
पोखरा दुर्घटनाले यूरोपेली युनियनको सुरक्षा प्रतिबन्धबाट मुक्त हुने नेपालको प्रयासमा थप जटिलता निम्त्याउने आकलन गरिएको छ। यूरोपियन युनियनले सन् २०१३ देखि नै सुरक्षाका कारण दर्शाउँदै नेपाली जहाजहरूलाई यूरोपको उडान गर्न वा यूरोप हुँदै उडान गर्न प्रतिबन्ध लगाएको छ। यूरोपियन युनियनले नेपाल नागरिक उड्डयन प्राधिकरणको हालको संरचनालाई टुक्र्याउँदै नियामक संस्था र सञ्चालन संस्थाको दुई बेग्लाबेग्लै बन्नुपर्ने अडान राख्दै आएको छ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले सन् २०१७ मा गरेको अडिटमा नेपाललाई उत्तीर्णाङ्क दिएपछि नेपाली अधिकारीहरू यूरोपेली युनियनले उड्डयन सुरक्षा निकायको कालोसूचीबाट नेपाललाई हटाउने आशामा छन्। तर‚ तारा एअरको सन् २०२२ मा भएको दुर्घटना र यती एअरको गत आइतबार भएको दुर्घटनाले यूरोपेली युनियनबाट सफाइ पाउने आशालाई झन् पर धकेलिदिनेछ।
तारा एअर यती एअरलाइन्सकै भगिनी संस्था हो जसको स्थापना आङछिरिङ शेर्पाले गरेका थिए। शेर्पाको पनि हवाई दुर्घटनामा परेर मृत्यु भएको थियो। सन् २०१९ मा ताप्लेजुङमा भएको आफ्नै कम्पनीको हेलिकोप्टरमा उनी सहित तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको पनि मृत्यु भएको थियो।
कास्कीका सांसद समेत रहेका अधिकारीले पोखराको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा भएको ढिलाइ कम गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए।
(नेपाली टाइम्समा प्रकाशित सामग्रीको अनुवाद महेश्वर आचार्यले गरेका हुन्।)