अझै त्रस्त छन् विमान दुर्घटनास्थलका बासिन्दा
विमान दुर्घटनास्थल वरिपरिका बासिन्दालाई सेती खोच ७० जनाको चिहान जस्तै लागेको छ, उनीहरू त्रसित अवस्थामा छन्।
आँगनमा १२ महीने छोरालाई खेलाइरहेकी पोखरा महानगरपालिका-१५ की रश्मि परियार एकाएक विमानको चर्को आवाज कानमा परेपछि आत्तिइन्। हेर्दाहेर्दै घर अगाडि विमान खसेपछि सातो गए जस्तै भयो। आँगनमै खेलिरहेको ११ वर्षको अर्को छोरालाई पनि समातेर भागिन्।
माघ १ को बिहान घर छोडेर निस्केकी रश्मि साँझ फर्किन त फर्किइन्, तर राति सुत्न सकिनन्। अझै पनि मन डराइरहेको बताउँदै रश्मि भन्छिन्, “बेस्मारी डर लागेको छ। ठूलो आवाज आउँदा पनि झसङ्ग झसङ्ग हुने गरेकी छु।”
जहाज दुर्घटनाको कुरा सम्झनै नपरे हुन्थ्यो जस्तो भएको छ, उनलाई। तर, घरअघि नै देखिरहेको दृश्यले छोडेको छैन। “मेरै आँखाले देखेको हो। बिर्सिन सकिराखेकी छैन,” उनी अकमकिंदै भन्छिन्, “खुशी हुन सकेकी छैन। भित्रभित्रै पिरोलिरहेको छ।”
घरमा एक्लै बस्न गाह्रो भइरहेको उनले सुनाइन्। “एक्लै हुँदा मनमा अनेक थरी सोच आएर भक्कानिएर रुन मन लाग्छ,” रश्मि भन्छिन्, “आधा रातमा ब्युँझन्छु, रातभर छटपटी चलेर निदाउन सक्दिनँ।”
त्यो दिन ११ वर्षको छोरा दुर्घटनास्थल नजिकै खेलिरहेको थियो। छोरा पनि तर्सिए जस्तो भइरहेको उनी बताउँछिन्। “दुर्घटनाको भोलिपल्टबाट उदास जस्तो, बिरामी भए जस्तो देखिएको छ,” आमा रश्मि सुनाउँछिन्।
काठमाडौंबाट माघ १ गते बिहान १०ः३२ बजे पोखराका लागि उडेको यती एअरलाइन्सको ‘९एन-एएनसी’ विमान पोखरा महानगरपालिका वडा नं. ७ र १५ लाई जोड्ने मितेरी पुल नजिकै सेती खोचमा बिहान १०ः५० बजे दुर्घटना भएको थियो। विमानमा सवार चार जना चालक दलका सदस्य र ६८ जना यात्रुमध्ये ७० जनाको शव भेटिएको छ। दुई जना अझै हराइरहेका छन्।
दुर्घटनामा हराइरहेका यात्रुको खोजीका लागि सुरक्षाकर्मी र स्थानीय बासिन्दा दुर्घटनास्थलमा खटिइरहेका छन्। आफन्त गुमाएकाहरू शोकमा छन्। पोखराको अन्य क्षेत्रका बासिन्दा र पोखरा घुम्न आउने पर्यटक सेती खोच हेर्न दुर्घटनास्थल पुगिरहेका छन्। अरूका लागि सेती खोच हेर्ने ठाउँ बनेको भए पनि वरपरका बासिन्दालाई भने सामूहिक चिहान जस्तै लागेको छ। ७० जनाको ज्यान जाने गरी भएको दुर्घटना देखेका स्थानीय बासिन्दा त्रसित छन्।
स्थानीय सीता विक दुर्घटनापछि राति घर बाहिर निस्कनै डर लाग्ने गरेको सुनाउँछिन्। घर अगाडि भएको दुर्घटनाको दृश्यले छटपटी भइरहेको सीता बताउँछिन्। “भाग्यले बाँच्यौं। हामी बाँचेको खुशीभन्दा पनि यत्रा मान्छे घर अगाडि मरेको देखेर मन अत्तालिएको छ,” उनी भन्छिन्।
जहाज दुर्घटना भएको पोखरा-७ सेती खोच नजिकको अन्तिम घर बैंसबहादुर विकको हो। दुर्घटना भएको दुई दिनसम्म हात-पाखुरा चलाउन नसकेको उनी सुनाउँछन्। काम गर्दा पनि हात काँप्ने, डर लागिरहने भएको उनी बताउँछन्। अझै पनि कानमा जहाज खस्दाको अन्तिम प्रहारको आवाज आइरहेको सुनाउँदै उनी भन्छन्, “गटटट गर्दै आएको जहाज एकैछिनमा सेतीको खाल्डोमा झ्वाम्मै खस्यो। भाग्यले बाँचियो।” केही बेर होश गुमे जस्तो भए पनि जसोतसो सम्हालिएर विमानको आगो निभाउन लागेको उनी बताउँछन्।
फूलमाया विक अझै पनि घरमा भाँडा खसेको आवाज आयो कि तर्सिने गरेकी छन्। त्यो दिन उनी खाना पकाउँदै थिइन्। विमान खसेपछि उनी भाँडा हुत्याएर भागेकी थिइन्। “जहाज खसेको हो कि के भयो भन्ने मेसो नै पाइनँ,” फूलमाया भन्छिन्, “घरमा भाँडा खसेको, गेट खोलेको आवाजले पनि तर्साउँछ।”
सेती खोचमा बस्नै अप्ठ्यारो लागिरहेको उनले सुनाइन्। “अहिले त बाँचियो, तर पछि फेरि यस्तै केही हुन्छ कि भन्ने डर लागेको छ,” फूलमाया भन्छिन्, “यो ठाउँ छाडेर जान मन छ, तर कहाँ जानु?”
फूलमाया भन्दा पनि बढी त्रसित छन्, कुमार आले। उनी त्यो दिन सेती खोचमै माछा मारिरहेका थिए। त्यति वेला त उनले के भयो भन्ने मेसो नै पाएनन् अनि भागे। अहिले पनि खुलेर बोल्न सकिराखेका छैनन्।
पोखरा-१५ नयाँ गाउँको दुर्घटनास्थलबाट नजिकै रहेको कोठामा बस्दै आएका उनको अवस्था देखेर श्रीमती कुमारी आले चिन्तित छन्। उनले पनि विमान खसेको देखेकी थिइन्। तर, आफूभन्दा श्रीमान्को चिन्ता लागेको उनी बताउँछिन्। “रातभर निदाउन सक्नुहुन्न। छटपटी छ, उहाँलाई,” उनी भन्छिन्, “उहाँलाई देख्दा मलाई पनि चिन्ता लागेको छ।”
सेती खोच वरिपरिका सबैजसो बासिन्दा तनावमा छन्। त्यो त्रासदीबाट उम्किन सकेका छैनन्। दिउँसो त एकअर्कासँग कुराकानी गरेर बिताउँछन् भने राति झस्किने गरेको बताउँछन्। “अहिले पनि आँखा चिम्लने बित्तिकै जहाज खसेको दृश्य आँखामै डुल्छ,” स्थानीय लक्ष्मी परियार भन्छिन्।
स्थानीय माया सुनारले त्यसयता छोराछोरी राति सुत्न नसकेको बताइन्। “मेरी नानी सुत्न सकेकी छैन। निद्रा लाग्ने दबाई खान्छु भन्दै थिई, मैले खान दिइनँ,” मायाले सुनाइन्। आफूलाई भने शुरूआतका दिन गाह्रै भए पनि अहिले बिस्तारै ठीक हुँदै गएको उनको अनुभव छ।
तर, सबैको अवस्था मायाको जस्तो छैन। कोही त्रसित छन्, कोही घर छोड्न पाए हुन्थ्यो भन्ने अवस्थामा पुगेका छन्।
मनोचिकित्सक डा. अनन्त अधिकारी युद्ध, विपद् तथा दुर्घटनामा बाँचेका, आफन्त गुमाएका मानिस, प्रत्यक्षदर्शीमा यस्ता त्रासदीले मनोसामाजिक समस्या निम्त्याउनुु स्वाभाविक भएको बताउँछन्। डा. अधिकारीका अनुसार, त्रासदीलाई नजिकबाट देखेका तथा बाँचेका मान्छेमा दुई किसिमका मनौवैज्ञानिक समस्या देखिन्छन्।
“कुनै तत्कालको प्रतिक्रियाका रूपमा देखिन्छ, जसलाई ‘एक्युट स्ट्रेस रियाक्शन’ अर्थात् तत्कालै देखिने तनावको प्रतिक्रिया भनिन्छ,” यो केही दिनसम्म रहने बताउँदै डा. अधिकारी भन्छन्, “यसमा अत्यास लाग्ने, डर लाग्ने, फेरि घटना भएको जस्तो अनुभूति हुने, केही विक्षिप्तता जस्तो पनि देखिने गर्छ। यो सामान्य अनुभूति हो, जुन हराएर जान्छ।”
अर्को भने अलि जटिल प्रकृतिको हुने उनी बताउँछन्। डा. अधिकारीका अनुसार, लामो समयसम्म देखिने र वर्षौंसम्म यस्तो घटना सम्झिँदा वा घटना भएको ठाउँमा जाँदा एक्कासि असर देखापर्छ।
“आफन्तजन गुमाएकादेखि यस त्रासदीलाई देख्नेहरूलाई मनोपरामर्शको निकै आवश्यकता हुन्छ। उनीहरूमा तनाव व्यवस्थापन गर्ने क्षमताको विकास गराइनुपर्छ,” डा. अधिकारी भन्छन्, “यदि यसलाई बेवास्ता गरियो भने पछि कुनै कडा खालका बिरामीमा ‘साइकोटिक ब्रेकडाउन’ हुने अवस्था पुग्छ। किनभने, मन अस्वस्थ हुँदा पछिसम्म दुःख दिन सक्छ।”
यस्ता घटनाबारे कुरा नगरी लुकाएर वा बिर्साउने प्रयास गरिनुभन्दा कुरा गरेर नै सामान्यीकरण गर्नुपर्ने उनको सुझाव छ। डा. अधिकारी भन्छन्, “यस्ता घटनामा शारीरिक स्वास्थ्यको जति ध्यान दिइन्छ, त्यति नै ध्यान मानसिक स्वास्थ्यमा पनि दिनुपर्छ।”