देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने एमालेको निर्णय
नेकपा (एमाले)ले देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ।
बुधबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरको बालकोटमा बसेको शीर्ष नेताको बैठकले घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो। सत्ता गठबन्धनको भागबन्डामा सभामुख एमालेको भागमा परेको थियो। घिमिरे झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित भएका हुन्।
सभामुख पदको निर्वाचनका लागि बुधबार मनोनयन दर्ता गर्ने कार्यतालिका छ। घिमिरे सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्।
सभामुख पदका लागि एमाले उपमहासचिव तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा लगायतका नेताहरूले पनि आकांक्षा देखाएका थिए। पार्टीभित्र योगदान पनि भएको, क्षमता पनि भएको र दलित तथा आदिवासी जनजाति समुदायबाट सभामुख बनाउँदा राम्रो सन्देश जाने हुनाले कतिपय एमालेका नेताले गुरुङलाई अगाडि सारेका थिए भने कतिपयले विश्वकर्मालाई।
तर‚ अध्यक्ष ओली भने पुराना नेता भएको र आफ्नो विश्वासपात्र पनि भएकाले गृहजिल्लाका घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने पक्षमा थिए। एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज समेत रहेका नेता घिमिरे अध्यक्ष ओलीका निकट मानिन्छन्। यसअघि ओली पहिलो पटक प्रधानमन्त्री भएका समयमा घिमिरे सचिवालयमा समेत आबद्ध थिए।
को हुन् देवराज घिमिरे?
आफ्नो समकालीन नेताहरूले पार्टीभित्र पटक पटक उच्च ओहोदाको जिम्मेवारी पाउँदा घिमिरेले भने पाएका थिएनन्। गत मंसीर ४ मा भएको प्रतिनिधि सभाको निर्वाचनमा पहिलो पटक प्रत्यक्ष निर्वाचन लड्ने अवसर पाएका घिमिरेले झापा-२ मा स्वतन्त्र स्वागत नेपाल (भद्रप्रसाद)लाई पराजित गरेका हुन्।
२०५६ सालमा राष्ट्रिय सभाको सदस्य भएका नेता घिमिरे एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ का इन्चार्ज हुन्। पार्टीलाई झापामा स्थापित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका नेता घिमिरे शान्त र सरल स्वभावका नेता मानिन्छन्।
२०१३ जेठ १३ मा ताप्लेजुङको सिकैंचामा जन्मिएका घिमिरे २०२७-२०३० सालको झापा विद्रोहपछि अपील प्रसारणको लाइनबाट कम्युनिष्ट पार्टीको सम्पर्कमा आएका थिए। २०३२ सालको को-अर्डिनेशन केन्द्रको विद्यार्थी संगठनमा आबद्ध भएर काम गरेका थिए। २०४७ सालमा तत्कालीन नेकपा (माले) र नेकपा (मार्क्सवादी) एकीकरण भएर नेकपा (एमाले) बनेपछि २०४९ सालमा भएको एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
१२ वर्ष भूमिगत राजनीति गरेका घिमिरे पार्टी काम तथा आन्दोलनका क्रममा पटक पटक हिरासतमा बसेका थिए। उमेरका हिसाबले पनि पाका नेता घिमिरे पार्टीभित्रको अनुभवको हिसाबले पनि आफू बलियो दाबेदार रहेको बताउँछन्।