सभामुखको मनोनयन आज, यस्तो छ निर्वाचन तालिका
प्रतिनिधि सभाका सभामुख पदको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्सेहलमा मनोनयन दर्ताको व्यवस्था गरिएको संघीय संसद् सचिवालयले जनाएको छ। अपराह्न १ देखि ४ बजेसम्म संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाका सदस्यलाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिनेछ। निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता अनुसारको सूची आजै अपराह्न ४ः१५ बजे प्रकाशित गरिनेछ।
प्रतिनिधि सभाका सभामुखको निर्वाचन यही माघ ५ गते बिहान ११ बजे हुने तय भएको छ। बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ।
लगत्तै उम्मेदवारीको सूचनामाथि सामूहिक रूपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरिनेछ। प्रतिनिधि सभाको गत पुस २६ गतेको बैठकले यही माघ ५ गते सभामुखको निर्वाचन गर्ने तय गरेको थियो।
संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधि सभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गरिने संवैधानिक व्यवस्था छ। सभामुख र उपसभामुखमध्ये एक महिला र फरक दलको हुनुपर्ने प्रावधान छ।