तनहुँ अदालतबाट सफाइ पाएका पल शाह जेलबाट छुट्छन्?
तनहुँ जिल्ला अदालतले नाबालिका बलात्कारको अभियोगमा कलाकार पल शाहलाई सफाइ दिए पनि उनी तत्काल जेलबाट छुट्ने भने छैनन्।
नाबालिका बलात्कारै अभियोगमा नवलपुर जिल्ला अदालतले बाल यौन दुरुपयोगमा दोषी ठहर्दै साढे दुई वर्ष जेल र १० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेकाले यो सजाय नकाटी वा माथिल्लो अदालतले जिल्लाको फैसला नउल्टाई शाह छुट्नेछैनन्। नवलपुर जिल्ला अदालतले शाहलाई ३० हजार रुपैयाँ जरिवाना तिराउने फैसला समेत सुनाएको थियो।
गत असोजमा नवलपुर जिल्ला अदालतले शाहलाई यस्तो सजाय तोकेको हो। स्रेस्तेदार मीनबहादुर कुँवरले दुवै मुद्दा फरक फरक भएकाले तनहुँमा सफाइ पाउँदैमा त्यसको असर नवलपुरको फैसलामा नपर्ने बताए।
म्युजिक भिडिओ छायाङ्कनका क्रममा नवलपुरको गैंडाकोट पुगेका वेला र बाग्लुङबाट फर्कंदा तनहुँमा शाहले ती बालिकालाई बलात्कार गरेको आरोप लागेको थियो। गैंडाकोटमा २०७७ मा र तनहुँमा २०७८ मा बालिकालाई बलात्कार गरेको अभियोग छ।
शाहले तनहुँको दुलेगौंडामा चिनारुको घरमा पुर्याएर विवाहको प्रलोभन देखाएर शारीरिक सम्पर्क गरेको अभियोगपत्रमा उल्लेख छ। यी दुवै घटनामा क्रमशः नवलपुर र तनहुँमा मुद्दा चलेको थियो। पीडित बालिका र उनका अभिभावक, साक्षीले अदालतमा भने घटना नभएको भन्दै अभियोग विपरीत भनाइ राखेका थिए।
यो घटनापछि पीडित र पीडक दुवै पक्षबीच मिलापत्रका लागि काठमाडौंको पुरानो बानेश्वरमा छलफल भएको थियो। उक्त छलफलमा पीडित २० वर्ष पुगेपछि विवाह गर्ने सहमति बनेको शाहले प्रहरी बयानमा भनेका थिए।
छलफलको दुई मिनेट ३५ सेकेन्डको अडियो प्रहरीले प्रमाणका रूपमा अदालतमा पेश गरेको थियो । अडियोको फरेन्सिक जाँच गर्दा शाहसँग ७० प्रतिशत स्वर मिलेको रिपोर्ट आएको थियो । नवलपुर जिल्ला अदालतले यही अडियोलाई आधार मानेर बाल यौन दुरुपयोगको ठहर गरेको थियो। तनहुँ जिल्ला अदालतको आदेशको संक्षिप्त विवरण समेत नआएकाले सफाइको आधारबारे खुलेको छैन।
स्रेस्तेदार कुँवरले आफूले निर्णयको आधार उल्लेख हुने राय किताब नहेरेकाले फैसलाको आधारबारे केही थाहा नभएको बताए।