एउटै अडियो क्लिपका दुई अर्थ: बालयौन दुरुपयोगमा मान्य, बलात्कारमा अमान्य
कलाकार पल शाह विरुद्धको मुद्दामा नवलपुर जिल्ला अदालतले बालयौन दुरुपयोगमा अडियो क्लिप उनकै भएको ठहर गर्दै कैद सजाय तोकेको छ भने बलात्कार अभियोगमा त्यही अडियो क्लिप उनको नभएको जिकिर गर्दै सफाइ दिने आधार बनाएको छ।
जिल्ला अदालत, नवलपुरले कलाकार पूर्णविक्रम शाह (पल शाह) विरुद्ध १५ वर्षीया नाबालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा असोज ६ गते सफाइ दियो। जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले शाहलाई बालयौन दुरुपयोगको कसूरमा भने दोषी ठहर्याउँदै साढे दुई वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनायो। साथै, पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दियो।
कलाकार शाहले म्युजिक भिडिओको छायाङ्कन गर्न पूर्वी नवलपरासीकाे गैंडाकोट रिसोर्टमा २०७७ चैतमा बलात्कार गरेको उजुरी परेको थियो। पीडित गायिका हुन्।
याे मुद्दाकाे हालै सार्वजनिक फैसलाकाे पूर्ण पाठमा जबर्जस्ती करणी अभियोगमा बेकसूर ठहर्याउन र बालयौन दुरुपयोगमा कसूरदार मान्न अदालतले लिएको आधार अनौठो देखिएको छ। अदालतले दुवै अभियोगबारे फैसला गर्दा अनुसन्धानका क्रममा भेटिएको अडियो संवादलाई आधार मानेको छ।
घटनापछि दुवै पक्षबीच भएको छलफलको दुई मिनेट ३५ सेकेन्डको अडियो प्रहरीले अदालतमा प्रमाणको रूपमा बुझाएको थियो। अडियोमा कलाकार शाहले ‘प्रेगनेन्ट (गर्भवती) भएको भए, ... सेफ (सुरक्षित) तरीकाले यति अन्डरस्ट्यान्डिङ (सहमति) हिसाबमा हुँदा पनि लास्ट (अन्तिम)मा स्विकार्नै पर्छ? विवाह गर्नै पर्छ?’ भनेका छन्।
पीडितले आफूसँग विवाह गर्नुपर्ने भनी जोड दिएकाले २०७८ असारमा मध्य बानेश्वरको एउटा होटलमा पीडित २० वर्ष पुगेपछि प्रेम सम्बन्धलाई वैवाहिक स्वरूप दिने सहमति भएको शाहले अनुसन्धान अधिकारीसँग बताएका थिए। अदालतमा समेत पलले उक्त अडियो आफ्नै भएको बताएका छन्। तर, आफूले उक्त कुरा फरक प्रसङ्गमा बोलेको शाहले अदालतमा जिकिर गरेका थिए। “उक्त अडियो क्लिपमा भएको कतिपय स्वर मेरो हो र कतिपय होइन,” अदालतको बकपत्रमा शाहले भनेका छन्।
अडियोको फरेन्सिक जाँच गर्दा शाहसँग ७५ प्रतिशत स्वर मिल्ने देखिएको मिसिलबाट देखिन्छ। अडियोमा सुनिने ‘गर्भवती भएको भए’, ‘सुरक्षित तरीकाले सहमतिको हिसाबमा हुँदा पनि विवाह गर्नैपर्छ?’ जस्ता शब्दले अभियुक्त र पीडितबीच शारीरिक सम्पर्क भएपछि दुवै पक्षबीच छलफल भएको इङ्गित गर्छ।
१८ वर्षभन्दा मुनिका नाबालिगसँग सहमतिमै शारीरिक सम्पर्क भए पनि मुलुकी अपराध संहिताले दण्डनीय मानेको छ। संहिताको परिच्छेद १८ को करणी सम्बन्धी कसूर खण्डमा दण्डनीय हुने व्यवस्था छ।
तर, जिल्ला अदालतको इजलासले भने आरोपितले अदालतमा अडियो आफ्नै भएको विषयलाई अनदेखा गरेको छ। बरु, ठहर खण्डमा न्यायाधीश आचार्यले अडियो क्लिपमा भएको आवाज आफ्नो भनी आरोपित शाहले बयानका क्रममा स्वीकार गरे पनि अदालत समक्ष भने पूर्ण रूपमा इन्कारी बयान दिएको व्याख्या गरेका छन्। अभियुक्तको यो इन्कारी बयानलाई पनि जबर्जस्ती करणीको कसूरमा सफाइ दिने एउटा आधार लिइएको छ।
ठहर खण्डकै अर्को ठाउँमा भने अडियो क्लिप आफ्नो भएको शाहले स्वीकार गरेको इजलासले ठहर गरेको छ। त्यसमा ‘अडियो क्लिपको संवाद र त्यसमा भएको स्वर आफ्नै रहेको कुरामा शाहको पूर्ण स्वीकारोक्ति रहेको देखिने’ उल्लेख छ। यसरी अडियो क्लिपलाई कुनै प्रसङ्गमा स्विकारेको र कुनै प्रसङ्गमा अस्वीकार अदालतले ठहर गरेर जबर्जस्ती करणीमा सफाइ दिएको छ।
स्वास्थ्य परीक्षणमा पीडितको यौनाङ्गको जाली च्यातिएको देखिएको थियो। शारीरिक सम्पर्क बाहेक साइकल चलाउँदा, फूटबल खेल्दा पनि यस्तो हुने सम्भावना हुने भन्दै अदालतले यसलाई वस्तुनिष्ठ प्रमाणको अभाव भनेको छ। यसका साथै जाहेरीकर्ता, पीडित र उनीहरूका साक्षीले समेत अदालतमा बयान फेरेकोलाई समेत अदालतले शाहलाई सफाइ दिने आधार मानेको छ।
तर, बालयौन दुरुपयोगको कसूरमा शाहलाई दोषी करार गर्दा भने अदालतले मध्य बानेश्वरको होटलमा भएको पीडित र अभियुक्त पक्षबीचको अडियो क्लिपले ‘प्रतिवादी र पीडित प्रेमी–प्रेमिकाको सम्बन्धमा रहे बसेको देखिने’ मानेको छ। फैसलामा भनिएको छ, “मध्य बानेश्वरमा पीडित र प्रतिवादीहरू बीचको संवाद एवं छलफलको अडियो क्लिप बनाइएको समग्र अवस्थाले यी प्रतिवादी र पीडित प्रेमी-प्रेमिकाको जस्तो सम्बन्धमा रहे बसेको देखिन्छ।’
शाहलाई बालयौन दुरुपयोगमा कसूरदार ठहर्याउँदा अदालतले यही अडियो संवादमा व्यक्त कुरालाई प्रमुख आधार मानेको छ। यसैलाई प्रमाण मान्दै अदालतले कलाकार शाहलाई साढे दुई वर्ष जेल सजाय तोकेको हो।
जिल्ला सरकारी वकीलको कार्यालय, नवलपुर अदालतको यो फैसलाबारे पुनरावेदनमा जाने तयारीमा छ। “आधिकारिक रूपमा अदालतबाट जानकारी आएपछि हामी पुनरावेदनमा जानेछौं,” सरकारी वकील कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता एवं सूचना अधिकारी डालबहादुर नेपालीले हिमालखबरसँग भने।
फिल्म र म्युजिक भिडिओमा चल्तीका अभिनेतामा दरिएका शाह विरुद्ध यही कसूरमा जिल्ला अदालत, तनहुँमा पनि मुद्दा विचाराधीन छ। २०७८ वैशाखमा तनहुँको दुलेगौंडास्थित शाहको चिनजानको व्यक्तिको घरमा पुर्याएर जबर्जस्ती करणी गरेको अभियोग छ।
उनीहरू बाग्लुङको गलकोट महोत्सवमा सहभागी भएर एउटै गाडीमा फर्किएका थिए। त्यसक्रममा शाहले नाबालिकालाई बीच बाटोबाटै प्रदीप थापाको घरमा लगेर विवाह गर्ने भनी फकाएर छोरीसँग शारीरिक सम्पर्क गरेको भन्दै उनका बुबाले जाहेरी दिएका हुन्। तनहुँ जिल्ला अदालतमा समेत पीडित, जाहेरीकर्ता र उनीहरूका साक्षीले बयान बदलेका छन्।
सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसी बलात्कारका मुद्दामा नेपालको न्यायालयले न्यायाधीशपिच्छे फरक फरक फैसला गर्ने र त्यसमा सैद्धान्तिक पक्ष नरहने समस्या रहेको बताउँछन्। “पल शाहको फैसलाको पूर्ण पाठ मैले पढेको छैन। तर, बलात्कारका मुद्दामा न्यायाधीशपिच्छे फरक फैसला भइरहेको छ,” केसी भन्छन्, “न्यायाधीश बेग्लै भएपछि फैसला अलग हुनु स्वाभाविक हो। तर, त्यसमा सिद्धान्तको कुरा हुनुपर्छ, जुन पक्ष फैसलामा शून्य हुँदै गएको छ। यो फौजदारी न्याय प्रणालीको विडम्बना हो।”
फैसलाको पूर्ण पाठ: