खुशीयाली नसकिंदै शोकमा पोखरा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको खुशीयालीमा रमाइरहेको पोखरा ६९ जनाको ज्यान जाने गरी भएको विमान दुर्घटनाले शोकमा डुबेको छ।
नयाँ वर्ष २०२२ को पहिलो दिन अर्थात् पुस १७ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भयो। नयाँ विमानस्थल उद्घाटन समारोहमा हजारौं पोखरेली सहभागी भए। यसले ल्याउने विकास र समृद्धिको चर्चा नसेलाउँदै २९ जनाको ज्यान जाने गरी विमान दुर्घटना भएको छ। नयाँ विमानस्थल सञ्चालन भएको दुई साता नबित्दै भएको दुर्घटना आन्तरिक उडानतर्फको अहिलेसम्मकै ठूलो हो।
माघ १ गते काठमाडौंदेखि पोखराका लागि उडेको यती एअरलाइन्सको ‘९एन-एएनसी’ विमान अवतरण हुनुभन्दा केही समयअघि विमानस्थलभन्दा तीन किलोमिटर पर सेती खोचमा खस्यो। पोखरा महानगरपालिका-१५ स्थित मितेरी पुल नजिकै रहेको सेती खोचको बाँसको झाडीमा ठोक्किँदै विमान भुइँमा बजारियो।
विमानमा सवार चार जना चालक दलका सदस्य र ६८ यात्रुमध्ये कसैको पनि सकुशल उद्धार हुन सकेन। यती एअरलाइन्सले ६९ जनाको शव भेटिएको र तीन जनाको खोजी जारी रहेको जनाएको छ। माघ २ गते बिहानैदेखि हराइरहेका तीन जनाको खोजी शुरू भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ।
दुर्घटनामा ज्यान गुमाएका ११ जनाको सनाखत भएको छ। उनीहरूको शव आफन्तको जिम्मा लगाइने र सनाखत नभएकाका शव परीक्षण गर्न काठमाडौं पठाइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ज्ञान खड्काले बताए।
यस वर्ष भएको यो दोस्रो हवाई दुर्घटना हो। आठ महीनाअघि मात्र पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको विमान दुर्घटना हुँदा २२ जनाको ज्यान गएको थियो।
माघे संक्रान्तिको दिन भएकाले बिहानै घरको छतमा घाम ताप्दै थिइन्, पोखरा १५ की तिलमाया पुन। घर नजिकै एक्कासि जहाज खस्दा आत्तिइन्। माथिसम्म आएको आगोको लप्काले उनको कपालमा समेत पोल्यो। उनले लामो सास फेर्दै भनिन्, ‘‘घरमा ठोक्किन्छ भने लागेको थियो। हामी जोगियौं, तर यस्तो भयो।’’
विमान बस्तीको बीच भागमा रहेको सेती खोचमा गएर खसेको थियो। कतिपयले बस्ती जोगाउन पाइलटले जहाजलाई खोचतिर लगेको अड्कल काटेका छन्।
स्थानीय जीवन पुन घर बाहिर काम गर्दै थिए। विमान ढलपल भएर आएको देखेका उनी घरमै ठोक्किन्छ कि भनेर डराएका थिए। नजिकैको बाँसको झाडीमा पुगेपछि घरमै ठोक्किन्छ जस्तो लागेको थियो, तर हेर्दाहेर्दै विमान उल्टिएर खोचमा खस्यो, उनी पनि अड्कल काट्छन्, ‘‘पाइलटले बस्तीलाई जोगाएर त्यता लगेको जस्तो लाग्यो।’’
अर्काथरी प्रत्यक्षदर्शी चरा ठोकिएको हुन सक्ने अनुमान गरिरहेका छन्। पोखरा विमानस्थल सञ्चालनमा आउँदा चराविद् हेमसागर बरालले भनेका थिए, ‘पोखरामा कि एयरपोर्ट रहन्छ कि चरा।’ बरालले विमानस्थल सञ्चालनमा ल्याउन वर्षौंदेखि सो ठाउँलाई घर बनाएका गिद्ध लगायतका अन्य चराहरूको वासस्थान सारिनुपर्ने बताएका थिए। चराको वासस्थान नसार्दा दुर्घटना निम्तिन सक्ने चेतावनी दिएका थिए।
नयाँ विमानस्थल सञ्चालन आइसकेपछि पनि गिद्ध लगायतका चराहरू नजिकै उडिरहेका छन्। नउडोस् पनि किन, गिद्धको गुँड नै त्यही क्षेत्रमा छ। नयाँ विमानस्थलछेउमै रहेको ल्यान्डफिल साइटमा पोखराले १८ वर्षदेखि फोहोर व्यवस्थापन गर्दै आएको थियो। आफ्नो आहारा खोज्दै गिद्ध, चिल तथा अन्य चराले त्यही क्षेत्रमा बास बनाएका थिए।
विमानस्थल बन्ने चर्चासँगै चराविद्हरूले सुझाएका थिए, ‘ल्यान्डफिल साइट चाँडोभन्दा चाँडो हटाइनुपर्छ। गिद्ध लगायत त्यहाँ रहेका चराहरूको वासस्थान सारिनुपर्छ। अनि मात्र विमानस्थल सुरक्षित हुन्छ।’
तर, विमानस्थल सञ्चालनको केही दिनअघि मात्र ल्यान्डफिल साइट सारिएको थियो। अझै पनि ल्यान्डफिल साइट व्यवस्थापन हुने सकेको छैन। यसले गर्दा विमानस्थल सञ्चालनमा आएपछि पनि गिद्ध, चिल उडिरहेका छन्। चरा धपाउन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले साइरन बजाउने लगायतका अनेकौं उपाय लगाएको छ।
अवतरण गरिनुपर्ने ठाउँभन्दा तीन किलोमिटर पर आएर विमानले फन्को लगाउँदा सेतीको खोचमा खसेको थियो। चालक दलले जहाजलाई किन त्यति अघि लगे र किन घुमाए भन्ने अन्योल नै छ। चराविद् भने चराको कारण पनि हुन सक्ने आकलन गरिरहेका छन्।
माघे संक्रान्तिको चहलपहल रहेको पोखरा विमान दुर्घटनाले बेचैन बनेको छ। शहरी क्षेत्रमै भएको दुर्घटनामा पनि कसैलाई बचाउन सकिएन। दुर्घटनापछि वरपर भएको भीडले उद्धार कार्य नै प्रभावित बन्यो। पोखराको मेयर धनराज आचार्यले विज्ञप्ति जारी गरी भीडभाड नगर्न आग्रह गरे, तर दुर्घटनाको दृश्य हेर्न आउनेहरूले गर्दा भीड व्यवस्थापन गर्न नै हम्मे हम्मे परेको प्रहरीले जनाएको छ।
सडकमा राखिएका मोटरसाइकल, गाडी तथा भीडले आगो निभाउन घटनास्थल पुगेको दमकल समेत अड्किएको थियो। जसले गर्दा उद्धार कार्यमा ढिलाइ हुन पुग्यो।
नयाँ विमानस्थल उद्घाटनको चर्चा सेलाएको थिएन। उद्घाटनका तस्वीर ताजै थिए, कतिपयले सामाजिक सञ्जालमा शेयर गरिरहेका थिए। अहिले ठूलो मानवीय क्षति हुने गरी भएको दुर्घटनाका तस्वीरले पोखरालाई स्तब्ध बनाएको छ।
नयाँ अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको दिन पुस १७ मा स्थानीय सरकारले खुशीयाली मनाउन सार्वजनिक बिदा दिएको थियो। आज विमान दुर्घटनामा ठूलो मानवीय क्षति भएको जनाउँदै संघीय सरकारले शोकमा सार्वजनिक बिदा दिएको छ। दुई साताअघि विमानस्थल पाउँदा खुशीयाली बिदामा रमाएको पोखरा आज विमान दुर्घटनाका कारण दिइएको शोक बिदामा सुस्ताइरहेको छ।