पोखरा दुर्घटनाले उद्धार क्षमतामा उठाएको प्रश्न
पोखरामा विमान दुर्घटनापछि उद्धारमा भएको ढिलाइसँगै हाम्रो विपद् व्यवस्थापन क्षमतामाथि फेरि प्रश्न उब्जिएको छ। दुर्घटना एवं विपद्पछि उद्धारका लागि हामीसँग उद्धारका संयन्त्र कस्तो र कत्रो छ?
माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको जहाज दुर्घटनाको उद्धार समयमै हुन नसकेको स्थानीय बासिन्दाले गुनासो गरेका छन्। प्रत्यक्षदर्शीले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडिओमा पनि निकै बेर आगो दन्किरहेको देखिन्छ। त्यतिन्जेल उद्धारका लागि कुनै पनि सरकारी संयन्त्रको जनशक्ति घटनास्थलमा देखिँदैन।
स्थानीय बासिन्दाले बिहान ११ बजे खबर गरेको र त्यसको केही समयभित्रै नेपाल प्रहरीको टोली पुगेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ। त्यसपछि पोखरा महानगरपालिकाको दमकल घटनास्थलमा पुगेको थियो। तर, विमानमा लागेको आगो निभाउन महानगरको दकमलको क्षमताले पुगेन।
दैवीप्रकोप तथा विपद् व्यवस्थापनको कमान्ड गर्ने गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणि पोखरेल पनि खबर पाउनासाथै सुरक्षा निकायको तालीमप्राप्त जनशक्ति परिचालन भएको दाबी गर्छन्। दुर्घटनाको कति समयपछि टोली पुग्यो भन्ने चाहिं बुझ्न नपाएको पोखरेलको भनाइ छ।
पोखरा जस्तो सुगम र दुई साताअघि मात्र सञ्चालनमा आएको अन्तर्राष्ट्रिय विमानस्थल छेउमै भएको हवाई दुर्घटनामा पनि ढिलो मात्र उद्धार टोली पुग्नुले हाम्रो विपद्कालीन उद्धार संयन्त्र निम्छरो हालतमा रहेको पुष्टि गर्छ। यद्यपि, सशस्त्र प्रहरीको उद्धार टोली विमान खसेको ११ मिनेटमा घटनास्थल पुगेको सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जिकिर गरे।
सम्भवतः उद्धारमा ढिलाइ भएको सूचना पाएरै हुन सक्छ, प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछाने दुर्घटनापछि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोलिएको ‘उद्धार समन्वय कक्ष’ मा पुगेर उद्धारमा कुनै कमजोरी नगर्न निर्देशन दिए। यद्यपि, उद्धार संयन्त्रको कमजोरीबारे भने प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछानेले केही टिप्पणी गरेनन्।
पोखरामा हवाई दुर्घटनापश्चात् भएको ढिलाइसँगै हाम्रो विपद् व्यवस्थापन क्षमतामाथि फेरि प्रश्न उब्जिएको छ। दुर्घटना एवं विपद्पछि उद्धारका लागि हामीसँग उद्धारका संयन्त्र कस्तो र कत्रो छ?
यस्ता घटनामा परेकालाई उद्धार गर्न मूलतः नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको जनशक्ति परिचालन हुन्छ। नेपाली सेनाको जंगी अड्डामा विपद् व्यवस्थापनको जनशक्ति परिचालन गर्न छुट्टै निर्देशनालय छ। विपद् व्यवस्थापन निर्देशनालय मातहत दुई वटा गण छन्, काठमाडौंको सुन्दरीजल र चितवनमा। एउटा गणमा करीब आठ सयको फौज हुन्छ।
सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार, यस बाहेक विशेष फौज रहने बाहिनीमा पनि विपद् र दुर्घटनाका वेला उद्धार गर्न सक्ने दक्ष जनशक्ति हुन्छ। “उद्धारको आधारभूत तालीम लिएको जनशक्ति चाहिं हाम्रो प्रत्येक युनिटमा हुन्छ,” भण्डारी भन्छन्।
करीब ९८ हजारको फौज रहेको नेपाली सेनामा सबैलाई विपद् व्यवस्थापनको आधारभूत तालीम दिइने भएकाले आवश्यक परेका वेला ठूलो संख्यामा खटाउन सकिने सहायक रथी भण्डारी बताउँछन्।
पोखरा दुर्घटनास्थलमा ३०० भन्दा बढी सैनिक खटिएका थिए। उनका अनुसार, विमान दुर्घटनाका घटनामा प्रयास गर्दागर्दै पनि घटनास्थल पुग्न एक-दुई मिनेट मात्रै ढिलो भयो भने पनि क्षति ठूलो भइसकेको हुन्छ।
सशस्त्र प्रहरीका सबै बाहिनीमा विपद् व्यवस्थापनको जनशक्ति रहन्छ। हाल सशस्त्रमा प्रत्येक प्रदेश र उपत्यका गरी आठ वटा बाहिनी छन्। सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा एउटा बाहिनीमा ५० जना उद्धारका सामग्री सहित तयारी हालतमा रहेका हुन्छन्।
प्रदेश १ को सुनसरी, मधेश प्रदेशको महोत्तरी, बागमतीको मकवानपुर, गण्डकीको पोखरा, लुम्बिनीको कपिलवस्तु, कर्णालीको सुर्खेत, सुदूरपश्चिमको कैलाली र उपत्यकाको बलम्बुमा सशस्त्रका बाहिनी तैनाथ छन्। यी बाहिनीभित्र विपद् व्यवस्थापनका लागि साढे चार सयभन्दा बढी जनशक्ति छन्।
यस बाहेक काठमाडौंको सिनामंगलमा विपद् उद्धार गण छ भने चितवनको कुरिनटारमा विपद् तालीम केन्द्र र मनाङमा पर्वतीय उद्धार तथा तालीम शिक्षालय छ। कुरिनटारको उद्धार राजमार्गमा हुने सडक दुर्घटनालाई लक्षित गरी खोलिएको हो।
सशस्त्रका सहायक प्रवक्ता नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाका अनुसार, विपद्कै लागि केन्द्रीकृत फौज बाहेकका प्रत्येक गण तथा गुल्ममा पनि उद्धार टोली हुन्छ। फौजको नफ्री (संख्या) अनुसार, इन्स्पेक्टर वा सईको कमान्डमा सशस्त्रका गण तथा गुल्ममा तैनाथी हालतमा उद्धार टोली रहने थापाले जानकारी दिए। पोखरामा भएको विमान दुर्घटनामा मालीपाटनमा रहेका बाहिनी र गणबाट ८० जना तत्कालै घटनास्थलमा पुगेको पनि उनले सुनाए।
नेपाल प्रहरीसँग पनि उपत्यकामा विपद् व्यवस्थापन गण छ। गणमा ३०० देखि ५०० सम्मको फौज रहने प्रहरी प्रवक्ता नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राई बताउँछन्। प्रहरीले प्रत्येक प्रदेश प्रहरी कार्यालयमा १२५ जनाको दरले विपद् व्यवस्थापनका लागि जनशक्ति तैनाथ गरेको छ। यस हिसाबले प्रहरीसँग करीब एक हजार ३०० को संख्यामा विपद् व्यवस्थापनका लागि जनशक्ति छ। प्रहरीका तल्ला तहका युनिटमा काम गर्नेलाई समेत विपद् व्यवस्थापनको आधारभूत तालीम दिइएको राई बताउँछन्।
गृह मन्त्रालयमा विपद् व्यवस्थापनका लागि छुट्टै शाखा छ। यो शाखाको मूलभूत जिम्मेवारी आकस्मिक उद्धारको समन्वय, दुर्घटना रोकथाम र विपद्मा परेकालाई राहत दिनु हो। गृह मातहत प्रत्येक जिल्ला प्रशासन कार्यालयमा जिल्ला विपद् व्यवस्थापन समिति रहन्छ।
सेना, प्रहरी र सशस्त्र प्रहरीको प्रतिनिधि रहने यो समिति खासगरी मौसमी प्रकृतिका विपद्का वेला मात्रै सक्रिय हुन्छ। बाढीपहिरो, डुबान, शीतलहर जस्ता विपद्का वेला पूर्व तयारी तथा आकस्मिक उद्धार गरिन्छ। गृहका प्रवक्ता पोखरेलका अनुसार, दुर्घटना भएको सूचना पाउने बित्तिकै नजिकैको सैनिक, सशस्त्र प्रहरी र प्रहरी युनिटबाट तालीमप्राप्त जनशक्ति पठाइन्छ।
विमानस्थलमा भने हालसम्म यस्तो उद्धार कार्य गर्न छुट्टै स्थायी टीम बनाइएको छैन। त्रिभुवन विमानस्थलका पूर्व महानिर्देशक राजकुमार क्षेत्रीका अनुसार, घटनास्थल नजिकका नेपाली सेना, प्रहरी, आगो निभाउने दमकल, मेडिकल टीम पुग्नुपर्ने मापदण्ड बनाइए पनि त्यसको पालना सबै विमानस्थलमा भएको छैन।
दुर्घटनापछि छानबिन समिति वा आयोग बन्ने र त्यसका निचोडहरू थन्किने गरेकाले नेपालको हवाई उड्डयन असुरक्षित बन्दै गएको क्षेत्रीको भनाइ छ। “यस्तो घटनाको उद्धार र छानबिनका लागि स्थायी रूपमै छुट्टै संरचना आवश्यक भइसकेको छ,” पूर्व महानिर्देशक क्षेत्रीले भने।