विमान दुर्घटनामा ज्यान गुमाएका १० महिने शिशु सहित ११ जनाको सनाखत
पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएका ६८ जनामध्ये ११ जनाको सनाखत भएको छ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका आफन्त तथा साथीभाइले मृतकको सनाखत गरेका हुन्। विमान दुर्घटनामा मृत्यु भएकामध्ये पोखरा महानगरपालिका–१७ घर भई हाल काठमाडौंको बालाजुमा बस्ने निशान्त आचार्य र संगीता शाही, पोखरा–४ की डा. सुशिला श्रेष्ठ र डा. सोना दिवाकर तथा पर्वतको कुश्मा–१ का १० महीनाका रियान पौडेलको शव आफन्तले पहिचान गरेका छन्।
त्यस्तै, पोखरा–१३ का सदाकत अलिमिया, पोखरा–१९ की लक्ष्मी पौडेल, पर्वतको कुश्मा–९ की प्रसिद्धि पौडेल र अरुण पौडेलको सनाखत भएको छ। यसै गरी, पोखरा–२६ का पूर्णकुमार गुरुङ र कोरियाली नागरिक यु क्युङहुलको सनाखत भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ज्यान गुमाएका सबैको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। प्रतिष्ठानमा मृतकका आफन्त तथा साथीभाइको घुइँचो लागेको छ।
काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न केही मिनेटअघि दुर्घटनामा परेको थियो। विमानमा चार जना चालक दलका सदस्य सहित ७२ जना सवार थिए।