काठमाडौंबाट उडेको १८ मिनेटमा यसरी भयो जहाज दुर्घटना (भिडिओ)
काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न केही मिनेटअघि मात्रै दुर्घटना भएको देखिएको छ।
यती एअरलाइन्सको ‘९एन-एएनसी’ जहाज माघ १ गते बिहान १०ः३२ बजे काठमाडौंबाट उडेको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न केही मिनेटअघि बिहान १०ः५० बजे जहाजसँग अन्तिम सम्पर्क भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ।
काठमाडौंबाट पोखरा उडान २० मिनेटको हुन्छ। काठमाडौंबाट उडेको १८ मिनेटसम्म जहाज सम्पर्कमा थियो। त्यसपछि पोखरा महानगरपालिका-१५ सीताराम पुलनजिक सेती खोचमा दुर्घटना भएको केन्द्रले जनाएको छ।
जहाजमा चार जना चालक दलका सदस्य र ६८ यात्रु सवार थिए। चालक दलका सदस्यमा कमल केसी, अन्जु खतिवडा, सिर्जना होगथुन र ओसिन आले मगर रहेका छन्।
त्यस्तै, ६८ जना यात्रुमा तीन शिशु र तीन बालबालिका सवार थिए। यात्रुमध्ये १५ जना विदेशी नागरिक रहेको केन्द्रले जनाएको छ। जसमा भारतीय नागरिक पाँच, रुसी नागरिक चार, कोरियाली नागरिक दुई, आयरल्यान्ड, अस्ट्रेलिया, अर्जेन्टिना र फ्रान्सका एक-एक जना थिए।
आइतबार अपराह्नसम्म २९ जनाको शव निकालिएको छ। अझै पनि उद्धार जारी रहेको केन्द्रले जनाएको छ।