जलपन्छीको उँधौली यात्रा
उत्तरी गोलार्द्धमा बस्ने चरा जाडोको सकसले गर्मी ठाउँ खोज्दै नेपालको जलथल आइपुगेको वेला गन्ती गर्न थालिएको छ।
उत्तरी गोलार्द्धका रसिया, मंगोलिया, कजाकस्तान, किर्गिस्तान तथा चीनको उत्तरी भेगमा हिउँले पुरिने क्षेत्रका चरा आहारा र गर्मी खोज्दै नेपाल पुगेका छन्। ती चरा नेपाल आएकै वेला जलपन्छी गणना गरिँदै आएको छ।
हिउँदे बसाइँसराइ गरेर आउने थुप्रै पन्छीमध्ये जलपन्छी पनि हो। नेपालमा पाइने ८९२ चरा प्रजातिमा झण्डै दुई सय जति जलपन्छी छन्। अहिलेसम्म अभिलेख गरिएका ४३ दुर्लभ पन्छी प्रजातिमा विश्वकै दुर्लभ १२ प्रजातिका जलपन्छी छन्।
संसारभर समग्र चरा प्रजातिको संख्या घट्दै गएको अवस्थमा जलपन्छी पनि अछुत रहेको छैन। सन् १९८० को दशकको तुलनामा अहिले २० प्रतिशत चराको संख्या घटेको अध्ययनले देखाएको छ।
यसरी हिँउदमा नेपाल लगायतका देशमा आउने अधिकांश चरा प्रजाति हाँस परिवारका छन्। तिनमा कैलो टाउको हाँस, सुइरोपुच्छ्रे हाँस, मालक हाँस, खोया हाँस, नादुन हाँस लगायत छन्। हालसालै भएको एक अध्ययनले ‘बार-टेइल्ड गडविट’ चराले ११ दिन निरन्तर उडेर अमेरिकाको अलास्कादेखि अस्ट्रेलियाको तास्मिनियासम्म १३ हजार ५६० किलोमिटर यात्रा गरेको थियो। यो बसाइँसराइको हालसम्मकै लामो दूरी हो। पन्छी संसारका यी र यस्तै जानकारी गणनामार्फत थाहा हुन्छ।
भारतीय महाद्विपमा अन्तर्राष्ट्रिय संस्था ‘वेटल्यान्ड इन्टरन्याशनल’ले सन् १९८७ देखि पन्छी गणना थालेको हो। शुरूआतमा अफगानिस्तान, जापान, दक्षिण कोरिया र अस्ट्रेलियामा जलपन्छी गणना गरिएको थियो। नेपालमा पनि जलपन्छीको गणना सन् १९८७ देखि शुरू भएको हो।
जलपन्छी गणनाको उद्देश्य बसाइँसराइ आउने र जलपन्छीको प्रजनन बाहेकको समयमा गन्ती र अनुगमन गरी संख्यासहित सिमसार क्षेत्रको अवस्थाको समीक्षा गर्नु हो। गणनाले पानीमा बस्ने चरा र सिमसार क्षेत्रको महत्व, तिनको संरक्षण तथा व्यवस्थापनमा आम नागरिकलाई सहभागी गराउने र सचेतनाको अवसर दिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। गणनाका लागि तराई र मध्य पहाडी भागमा रहेका सिमसारमा ३५० जना स्वमसेवक र गणक खटिएका छन्।
पन्छी गणनाका राष्ट्रिय संयोजक चराविद् हेमसागर बराल भन्छन्, “देशभरको चराको अवस्था बुझ्न सरकारी निकायबाट मात्र सम्भव नहुने भएकाले स्वयं सेवकलाई परिचालन गरिएको छ। विगतजस्तै स्वयं सेवाबाटै यो अभियान सम्पन्न गरिँदै छ।” गणनामा खटिएका ३५० जनामा सय जना चरा सम्बन्धी राम्रो ज्ञान भएका अवलोकनर्ता तथा विज्ञ छन्।
जलपन्छी झिसमिसेमा खेतबारीमा आहार खाएर पानीमै बस्न आउने हुँदा गणना पनि तुलनात्मक रुपले सहज हुन्छ। गणना गर्दा दूरविनको प्रयोग गरी एउटै चरा दुई पटक गणना नहुने निश्चित गरिन्छ। चरा गन्ती अभियान कोशी, बागमती, मनोहरा, कर्रा, राप्ती, नारायणी, खगेरी, ढुङ्ग्रे, तेलार, दानो, तिनाउ, विजयपुर, पश्चिम राप्ती, कर्णाली र महाकाली गरी १५ वटा नदी प्रणाली सञ्चालन गरिएको छ। त्यसबाहेक ३० वटा सिमसार क्षेत्रमा पनि गणना गरिनेछ।
यसरी आउने चरा झण्डै ६ महीना नेपालमा बस्छन्। “हिउँदमा बसाइँसराइ गरेर आउने चरा प्रजातिको संख्या झण्डै १५० छ। हिँउदमा बसाइँसराइ गरेर आउने अधिकांश चरा उत्तरतिरबाट आउँछन्, किनभने ती क्षेत्रमा हिँउले बस्नै गाह्रो हुन्छ,” चराविद् बराल भन्छन्, “नेपालमा ६ महीना जति बस्छन्। यो वेला उनीहरूले बच्चा कोरल्दैनन्। बर्सात लागेपछि ग्रीष्मयाममा आउने चराले भने बच्चा कोरल्छन्। ती चरा दक्षिणतिरबाट आउँछन्।”
चरा नेपाल आउने क्रम मध्यभदौदेखि मध्यपुससम्म हुन्छ। चैतदेखि आफ्नो स्थाई बासस्थलमा प्रजननका लागि फर्कन्छन्। जलपन्छीले प्राकृतिक सौहाद्रताको पाठ पढाउने चराविद् कृष्ण भुसालको तर्क छ। “आगन्तुक चरा यहाँ आउँदा यहाँका स्थानीय चरासँग द्वन्द्व हुँदैन। यी चराले हामीलाई सदियौंदेखि सद्भाव र सहचार्यको पाठ पढाएको प्रतीत हुन्छ,” भुसाल भन्छन्, “खास प्रकारको वासस्थानमा बस्ने र बसाइँसराइ पनि गर्ने जलपन्छी सिमसारको स्वास्थ्य सूचक र बदलिँदो मौसमका पनि सूचक हुन्।”
अहिले प्राकृतिक स्रोतमाथिको मानवीय दोहन बढिरहँदा पानीको स्रोत खुम्चिँदै गएको र यसले प्राणी प्रजातिको वितरण तथा जनसंख्यालाई असर गरिरहेको छ। यसको असर जलपन्छीलाई पनि पर्नु स्वभाविक नै हो। “विद्यमान पारिस्थितिक प्रणालीमा कस्तो मानवीय हस्तक्षेप गर्ने भन्ने तय गर्न पनि यस गणनाले सघाउँछ,” विश्व वन्यजन्तु कोषसँग आबद्ध चराविद् राजेन्द्र सुवाल भन्छन्।
पन्छी पाइने सम्पन्न देशमध्ये नेपाल पनि एक हो। संसारमा चराका १० हजार प्रजाति छन् भने त्यसको झण्डै ९ प्रतिशत नेपालमा पाइन्छन्। जैविक विविधताका आधारमा नेपाल विश्वको २५औं र एशियाको ११औं स्थानमा छ। नेपालमा ८९० हाराहारी चरा प्रजाति अभिलेख भएका छन्। तिनमा घुमन्ते चराको संख्या झन्डै तीन सय छ। जंगली चरा प्रजाति ३८९ छन् भने गर्मीयाममा आउने घुमन्ते प्रजाति ४५ छन्।
नेपालमा पाइने धेरैजसो चरा वन क्षेत्रमा पाइन्छन् भने खेतबारी, सिमसार र घाँसे मैदानमा पनि ठूलै संख्यामा चरा बस्छन्। देशका २० वटा संरक्षित क्षेत्र चराको मुख्य वासस्थान हो।
पछिल्ला अध्ययनहरूमा एक हजार ४०९ प्रजातिका चरा विश्वव्यापी संकटमा परेको देखिन्छ। नेपालमा पाइने चरामा भने १६८ प्रजाति संकटमा छन्। विश्वमा ५ प्रतिशत चरा प्रजाति मात्र बढ्दो संख्यामा छन्, बाँकी सबै घट्दो क्रममा देखिएका छन्। मानव सिर्जित कारणले नै चरालाई जोखिममा पारिरहेको छ।
नेपालका संरक्षित क्षेत्रले चरालाई राम्रो वासस्थान उपलब्ध गराएको छ। संरक्षित क्षेत्रले देशको कुल भूगागको २३ प्रतिशतभन्दा ठाउँ ओगटेको छ। संरक्षित क्षेत्रबाहिर भने चरा जोगाउन मुस्किल हुँदै गएको छ। “संरक्षण क्षेत्रका नदी नालामा बस्ने जलपन्छी सुरक्षित छन् भने बाहिरको असुरक्षित छन्,” सुवाल भन्छन्, “प्राकृतिक स्रोत माथिको दोहनले जंगल र नदीको अवस्था खस्किँदा त्यसको प्रभाव चरामा पनि परको छ।”
प्राकृतिक दोहनका कारण चराले बासस्थान गुमाइरहेको छ। यस्तो अवस्थामा सिमसार व्यवस्थापन रणनीति बनाउन सहयोग पुग्ने हुँदा जलपन्छी गणना महत्वपूर्ण भएको हिमाली प्रकृतिका चराविद् तुलसी सुवेदी बताउँछन्।
प्राणीशास्त्री प्राध्यापक करनबहादुर शाह यस्तो कार्यक्रमले नयाँ पुस्तालाई संरक्षणमा लाग्न अवसर दिने बताउँछन्। फिल्डमा खटाउनअघि अभिमुखीकरण आवश्यक हुने शाहको भनाइ छ। उनी भन्छन्, “गणनाले देखाएका परिणाममाथि गम्भीर छलफल गर्दै र तिनको कारण खोजेर संरक्षणलाई कसरी प्रभावकारी बनाउन सकिन्छ, त्यतातिर पनि लाग्नुपर्छ।”
कुनै वेला आफू पनि गणना कार्यमा सहभागी भएको स्मरण गर्दै प्राध्यापक शाह हाल प्रविधिले संरक्षणलाई धेरै सजिलो बनाएको बताउँछन्। तथापि मुख्य चुनौती वासस्थान विनास नै भएकाले जोगाउनुतिर लाग्नुपर्ने बताउँछन्।
अन्तर्राष्ट्रिय संस्था बर्डलाइफ इन्टरन्याशनलले नेपालका विभिन्न ३७ स्थानलाई महत्त्वपूर्ण चरा क्षेत्रका रुपमा पहिचान गरेको छ। ती क्षेत्रले नेपालको २७ प्रतिशत भूभाग ओगट्छ। हालसम्म १७ वटा चरा संरक्षण क्षेत्रमा प्रभावकारी क्रियाकलाप भएको पाइएको छ।
त्यस्तै, नेपालका सिमसार क्षेत्र पनि चराको संरक्षणका दृष्टिले महत्वपूर्ण मानिएका छन्। “चराको दृष्टिकोणबाट मात्रै होइन समग्र पर्यावरणीय दृष्टिले हेर्दा हामीले बर्दियाको बडैया ताल र सुनरीको बर्जु ताललाई पनि गम्भीरताका साथ संरक्षण गर्नुपर्ने देखिन्छ,” बराल भन्छन्।
चराको बसाइँसराइ द्रूत गतिमा हुन्छ। चराको कारण धेरै रोग पनि निम्तिने खतरा हुन्छ। सार्स, एभियन एन्फ्लुएन्जा, साल्मोनेला, एभियन कोलेरा जस्ता रोग चराले सार्ने गर्छ। विगतमा रोग ओसारपसारको अपजस चरालाई जान्थ्यो भने हाल हवाइजहाजका कारण रोग फैलिने गरेको छ। रोग सार्ने चराको आवतजावतबारे पनि गणनाले जानकारी बाहिर ल्याउनेछ।
गणनाको शुरूआत
नेपालमा सन् १९८५ मा गठन भएको ‘बर्ड वाचिङ क्बल’ले व्यवस्थित रुपमा चरा अवलोकनलाई निरन्तरता दिन थालेका थियो। जसमा काजीदाइको नामले चर्चित स्वर्गीय हरिशरण श्रेष्ठ, कर्ण शाक्य लगायतको संलग्नता थियो। क्लबले वैशाख १ गते चरा गणना कार्यक्रम आयोजना गर्ने गरेको थियो।
बर्ड वाचिङ क्लबलाई संस्थागत गरेर ‘नेपाल पन्छी संरक्षण संघ’ स्थापना गरिएपछि चरा संरक्षण र सचेतनाका कामले निरन्तरता पाउँदै आएको छ। पन्छी गणनाका क्रममा कहिले सिमासारमा मात्र बस्ने चरा गन्ने गरिन्छ, कहिले सारस र गिद्धजस्तै निश्चित चरा मात्र गन्ने गरिन्छ। चरा संरक्षण र जनचेना जगाउनकै लागि लाटोकोसेरो महोत्सव, छिमेकी चरा अभियान, भँगेरा उत्सव मनाउने गरिन्छ।
हरेक वर्ष जनवरीको पहिलो शनिबारदेखि शुरू हुने जलपन्छी गणना दुई सातासम्म चल्नेछ। गणनाको नतिजा विश्व सिमसार दिवसको अवसरका दिन फेब्रुअरी २ मा सार्वजनिक गरिनेछ।
जलपन्छी गणना चरा तथा प्रकृतिप्रेमीका लागि एक उत्सव सरह भएको भुसाल बताउँछन्। उनी भन्छन्, “चराको अवस्था बुझ्न र चरा तथा तिनको वासस्थान जोगाउन जनपन्छी गणना अभियानमा सहभागी हुनु चरा सरंक्षणमा टेवा पु¥याउने अवसर पनि हो।”