प्रकृतिप्रेमीको उत्सव : जलपन्छी गणना
बीस वर्षमा चितवन आसपासका सिमसार क्षेत्र बाहेक अन्य सिमसारमा जलपन्छीको सङ्ख्या घट्दो छ। कुनै समय साइबेरियाबाट हजारौंको सङ्ख्यामा आउने जलपन्छी अचेल टौदहमा आउँदैनन्। विगतमा कोशी नदी आसपास पचासौं हजार पानीचरा हुन्थे भने हाल देशभरको गणनामा मुश्किलले पचास हजार पुग्छन्।
दलदल सिम, घोल, ताल, तलाउ, पोखरी, दह, कुण्ड, नदीनाला, बाढी क्षेत्र, जलाशय, सिञ्चित खेत, जल क्षेत्रको घाँसे मैदान जस्ता सिमसार आश्रित चरालाई जलपन्छी वा पानीचरा भनिन्छ। यिनको चरन–विचरण प्रजननका लागि जलीय पर्यावरण आवश्यक हुन्छ।
नेपालमा अभिलेख भएका ८८९ प्रजातिका चरामा २०० हाराहारी जलपन्छी छन्। तिनमा पनि झण्डै एक सय प्रजाति हिउँदे आगन्तुक चरा हुन्। हिउँद लागेसँगै उत्तरी भूगोलको उच्च जाडो छल्न नेपालमा बसाइँ आउने चरा अहिले नेपालमा रमाइरहेका छन्। यहाँका सिमसार क्षेत्रका रैथाने चराहरूसँग आगन्तुक चरा विभिन्न झुन्डमा रमाइरहेका देख्न सकिन्छ।
रुस, काजकिस्तान, तुर्कमेनिस्तान, उज्वेकिस्तान, अजरबैजान, चीन, मङ्गोलियाका साथै यूरोप, कोरिया तथा तिब्बती क्षेत्रहरूबाट नेपाल आउने पाहुना चरा यहाँका सिमसारमा अनकूल मौसम, सुरक्षित वासस्थान र चरन क्षेत्रमा हिउँद बिताउँछन्। यसरी जाडो छल्न आउने हिउँदे आगन्तुक चराहरूले हाम्रा प्रमुख सिमसार क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, पोखराका तालहरू, बीसहजारी ताल, जगदीशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीहरूमा समय बिताउँछन्।
यी चरा नेपाल आउने क्रम भदौ मध्यदेखि पुस मध्यसम्म जारी हुन्छ। चैतसम्ममा प्रायः चरा आफ्नो स्थाइ बसोबासस्थलमा प्रजननका लागि फर्कन्छन्। यहाँ आउँदा पनि ती चराको यहाँका स्थानीय चरासँग कुनै द्वन्द्व हुँदैन। यी चराले हामीलाई सदियौंदेखि सद्भाव र साहचर्यको पाठ पढाएको प्रतीत हुन्छ। खास प्रकारको वासस्थानमा बस्ने र बसाइँसराइ पनि गर्ने जलपन्छी सिमसारको स्वास्थ्य सूचक र बदलिंदो मौसमका पनि सूचक हुन्।
जलपन्छीको अवस्था कस्तो छ ?
‘प्रकृतिको मिर्गौला’ भनिने सिमसार अन्य पारिस्थितिकीय प्रणालीभन्दा विशिष्ट, सबैभन्दा बढी उत्पादनशील र जैविक महत्त्वको क्षेत्र भए पनि सबैभन्दा तीव्र गतिमा ह्रास हुँदै गएको सम्पदा हो। सिमसारको अतिक्रमण, वरपरका खेतबारीमा प्रयोग गरिने रासायनिक मल र विषादीको चुहावट, ढल तथा मेलापर्वका सामान विसर्जन, बाह्य तथा मिचाहा प्रजातिको सङ्क्रमण, भूक्षय र वरपरबाट बगेर आउने भलसँगै ढुङ्गा, बालुवा, पाँगो माटो थुप्रिनुका साथै पछिल्ला दिनमा नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन, पर्यटन प्रवर्द्धनका नाममा तालतलैयामा डुङ्गा सञ्चालन, भौतिक संरचनाको निर्माण र वनभोज जस्ता पर्यावरण प्रतिकूल क्रियाकलापले सिमसारको गुणस्तर र आयु छोट्याइदिएको छ।
यसको प्रत्यक्ष असर जलपन्छीमा परेको छ। उदाहरणका लागि काठमाडौं उपत्यकाको टौदहलाई लिन सकिन्छ। टौदहमा सिमेन्टका सिंढी बनेका छन्, दहको वरिपरि रेस्टुरेन्ट र कटेजको घेरो लागेको छ।
विडम्बना भनौं, कुनै समय हजारौंको सङ्ख्यामा साइबेरियाबाट आउने पाहुना जलपन्छी अहिले टौदहमा आउँदैनन्। हाल विश्वबाटै लोप भइसकेको अनुमान गरिएको गुलाफी टाउके हाँसको कुनै समय टौदह क्षेत्रमा अभिलेखीकरण भएको थियो। त्यति मात्रै होइन, विश्वमै दुर्लभ कैलो टाउके हाँस र अन्य सुइरोपुच्छ्रे हाँस, मालक हाँस, खोया हाँस, नादुन हाँस लगायत कयौं पाहुना चरा यस क्षेत्रबाट विस्थापित भए।
कुनै समय हजारौंको सङ्ख्यामा साइबेरियाबाट आउने पाहुना जलपन्छी अहिले टौदहमा आउँदैनन्। हाल विश्वबाटै लोप भइसकेको अनुमान गरिएको गुलाफी टाउके हाँसको कुनै समय टौदह क्षेत्रमा अभिलेखीकरण भएको थियो।
संरक्षण क्षेत्र बाहिरका सिमसार र वरपरको क्षेत्र तीव्र मानवीय दोहनका कारण जोखिममा परेका छन्। अन्तर्राष्ट्रिय महत्त्वको ‘रामसार सूची’ मा सूचीकृत कपिलवस्तुको जगदीशपुर जलाशय पर्यावरण प्रतिकूल विकासले जोखिममा परेको छ। सुनसरीको बर्जु ताल, रूपन्देहीको गैंडा ताल र बर्दियाको बढैया तालको अवस्था पनि पीडादायी छ।
जलपन्छी गणना तथ्याङ्क अनुसार, विगत बीस वर्षमा चितवन आसपासका सिमसार क्षेत्र बाहेक अन्य सिमसारमा जलपन्छीको सङ्ख्या घट्दो देखिएको छ। एक दशकअघि सम्म कोशी नदी आसपासमा मात्र पचासौं हजार पानी चरा हुन्थे भने हाल देशभरको गणनामा मुश्किलले पचास हजारको सङ्ख्या पुग्छ।
नेपालमा हालसम्म अभिलेख भएका ४३ प्रजातिका विश्वकै दुर्लभ चरामध्ये १२ प्रजाति त जलपन्छी नै छन् भने नेपालमा सङ्कटापन्न अवस्थामा रहेका १६८ प्रजातिका चरामध्ये एक चौथाइ हिस्सा पानीचराले ओगटेको छ। मुख्य वासस्थान सिमसारको विनाशसँगै अवैध चरा शिकार तथा व्यापार, उडान मार्गमा हुने अवरोध र जलवायु परिवर्तनले पनि यी चरा सङ्कटमा परेका हुन्। बसाइँ आउने चरा लामो दूरीको यात्राले थकित हुने तथा आश्रयस्थल पनि नयाँ हुँदा प्राकृतिक रूपले नै चुनौतीमा हुन्छन्। झन् त्यसमाथि शिकार जस्ता मानवीय क्रियाकलापको मारमा पर्दा तिनलाई जोखिम बढ्दो छ।
हरेक वर्ष सिमसार क्षेत्रमा गरिने जलपन्छी गणनाको तथ्याङ्क भने पछिल्ला वर्षमा निराशाजनक छ। विभिन्न सिमसार क्षेत्र र पर्यावरणको सूचकका रूपमा हेरिने यी पानी चराको सङ्ख्यामा आएको उल्लेख्य गिरावटले नेपालको बिग्रँदो वातावरणीय सन्तुलन र प्राकृतिक स्रोतहरूको ह्रासलाई जनाउँछ।
किन गरिन्छ जलपन्छी गणना ?
दिनानुदिनको सङ्कटले जलपन्छीको वितरण र अवस्था पत्ता लगाउन, सङ्ख्या अद्यावधिक गर्न, संरक्षणमा स्थानीय समुदायलाई सहभागी गराई जनचेतना अभिवृद्धिका लागि हरेक वर्ष जलपन्छीको अनुगमन र गणना गरिन्छ।
गणनाका क्रममा वासस्थानको अवस्था, विद्यमान सङ्कट र आम समुदायको धारणा पनि अभिलेख गरिने हुँदा यसले चरा र तिनको वासस्थान संरक्षणका लागि आवश्यक नीतिनिर्माण र कार्यान्वयनमा पनि टेवा पुर्याउँछ।
‘रामसार सूची’ मा सूचीकृत हुने एउटा मापदण्ड त्यहाँ पाइने जलपन्छीको प्रजातिगत विविधता र सङ्ख्या पनि हो। तसर्थ, यस खालका गणनाले अन्तर्राष्ट्रिय महत्त्वका सिमसार क्षेत्रको पहिचान तथा वर्तमान अवस्था पनि दर्शाउँछ।
अङ्ग्रेजी वर्षको पहिलो दिन अर्थात् जनवरी एकदेखि दुई हप्ता गरिने जलपन्छी गणनामा स्वयंसेवी, पन्छी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकाय र संरक्षण संघसंस्थाको सहभागिता हुने गर्छ।
सन् १९८७ देखि हरेक वर्ष गरिंदै आएको यस गणनाले ३५ वर्ष पूरा गरेको छ। नेपालमा वन्यजन्तुको अनुसन्धान र अनुगमनमा यो सर्वेक्षण आम सहभागितामा गरिने पुरानो र लामो समयसम्म नियमित सञ्चालित अभियान हो। यसको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको स्वयंसेवी सहभागिता, अपनत्व र संरक्षण सचेतना प्रवाह हो। देशभरको जलपन्छी गणना कार्यक्रमको संयोजन तथा सङ्कलित तथ्याङ्कको वैज्ञानिकीकरण नेपालका पन्छीविद् डा. हेमसागर बरालले गर्दै आएका छन्।
सिमसारको संरक्षण र सदुपयोगमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था ‘वेटल्यान्ड इन्टरनेशनल’ ले विश्वव्यापी रूपमा यसको नेतृत्व गर्छ भने नेपालमा ‘हिमाली प्रकृति’ ले समन्वय गर्छ। संरक्षित क्षेत्र र आसपासका मध्यवर्ती क्षेत्रमा गरिने गणनामा सहयोगका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पनि मातहातका निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रमार्फत आफ्ना कर्मचारीहरुलाई परिचालित गर्छ।
अङ्ग्रेजी वर्षको पहिलो दिन अर्थात् जनवरी एकदेखि दुई हप्ता गरिने जलपन्छी गणनामा स्वयंसेवी, पन्छी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकाय र संरक्षण संघसंस्थाको सहभागिता हुने गर्छ।
दुई हप्तासम्म चल्ने यस गणनामा करीब तीन सय अवलोकनकर्ता सहभागी हुन्छन्। गणना चरा तथा प्रकृतिप्रेमीहरूका लागि एक उत्सव सरह हो। यस वर्ष पनि पुसको १७ गतेदेखि माघ २ सम्म विश्वभरका सिमसारका जलपन्छीको गणना हुँदै छ। साथै, नेपालका सिमसारमा पनि चरा गणना हुनेछ। यसको संयोजन स्थानीय संरक्षण संस्थाले गर्ने हुँदा आफूलाई पायक पर्ने ठाउँमा समन्वय गरी इच्छुक सबै सहभागी हुन सक्छन्। वा, आफ्नो वरपरका सिमसार क्षेत्रमा उक्त अवधिभित्र देखिएका चराको गणना गरी तथ्याङ्क उपलब्ध गराउन पनि सकिन्छ।
चराको अवस्था बुझ्न र चरा तथा तिनको वासस्थान जोगाउन जलपन्छी गणना अभियानमा सहभागी हुनु चरा संरक्षणमा टेवा पुर्याउने अवसर पनि हो।